पहाड़मा राज्य विधानसभा चुनाउ पहिलोचोटि छैन मुद्दामा ‘गोर्खाल्याण्ड’

  • 2024-03-26 09:07:38
==>

मुकुन्दराज ओली

गत 26 फरवरी 2021 का दिन भारतको चुनाउ आयोगले चारवटा राज्य पश्चिम बंगाल, असम, तमिलनाडु, केरल अनि एउटा केन्द्रशासित अञ्चल पुडुचेरीमा विधानसभा चुनाउको मिति घोषणा गऱ्यो। यसमा असममा तीन चरणमा 27 मार्च, 1 अप्रेल र 6 अप्रेलका दिन चुनाउ हुनेछ भने तमिलनाडु, केरल र पुडुचेरीमा एकै चरणमा 6 अप्रेलमा चुनाउ हुनेछ। पश्चिम बंगालमा भने आठ चरणमा 27 मार्च, 1, 6, 10, 17, 22, 26, र 29 अप्रेलका दिनहरूमा चुनाउ हुनेछ। सबै राज्यको मतगणना 2 मईमा हुनेछ। दार्जीलिङ जिल्ला तथा पहा़ड़का तीनवटा आसन दार्जीलिङ, कालेबुङ र खरसाङमा पाँचौं चरणमा 17 अप्रेल 2021 का दिन चुनाउ हुनेछ। सबै राज्यमध्ये पश्चिम बंगाल विधानसभा चुनाउ धेरै चाखलाग्दो छ। यहाँ पहिलोचोटि सत्तामा आउन भारतीय जनता पार्टीले ज्यान-प्राण लगाएको छ भने गत 10 वर्षदेखि सत्तामा रहेको तृणमूल कंग्रेसलाई आफ्नो सत्ता बचाउन हम्मे-हम्मे परिरहेको छ। यो लेख पाठकहरूसमक्ष आइपुग्दा तीन चरण जतिको चुनाउ पनि भइसकेको हुनेछ। 

 

दार्जीलिङ पहाड़मा चुनाउ 17 अप्रेल हुने भएखोले यहाँ यसैबारे चर्चा-परिचर्चा गरिन्छ। विगतका चुनाउहरू झैं परिस्थिति यसपालि पहाड़मा छैन। सुवास घिसिङ र विमल गुरुङको आधिपत्य रहँदा पहाड़मा यिनीहरूले जसलाई भोट हाल्नू भने जनताले त्यस पार्टीलाई नै भोट हाल्थे। गोरामुमो र गोजमुमोका उम्मेद्‌वारहरू व्यापक जीत हासिल गरी विधायक बन्दथे। दागोपापका सबै आसन गोरामुमोको झोलीमा जान्थ्यो भने जीटीएका सबै आसनमा गोजमुमोको जीत हुन्थ्यो। तर वर्तमानमा परिस्थितिमा आकाश-पातालको अन्तर आएको छ। शक्तिशाली गोजमुमो दल टुक्रिएर गोजमुमो (विमल) र गोजमुमो (विनय) भएको छ। यसपछि गोरामुमो र क्रामाकपाजस्ता दलहरूका केही हदसम्म आफ्नै समर्थकहरूका साथमा राजनीति गरिरहेछन्‌। भाजपा र तृणमूल कंग्रेस दलहरू पहाड़का यी क्षेत्रीय दलहरूको समर्थकमा पहाड़, तराई, डुवर्समा आफ्नो चुनाउ वैतरणी तर्ने दाउमा छन्‌। पहाड़मा कंग्रेस, माकपा, अभागोली जस्ता दलहरूको उपस्थिति नगण्य छ।

गत 2019 सालको लोकसभा चुनाउमा भाजपा प्रार्थी राजु विष्टले गोजमुमो (विमल), गोरामुमो र क्रामाकपा जस्ता क्षेत्रीय दलहरूको समर्थनमा गोजमुुमो (विनय) समर्थित तृणमूल कंग्रेस उम्मेद्‌वार अमरसिंह राईलाई रेकर्ड मतले पराजित गरे। यसअघि भाजपाकै एसएस अहलुवालिया र जसवन्त सिंहलाई एकत्रित गोजमुमोले सांसद बनाएर पठाएको हो। तर भाजपाले गोर्खाहरूको लागि अहिलेसम्म कुनै काम गरेको छैन। केन्द्रको सत्तामा बसेको सात वर्ष पार भइसकेको छ तर यसले गोर्खाहरूलाई दिएको आश्वासनको एक रत्ति पनि काम गरेको छैन। एघार गोर्खा जातगोष्ठीलाई जनजातिको मर्यादा, पहाड़मा केन्द्रिय विश्वविद्यालय र पहाड़-तराई-डुवर्सका गोर्खा-आदिवासीको स्थायी राजनैतिक समाधान गरिदिने आश्वासनमा फेरि पनि यसपालि बंगाल विधानसभा चुनाउमा पहाड़-तराई-डुवर्समा जनतालाई भोट मागिरहेछ भाजपाले।

तर यसपालि पहाड़को राजनैतिक परिदृश्य परिवर्तन भएको छ। भाजपाले लगभग एक दशकसम्म मागहरू पूरा गरिदिने भाजपाको आश्वासनमा भर पर्दै आएका विमल गुरुङलाई यसपालि भाजपाप्रति मोहभंग भएको छ। 2017 को गोर्खाल्याण्ड आन्दोलनमा राज्य सरकारको विभिन्न मुद्दाहरू खेपेर भूमिगत भई भाजपाको शरणमा बसिराकेका विमल गुरुङ र तिनका समर्थकहरू गत 2020 को अक्टोबर महीनामा कलकत्तामा प्रकट भए। त्यसपछि भाजपाले धोखा दिएको भन्दै विमलले यसपालि विधानसभा चुनाउमा तृणमूल कंग्रेसलाई समर्थन गर्ने र ममता ब्यानर्जीलाई तेस्रो पटकका लागि मुख्यमन्त्री भएको हेर्न चाहेको घोषणा गरे। 2017 को आन्दोलनकालमै विमल गुरुङलाई धोखा दिएर विनय तामाङ र अनित थापाले राज्यको तृणमूल सरकारपट्टि लागेर ममताको आशीर्वादमा अहिलेसम्म जीटीएको शासन चलाउँदै आइरहेको छ।

यो विधानसभा चुनाउ लड्‌न पहाड़मा कुनै पनि पार्टीलाई सजिलो भने भइरहेको छैन। विमलले साथ छोड़ेपछि भाजपा गोरामुमो र क्रामाकपाप्रति आश्रित छ। तर पनि विमल गुटका धेरै शीर्ष नेताहरूलाई दलमा सामेल गरेर र सांगठनिक गतिविधिहरू बढ़ाएर पहाड़मा भाजपाले अलिक मात्रामा भए पनि आफ्नो उपस्थिति देखाएको छ। तर उम्मेद्‌वार चयन गर्नमा भने यसलाई अलिक गाह्रो परिरहेको छ। सहयोगी दल गोरामुमोले टिकट चाहिरहेको छ। यसमा पनि दार्जीलिङमा निवर्तमान विधायक नीरज जिम्बा र गोरामुमोका अर्का नेता अजय एडवर्डमाझ टिकटलाई लिएऱ तानातानी छ। कुरा नमिले स्वतन्त्र रूपमा उम्मेद्‌वार दिने क्रामाकपाले घोषणा गरेको छ। फेरि भाजपाका पुराना नेता र विमल गुटका नेताहरू पनि टिकटप्रति आशावादी छन्‌। यसैले भाजपालाई उम्मेद्‌वार छान्नमा गाह्रो परिरहेछ। 

अर्कोतिर गोजमुमो विमल र विनय शिविरले यसपालि विधानसभा चुनाउमा तृणमूल कंग्रेसलाई सघाउने भएका छन्‌। तृणमूलले पनि पहाड़का तीन आसन छोड़ेर बंगालका रहल 291 आसनहरूमा उम्मेद्‌वारहरूको नाउँ घोषित गरिसकेको छ। पहाड़का आसनहरू यसले सहयोगी दलमा लागि छोड़िदिएको छ। पहाड़मा तृणमूलको सहयोगी दल भनेको गोजमुमो दुवै गूट हुन्‌। तृणमूलले विनय र विमल दुवैलाई पहाड़का आसनहरूमा मिलेर चुनाउ लड्‌न आग्रह गरेको थियो तर दुवै गूट यसो गर्न मानेनन्‌। व्यक्तिगत अहंका कारण विनय-विमलले पहाड़का तीनैवटा आसनमा आ-आफ्नै उम्मेद्‌वार दिने घोषणा गरेका छन्‌। अब यी दुइमध्ये कुन गूटलाई सघाउनुपर्ने हो भन्ने कुरामा हिल तृणमूल असमञ्जसमा परेको छ र हाई कमानको आदेशको प्रतीक्षामा छ।

यसरी अब पहाड़मा विमल-विनय गूट अनि भाजपा गठबन्धनमाझ त्रिकोणीय प्रतिस्पर्धा हुने तय छ। प्रतिस्पर्धा जोरदार हुनेछ जीत कसको हुनेछ भन्ने कुरा किटेर भन्न सकिन्न। यति हो विमल-विनय गूट विभाजित भएकोले भाजपा गठबन्धन अलिक सुविधाजनक स्थितिमा छ। जसले जिते पनि कम मतको अन्तरमा जित्नेछन्‌। नेताहरू जति उफ्रे पनि तिनीहरूको भाग्यको निर्धारण पहाड़का नीरव मतदाताहरूले गर्नेछन्‌। यी मतदाताहरू कसको पक्षमा छन्‌ त्यो खुलस्थ छैन। जेहोस्‌ सबै दलले उम्मेद्‌वार दिने घोषणा गरिसकेका छन्‌ अनि बेलामा उम्मेद्‌वारहरूको नाउँ पनि घोषित गर्नेछन्‌। यो लेख पाठकहरूले पढ्‌ने बेलासम्ममा चुनाउ प्रचार पनि जोरशोरले चलिरहेको हुनेछ र 17 अप्रेल चुनाउ पनि हुनेछ र पहाड़को जनता कसको पक्षमा छ त्यो 2 मईको मतगणानाले स्पष्ट पारी नै दिनेछ।

अब खास कुरा यसपालिको चुनाउ मुद्दामा कुरा गरौ। यसपालि पहिलोचिटि चुनाउमा गोर्खाल्याम्डको मुद्दा हुनेछैन। सबै दलहरूले गोेर्खाल्याण्ड त हाम्रो मुटुमा छँदैछ भन्दै विकास र अन्य अन्योलमा पार्ने व्यवस्थाका मुद्दाहरूमा चुनाउ मैदानमा ओर्लिने स्पष्ट पारेका छन्‌। भाजपाले उही 2019 को लोकसभा चुनाउमा जारी गरेको संकल्पपत्रमा उल्लेखित पीपीएस र 11 गोर्खालाई जनजातिको ललीपप एकचोटि फेरि जनतालाई दिएर लट्याउन खोज्नेछ। गोरामुमो भाजपाको लहै लहै पार्टी हो यो पनि भाजपाको मुद्दामै सहमत छ। विनय तामाङ राज्यसँग विकासको कुरा गर्ने र केन्द्रसँग 1950 को भारत-नेपाल सन्धि र अल इण्डिया गोर्खा एसेम्बलीको कुरा गर्ने भएका छन्‌। विमल गुरुङ पनि विकास र पहाड़-तराई-डुवर्स मिलाएर असमको बीटीसी जस्तै व्यवस्थाको मागमा छन्‌ अनि ममता ब्यानर्जीलाई तेस्रोचोटि मुख्यमन्त्री बनाउन संकल्पित छन्‌। क्रामाकपाको एउटै मुद्दा ‘गोर्खाल्याण्ड’ त छ नि तर यो दल प्रत्येक चुनाउमा परजीवी भई बाच्नुपर्ने अवस्थामा छ। गठन भएयता यो दल टाक्सिएको छ, फैलन यसले कहिले सकेन। तृणमूल कंग्रेसले आफ्नो घोषणा-पत्रमा पहाड़मा अझै विकास बोर्डहरू गठन गरिने भनेर पहाड़का लागि यसले आफ्नो अड़ान स्पष्ट पारेको छ। यसरी सबै दल जनतालाई छलेर भोट हत्याउने तत्परतामा मात्र छन्‌। तरै पनि जनताले भोट हाल्नेछन्‌ अनि दलहरूमद्ये सबैभन्दा कम क्षतिकारक दललाई जिताउनेछन्‌ भन्ने आशा गरिन्छ।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ