सम्पादकीय

 

‘2020 को वर्ष कसरी बित्यो’ भन्ने कुराको चर्चा यहाँ नगर्दा हुन्छ। कोभिड-19 भन्ने महामारीले जसरी संसार हल्लायो त्यो हामी सबैलाई थाहा भएकै कुरो हो। मास्क, सोसियल डिस्टेंसिङ जस्ता साधनहरूको प्रयोग र पालन गरेर, सेनिटाइजिंग व्यवहार गरेर भए पनि यो महामारीलाई रोक्न हामी केही सफल भए पनि फेरि यो बौरिएर चारैतिर फिंजिन थालेको छ। अझ प्रधानमन्त्री मोदीको भनाइअनुसार ‘यो महामारी तीव्र गतिमा फेरि फैलिन थाल्यो जो हाम्रै हेल्चेक्रयार्इंले गर्दा फैलिन थालेको हो र कथंकाल गाउँगाउँमा पनि भित्रियो भने यसलाई रोक्न शायद असम्भव नै होला’ भन्ने सम्मको चेतावनी उनले दिइसकेका छन्‌ र धेरै राज्यहरू फेरि लकडाउनको संघारमा पुगि पनि सकेका छन्‌। हामी सर्तक रहनैपर्छ। 

यो वर्ष 2021 को मार्च 27 देखि लिएर अप्रेल 25 सम्म बङ्गाल लगायत मोठ पाँच राज्यमा विधानसभाको चुनाउ भइरहेछ। यसपालीको यो चुनाउ निकै चर्काचर्कोमै हुनेछ भन्ने आभास त अहिलेदेखि नै देखिन थालेको छ। बिजेपीले येनकेन प्रकारेण बङ्गाल जित्ने जमर्को कसिसकेको छ र यस दलका नेताहरूले बङङ्गालका 294 सीटहरूमा 200 सीट हामी जित्नेछौं भन्ने गर्जना गर्दैछन्‌। कसका भागमा कति पर्ने हुन्‌ त्यो पछि चुनाउ परिणामले नै भन्ने छ। 

पहाड़मा अहिले पहिले जस्तो स्थिति रहेन। डुवर्स-तराईमा पनि स्थिति एकै प्रकारको छ। पहाड़का नेता जनतामा ‘बिजेपीले अरू त केही गरेन गरेन, केन्द्रमा आफ्नो पूर्ण बहुमतको सरकार हुँदाहुँदै पनि विगत चुनाउमा उसले बाचा अनुसार गोर्खाका एघार जनगोष्ठीलाई जनजातिको हकसम्म दिएन, चाहेको भए दिन सक्थ्यो’ भन्नेमा रहेका छन्‌। राजु विष्टल े बीच बीचमा सदनमा पहाड़का समस्याहरूको उठान त गरि नै रहेका छन्‌। राजनीति हो। यो विधानसभाको चुनाउ न सिद्धिउञ्जेल र चुनाउ परिणाम न आउञ्जेल केन्द्र सरकारले यसप्रति केही ठोस कदम चाल्ला जस्तो देखिँदैन। दलीय स्थितिलाई हेर्नु हो भने अहिलेघरी पहाड़मा गोरामुमो छोड़ेर अरू दलहरू बिजेपीका साथमा छैनन्‌। व्यक्ति व्यक्तिको कुरो अलग हो। एउटा कुरो त सर्वमान्य नै छ, जुन सुकै दलको सरकार आए पनि, जबसम्म हामी एउटै मञ्चमा आउँदैनौं, तबसम्म हाम्रा लागि कुनै सरकारले केही गर्ला भनेर नसोचे पनि हुन्छ।

==========================================

गोर्खाल्याण्डको दावी पिंध छेंड़िएको नौका झैं हुनु ठूलो दुर्भाग्य

बी.बी. घिमिरे

भारतको अरू प्रान्तमा भन्दा हाम्रो पहाड़ी क्षेत्रमा राजनीति भनेको सबैभन्दा छिटो छिटो फल्ने-फुल्ने, उम्रिने, भोटे मूला झैं सप्रिने खालको खेती नै भएको छ। यो राजनीतिक खेतीमा शिक्षित, योग्यता, प्रतिभाशाली व्यक्तित्वको खाँचो नपर्दो रहेछ। विगतदेखि वर्त्तमानसम्म राजनैतिक क्रियाकलापले गर्दा दार्जीलिङको संकट जस्ताको त्यस्तै भएर गएको छ। आजसम्मको जीवनमा परिवर्तनहरू देख्न पाएनन्‌ कसैले यहाँ। अवस्था र व्यवस्थाको व्यथाहरू हामीसँग यसरी नै सल्बलाई रहेछ निरन्तर रूपमा यहाँ। यहाँको राजनैतिक क्रियाकलाप देखेर दाह्रा किटेर विरोध गर्नु सकिरहेका पनि छैनौं हामीले। स्थिति यस्तै छ यहाँको। दार्जीलिङे जनताले यहाँको राजनैतिक आकाश छ्‌याङ्ग हुने आशा साँचे पनि सुधार आउन सकिरहेको छैन आजसम्म। आखिर यो विडम्बना कहिलेसम्म जातिले भोगी रहनु पर्ने प्रश्न सल्बलाउँछ मनभरि बेस्सरी। यस्ता दुःखत अवस्थाले जन्माएको कारणहरूले यहाँको सामाजिक, आर्थिक र राजनैतिक अवस्था अनुकूल नहुनु नै यहाँको वर्तमान परिस्थितिले प्रस्टाउँछ। यी सबै विसङ्गतिपूर्ण सामाजिक, राजनैतिक परिस्थितिलाई सुल्झाउनको निम्ति गोर्खाल्याण्डको दावी गर्दै आएका छौं। यस छुट्टै राज्य गोर्खाल्याण्ड आज सबैको ढुकढुकीमा बास गर्दै आएको छ। यही दावीसँग हाम्रो मान-मर्यादाको साइनो गाँसिएको छ। तर खेद प्रकट गर्दै भन्न परिरहेको छ सदियौंदेखि यहि मागको पर्खाइमा जीवन बिताउनु परेको छ। मानव जीवनलाई चाहिने हरेक कुरो यो धर्तीमा पर्याप्त छन्‌, तर पनि यो मानव हृदय समस्यासँग जुझ्नु पर्ने समय हामीसँग टाँसिएका छन्‌। हाम्रो जीवन अभावग्रस्त भएर पनि बाँचिरहेको छ। बाँचिदिनु परेको छ. असुरक्षित नै छौं भन्नै पर्छ। किन कि हाम्रा नेतृत्वहरूमा देखिएका अदुरदर्शी सोंच र आत्मालोचनाको कमीको कारण छुट्टै राज्य नहुनु प्रष्ट भएको छ। छुट्टै राज्य गोर्खाल्याण्डको सपना-जपना सजाउँदासम्म सपना साकार नहुनु चिन्ताको विषय भएर गएको छ। अवस्था यस्तै छ हाम्रो। हाम्रो सामूहिक मागप्रति पहाड़का जम्मै राजनैतिक दलहरूमा आपस्तको बेमेल हुनु नै स्पष्ट संकेत देखिएको छ। हाम्रा नेतृत्वहरू आजसम्म संयमले एक सूत्रमा बाँधिएऱ अघि आएको भए असम्भवहरू पनि सम्भव भएर जाने थियो भन्ने विषयमाथि यसघरि मानिसहरूले सोच्न थालेका छन्‌। 

यो सामूहिक मांंग गोर्खाल्याण्ड सम्पूर्ण भारतीय नेपाली भाषी गोर्खाहरूको संवैधानिक अधिकारका हो। यस मागलाई लिएर पहाड़का राजनैतिक दलका नेतृत्वहरू एकै सूत्रमा बाँधिएर सरकार समक्ष माग गर्न नसक्नुको कारण तथा सरकार पक्षलाई तितो चाट्‌न वाध्य गराउन नसक्नु पनि नेतृत्व पक्षको कमजोरी पन हो निश्चय पनि। पहाड़का राजनीतिकरणमा आजसम्म यस्तै देख्दै आइरहेका छौं। आपस्तमा हिलो छेपाछेप र नेतृत्वहरूको अहममा नअल्झेर गोर्खाल्याण्ड आन्दोलनलाई सहि नेतृत्व दिएर अघि बढ़ाएको भए सायद सरकार पक्षलाई घुँड़ा टेकाउन सकिन्थ्यो अवश्य पनि। तर पहाड़ी राजनीति नै सधैँ एकलकाटे भएर बाँच्न चाहने हुँदा हाम्रो मौलिक मागले न्याय पाउन सकेको छैन आजसम्म। केवल संकटको समयमा मात्र जुर्मुराउने हामी नेपाली भाषी जाति यस्तै छौं। समय क्रमैले सुल्किन्दै जाने हुँदा हाम्रो मौलिक अधिकार गोर्खाल्याण्ड टाड़िन्दै  जानु हाम्रो कमजोरी र दुर्बलताको कारण भन्न सकिन्छ। पहाड़ सञ्चालित सबै राजनीति दलहरू मिलेर गोर्खाल्याण्ड माग लिएर केन्द्रिय समिति गठन गरिनु अतिनै आवश्यकीय देखिएको छ। यहि केन्द्रिय समिति नै गोर्खाल्याण्ड माग लिएर अघि बढ़नु पर्ने अब समय आएको छ। यस मागको निम्ति कहिलेसम्म बिरालोले मुसा ढुकीरहेको जस्तो भएर कहिलेसम्म ढुकि रहनु? अवस्था यस्तै भएर बितिरहेको छ।

विगतका दिनहरूदेखि ठगिन्दै आइरहेका छौं। सरकारले ठगेर नै समय बिताइरहेका छन्‌ भने हामी हाम्रै नेताहरूबाट पनि बेस्सरी ठगिन्दै आइरहेका छौं। राष्ट्रीय दलहरूले आ-आफ्ना चुनावी घोषणा-पत्रमा अनेकन प्रलोभन देखाएर समस्या हल गर्ने वाचा दिएर भोट जित्ने गछन्‌ भने क्षेत्रीय दलका नेतृत्व समुहले पनि गोर्खाल्याण्डको माग जसरी हुन्छ फत्ते गराइ छाड़छौं, तपार्इंहरूको सहयोग चाहिएको छ भन्ने बहानामा भोट जित्ने गर्छन्‌। अस्सीको दशकतिर गोर्खाल्याण्ड राज्यको हुँकार पिट्‌दै जनाकांक्षासँग खेलवाड़ गरे। पहाड़मा प्रत्येक घरको छानोमा स्वीमिङ पूल बनाइदिन्छु भन्दै गोर्खाल्याण्डलाई बेची पठाए बंगालकै हातमा। अरू के चैं गरेनन्‌्‌ होला घिसिङज्यूले पछि अर्का नेता गुरूङ राजनीतिक धरातलमा पाइला टेक्दै आए। उनले पनि गोर्खाल्याण्डको बहानामा अनेकन अभियानहरू चलाए, आन्दोलनहरू भए बिना सुर न तालको। यसरी नै जनतालाई थाङनामानै सुताउन सफल भए। पहाड़मा हामी सदियौंदेखि यसरी नै आफ्नैहरूबाट पनि ठगिदै आइरहेका छौं।

चट्ट हेर्दा हामी वीर जाति कहलाइने भए तापनि आफ्नो हक र अधिकार पाउने ठाउँमा केवल हारको सामना गर्नु परिरहेको तितो सत्य हामीसँग छ। देशमा अरू भाषी जातिको पंक्तिमा अघोरै अभागी जाति हुन पुग्यौं। देशमा सबै जात गोष्ठी समुदायहरूको आ-आफ्नै अस्तित्व छ भूमि छ। हामी वीर जाति भनेर छाती फुलाउनेहरूको के छ यहाँ आफ्नै देशको धरतीमा। यो देशमा हामीलाई नेपाली नागरिकको दाग लागेको छ भने नेपालमै गएर पनि आफ्नो आफन्त छ भने, तथा झूटो नाता बनाएर अनि टन्न घुस खुवाएर मात्र नागरिक पाइन्छ ज्वलन्त उदाहरणहरू छन्‌। यस्तो हो भने हामी गोर्खाजाति चाहिँ कुन देशका हौं प्रश्न उभिन्छ यसरी। हाम्रो जाति समुदायको यो अवस्थादेख्दा र बुझ्दा यो मन रून्छ बेस्सरी। हामी अभागी जाति नै हौं किन कि वासभूमिको टुङ्गो लगाउँछ कि भन ठानी जति नेता चुन्छौं, बनाउँछौ, अनि नेताहरूले नै जनतालाई दिनसम्म धोका दिँदै आइरहेका छन्‌। पहाड़मा गोर्खाल्याण्ड कि गोर्खाल्याण्ड भनेर, दोकानपाटको साइनबोर्डमा गोर्खाल्याण्ड लेख्न बाध्य गराएर अनि सरकारद्वारा हाम्रो कमजोरीपन र लाचारीपन देखेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन लेखाउने षड्‌यन्त्र रचेको कुरो नबुझेर हो कि जनसमक्ष गोर्खाल्याण्ड लेखाउन सरकारलाई बाध्य गराउन सफल भयौं भन्दै समाचार पत्रमा प्रकाशित नगराएका होइनन्‌। गोर्खाहरूलाई यसरी भुँवरीमा पार्न सरकार सफल बनेको कुरो आजसम्म बुझ्न सकिरहेका छैनन्‌, राजनीतिमा रम्ने नेतृत्वहरूले। हामीले गोर्खाल्याण्डको दावी गर्दा विभिन्न किसिमको बहाना गर्दै अल्मलाउँदै जाँदा ठगिनु परेको तितो सत्य हामीले झेल्नु परिरहेको छ। अन्तमा पुरानो समाचार पत्र सुनचरीमा प्रकाशित ‘मोती-मुक्ता’ का पंक्ति यहाँ ठाउँ ओगट्‌ने धृष्टता गर्दै प्रस्तुत छ।

‘गुमेको भूगोल खोजेको राम्रो

इतिहासको आधारमा

केहि त भाग्य खोपिएकै होला

पहाड़को निधारमा

खोजेको जस्तो गरेर मात्र

न खोजौं अभीष्ट

समुद्र मन्थन गर्नलाई पनि

हुनु  छ सचेष्ट।’