कोरोना संक्रमणको प्रकोप अनि डामाडोल स्थिति

  • 2021-01-20 13:38:11

-  बी.घिमिरे

व्यञ्जनवर्णको पहिलो अक्षर ‘क’ बाट उत्पत्ति हुन सकेको कोरोना संक्रमण अर्थात्‌ कोविड-19 ले पृथ्वीमा प्रवेश हुन साथ संसारमा धेरै उत्पात मचायो। यसले प्रथममा नै विश्वलाई थर्कमान बनाउन साथै सबैको होश-हवास उड़ायो। कोरोनाको यस प्रकारका दुस्हासले सम्पूर्ण विश्वको रौनकता क्षणभरमा नै   मातममा परिवर्त्तन भयो। यो विशाल चराचर जगतमा स्वभाविक रूपमा कहिले काहीँ प्राकृतिक आपदाले संसारलाई तहस-नहस पार्न सक्छ भने यसपाली अनाहक शक्तिशाली संक्रमण कोरोनाले भने सम्पूर्ण जनगतमा नै क्षणभरमा लाखौं मानिसहरूको ज्यान लियो। यो विश्व संसारमा मौसमअनुसार संक्रमणहरू फैलिएर आउँछ अनि आंशिक क्षति पुऱ्याएर विलिन पनि हुने गर्छ। त्यसता संक्रमणहरूको शिकार हुने विरामीलाई सही समयमा उपचार भएपछि निको हुने गर्छ। यस्ता विषाक्त संक्रमणकै सन्दर्भमा कुरा उठान गर्दा यो शक्तिशाली संक्रमणको रूपमा कोरोना हठात प्रकट भएर पल भरमा हजारौं-लाखौं मानिसहरूको ज्यान जाँदा विश्वमा सहनै नसकिने मातम छायो, सबैलाई मर्माहतको स्थितिसँग जुझ्न जाँदा बाध्य गरायो। सबै जनसमुदायको अनुहारमा फिक्का पन छायो। समय बित्दै गयो तथापि शक्तिशाली कोरोना संक्रमणले आजसम्म आफ्नो तेज गतिको रफ्तारलाई ब्रेक लगाउन सकेको छैन। आजसम्म हनुमान गियर लगाएर अघि बढ्‌न सक्रिय देखिन्छ। 

आज सम्पूर्ण जगतमा कोरोनाको प्रकोपले जुन प्रकारको स्थिति सिर्जना गरेको छ, जुन प्रकारको जटिलता ल्यायो त्यो वास्तवमा  विश्वले सहन गर्न नसकिने अविस्मरणीय घटना हो निश्चय पनि। जब जब यो विशाक्त भएर कोरोना प्रकट भयो तबदेखि नै विश्वमा अशान्ती छायो। कोरोना संक्रमणबाट बाच्न अनि जोगिनलाई आज विकसित राष्ट्र समुहले लकडाउनको आह्वान गर्ने क्रम बढ्‌दै जाँदा हाम्रो देश भारतमा पनि अनिवार्य रूपले लकडाउन पालन गरिनु सरकारको घोषणा हुँदा देशवासीमा  विस्तारै यसको प्रभावमा स्थिति डामाडोल हुँदै गयो। दोकान पाट, व्यापार प्रतिष्ठान, धार्मिक संस्थानहरूले संक्रमण बढ़ेर जान सक्ने सम्भावनाले जनसमावेश हुन नदिन कुनै कार्यक्रम आयोजन गर्न नपाउने यसै क्रममा शैक्षिक संस्थानसँग जड़ित कुनै पनि विभाग पूर्ण रूपले बन्द राख्नु पर्ने हुँदा अविराम गतिले स्थिति क्रमशः बिग्रिन्दै जाने हुँदा सबै ठाउँमा पोजिसन डामाडोल हुँदै जानु स्वाभाविक हुँदै गयो। यसैको प्रकोपमा परेर आज मानिसहरूको बाँच्ने जीवनशैली पनि बिग्रिएर गएको देखिएको छ। विश्व समुदायको आनन्दमय जीवन भङ्ग गर्न हठात कोरोना टपक्यो। यो कोरोना, संक्रमणबाट बाँच्न घरभित्रै बस्नु पर्ने जनता कर्फ्यु, लकडाउन, मास्क विहिन बाहिर निस्कन नपाइने, सेनिटाइजर, कोरोन्टाइनमा बस्नु पर्ने, जस्ता शब्द जिन्दगीमा सुन्न पाएका थिएनौ भन्ने मन्तव्य यदाकदा मानिसहरू पोख्ने गर्छन्‌। 

सरकारले सम्पूर्ण देशवासीको हित हुन सकोस्‌ भन्दै घोषणा गर्नु समयको मांग हो। सम्पूर्ण देशमा यो महामारीको कालखण्ड अवधिभरि कुनै पनि व्यापारी समुदायले चीजबीजको दाम नबड़ाउन, यसो गर्नाले गरीब परिवारलाई मर्का पर्न सक्छ भन्ने उद्देश्यमा आग्रह गर्दै घोषणा गरे। पालन पनि गरे सबैले। तर समयले जति डाँड़ा काट्‌दै गइरहेको छ उति नै हामीमा लोभ लालच बढ़न लागेकोले आज बजार वाणिज्यमा, साग-सब्जीको कारोबार र बिक्री बट्टामा असाधारण रूपमा मूल्य वृद्धि गर्न तल्लीन छन्‌। बजारमा भीड़भाड़ गर्न हुन्न भन्ने सोंच र विचारलाई हाम्रो मन मस्तिष्कमा ठाउँ दिन छाड़यौं। यस महामारीकालमा गरीब जनसाधारणलाई सोझै ठग्न अघि आइरहेका छन्‌ डाक्टरहरू, सही समयमा उपचार गर्न चुकिरहेका छन्‌। यस समय कालखण्ड अवधिमा अस्पतालमा साधारण उपचार गर्न पनि मानिसहरू डराउन थालेका देख्दै आइरहेका छौं।

हामी मानिस आज चेतनशील बन्दै गइरहेका छौं, शिक्षित पनि छौं। तर हामी मानवमा लापरवाही पनलाई पनि उतिकै आश्रय दिइराखेका छौं। विगतका सामान्य जन-जीवनलाई सम्झन्दै कतिपय कामकुरोमा अधुरोपन र मनपरी गर्न थालेका छौं। बजारमा हाट भर्न जाँदा साग-सब्जी, खाद्य-पदार्थ इत्यादिमा आकाश छुने महँगाईमा बिक्री गर्न तल्लीन देखिन्छन्‌ सबै व्यापारीहरू। कोरोनाकालको डकडाउन मानिसहरूको भलो हुन सकोस्‌ भन्ने उद्देश्यमा सरकारले घोषणा गर्न साथ मानिसहरूको सोंचमा पनि धेरै प्रकारको नकारात्मक सोंचहरूले बास गर्न थालेको कारण अवस्था अनायास बिग्रिएर जानु स्वभाविक नै भएर गएको देखिएको छ। अहिले घरि यसै सिलसिलामा कुरा उठान गर्दै भन्नु हो भने गाड़ी भाड़ामा पनि हाम्रा  चालक बन्धुहरूले सीमारेखा नाङ्‌दै मानिसहरूबाट भाड़ा असुल्न थालेका छन्‌। यो भुवँरीमा कलमकार पनि मुछिन नपुगेको होइन। प्रश्न उभ्याउने कोशिष गर्दा तेलको दाम असाधारण रूपमा बड़ेको कारण देखाउँदै आफू मुक्त हुन खोज्ने चालक बन्धुहरू पनि हाम्रै बन्धु हुन्‌। 

हुन त जति सुकै संघर्ष गर्दै आए पनि समाजमा यी सबै विवादहरू सुल्झाउनु नसकिने रहेछ। हामी मानव सबै समयको चक्रव्यूहमा परेर यस्तै यस्तै हुँदै गइरहेका छौं। 

अन्तमा पुरानो नेपाली पत्रिकाबाट मनले रूचाएको कविताको पंक्ति यहाँ ठाउँ ओगल्ने धृष्टता राख्दै प्रस्तुत छ-

विवेकमा दुर्योधनको वास हुँदा

अपूर्ण इच्छाका जुलुसले

आकाशमा बाटो बनाउँछ

अनि 

स्लोगनहरूको कृतिम इन्द्रेणीले

जीवनलाई असत्यको द्रष्टा बनाउँछ।

अन्य लेखहरू