बङ्गाली भाषा vs पहाड़-तराईका गोर्खा
- सम्पादकीय
‘‘भाषा हो सभ्यता हाम्रो सारा उदय अन्नति ...’’ भनेर बालकृष्ण समले भाषाको गरिमालाई प्रष्ट्याएकै हुन्। 2017 मा दार्जीलिङमा ‘स्कूलका जम्मै पाठ्यतालिकामा बङ्गाली भाषा हुनेछ’ भन्ने घोषणा बङ्गाल सरकारले जारी गर्ने बित्तिकै दार्जीलिङ सल्किएको थियो। दार्जीलिङका गोर्खा समुदाय मात्र होइनन्, विश्वकै गोर्खाहरूमा यसको प्रभाव परेको थियो। एकसय चार दिनको धरना, प्रदर्शन, बन्दी आदिले गर्दा यसको चर्का चर्कीमा दार्जीलिङले उग्र रूप लियो र स्वयं मुख्यमन्त्री दार्जीलिङ पुगेर उनले त्यस आन्दोलनको आगो निभाउने प्रयास गरेकी हुन्। तर त्यो त्यसरी नै आन्दोलन साउने भल भएर जसरी उर्लिएको थियो, पछि अशौजमा सुक्ने खहरे जस्तो भएर स्याम्म सुक्यो। आन्दोलन नै भाग-भाग भएर बिथोलियो। विमल गुरूङ भूमिगत भए। उनी हराए। लगाम विनय तामाङ र अनित थापाले समाते। ममतासँग सम्झौता भयो। अरू अरू के के भयो, ककसलाई मुद्दा हालियो, यो सबै हामीलाई थाहै छ।
अहिले आएर फेरि त्यही भाषाकै कुरो लिएर दार्जीलिङ, तराई-डुवर्समा ‘बङ्गाली भाषा नजान्नेलाई सरकारी नोकरी दिइने छैन’ भन्ने हैकम जारी गरिएको छ। यता समतलमा बङ्गाली भाषा धेरै गोर्खाहरूले जान्दछन्, पढ्दछन्। पहाड़ खण्डमा पनि हाम्रा कतिपयले बङ्गाली भाषा बोल्छन्, पढ्छन्, यो भाषा जान्दछन्। विद्यार्थीहरूले पनि बोल्न, पढ्न जान्दछन्। कतिपयले ‘भाषा सिक्नु-जान्नु त राम्रै हो’ भनेर यसलाई हलुङ्गो पाराले लिने गरेको पनि देखिएको छ ‘यसले त्यति के बिगार गर्ला र!’ भन्ने मनोभाव पनि कसै कसैको देखिएको छ।
दार्जीलिङ अहिले साम्य छ, शान्त छ। त्यहाँका नायिकेहरूले चूँ गरेर केही भनेका छैनन्। भन्ने छाँट पनि छैन। 2017 मा पाठ्यक्रममा बङ्गाली भाषा गाभिने कुराको विरोधमा आन्दोलन चर्किएको थियो, तर अहिले त्यस्तो केही भएको छैन। वस्तुतः यस कुरालाई लिएर गहिरो गरी कसैले मन्थन पनि गरेका छैनन्। तर यो कुरो भने गहिरो छ। कुनै पनि सरकारी जागिर अथवा नोकरीका लागि विषय, पद हेरेर सानो-ठूलो जुन तहको नोकरी भए पनि त्यसका लागि त्यस्तै तहको प्रमाण-पत्रको अनिवार्य रूपमा आवश्यकता त पर्छ नै।
नोकरीका लागि उक्त प्रार्थीले कुनै न कुनै संस्थामा बङ्गाली पढ़ेर सानो-ठूलो डिग्री लिएकै हुनुपर्छ। किनभने प्रश्न सरकारी नोकरीको छ। त्यतिखेर ‘बोल्न-पढ्न जान्दछु’ भनेर मात्रै कुरो पुग्दैन। अनि डल्लिएन पहाड़-तराईको गोर्खा? कुरो गम्भीर छ, होश गरौं। केही सोंचौं! केही गरौं! यसको समाधान खोजौं!