के सोसियल मिडियाले हाम्रो मानसिकता खुम्चिँदैछ

  • 2024-03-24 09:49:59
==>

-सञ्जय प्रधान   

अति नै विशाल लाग्ने विश्व इन्टरनेट र सामाजिक सञ्जालको आविष्कार भएपछि खुम्चिएर एउटा गाउँमा परिणत भएजस्तै भएको छ। विश्व आज साँघुरो भएको छ, हत्केलामा अटाउन सक्ने। विश्वको कुनै एक कुनामा बसेका व्यक्ति अर्को कुनाका व्यक्तिसित सेकेण्डभरमा मुखामुखी भएर दु:खसुखका कुराकानी गर्न सक्छन्‌। विश्वका कुनाकाप्चा, गलछेड़ीहरूका समाचार एक मिनटभित्रमा मानिसको हत्केलामा आइपुग्छ यसैले सामाजिक सञ्जालले विशाल विश्वलाई साँघुरो बनाएको छ। सामाजिक सञ्जालले यसरी साँघुरो बनाउँदै लगेको विश्वमा आज हाम्रो विचार, मानसिकता पनि कतै साँघुरो बन्दै गएको त छैन?

सञ्चार माध्यमको संसारमा एउटा जमाना थियो जहाँ प्रिन्ट मिडिया अर्थात खबरकागजको मात्र एकछत्र राज थियो। त्यसबेला सञ्चार माध्यम भनेको खबरकागज मात्र थियो। यसपछि रेडियोको आविष्कार भएपछि इलेक्ट्रोनिक मिडिया शुुरू भयो। रेडियोपछि टेलिभिजनको आविष्कारले रेडियोलाई चुनौती दिँदै सञ्चार जगत्‌मा नयाँ क्रान्ति ल्यायो। टेलिभिजनको उदय भएको धेरै समयबित्दा नबित्दै इन्टरनेटको आविष्कारले सञ्चार माध्यममा अर्को ठूलै हलचल मच्चायो। 

इन्टरनेटको विकाससँगै विकसित भएका सामाजिक सञ्जाल आजको एक्काइसौँ शताब्दीमा सबैभन्दा लोकप्रिय बन्न सफल भएको छ। रेडियो र टेलिभिजनको युगमा एकै तर्फबाट समाचार मात्र प्रसारण हुनेहुँदा सुन्नु र हेर्नु मात्र विकल्प थियो। तत्कालै साधारण मानिसहरूले कुनै प्रतिक्रिया वा धारणा अभिव्यक्त गर्न सक्दैनन्‌ थिए। तर, सामाजिक सञ्जालमा भने तुरून्तै अभिव्यक्त गरेर प्रतिक्रिया जनाउन सक्ने सुविधा रहेको छ। विश्वको जुनसुकै कुनामा बसे पनि हातमा भएको स्मार्ट फोनद्वारा विश्वलाई बुझ्न सकिने भएको छ। वर्तमान समयमा सामाजिक सञ्जाल मानिसको जीवनशैली बन्न पुगेको छ। यसैलाई अहिलेको युगलाई साइबर युग पनि भनिने गरेको छ।

विकसित देशहरुद्वारा गरिएको डिजिटलाइजेशन युगको विस्तार भएपछि सामाजिक सञ्जालको प्रयोगले विश्वको अर्थतन्त्रमा एकछत्र  राज गरिसकेको पुञ्जिवादको नयाँ प्रवेशले वर्तमान अवस्थामा मानव समाज कहाँ पुगेको छ? भन्ने प्रश्न उठ्‌दछ। सामाजिक सञ्जालको प्रयोग किन, कसरी र कसका लागि गरिरहेका छौँ? हामीले सामाजिक सञ्जालको प्रयोग गर्दा फाइदा कसले लिएको छ? यी प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरिएको छैन।  सामाजिक  सञ्जालको विकसित प्राविधिले मानव समाजको दैनिक जीवन शैलीमा कतिपय सुविधाहरू प्राप्त भने अवश्यै भएको छ। सामाजिक सञ्जालबाट प्रसारित हुने समाचार, सूचना, विचार, बहस र विज्ञापनलगायतका सामग्रीहरुको प्रभाव सकारात्मक छन्‌ या नकारात्मक छन्‌ भन्ने बारेमा भने विचार गर्नुपर्ने विषय हो।

सन्‌ 2019 को मिडिया सर्वेर्क्षणले समग्र विश्वमा करीब 3.8 अर्ब मानिसहरु सामाजिक सञ्जालको प्रयोगकर्ता रहेका छन्‌ भने सन्‌ 2023 सम्ममा यो सङ्‌ख्या बढ़ेेर चार अर्ब पुग्ने अनुमान लगाइएको छ। भारतमा अहिले करीब 68 करोड़ मानिसहरूले इन्टरनेट प्रयोग गर्छन्‌। अनलाइन पोर्टल, फेसबुक, वाटस्‌एप, ट्वीटर, इन्टाग्राम, वीच्याट, युट्युब, गुगल, लगायतका थुप्रै सामाजिक सञ्जालहरू रहेका छन्‌। यी सामाजिक सञ्जालहरूका कारण सञ्चार माध्यममा धरै किसिमका विसङ्गतिहरू थुप्रिँदै गइरहेका छन्‌। वर्तमान समयमा सामाजिक सञ्जालहरूकै कारणले पत्रकारिताको रूप पनि बदलिएको छ। पहिलाको पत्रकारितामा भन्दा मूल रूपमा खबरकागज अर्थात प्रिन्ट मिडियालाई पत्रकारिताको उद्‌गम मानिन्छ। यसपछि आविष्कार भएको रेडियो, टेलिभिजनले इलेक्ट्रोनिक मिडियाको विकास भयो। प्रेस अर्थात सञ्चार माध्यम, मिडियालाई गणतन्त्रको चौथो स्तम्भको रूपमा मान्यता प्रदान गरिएको छ। गणतन्त्रको अरू तीन स्तम्भहरू विधानपालिका, कार्यपालिका, न्यायपालिकापछि चौथो स्तम्भ प्रेस हो। प्रेसको भूमिका समाजमा संवादवहन गर्नु हो। समाजको विभिन्न वर्गमा सरकार, सत्ता केन्द्रित व्यक्तिहरू अनि संस्थाहरू बीच प्रेसले साघुँको रूपमा कार्य गर्नेगर्छ। आधुनिक युगमा प्रेसको अर्थ नै मिडिया भएको छ। समाजको निर्माण या पुन:निर्माण गर्ने कार्यमा प्रेसको विशेष भूमिका रहँदछ।

इन्टरनेटको विकास भएपछि सँंगैसँगै सोसियल मिडिया विकासित भएर मूलस्रोतका सञ्चार माध्यमहरूलाई उछिनेर अघि बढ्‌यो। फेसबुक जस्ता सोसियल मिडियाहरूमा जहाँ जे जस्तो हुन्छ तुरून्तै फोटो पोष्ट गरिहालिन्छ जसलाई जस्तो लाग्यो त्यस्तै लेखिहालिन्छ।घरमा के खायो, कसले के भन्यो, के गऱ्यो सबै लेखेर पोष्ट गरिन्छ। जसको पायो उसैको खोइरो खनिन्छ, जसलाई पायो उसलाई बदनाम गरिन्छ। फेसबुकमा किर्ते परिचय अर्थात फेक आईडी बनाएर केटीहरू फसाउने, ब्ल्याकमेल गर्ने, पैसा ठग्ने जस्ता थुप्रै किसिमका गलत कार्यहरू पनि हुँदछन्‌। सोसियल मिडियाको विकाससँगै मोबाइल फोन विकसित भएर स्मार्ट फोन निस्किएपछि भने थुप्रै व्यक्तिगत अनलाइन च्यानल पनि निस्कियो। यसरी व्यक्तिगत रूपमा गैर पेशादारी अनलाइन च्यानल निस्किँदा पत्रकारिताको  नैतिकता र गरिमालाई गहिरो आघात पुऱ्याएको छ। जसले जस्तो बोल्यो उस्तै प्रस्तुत गरिन्छ  कुनै सम्पादनको आवश्यकता  पर्दैन, कुनै क्रस चेक पनि गरिँदैन। कसैले आवेशमा आएर समाजमा हिंसा फैलिने किसिमको वक्तव्य दिए बे्रकिङको रूपमा पोष्ट गर्न हतार हुन्छ। पोष्ट गर्नेले त्यसको असर समाजमा कस्तो हुन्छ त्यस बारेमा भने कुनै विचार गर्दैनन्‌। समाजमा फैलिने हिंसालाई रोक लगाउनु हो, यदि कहिँ भ्रश्टाचार हुँदैछ, अन्याय शोषण हुँदैछ भने त्यसको सहि तथ्य र प्रमाण निकालेर उजागर गर्नु र रोक्नु पत्रकारिताको धर्म हो। कुनै पनि कारणले समाजमा हिंसा सृजना हुन्छ भने त्यस्ता कारणहरूलाई रोक्नु समाजका हरेक नगारिकको कर्तव्य हो। साम्प्रदायिक हिंसा भड्‌किने किसिमका बयानहरूलाई पोष्ट गर्दा त्यसको असर कस्तो हुन्छ? शायद पोष्ट गर्नेहरूले विचार गर्दैनन्‌। झनै त्यस्ता भड़किला बयानहरूलाई कतिले अतिरञ्जित  पारेर पोष्ट गर्छन्‌। यस्तो अतिरञ्जित सोसियल मिडियामा मात्र होइन कतिपय इलेक्ट्रोनिक मिडिया राष्ट्रिय टीभी च्यानलहरूमा पनि प्रस्तुत गरिन्छ |

हिजोआज एउटा भनाई प्रचलित छ त्यो के हो भने खबर मसलादार हुनुपर्छ। अति मसलादार खाना जुन किसिमले हाम्रो शरीरको निम्ति घातक हुन्छ थुप्रै रोगहरूको शिकार बन्दछ। त्यस्तै सोसियल मिडिया र सञ्चार माध्यममा मसलादार सामग्रीले समाजमा विष फैलाउने कार्य गर्दछ अनि समाज साम्प्रदायिकताको भयानक रोगले ग्रस्त हुँदछ। यस्ता किसिमका पोष्टहरूले समाजमा साम्प्रदायिक हिंसा फैलिएको धेरै उदाहरणहरू सुन्दै आएका छौँ।

यस्ता बयानहरू पोष्ट गर्नु कतिलाई मजा मात्र लाग्दछ। तर, त्यस्ता पोष्टहरू जारी गर्नेहरूले समाजमा कस्तो असर पार्छ भन्ने कुरालाई वास्ता गर्दैनन्‌। कतिपय पोष्टहरूमा कसैको व्यक्तिगत चरित्र हनन्‌ गरिएको हुन्छ। 

सोसियल मिडियाको वास्ताविक उद्देश्य के हुन्‌ त? मानिसहरूलाई विश्वको एक कुनादेखि अर्को कुनासित जोड्‌नु, एक अर्काका बारेमा जान्नु, टाड़ामा रहेका आफन्तजन, इष्टमित्रसित भेट गरेर दुख:सुखको अनुभूति साझा गर्नु, आफ्नो कला, प्रतिभालाई प्रचार गर्नु, आफ्नो क्षेत्रको संस्कृतिको प्रचार गर्नु, आफ्नो सृजनात्मक विचारहरू प्रकट गर्नु, विश्वका विभिन्न ठाउँ र त्यहाँका मानिसहरूका जनजीवन बारेमा जानकारी प्राप्त गराउनु सोसियल मिडियाको उद्देष्य हो। तर, धेरैले यसको दुरूपयोग गर्ने गरेका छन्‌। कतिपय अवस्थामा घटनाको वास्तविकता नबुझी एकपक्षिय समाचारहरु बाहिरिँदा र पोष्टहरू गरिँदा वास्तविक अन्यायमा परेकाहरु झनै अन्यायमा परेका पनि छन्‌। साधारण मानिसहरू यस्तै समाचारमा आधारित भएर सामाजिक सञ्जालबाट अनावश्यक रुपमा यर्थाथ बुझ्दै नबुझी सम्बन्धित निकाय, नेता र व्यक्तिको आलोचना र विरोधमा खोइरो खनेर लाग्ने गर्छन्‌।

सामाजिक सञ्जालको विषयमा यहाँ चर्चा गरिहँदा सबै मिडियाकर्मीहरु गलत हुन भन्ने धारणा प्रकट गरिएको होइन। पहाड़मा भएका पटक पटकको आन्दोलनमा सहि तथ्यपरक समाचार प्रस्तुत गर्ने कार्यमा पत्रकारहरुको भूमिका प्रशंसनीय रहेको छ। सोसियल मिडियाहरूमा कतिपय विषयहरू समाजमा विष फैलाउने किसिमका हुन्छन्‌ अनि यसैलाई कतिले कोट्यााइरहन मजा मान्छन्‌। यस्तो गर्दा कतिलाई लुतो कन्याएजस्तै कन्याउन सन्चो लाग्दछ। आम नागरिकहरू समाजमा समस्या चाहँदैनन, हिंसा-अशान्ति चाहँदैनन्‌, साम्प्रदायिक दङगा चाहँदैनन्‌ समस्याको समाधान चाहान्छन्‌, शान्ति चाहन्छन्‌ प्रगति चाहन्छन्‌। तर, सामाजिक सञ्जालहरुका भित्ता हेेर्दा यस्तो लाग्छ यस्ता सञ्जालहरु समस्या समाधानका लागि नभएर समस्याको विजारोपण गर्ने र आम मानिसहरूमा विभ्रान्ति सृजना गर्ने विशेष माध्यम हुन्‌। यसले गर्दा समाजमा पटक पटक समस्या र हिंसा बल्झिरहन्छ। सामाजिक सञ्जालमा पत्रकारिताको खाल ओडेर समाजलाई झुक्याउन खोज्नेहरूको सङ्‌ख्या कम छैन। कतिपय  कुनै लक्षित उद्देश्यप्रेरित अभिप्रायले उत्तेजना सृजना गर्न खोजिएका विचार, बहस र अर्न्तवार्ताहरूले पनि कुनै बेला जटिल परिस्थिति सृजना गराउँदछ। यसप्रकारको विचार, बहस र अन्तवार्ताहरूले मानिसहरूमा असन्तुष्टि, विरोध, क्रोध र नैराश्यता पैदा गराउँदछ। 

सोसियल मिडिया कतिले समूहमा संचालन गर्छन्‌ कति व्यक्तिगत रूपमा संचालन गर्छन्‌। जे जस्तो भए पनि जसरी संचालन गरे पनि अवधारणा भने स्वच्छ र सकारात्मक हुनु आवश्यक छ। समाज विकासका कयौँ पाटाहरू छन्‌, सोसियल मिडियामा समाजका विकासका विभिन्न पाटाहरूलाई लिएर सकारात्मक हुनु आवश्यक छ। समाज विकासका कयौँ पाटाहरू छन्‌, सोसियल मिडियामा समाजका विकासका विभिन्न पाटाहरूलाई लिएर सकारात्मक विचार, नयाँ नयाँ सृजनात्मक अवधारणाहरू प्रस्तुत गर्नसके सबैभन्दा असल हुनेछ। सृजनात्मक विचारहरूले नै परिष्कृत मानसिक सृजना हुँदछ अनि समाजको वातावरण पनि स्वच्छ बन्दछ। समाजकै स्वच्छ वातावरणबाट राजनीति पनि परिष्कृत र प्रगतिशील बन्दछ। तर, सोसियल मिडियामा एउटै नकारात्मक र घातक पोष्टले कसैको जिन्दगी बर्बाद हुन्छ, कसैको सामाजिक मर्यादा भत्किन्छ भने समाजको शान्ति, सद्‌भावना, एकता र अखण्डतालाई छताछुल्ल पार्दछ अनि तपाई र हाम्रो सुन्दर ठाउँ अग्निगर्भ बन्दछ। यसैले सोसियल मिडियाको हरेक पोष्टले मानव हित र समाज विकासमा अग्रगामी भूमिका निर्वाह गर्न सकोस्‌।

 

क्यापसन

(‘‘मानिसहरूलाई विश्वको एक कुनादेखि अर्को कुनासित जोड्‌नु, एक अर्काका बारेमा जान्नु, टाड़ामा रहेका आफन्तजन, ईष्टमित्रसित भेट गरेर दुःख-सुखको अनुभूति साझा गर्नु, आफ्नो कला, प्रतिभालाई प्रचार गर्नु, आफ्नो क्षेत्रको संस्कृतिको प्रचार गर्नु, आफ्नो सृजनात्मक विचारहरू प्रकट गर्नु, विश्वका विभिन्न ठाउँ र त्यहाँका मानिसहरूका जनजीवन बारेमा जानकारी प्राप्त गराउनु सोसियल मिडियाको उद्देश्य हो’’)

ааЁаҐЌаЇ аІаҐаа№ааҐ