सम्पादकीय

 

दिन, हप्ता, महिना हुँदै समय बित्तै जान्छ। यसरी नै हाम्रा दिनहरू बित्तै जान्छन्‌। तर समयले कसैलाई पर्खिँदैन र यो नपर्खिनु त समय हो। देख्ता देख्तै बिस्तारो बिस्तारो हाम्रा ठूला-ठूला चाड़ दशैं र तिहार पनि आइसके। अझै पनि स्थिति पहिलेको जस्तो त्यति भइसकेको छैन। जोगिएर हिँड्‌नु पर्ने अवस्था रहेकै छ। कतै जाँदा वा कुनै अज्ञात व्यक्तिसँग मुखामुखी हुनु पर्दा मास्क र दुइ गजको दूरत्वको अनिवार्यता रहेकै छ। यस्तै स्थिति-अवस्थितिलाई छिचोल्दै, जोगिँदै हामीले यी चाड़हरू मनाउँ भन्ने चाहना हामी गर्दछौँ।

हाम्रो अस्मिताको, हाम्रो सुरक्षाको, हाम्रो गौरवको, हाम्रो अस्तित्वको सुरक्षाको ख्याल हामीले गर्नुपर्छ, कसैलाई हाइ गुहार गरेर हुँदैन र कसैले आएर हामीलाई काँध थापिदिँदैन। यो सोच्नु नै आफ्नो अस्तित्व र सुरक्षालाई धरापमा पार्नु हो भन्ने हामीलाई लाग्छ। ‘समयमा सबै ठीक होला नि’ भनेर सोच्दा मात्र केही हुँदैन, हामीले अलिक जरक मरक गर्नै पर्छ।

पहाड़को स्थितिलाई नियालेर हेर्दा त्यस्तो केही उज्यालो र भरपर्दो लच्छिन देखिएको छैन। ‘ओल्ला घरको नरे पल्ला घर सरे’ भन्ने उखान हाम्रा नेताहरूले धान्दै आएका छन्‌। यसैलाई जनताको सेवा र राजनीति भनिन्छ भनेर कसैले भन्छ भने यसमा हामीले सीपमाथि टिप लाउनु केही छैन। गणतन्त्रको यो एउटा अनौठो उपहार हो भन्दा पनि सायद यो धेरै भनिएको न ठहर्ला।

राष्ट्रिय स्तरको कुरो त्यति लम्याएर हामीले भन्नु पर्ने केही देखिँदैन, यो त सबैलाई थाहा लागिसकेकै हुन्छ।

पञ्जाबमा नेतृत्व साटियो, आउँदो 2022 -मा त्यहाँ चुनाउ पनि हुनु छ। आउँदो वर्ष नै देशको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा पनि विधानसभाको चुनाउ हुनु छ। अहिल्यैदेखि त्यहाँ घमासान शुरु भइसकेको छ। हाम्रा लागि सान्दर्भिक नभएका अरू पनि यस्ता घटनाहरू देशमा भइरहेका छन्‌, स्थिति यस्तै छ। अन्तमा बड़ा दशैंको सबैलाई हार्दिक शुभकामना।