स्वास्थ्य र सम्पन्नताको लागी जड़ी-बुटी खेती 

  • 2021-08-02 06:03:31

डा. शरण कुमार रिजाल

स्वास्थ्य नै सम्पत्ती हो। स्वस्थ शरीरमा नै तेजीलो मस्तिष्क निहित हुन्छ। मानिसले आफू निरोगी रहन सही खाद्य र जड़ीबुटीको प्रयोग गर्दै आएको हो। आधुनिक एलोपेथी प्रणाली विकसित हुनुभन्दा अघि मानिसहरू जड़ीबुटीमा सम्पूर्ण निर्भर थिए। आयुर्वेदिक, सिद्ध, युनानी जस्ता चिकित्सा पद्धति र चरक, सुश्रुषा जस्ता जण्डा चिकित्सकहरू प्राचिनकालको विकसित प्रणालीका अकाट्य प्रमाणहरू हुन्‌।  दुष्प्रभाव (साइड इफेक्ट) रहित, एउटा औषधिले धेरैवटा रोगको निदान गर्ने, सरल सेवन पद्धति, सस्तो र सबैको पुहँचमा हुने आदि महत्वपूर्ण गुणहरूले जड़ीबुटीको महत्व बढ़ेको छ। शरीरको आन्तरिक रोग-रोधक क्षमता (इम्युनिटी) बढ़ाउने प्रमाणयुक्त गुणले त कोरोना वाइरस महामारीको सन्दर्भमा जड़ीबुटीलाई अझ प्रसाङ्गिक तुल्याएको छ। 

हाम्रो देशमा 800 वटा जड़ीबुटीको औषधिय गुणको पत्तो लागेको छ भने 80% औषधिहरूको स्रोत पनि उद्भिद्‌ नै हुन्‌। जुड़ीबुटीको महत्व बढ़ेकोले यसको संर्वधन, प्रर्वधन र व्यापार पनि द्रुत गतिमा बढ़ेको छ। हाल विश्वस्तरमा 4000 करोड़ डलर र भारतमा रु.2300 करोड़को व्यापार-वाणीज्य भइरहेको छ-जड़ीबुटीमा। प्रतिवर्ष 500 करोड़ रुपियाँको वनौषधि पनि निर्यात हुँदैछ। सरकारले केन्द्र स्तरमा नेशनल मेडिशिनल प्लान्टस बोर्ड र राज्यस्तरमा स्टेट मेडिशिनल  प्लान्टस्‌ बोर्डहरू गठन गरी उत्पादक-कृषकहरूलाई वित्तिय सहायता, अनुदान र प्राविधिक परामर्श दिने चाँजो मिलाएको छ। ज़डीबुटीको खेती गर्न लागत खर्चको 30% देखि 75% अनुदानस्वरूप सरकारले प्रदान गर्ने प्रावधान छ। दिव्य फार्मेसी, पतञ्जली, हिमालय, आरोग्य, बायोटेक र रेभलन जस्ता नामी फार्मा कम्पनीहरूले कृषकहरूबाट प्रचुर मात्रामा ठेका खेती करार गरी जड़ीबुटी खरीद गर्दछन्‌। 

साधारण माटो, रूखो र अनकन्तर बारी खेतमा पनि हुने, जंगली जनावरहरूले नष्ट नपार्ने, शिघ्र लाभ कमाउन सकिने र थोरै स्थानमा धेरै उत्पादन गर्न सकिने गुणले जड़ीबुटी अब लोकप्रिय बन्दै छन्‌। निम्न पंतीहरूमा बंगालको तराई-डुवर्स इलाका, सिक्किमको मुनिलो पहाड़, आसाम, मेघालयको केही क्षेत्र, मणिपुर उपत्यका आदि उप-उष्णकटिवद्ध अञ्चलमा सहज खेती गर्न सकिने केही जड़ीबुटीको संक्षिप्त कृषि पद्धति अघि सारिएको छ। हाम्रा दाज्यु भाईहरूले स्वास्थ्य सहित आर्थिक लाभ आर्जन गर्ने सम्भावना छ-जड़ीबुटीबाट। 

1. सर्पगन्ध -

सर्पगन्धाको जरा उच्च रक्तचाप, अनिद्रा र अस्थिर मनको प्रमुख औषधि हो। बीऊ वा जराबाट प्रजनन गर्न सकिने सर्पगन्धको जराहरूलाई 8% नमी नहुँदासम्म सुकाएर प्रयोग गरिन्छ भने 2 वर्षको बोटबाट वर्षेनी 2.5-3.0 टन प्रति हेक्टर उत्पादन गर्न सकिन्छ। हेक्टरप्रति 2 टन गोबर मल, 40 केजी नाइट्रोजन, 30 के.जी. फस्फरस र 30 केजी पोटाश मल प्रयोग गर्दा सन्तोषजनक उत्पादन पाइन्छ। 

2. अश्वगन्ध -

बाथ, उच्च रक्तचाप, क्यान्सर र यौवनवृद्धिको निमित्त अश्वगन्ध प्रयोग गरिन्छ। भदौ-असौजमा 2 केजी बीऊप्रति ऐकड़ प्रयोग गरी फाल्गुन-चैतमा कटाइ गरिन्छ। प्रति हेक्टर (= 7.5 बिघा) 2 टन गोबर मल बाहेक अरू कुनै मलको प्रयोजन छैन। प्रति हेक्टर 1.0 देखि 1.5 टन जराहरूको उत्पादन हुन्छ।

3. घिऊकुमारी -

मोटोपन, मधुमेह, कोलेस्ट्रोल लगायत अनेकौं रोगहरूको प्रभावशाली औषधि मानिएको घिऊ कुमारी अर्थात्‌ एलोबेरा पोलेको घाउको पुरानो औषधि हो। सी-11271, सी-111269, एएल-1 जस्ता उन्नत जातहरूको खेती गरी प्रति हेक्टर 30 टनसम्म उत्पाद प्राप्त गर्न सकिन्छ। 10-15 मिटर लामो र 3 मिटर चौड़ा ड्याङ्‌कमा यथेष्ट  गोबर मल हालेर 5 से.मी. लामो पानाहरू 50 से.मी. को दुरीमा रोप्नुपर्छ। फसल 18-24 महिनामा तयार हुन्छ। घिऊ कुमारीसँग तिल, धनियाँ, सिंबी आदि साथी फसल लगाउन सकिन्छ। 

4. चिरैतो -

हर्षा, चर्मरोग, अल्‌सर, अपच र मधुमेहको सहज नियन्त्रण गर्न चिरैतोको व्यापक उपयोग गरिन्छ। असौज-कार्तिक माटो, मल र बालुवाको सम्मिश्रणले ड्याङ्‌क बनाएर बीऊ छर्नु पर्छ। तयार बीरुवा 45 से.मी. को दुरीमा रोपेपछि फागुन-चैतमा प्रथम फसल तयार हुन्छ भने एक हेक्टर खेतको लागी 200 ग्राम बिऊ आवश्यक हुन्छ। एक हेक्टरबाट 3-3.5 टन उत्पदान रु.83,000/- जति खर्च लाग्छ। 

5. कुरीलो -

कुरीलो अर्थात्‌ शतावरीको जराहरू पेट दुख्ने, पिसाब पोल्ने र घाऊ थाक्नेको निम्ति कारगर औषधि मानिन्छ। जेएल-962, सीआईएमपी-सन्देश आदि उन्नत जातको खेती गरेर अव्यधिक उत्पादन गर्न सकिन्छ। बीऊ अथवा जराको टुप्पोबाट खेती गर्न सकिन्छ भने उचित मल, सिंचाई गर्दा 18-20 टन प्रति हेक्टर उत्पादन हुने र रोपेको एक वर्ष भित्र प्रथम फसल लिन सकिन्छ। 

6. तुलसी -

दुवै प्रकारको तुलसी-कृष्ण (कालो) र श्री (हरियो) को खेती गर्न उपर्युक्त हुन्छ। तुलसीले खोकी-खाँसी, दमारोग, चर्मरोग र पखाला चल्ने रोग सहजै नियन्त्रण हुन्छ। तुलसीको बीऊ अति सानो भएकोले बालुवासँग 1ः4 को अनुपातमा मिसाएर बियाड़मा छर्नु पर्छ र छरेको 4-6 हप्तामा 4-5 वटा पत्ता भएको उपयुक्त बीरूवा तयार हुन्छ। हाँगा सारेर पनि बीरूवा तयार हुन्छ। मूल बारीमा 40 से.मी. ु 30 से.मी. को दुरीमा रोप्नु पर्छ भने गोबर र अरू मल प्रयोग गरे बढ़ीउत्पादन प्राप्त हुन्छ। रोपेको 10 दिनमा फुलेको अवस्थामा 15 से.मी. छोड़ेर फसल कटाइ गरिन्छ भने प्रति हेक्टर 10,000 के.जी. पत्ता प्राप्त हुन्छ। आय  रु. 5.00 प्रति हेक्टर प्राप्त गर्न सम्भव छ। 

7. ब्राह्मी -

मानसिक रोग निवारण गर्न, स्मरण शक्ति बढ़ाउन, दमारोग, बाथ नियन्त्रण गर्न ब्राह्मी प्रभावशाली हुन्छ। सुबोधक र प्रज्ञाशक्ति नामक उन्नत जातका बीऊ प्रयोग गरी एक टन प्रति हेक्टरसम्म उत्पादन गर्न सकिन्छ। वर्षायाममा लगाएको बालीबाट अक्टोबरमा प्रथम फसल र जुनमा दोस्रो फसल काटन उपयुक्त हुन्छ। 

8. पिप्ली -

पिप्लीको नपाकेको सुकेको फल (दाना), रूगा-खोकी, दमारोग, ज्वरो, अनिद्रा आदिको निम्ति प्रचलित औषधि हो। ‘विश्वम’ नामक विकसित जातबाट 20 टन प्रति उत्पादन हुनसक्ने तथ्य छन्‌। सुपारी, नरिवल, जंगली रूख, चिया-बगानको सगेंल प्रदान गर्ने रूख आदिमा लहरारूपी पिप्ली खेती गरे गरेर विशेष स्थान बिनै अतिरिक्त आय गर्न सम्भव छ। 

9. कालमेघ -

कालमेघलाई तितोको राजा पनि भनिन्छ भने पहेंलो रोग, उपरतली, ज्वरो, मधुमेह, मासी पर्नु आदिको कारगर औषधि हो। 10 मिटर ु 2 मिटरको गोबर मल राम्ररी मिसाएको ब्याड़मा बीऊ छरेर 7-8 दिनमा बीरुवा तयार हुन्छ। बीरूवाहरू 50 से.मी. ु 40 से.मी. को दुरीमा रोपिन्छ भने फुल्न आरम्भ हुँदा काटनु पर्छ। असारमा लगाएको फसल भदौ-असौजमा तयार हुन्छ। उत्पाद- 3.5 देखि 4.0 टन प्रति हेक्टर प्राप्तहुने अनुमान छ। खर्च थोरै र लाभ धेरै हुने कालमेघको गुण हो। 

10. सदाबहार - 

सदाबहारलाई नयनतारा पनि भनिन्छ र यो क्यान्सर, मधुमेह र पाकेको घाऊ थाक्ने अचुक औषधि हो। यसको पत्ता, डाँक्ला, जरा र चोप उपकारी छ। एक वर्षभन्दा कम पुरानो बीऊबाट प्रजनन हुन्छ भने एक हेक्टरमा 2.5 के.जी. बीऊले मनग्गे पुग्छ। बीऊ सारै सुक्ष्म हुनाले बालुवासँग मिसाएर छर्नु पर्छ। बीरूवा 45 से.मी. ु 30 से.मी को दुरीमा लगाइन्छ भने उचित व्यवस्थापनमा 1.5 टन पत्ता र आधा टन जराको उत्पाद गर्न सकिन्छ। एक वर्षपछि उत्पादन लिन सकिन्छ। 

अन्य लेखहरू