आजको स्थितिलाई आँखीझ्यालबाट हेर्दा
- सम्पादकीय
2022 ले आधा वर्ष नाघ्यो। यो 6 महिनाभित्रमा गङ्गा र टिस्टाको पानी धेरै बगेर गयो। देशका पाँचवटा राज्यमा चुनाउ हुनुथियो, भयो। पञ्जाबलाई छोड़ेर अरू राज्यमा बीजेपीकै लहर चल्यो।
ज्ञानवापी मन्दिर र मस्जिदको विवाद नुपुर शर्माको एउटा सानो बयानले अझै चर्कायो र देशकै सीमा नाघेर पूरै मुस्लिम देशमा फिंजियो, यी जम्मै मुस्लिम देशहरू भारतका विरोधमा एक जुट भए।
यसैका निहुँमा नमाजको दिन कानपुरमा ढुङ्गामूढा बर्सिए। कति पक्राउ परे, जेल गए, जोगीका बूलडोजरहरू चले, बलमिच्यार्इं गरेर सीमा मिचेर बनाइएका धेरैका घरहरू ढले।
नेशनल हेराल्डको मुद्दामा राहुल र सोनियालाई जाँच गर्न ईडीले बोलायो। सोनियालाई कोरोना भयो, उनी अस्पतालमा भर्ना भइन्। राहुल ईडीका कार्यालयमा तारैतार धाउन बाध्य भए।
यसका विरोधमा आन्दोलन गर्न कंग्रेसका कतिपय नेता लगायत धेरै कार्यकर्ताहरू सड़कमा उत्रिए। अरू के के भयो, त्यो सबैलाई थाहै छ।
केन्द्रले ‘अग्निपथ’ का नाउँले चारवर्षे कार्यकालको एउटा अस्थायी नोकरीमा 10 लाख युवाहरूलाई भर्ना गर्ने घोषणा गऱ्यो। यसका विरोधमा युपी, बिहार र राजस्थानका युवाहरूले जताततै ताण्डव मच्चाए। आगो झोसे, रेलै रोके, अरू जे जे गर्नु छ, उनीहरूले गरे।
यसै जुलाई महिनामा राष्ट्रपतिको चुनाउ हुनु छ। भारतमा पाँच पाँच वर्षमा हुने राष्ट्रपतिको चुनाउ जुलाईकै माझ भागमा हुने गर्दछ र 25 जुलाईमा नयाँ राष्ट्रपतिले पदभार सम्भाल्ने प्रावधान रहेको छ। विपक्षी दलहरू यसकालागि अहिल्यै जुर्मुराउन थालेका छन्। 18 जुलाईमा चुनाउ हुनेछ अनि त्यसपछि त्यो राष्ट्रपति भवनमा को गएर पस्नेछ भन्ने कुरो 25 जुलाईमै थाहा लाग्नेछ।
2017 देखि यता पहाड़ सामान्य स्थितिमा रहे पनि कतिपयले न चाहँदा न चाहँदै जी.टी.ए. चुनाउ भयो। परिणाम सबैलाई थाहै छ। अरू दल त छँदै थिए, अजय एड्वर्डको हाम्रो पार्टी पनि चुनाउमा हेमियो। यसको परिणाम पनि सबैलाई थाहा छ र तस्वीर जे छ त्यो सबै हाम्रा अगाड़ि छँदैछ।
आउँदो 13 जुलाईका दिन आदिकविको जन्मजयन्ती वर्षेनी झैं यसपाली पनि हामी मनाउने नै छौं। यसमा हामी सबै वैमनस्य बिर्सिएर, एकजुट भएर, सबै मिलेर भव्यरूपमा अथवा घामपानीको छेक हेरेर त्यही अनरूप मनाउँ र भाषा-साहित्यलाई अझै परिमार्जित गर्दै लैजाउँ र यसरी नै हामीले आदिकविलाई श्रद्धासुमन चढ़ाउँ र उनको मूल्याङ्कन गरौं भन्ने हाम्रो सबैमा यही आग्रह र कामना रहेको छ।