शिरोमणी सुन्दरसाथजी साथै धर्मानुरागी महानुभावहरुमा सर्वदा हार्दिक शुभकामना प्रेम प्रणाम् ।
2021 लागेछ। समय सुल्केछ। कपालको केस सेताम्मे फुलेछन्। पाको भैएछ। मैले हजुरहरू संग आत्मा-कल्याणकारी आध्यात्मिक चिन्तन गर्नु शुरू गरेको पनि आठ वर्ष लागेछ। के यो आत्मा कल्याणको निःशुल्क घच्घच्याहट केहि मात्रामा सफल भयो त? कि ज्याला तिरेर मनोरन्जनको साथ कथा सुन्ने बानी परेकोले, निःशुल्क पाएको आध्यात्मिक सन्देश सस्तो बेसार ठहरियो? कि मध्यमार्ग केवल सजावटको सामग्री बन्यो? हरेक मास ‘अहिंसा परम धर्म’-को बिगुल बजेको सुनेर के गरियो हजूर? के हिंसाको महापाप कर्मलाई त्यागी अहिंसा र सात्विकतालाई अपनाइयो? आफैले, आफु सित आफ्नो मन खोलौं, यी प्रश्नहरूको इमान्दारी उत्तर आफु भित्रै पाइन्छ। यो नीजि तत्वलाई सार्वजनिक गर्नु पर्दैन भन्दैमा, आफ्नो आत्मासँग बेइमानी काम गरी नर्कमा जाक्ने अनर्थ चाहिँ नगरौं है हजुर! सत्य धर्मपथमा लागी आत्मा कल्याण गर्नु दृढ़ संकल्प गर्नेलाई मात्र यो कुरा लागु छ। यस्मा कसैलाई करकाप छैन। कोही पराधीन छैन भन्दैमा अपराध या अधर्म चाहिँ नगरौं है!
पहिला आफुले आफुलाई चिन्नु, या, आफ्नो धर्म-कर्म, योग्यता-अयोग्यता; तन, मन, बचन र कर्मको शुद्धता अनि पवित्रता या पात्रताको तसल्ली गर्नु आवश्यकीय छ्। नत्र, आफ्नो अजर अमर आत्माको अखण्ड मुक्तिदाता मालिक, अनन्त अविनाशी अक्षरातीत परब्रह्म पूर्ण ब्रह्म श्री कृष्ण-कन्हैया प्रभु परमात्मा ‘श्री राजजी’-लाई चिन्नु सकिन्न। फलत: आत्माको अखण्ड मोक्षको एउटै मौका, देव-दुर्लभ-मानव-जीवन ब्यर्थै गुम्नेछ। आत्मा कल्याणको जिज्ञासु महानुभावहरुले आवश्यकता अनुसार, झट्टै, अहिंसाको ब्रत पालन गरौं अनि खान-पिन, रहन-सहन; मन, बचन र कर्म शुद्ध गरौं। यसरी, पश्चताप, प्रायश्चित अनि तन र मनको शुद्धीकरण गरी, श्री राजजीको श्री कोमल चरण शरण प्राप्तीको निम्ति श्वासप्रश्वास प्रभु-नाम सुमिरन गरौं। यो हो प्रेमलक्षणाभक्ति पद्धति या मानसिक उपासना। तब, श्री राजजी हाम्रो पवित्र हृदय मन्दिरमा पधारी बिराजमान होइबक्सनेछ। अब, पल् पल् श्री राजजीको दर्शन र साथको अनुभव हुन्छ्। यसरी जीवनकालमा नै चौरासी लाख युनीको जन्म-मरण-दशा-चक्कर मुक्त होइन्छ। आत्माको अखण्ड मोक्षको लागि अन्य उपाय छैन।
बिश्वको सबै धर्म शास्त्रहरूले सुझाव दिएको नाशवान-तत्व पताल, स्वर्ग, बैकुण्ठ अनि शून्य निराकार सम्मको रहस्य
साथै शून्य निराकारदेखि अझै माथि अक्षर ब्रह्म र अक्षर धामदेखि अझै माथि अनन्त अविनाशी अक्षरातीत परब्रह्म पूर्णब्रह्म श्री कृष्ण-कन्हैया प्रभु परमात्मा श्री राजजीको बिषय थप-ज्ञान, अद्वितीय श्री दिब्य तारतम आत्मा जागृत अखण्ड ज्ञान प्रकाशको सार-आधारमा म हजुरहरू संग आध्यात्मिक चिन्तन गर्छु। यो आत्मा जागृत दिब्य अखण्ड ज्ञान संसारको अनुसन्धना होइन। यो कसैको ब्याक्तिगत बिचार या मनको कुरा पोखाइ होइन; न यो घोरिएर, कलम टोक्दै कनीकुथी लेखेको कुरा हो। यो दिब्य अखण्ड ज्ञान प्रकाश स्वयम श्री राजजीको खटन हो। शुद्धता, पवित्रता, समर्पण अनि अनन्य भक्तिको पात्रताको कारण, श्री कृष्ण प्रणामी धर्मको अग्रज स्वामी श्री प्राणनाथजीको मुखारविन्दबाट, श्री राजजीको प्रेरणा र आदेश अनुसार, प्रस्फुटित श्री दिब्य तारतम आत्मा जागृत ज्ञान, श्री राजजीको दिब्य वाणी हो।
होशियार ! भ्रममय मायाले आत्मालाई अधोगतिको पथ तर्फ धकेलेको पत्तै हुँदैन। आध्यात्मिक चिन्तनले घच्घचाएर ब्युँझाई, डोहोर्याएर पार तार्नु हात बड़ाउँछ -- ढिलाइ नगरी पक्रौं है हजुर। जिन्दगीको भरोसा छैन; यस्को कहिले अन्त हुने हो, कसैले देख्या र जान्याछैन। आत्मा कल्याण र सुगम भोलिको लागि आजै धर्म र कर्म नियमित रूपले इमानको साथ गरौं। सफलता निश्चित छ, तब भविष्य पनि बन्छ, मोक्ष पनि मिल्छ--जीतै जीत!
यो मायाको मिथ्या-खेल संसारमा, रूप, रङ्ग, पद, धन, ज्ञान र धर्मको निरर्थक अभिमान गर्नेहरू भर्मार छन्। बिभिन्न धर्म पंथपंथीकाहरू, परम्परालाई पछ्याउँदै देवालयहरूमा भौतिक मागपूर्तिको निम्ति बिभिन्न इष्टदेवको बिधिवत पुजापाठ गर्छन्। आरती उतारेर कर्मै नगरी कसैलाई बरदान मिलेको प्रमाण छैन। प्रति दिन, 108 पटक मन्दिरको परिक्रमा गरेर बरदान त पाउने होइन तर शारीरिक दुरूस्ती भने अवश्यै हुन्छ; बिशेष मधुमेहको बिरामीलाई यसो गर्नु लाभदायक हुन्छ भनिन्छ। प्रभुले बाटो देखाइ हाल्छन् नी भनी आँखा चिम्लेर मन्दिरको परिक्रमा नगरौं है; लड़ेर या ठोकिएर नराम्रो घातले चोट लाग्ला। चेतनशील छौं, सर्व प्रथम, ‘के गरिन्दै छ अनि यस्को लक्ष्य र उपलब्धि के हो?’ भनेर सोचौं है। जस्ले जे भन्यो त्यहि नपत्याउँ। चाल्नु र केलाउनु जान्दछौं; सबै कुराको छानबिन गरौं।
कुनै पनि बिषय लिएर अन्यको क्षिद्रान्वेशन (चियोचर्चा र निन्दा) गर्नु सुधार होइन तर यो महा घटिया बानी हो। खेदको कुरा, हाम्रो जातिको बसिबियाँलोको प्रकृति नै अर्काको चियोचर्चा र निन्दा बनेकोछ। यसैकारण, परिवार, जात, जाति, समाज; गाउँ-ठाउँदेखि लिएर सारा बिश्वमा नै फाटो आई अशान्तिले छाएको इतिहास मौजुद छ अनि बर्तमान संसार यो समस्या मुक्त छैन। इमानको साथ मन माझामाझ अनि क्षमा दियाइ र लियाइ नभए सम्म अशान्ति वातावरण जारी रहने छ। अधर्मको प्रकोप बड़्दोछ।
श्री राजजीमा समर्पित अनन्य भक्त नबने सम्म अनि श्री राजजीको आदेशको अधिनमा नरहे सम्म, हामीहरू, बिना डोरीको मायाको बन्धनमा परी, काम, क्रोध, लोभ, मोह अनि अहंकारको बिषतुल्य नशामा लट्टिएका हुन्छौं। यहि स्थितिमा हामीहरू अज्ञानीजनको हात पकड़ी ज्ञानको सिंड़ीमा चड़्ने प्रयत्न गर्छौं। यसो नगरौं।
हामी, श्री कृष्ण प्रणामी धर्मालम्बी सुन्दरसाथ, शुद्ध र पवित्र हृदयी, दयावान, शान्त, सरल, शीतल, नम्र अनि समदृष्टि हुनुपछ्र्। हाम्रो आशा, बिश्वास र भरोसा स्वयम् श्री राजजी होइबक्सन्छ। हाम्रो बल र बुद्धिको आश्रय स्थान पनि श्री राजजी नै होइबक्सन्छ्। हाम्रो सम्पूर्ण कृयाकलाप श्री राजजीको आज्ञाले सम्पादित हुन्छ अनि हाम्रो ईच्छाको श्रोत श्री राजजी होइबक्सन्छ्। यी सबै सम्भव हुनुको निम्ति हाम्रो कर्म र मनस्थिति श्री राजजीको अनुकुल हुनुपर्छ। प्यारा सुन्दरसाथजी, आफ्नो स्थितिलाई निहारौं।
आदरणीय पाठकगण,आत्माको अखण्ड मोक्षको निम्ति, अहिंसाको ब्रत लिई, तन अनि मनको शुद्ध र पवित्र; पल् पल् श्री राजजीको नाम सुमिरन गर्ने, श्री राजजीमा पूर्ण समर्पित अनन्य भक्त बनौं या प्रेमलक्षणाभक्ति गरौं। बस्, प्रभु प्राप्तिको निम्ति अन्य केहि गर्नु पर्दैन।
हजुरहरूको सबैलाई नव बर्षको शुभकामना प्रणाम्।