बिचारप्रधान पत्रिका मध्यमार्गको एक युग यात्रा पूरा भएकोमा  हार्दिक बधाई 

  • 2022-01-15 01:59:09

प्रा.मेघनाथ छेत्री (  सोनादा डिग्री कलेज )

भारतमा नेपाली भाषा-साहित्यको स्थिति सन्तोषजनक भएतापनि भारतबाट भने जस्तो एउटा बिचारप्रधान पत्रिकाको अभाव भएको कुरोलाई महसूस गर्दै  सिलगढ़ीका एक अनुभवी व्यक्ति श्री मीमलाल सापकोटा र युवा सचेतक श्री खेम सापकोटाले आजभन्दा बाह्र वर्ष अघि  सिलगढीबाट एउटा नेपाली मासिक बिचारप्रधान पत्रिका मध्यमार्ग प्रकाशित गर्न शुरू गरेका थिए, जो आजसम्म निरन्तर रुपमा प्रकाशित भईरहनु नेपाली पत्रकारिताको क्षेत्रमा एक ठूलो उपलव्धि हो। आजसम्म मध्यमार्गका एक सय चौवालिस अङ्‌क प्रकाशित भईसकेका छन्‌। भारतबाट यति धेरै अङ्‌क प्रकाशित हुने पत्रिका आजसम्म शायद मध्यमार्ग नै मात्र हो! मध्यमार्ग को एक युग यानि बाह्र वर्ष पूरा भयो। यस अवसरमा मध्यमार्ग परिवारप्रति हार्दिक बधाई र शुभकामना अर्पण गर्न चाहन्छु। 

  सन्‌  2009को अप्रेल महीनादेखि श्री खेम सापकोटाको सम्पादन र  श्री हरिप्रसाद शर्माको व्यवस्थापनमा प्रकाशिका  श्रीमती मायादेवी सापकोटाद्वारा मध्यमार्ग  पत्रिकाको प्रकाशन शुरू भएको थियो। मध्यमार्ग परिवारले धेरै मेहनत गरेर यसको प्रकाशनमा निरन्तरता दिईरहेका छन्‌। पत्रिका प्रकाशनको लागि आवश्यक पर्ने आर एन.आई.नम्बरदेखि लिएर  आई. एस.एस. एन.नम्बर पनि प्राप्त गर्न सक्नु मध्यमार्गको एक ठूलो उपलव्धि हो। विगतमा मध्यमार्गलाई विश्वविद्यालय अनुदान आयोग जस्ता एक सर्वोच्च शैक्षिक निकायले पनि मान्यता दिएको थियो। यसैले वर्तमानमा मध्यमार्ग पत्रिका भारतीय नेपाली पत्रकारिताको क्षेत्रमा एक उज्जवल नक्षत्रको रुपमा रहेको छ भन्दा अत्युक्ति नहोला। मध्यमार्ग पूर्ण रूपले बिचार प्रधान पत्रिका भएकोले शिक्षा, समाज, साहित्य, राजनीति, धर्म, संस्कृति, स्वास्थ्य, सङ्गीत, आदि विविध क्षेत्रका बिचारहरू निरन्तर रुपमा दिँदै आईरहेको छ। उत्कृष्ट कागज दिएर  पूर्ण रङ्गीन रूपमा आर.एन. आई.र आई.एस.एस.एन.नम्बरको साथमा  मध्यमार्ग निरन्तर रूपमा प्रकाशित हुनु हामी भारतीय नेपाली भाषीहरूको लागि  एक ठूलो गर्वको विषय हो। पत्रिकाको गरिमालाई ध्यानमा राखेर यसको स्तरीयतामा अझ वृद्धि गर्नु आवश्यक छ्‌।विगतका दिनहरूमा झैँ समय- समयमा  शिक्षा, राजनीति,साहित्य, रोजगार, धर्म-अध्यात्म आदि विविध विषयहरूमा बिचार गोष्ठी तथा संगोष्ठी, तथा अन्तर्क्रिया कार्यक्रमहरूको आयोजना गरेर त्यसबाट निस्केका बिचारहरूलाई मध्यमार्ग मार्फत जन- जनमा पुऱ्याउन सके जन-मानसमा अझ जागरुकता ल्याउन सक्षम हुनेछ। लेखक-लेखिकाहरूलाई पारिश्रमिक दिन नसकिए तापनि वर्षमा एकपल्ट मध्यमार्गका सबै लेखक-लेखिकाहरूलाई भेला गरेर एक समारोहबीच सम्बर्द्धना गर्ने अनि बर्षेनी उत्कृष्ट लेख लेख्ने लेखक-लेेखिकाहरूलाई विगत वर्षहरूमा मध्यमार्ग पुरस्कारको रुपमा दिइने ‘स्व.मेहरमान थापा स्मृति पुरस्कार’, ‘स्व.विष्णुमाया थापा स्मृति पुरस्कार’, ‘नर्वदा-इन्द्रदेव स्मृति साहित्यिक पुरस्कार’, ‘स्व. तोया सापकोटा स्मृति पुरस्कार ’ जस्ता पुरस्कारहरूलाई निरन्तरता दिन सकिए लेखक- लेखिकाहरूको यथोचित सम्मान हुने थियो।  

बाह्र वर्षको अवधिमा नै मध्यमार्गले क्षेत्रीय, राष्ट्रीय सीमा नाघेर अन्तर्राष्ट्रीय स्तरमा नै प्रसिद्धि प्राप्त गरी सकेको छ। 

तपाई हामी सबैको बैचारिक र आवश्यक सहयोगले  मध्यमार्ग युग-युगसम्म बाँचीरहोस्‌ भनी सदिच्छा प्रकट गर्दै उत्तरोतर प्रगतिको कामना गर्दछु।

अन्य लेखहरू