भयावह रूपमा कोरोनाको दोस्रो लहर

  • 2021-07-31 15:14:04

-सञ्जय प्रधान

कोरोना भाइरसको महामारी सकिएको थिएन केही हदसम्ममा भने संक्रमितको सङ्‌ख्या घटेको मात्र थियो। यसै घटेको सङ्‌ख्यालाई हेरेर सबैले कोराना भाइरसमाथि विजय हासिल गरेको ठाने। कोराना भाइरसमाथि विजय पाएको ठानेर सबै लागे उही पुरानै जीवनशैलीमा मास्क लगाउन छोड़ेे, सामाजिक दुरत्व पालन गर्न छोड़ेे, गाड़ी, रेलहरूमा पहिलेकै भीड़भाड़ हुनथाल्यो, नर्सिङ होम र अस्पतालहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरूमा पहिलेकै भीड़भाड़ फर्कियो, चुनाउ गराउनै पर्ने भयो, चुनाउ  प्रचारको निम्ति शक्ति प्रदर्शनको नाममा हजारौँ मानिसहरू भेला गरेर जुलूस साथै परिवर्तन भन्दै रोड शोहरू गर्नैपर्ने भयो, कुम्भ मेलामा भीड़ हुनैपर्ने भयो।

कोराना भाइरसको प्रकोपबाट बच्नको निम्ति जीवनशैलीमा परिवर्तन आवश्यक भनिएको छ। चुनाव सकियो, परिवर्तन जुलुस र रोड शोहरू सकियो अनि परिवर्तन पनि भयो। हो साँच्चै परिवर्तन भयो, त्यो परिवर्तन हो कोरोना भाइरसको भयावह रूप दोस्रो नयाँ लहर। कोरोना भाइरसको दोस्रो लहरले समग्र भारतलाई गाँजेर फेरि एकपल्ट त्रासदी मच्चाएको छ। अप्रेल महिनामा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढ़ेपछि यसैले सबैलाई चिन्ताग्रस्त बनाएको छ। 

भारतमा संक्रमणको सङ्‌ख्या अप्रेल महिनाको दोस्रो हप्तापछि दिनमा साँडे तीन लाखको नजिक थियो भने मृतकहरूको सङ्‌ख्या एक दिनमा अढाई हजार पनि पार गऱ्यो। वर्ल्ड मीटर डट कमअनुसार ‘‘28 अप्रेलसम्ममा 1 करोड़ 83 लाख 34 हजार 034 पुगेको थियो भने संक्रमणद्वारा मर्नेहरूको सङ्‌ख्या 2 लाख 4 हजार 295 पुगेको थियो। निको हुनेहरूको सङ्‌ख्या 1 करोड़ 50 लाख 53 हजार 456 रहेको छ भने 30 लाख 76 हजार 284 सक्रिय मामला रहेको थियो।’ गत वर्श सेप्टेम्बर महिनाको दोस्रो सप्ताहतिर देषमा एकैदिनमा संक्रमित हुनेहरूको सङ्‌ख्या 93 हजार पार हुन थालेको थियो। यसपछि भने सङ्‌क्रमित हुनेहरूको सङ्‌ख्या दिनदिनै घट्‌दै गयो। भारतमा कोरोनाभाइरसको सेकेण्ड स्ट्रेन दिसम्बर महिनातिरै भेटिएको थियो। यति बेला पनि भारतमा एउटा समूहले भारत कोरोना भारसको खतराबाट मुक्त हुँदै गएको विश्वास गरिरहेका थिए। कोरोना भाइरसलाई नियन्त्रणमा लिन सफल भएको ठानेर सबै उत्साहित भएका थिए। फरवरी महिनातिर भारतमा प्रतिदिन औसतमा 11 हजार नयाँ सङ्‌क्रमितहरूको सङ्‌ख्या थपिन थालेको थियो। मार्च महिनाको मध्यतिर क्रिकेट बोर्डले प्राय: 50 हजारभन्दा बढी मानिसहरूलाई गुजरातको नरेन्द्र मोदी स्टेडियममा भारत र इङ्‌ग्ल्याण्ड बीच आयोजित क्रिकेट खेल हेर्न दिएको थियो। जसमा धेरै जस्ता दर्शकहरूले मास्क लगाएका थिएनन्‌। फरवरी महिनाको अन्त्यमा पाँचवटा राज्यमा विधानसभा चुनाउको घोषणा गरियो। 27 मार्चदेखि शुरु भएको चुनाव एक महिनासम्म चल्यो। पश्चिम बङ्गालमा चुनाउ आठ चरणमा सम्पन्न भयो। चुनाउ प्रचार हुँदा कोरोनाभाइरसको संक्रमणलाई केन्द्रित गरेर कुनै किसिमको सुरक्षा साथै सामाजिक दुरी पालन गरिएको थिएन। देशमा कोरोनाभाइरसको संक्रमण सङ्‌ख्या दिन प्रतिदिन बढ्‌दै गएको ऑंकड़ा आउँदै गरेको भए पनि यसलाई नजरअन्दाज नै गरियो। हजारौँको सङ्‌ख्यामा भेला भएर चुनाव प्रचार गर्दै शक्ति प्रदर्शन र परिवर्तनको यात्राहरू, रोड शोहरू गरिरहे। हरेक जनसभाहरूमा हजारौँको सङ्‌ख्यामा भेला भएका थिए। निक्कै बाक्लो जमघट गराएर टीभी च्यानलहरूले पनि चुनाव विषेश कार्यक्रम खुला ठाउँमा गरेका थिए। के यस्ता कार्यक्रमहरू, चुनाउ प्रचारको जुलुस जनसभाहरू कोराना भाइरस संकमणको निम्ति सुरक्षित थियो? कोरोनाभाइरसको  संक्रमणलाई  केन्द्रित गरेर सञ्चार मध्यम, टीभी च्यानलहरूको दायित्त्व थियो यस्ता भीड़ हुने कार्यक्रमहरू बारेमा सचेत गराउनु। हरेक जुुलुस, जनसभा, कार्यक्रमहरूमा कोही मास्क लगाएका, कोही च्यापुमा मास्क झुण्ड्यााएका, बेसी जस्ता मास्क नलगाउनेहरू नै थिए। जुलुस र जनसभाको भीडमा मास्कले मात्र पनि संक्रमण थामिने होइन। जुलुस र जनसभाहरूमा कसरी सामाजिक दुरी पनि पालन हुनसक्छ र!

आठ चारण्को चुनाउ सकिन नपाउँदै एक महिनाभन्दा कम समयमा कोरोना भाइरसको प्रकोप गत वर्षको तुलनामा झनै भयावह रूपमा फर्किएर त्राहि त्राहि मच्चाएको छ। भारत कोरोना भाइरसको महामारीको दोस्रो लहरमा प्रवेश भएपछि विभिन्न षहरहरूमा लकडाउन गरियो। अप्रेल महिनाको दोस्रो सप्ताहपछि भारतमा औसत प्रतिदिन तीन लाख नयाँ सङ्‌क्रमित मानिसहरूको सङ्‌ख्या नाघेको छ भने मृतकहरूको सङ्‌ख्या औसत हजार नाघेको छ। 28 अप्रेलको दिन बितेको 24 घण्टामा संक्रमण सङ्‌ख्या 3 लाख 60 हजार 960 पुगेको थियो भने मृतकहरूको सङ्‌ख्या 3293 पुगेको थियो। चुनाउ प्रचारको अवधिमा गरिएका जुलुस, जनसभाहरू आज आएर घातक बनेको छ। उता कुम्भ मेलाको हजारौँको भीडमा 17 सय भन्दा बढ़ी मानिसहरू संक्रमित भएको सञ्चारमध्यमहरूले उल्लेख गरेको छ।  

   जनस्वास्थ्यको दृष्टिकोणमा हेर्नु हो भने भारत अहिलेघरि सङ्‌कटकालीन अवस्थामा पुगेको छ। देशका अस्पतालहरू र स्वास्थ्यकर्मीहरूमाथि दबाव बढ़ेको छ। अस्पतालहरूमा रोगीहरूलाई र् राख्ने पलङ, औषधी, अक्सिजन र जाँचको निम्ति जनसाधारणले सङ्‌घर्ष गर्नु परिरहेको छ। अक्सिजनको अभाव र उपचारको पर्खाइले कयौँ मानिसहरू छटपटिएको, विलाप गर्दै रोइरहेका दर्दनाक दृष्यहरू टीभी च्यानलहरूमा देखियो। कहिँकतै औषधीहरूको कालोबजारी भइरहेको पनि सञ्चारमाध्यमहरूले बताएको छ। अहिलेघरि देशमा कोभिड-19को खोप अभियानमा समस्या देखा परिरहेको छ। भारतमा कोरोना भाइरसको  दोस्रो लहर शुरू हुनु थाल्दा नजरअन्दाज गरेर राजनैतिक, धार्मिक जुलुस, अन्य सामाजिक कार्यक्रम र विवाहमा हुने भेलामा सरकारले कडाइ नगुर्नको कारणले पनि कोराना भाइरसको संक्रमण बढ़ेको हो। महामारी फैलिएपछि जन सुरक्षाको निम्ति सबैको चेत खुल्यो। कोरोना भाइरसको संक्रमणलाई रोक्न चुनाउका परिणामपछि विजय जुलुसमाथि प्रतिबन्ध लगाउने निर्णय जुन सुरक्षाको दृष्टिकोणमा स्वागत योग्य हो। चुनाउ अघि पनि यस्तै कडाईपूर्वक कुनै निर्णय लिएको भए अहिलेको जस्तो कोरोना भाइरसको सुनामी आउने थिएन होला। 

अन्य लेखहरू

खेला भयो
  • 2021-07-31 19:33:02