पारसदेखि दुर्गासम्म हाम्रो पीर एकै थियो

  • 2021-01-21 06:27:14

उदय ठाकुर, देहरादून छावनी

पहिलो नेपाली पत्रिकाको पगरी गुथाउँदा भारतेली नेपाली पत्रिकाको श्रेष्य वर्ष 1901 को ‘गोर्खे खबर कागत्‌’-लाई दिनुपर्छ भने कयौं शोधकर्त्ताहरूको भनाइ छ। हुन त ‘गोरखा भारत जीवन’-को चर्चा पनि हुन्छ तर विज्ञापनको भरमा यसको एकप्रति आजसम्म नपाएकोले यसलाई आधार मान्नु अलि अफ्ट्यारो देखापर्छ। एकातिर डा. डिल्लीराम तिमसिना ‘गोरखा भारत जीवन’ पत्रिका प्रकाशित भएकै हो भन्ने प्रमाणित भइसकेको विश्वास गर्छन्‌। अकातिर डा. तारानाथ शर्मा आफ्नो ऐतिहासिक ग्रन्थमा यसको नामसम्म पनि उल्लेख गर्दैनन्‌। 

‘गोर्खे खबर कागत्‌’-को प्रकाशन 1 दिसम्बर सन्‌ 1901 देखि 1 जून 1930 को संख्या छःसम्म रहेको पाइन्छ। पाद्री गंगा प्रसादले दार्जीलिङ निजी ‘गोर्खेप्रेस’-बाट सन्‌ 1901 देखि ‘गोर्खे खबर कागत्‌’- चलाएका थिए। यसै पत्रिकामा 1 अक्टूबर 1916 मा पारसमणि प्रधानको एक गजल छापेका थिए अनि सुतेको गोर्खालीहरूलाई जगाउने प्रयास गरेका थिए। गजलको नमूना यस्तो छ-

हरे! गोरखाली तिमी नींदमा छौ

अरू जाति भन्दा पछाड़ी छौ

भयो नींद आलस्य सब्‌ त्यागी देऊ

सबै मिलमीली स्वभाव बढ़ाऊ

पचास लाख भन्दा बेसी छ न्येपाली

बडो खेद!! भाषा छ सारै पछाडी

यता छैन भाषा उता छैन भाषा

गयो पाठशाला तहीं छैन भाषा

भयो लौ दुराशा, भये धेर निराशा

भयो त्याग अलछ्‌ये बढाऊ दिलाशा

यता छन्‌ न्यपाली उता छन्‌ न्यपाली

अहा! वीर गोर्खा कतै छैन खाली

थियो यस पाली सबैको पछाड़ी

हरे शोक!!! यस्तो दशा वीरहरूको

अहो वीर!! तिम्रो विरत्व; कहाँ गो?

स्मरणहोस्‌ कि 1 अक्टोबर 1926 को ‘गोर्खे खबर कागत्‌’-मा देहरादूनमा ठाकुर चन्दन सिंहको सभापतित्वमा बसेको 15 अगस्त 1926 को गोर्खा लीगको सभाको मर्यादा यथोचित ढंगमा सरकारी पक्षले दर्शाउनु पर्छ भनि प्रस्ताव पास भएको थियो। हामी पाद्री गंगाप्रसाद प्रधानका ऋृणि छौं कि उनले नेपाली भाषाको भारतमा विकाशमा महत्वपूर्ण कार्य गरे। 

‘गोर्खेखबर कागत्‌’ पश्तात्‌ पण्डित सदाशिव शर्माले 1902 देखि काशीबाट भाषाको सेवा गर्नुलाई ‘उपन्यास तरंगिनी’ प्रकाशमा ल्याए तर छोटो उमेरमा पत्रिकाको अकाल मृत्यु भयो। 

पारसमणि प्रधानको मातृभाषा अनि जाति प्रतिको पीर पछि सूर्यविक्रम ज्ञवालीले 1916 मा ‘मातृभाषा’ नामक समस्यापूर्तिमा यसप्रकार पीर पोखेका थिए। यो सूर्यविक्रम ज्ञावालीको पहिलो र अन्तिम कविता हो-

साह्रै हीना गलित बदना शोकले ढाकिएकी

रोई रोई छटपट गरी काल पर्खी रहेकी

छोरा नातीहरू सब मरी क्लेशले भै निराशा

बस्ने वृद्धासरि हजुरको भेष भो मातृभाषा। 

पारसमणि प्रधानको दुखाईको बीस वर्षपछि वर्ष 1936 मा आजाद हिंद फौजका सेनानी शहीद दुर्गामल्लले आफ्नो जातिप्रति दुःख यसरी पोखेका थिए-

बताऊ आएर भगवान, सुतेको जातिलाई बाटो

के भयो हामीलाई आज, किन बुद्धिभयो लाटो

यसै जातिको बल पौरख, हेरी भन्थे वीर गोर्खा

थिए उज्जवल ती हीरा झैं किन यी भइसके माटो

आज देखेर यो मैले, भनी सक्तिन केही अहिले

कर्तव्य बुझनन ती कहिले, उड़ेछ सबैको सातो

यी कस्ता जन्मिए मूले, सबै अर्कै झैं भइभूले

आफ्नालाई लाउदै छन्‌ छुले, मायालु हुनको साटो

पूर्खाको मान गइसक्यो, जाति बदनाम भइसक्यो

तिम्रो जिऊ मात्र बाकी छ, किन बनाउँदै छौ माटो

दुर्गाले लेख्दै छ लेख, प्रभुले मारिदेऊ मेख

अझ आँखा छ भने देव देख, अरू हिड़दैछन्‌ कुन बाटो। 

आज हामीलाई भाषालाई दिगो राख्न मनग्गै गोर्खाली जन्माउनुपर्छ। रीस-रागले होइन तर एक संस्थाका सदस्यहरूले अर्कासँग सुशील व्यवहार दर्शाएर एकताको सूत्रमा गठित हुनुपर्छ तबै हाम्रो जातिको उत्थान सम्भव छ। आऊँ कवि विकास गोतामेले भने जस्तो गरौं-

तिमी पुञ्जपुञ्जका तृप्तिहरू बोकेर आऊ

म कुञ्ज-कुञ्जका अभावहरू लिएर आउँछु

तिमी विश्व-विलुलता समातेर निक्ल

म भोक, रोग र शोकको चित्कार लिएर आउँछु

चक्कर भयानक होस्‌

सङ्‌घर्ष निर्णायक होस्‌

आओ एउटा जङ्ग लड़ौं!

अन्य लेखहरू