सम्पादकीय

 

सम्पादकीय 

असम, बङ्गाल, तमिलनाडु, केरल र पुडुचेरी (केन्द्र शासित प्रदेश) -मा विधानसभा चुनाउको लहर आयो, चुनाउ भयो अनि त्यो लहर पनि गयो। सँगसँगै कोरोनाको दोस्रो लहर पनि आयो। यसले धेरै काम कुराको समीकरण बिथोल्यो। यो सम्पादकीय लेखुञ्जेलसम्म चुनाउ परिणाम आइनसकेको हुनाले यसबारे केही टिप्पणी गर्न मिल्दैन/मिलेन। दार्जीलिङ, खरसाङ, कालेबुङ र तराई-डुवर्सका हाम्रा दाजु-भाई, दिदी-बहिनीहरूले पनि मतदान गरे। प्रत्येक चुनाउमै यसरी मतदान त गरिन्छ नै तर परिणाम जसका पक्षमा गए पनि भए पनि, राजनैतिक, सन्तुलनलाई कायम राखेर, कुनै पनि दलको प्रार्थी वा त्यो दलको सरकार किन नहोस्‌, त्यसबाट जुन जातिले जुन सम्प्रदायले आफ्नो हितको  रक्षाका लागि त्यो प्रार्थी वा सरकारलाई झुकाउन सक्छ, त्यसैले जित्छ। चुनाउका बेला, अलग-अलग भएर, अलग-अलग प्रार्थीलाई भोट दिएका भए पनि पछि परिणाम त एउटा  प्रार्थीका हकमा मात्र जान्छ। त्यतिखेर ती अलग अलग प्रार्थीलाई भोट दिने मानिस पनि पछि एक भएर त्यो प्रार्थी वा त्यसको सरकारलाई दबाउ दिन सक्नु हो भने धेरै काम हामी फत्ते गर्न सक्छौं। नत्रता चुनाउ हुनु भन्दा अघिकै मनोभाव लिएऱ त्यसरी नै अलग्गिई रह्यौं भने राजनैतिक समीकरणबाट हामीले केही आर्जन गर्न सक्छौं भनेर न चिताए पनि हुन्छ। एकता भनेर मात्र हुँदैन, यसको स्वरूप र कार्यप्रणाली पनि हामीले जानेको हुनु पर्छ, यसैमा हाम्रो कल्याणको धरोहर टिकेको हुन्छ।

कोविद-19 को अघिल्लो एउटा लहर उग्र रूप लिएर हाम्रा देशमा छिरे पनि लकडाउन, मास्क, सोसियल डिस्टेंसिंग, सेनिटाइजिंग जस्ता नियमहरूले गर्दा यो निकै साम्य हुँदै गएको थियो र यो अब साम्य हुन्छ भन्ने थियो, तर अहिले यो दोस्रो लहर त अझ सुनामी झैं भएर आयो र यो दोस्रो लहरले पूरै देशमा हाहाकार मच्चायो। भोक्सिनको कमी, अक्सिजनको कमी, अस्पतालमा बेडहरूको कमी, अरू त अरू, मृतकको दाह संस्कार वा अन्तिम संस्कार गर्ने ठाउँसम्मको कमी हुनु भनेको देशका लागि एउटा डर लाग्दो स्थिति हो।

यस्ता महामारीले अक्रान्त भएर अस्पताल धाउनु, भेक्सिनका पछि लाग्नु, अक्सिजन नपाउनु जस्तो स्थितिको सामना गर्नु भन्दा मास्क लाउनु, भरसक ढेड़े-दुइ गजको दूरत्वलाई ध्यानमा राकेर काम गर्नु, घुइँचो, भीड़ आदिबाट परै तर्किनु, सेनिटाइजरको घरिघरि व्यवहार गर्नु, यस्ता कतिपय काम कुरामा ख्याल गरेर अनुशासनमा रहनु हो भने यो महामारीबाट जोगिन सकिन्छ। र आजको भयावह स्थितिलाई हेर्दा यस महामारीदेखि जोगिने यही नै एउटा विकल्प देखिन्छ। कालिदासले शरीरमादयं खलु धर्म साधनम्‌ भने झैं यहाँ हाम्रो शरीर छ, जीवन छ, सास छ भने सबैथोक छ, नत्रता केही छैन। याद राखौं, सतर्क भएर हामी चल्न जान्यौं भने हामी जोगिन्छौं, नभए आजको यो संक्रमणले घेरिएको भयावह स्थितिले हाम्रो जीवनको सपनालाई भोलि बिथोल्न सक्छ। सावधान हौं, सतर्क भएर चलौं, हाम्रो भन्नु यत्ति हो।