गोर्खाहरूको मुद्दा चुनाउ पछि सेलाउने हुन्‌ कि?

  • 2022-01-16 11:55:42

के.बी. लिम्बू चैनपुरग्राम - बिजनबारी

गोर्खाहरूको हरेक मुद्दा चुनाउको समय उठने गर्छ अनि चुनाउ पछि सेलाउने गर्छ। हरेक चुनाउको समय दार्जीलिङ पहाड़को जनआकांक्षा दाउमा लाग्ने गर्छ। छुट्टै राज्य गोर्खाल्याण्डदेखि स्थायी राजनैतिक समाधानको पछि लागेका गोर्खाहरूले कहिले न्याय पाउने हो, यसबारे कुनै निश्चित छैन। अहिले पहाड़लाई चुनाउको माहोलले छोपिसकेको छ। आउने बंगाल विधानसभा चुनाउलाई लिएर क्षेत्रिय दलहरूको भूमिका के कस्तो हुनेछ भने अर्कोतिर छोड़िएका 11 वटा गोर्खा जातगोष्ठीलाई जनजातिको भाजपाका शिर्ष नेत्तृत्वहरूले विधानसभा चुनावपछि मात्र मान्यता दिने कुरो गर्दैछ भने गोर्खाको मुद्दाले पार पाउला के। दार्जीलिङ पहाड़का सम्पूर्ण जनता साथै क्षेत्रीय दलहरूले सोच्ने समय आएको छ। भाजपाले सरकार बनाएको बर्षौं बितिसक्दा समेत भाजपा स्थायी राजनैतिक समाधान गर्न चुकिरहेको सबैलाई लागिरहेको छ। अब केही महिना पछि बंगालमा विधानसभा चुनाउ हुँदैछ। यसपाली राष्ट्रिय स्तरका दलहरूले कस्तो मुद्दाहरू लिएर भोट हत्याउन आउने हो त्यो आउने दिनले नै बताउला। किन कि पहाड़मा निकास नपाएको धेरै मुद्दाहरू आजसम्म जीवित छन्‌ । गोेर्खाल्याण्ड तथा स्थायी राजनैतिक समाधानको मुद्दालाई सबैले पहिलो प्राथमिकता दिइरहेको भएता पनि यस बाहेक 11 वटा गोर्खा जात गोष्ठीलाई जनतातिको मान्यता दिनुपर्ने चियाकमान, सिन्कोना बगान, फरेष्ट भिलेजहरूमा बसोबासो गर्नेहरूलाई जमीनको पर्जापट्टा दिनु पर्ने, चिया कमानमा न्यूनतम रोजी अधिनियम लागु गरिनु पर्ने जस्ता मांगहरू पनि अहिलेसम्म टुङ्गोमा पुगेको छैन। राजनीतिले उठाएको मांग र मुद्दा एकापट्टि छ भन अर्कोपट्टि पहाड़बासीले दैनिक जीवनमा भोगिरहेको समस्याहरू थुप्रै छन्‌। चुनाउ कति आए कति गए तर पहाड़वासीले आशा गरे अनुसार कुनै जन प्रतिनिधि, सरकार साथै क्षेत्रिय व्यवस्थाले काम गर्न नसकेको गुनासो छ। पहाड़लाई चारैतिरबाट समस्यै समस्याले घेरिरहेको अवस्थामा, आउने विधान सभा चुनाउमा पहाड़मा कुन मुद्दा हावी हुने हो सो हेर्नु बंगालमा बिधानसभा चुनाउ हुन अघिसम्म पनि भाजपाले दार्जीलिङ पहाड़बासीको निम्ति केही नगरे भाजपाले यहाँबाट भोट पाउनु फलामको चिउरा चबाउन सरह हुनेछ। गोजमुमो संस्थापक अध्यक्ष बिमल गुरूङले पनि भाजपासितको राजनैतिक सम्बन्ध तोड़ेर टीएमसीसित मिलेका छन्‌। बिमल खेमा गोजमुमो बाहेक अरू घटक दलहरूले पनि चुनाउ अघिसम्म भाजपाले अवश्यै केही गरिदिन्छ भन्ने आशा गरेर हालसम्म भाजपासितको गठबन्धन तोड़ेका छैनन्‌। टीएमसीले पनि दार्जीलिङको 3 वटा आसन जित्न चाहन्छ भने भाजपाको पनि  त्यही दाऊ छ। तर राष्ट्रिय दलले क्षेत्रिय दलको साथ र सहयोग नपाए यहाँबाट चुनाउ जित्नु कठिन पर्न जान्छ। यदि भाजपाले पहाड़वासीको मन जित्न साथै भोट हत्याउनु हो भने चुनाउ अघि केही गरेको हुनुपर्छ। भाजप र टीएमसीले चुनाउ अधि पहाड़वासीको हितमा केही नगरे चुनाउ जित्न गाह्रो हुनेछ। यदि कुनै पनि दलले आफ्नो बचन पूरा गर्नुको साटो राजनैतिक फाइदा मात्र हेर्छ भने जनताले यस्तो दललाई अवश्य जवाब दिएको हुनुपर्छ। नत्र सँधै भरि चुनाउको समय जोड़तोड़ले उठ्‌ने गोर्खाहरूको मुद्दा चुनाउ पछि सँधैको निम्ति सेलाउँदै जानेछ।

अन्य लेखहरू