बिबिध चिन्तन 

  • 2021-10-15 23:59:20

आदरणीय पाठकगण, सादर प्रेम प्रणाम्‌।

चुनावी हावा हुण्डरीमा जातिको बिल्लीबाट

गत 17 अप्रिलको दिन भएको पश्चिम बंगालको चुनावको नतिजा, मध्यमार्गको यो अङ्‌क हजूरहरूको हात लाग्नु भन्दा पहिला घोषित भैसकेको हुनुसक्छ। दार्जीलिङ, खरखसाङ र कालेबुङ्ग, यी तिनवटा आसनबाट धेरै जना उम्मेद्वारहरू उठे। यो हाम्रो जाति भाँजिएको प्रमाण हो। हामीहरूमा एकता कायम रहेको भए र गोर्खावाद जीवित भएको भए, हाम्रा तिन उम्मेदवार हुने थिए अनि तिनै निर्बिरोध चुनिनेथिए।

चुनावी प्रचारमा, एकतिर, फेरि सरकार गठन गरे राज्य सरकारले कुन्नी कस्तो ब्यवस्था दिने भा’छ रे भनेको सुनियो। के-कस्तो ब्यवस्था हो सो तसल्ली गर्ने कोही भएन। अर्कोतर्फ, पहिले गरेको बिभिन्न मगहरू दिने प्रण गर्ने भारतीय जनता पार्टीलाई भने बिपक्षीहरूले तत्कालै ढाँट्‌ र छलको संज्ञा दिए। बिकासको नारा र एक अर्कालाई गाली दियाइ बाहेक कसैको केहि ठोस माग थिएन। छताछुल्ल र लथालिङ्ग भएको कारण, बर्षौं पछि, गत चुनावमा जातिको सामुहिक माग चुप रह्यो। नाराबाजी र गीतको कड़ा प्रतियोगिता भयो। जातिको माया गर्नेले ब्यक्तिगत स्वार्थ पूर्तिको निम्ति आफु टुक्रिएर जातिलाई पनि टुक्रा-टुक्रा पार्दैन। हामी मुखैको मात्र गोर्खा जाति भयौं। यहि हो गोर्खा राजनिति? ब्यूँझौं।

मनमा फुटेको लड्डुको स्वाद लिने बानी परेको हामीहरूले सपनै मात्र देख्छौं। गोर्खाल्याण्डलाई पनि हमी हाम्रो एउटा सपना हो भन्छौं। हाम्रो सपना, उहि समयमा अन्य कसैले देखेको दाबी गरे, सो सरासर झुठो हो भनेर जानिलिए हुन्छ। झन, ब्यूँझिएर बिलाइसकेको हाम्रो सपना अन्य कसैले देखेर साकार बनाइदिने बाचा गर्छ भने, त्यस्मा बिश्वास गर्नु र केहि पाइहाले जस्तो गरी पटेका पड़काउँदै संख-घण्टी बजाउनु हाम्रो महामुर्खता हो। पहाड़मा पटेका कति पड़्‌के पड़्‌के, हात लागे शून्य। लाज सरम छैन।

दुःखको कुरा, बहुमुखी गोर्खाको एकमुखी माग हुनु पर्नेमा, एतै भनाभैरी र उतै हानाहान्‌ छ। यो कस्तो समय आयो? यो कस्तो अगुवाई हो? कुर्सीको मायाले जातिको मायालाई हरायो। यो हाम्रो दुर्भाग्य हो। चुनाव लड़्‌नेले कुर्सी या सत्ताको लागि लड़ेको होइन भन्नु अचम्मको बात हो! चुनाव सरासर कुर्सीको लडाइँ हो। हाम्रो सोझो जातिलाई कहिले सम्म छक्याउने हो? हामी कहिले सम्म छक्किने हो? पार्टीवादको नकाव खोली गोर्खापन जगाई गोर्खावादी बनौं। यहि हो एकताको महामन्त्र। जातिलाई त्यागी, जात-जातको बाकसमा पसी एकलो नहौं। जातको बाकस भित्र बिकास छ भने, बिकास अवश्यै गरौं तर जातिलाई पीठ नदिउँ, नबिर्सौं। जाति अनेकता एसो भएको प्रमाण हो। आफूले आफूलाई मास्ने मुर्खता नगरौं।

ए हजूर, सपनाको सृष्टि निद्रामा हुन्छ। ब्यूँझी, आँखा खोल्ने साथ एस्को लय हुन्छ। राम्रो-नराम्रो, सानो-ठूलो जस्तै र जत्रै भए पनि सपना बिपना होइन। सपना सित्तैमा देखिन्छ, ब्यूँझने साथ फ्यास्स सकिन्छ। जीउनु बिपना हो। जीउनुको निम्ति केहि गर्नैपर्छ। त्यो ‘केहि’ कुनै बिचार, ईच्छा या युक्ति हुनुसक्छ। त्यो बिचार, ईच्छा या युक्तिलाई साकार बनाउनुको निम्ति सही परिकल्पनामा परिणत गर्नुपर्छ। यदि ब्यवसायको प्रस्ताव हो भने, ब्यवसायिक मौसम र बजार हेर्नुपर्छ अनि सबै ठिकठाक र तैयार भए पछि, शुरू गर्नुपर्छ। भवितब्यताले दुन्दुभी बजाउँदै आउँदैन; एस्लाई रोक्ने कसैको ताकत छैन। एसो भन्दैमा लत्ता छोड़्‌नु भएन। जन्म्यो कि मृत्यु निश्चित छ तर जीउनु सिक्नु र सक्नु पर्छ। आत्मा हत्या गर्नु गैरकानुनी हो।

बिपनाको कुरा गर्दा, राष्ट्र सरकारको गृहमन्त्री सम्माननिय श्री अमित शाहज्यूले 13 अप्रिलको दिन लेबोंङ्ग-मैदानबाट, डराउनु पर्दैन; कसैले यहाँको गोर्खाहरूको रऊँ धरी हल्लाउनु सक्नेछैन। एन आर सी लागु हुने कुरै छैन तर भविष्यमा यसो भएको खण्डमा यहाँका गोर्खा आमाबाबु, दाजुभाई, दिदीबहिनीहरू कसैले डराउन पर्ने कुरै छैन इत्यादि भन्नुभयो। उहाँले अझ घोषणा गर्नु भो कि, छोड़िएको एघार जातलाई अनुसूचीत जनजातिको दर्जा दिने; स्थायी राजनैतिक ब्यवस्थाको प्रबन्ध गरिदिने; चिया अनि सिन्कोना बगानका श्रमिकहरुलाई 350 रूपैयाँ रोज अनि उनिहरुलाई जमिनको पर्जापट्टा दिलाउने; यहाँ पिउने पानीको ब्यवस्था मिलाइदिने; 6 महिना भित्र पंचायतको चुनाव गराउने; पर्यटन उद्योगलाई सही तरिकाले अघि बड़ाउने अनि अन्य खास बिकाषको संकल्प गर्नु भयो। सत्य तथ्य : आज सम्मको हाम्रो इतिहासमा राज्य या राष्ट्र सरकारले, बिपनामा, बर्तमान राष्ट्रीय गृहमन्त्रीज्यूले झैं यसरी किटेर हाम्रो भलाईको निम्ति संकल्प गरेका थिएनन्‌। लोकतन्त्रमा बिपक्षी दललेे जेको पनि बिरोध गर्नैपर्छ भन्ठानी, कुनै पनि राजनैतिक दलले गरेको हाम्रो जाति भलाईको प्रणलाई कुभलो नठानौं। पर्खौं, समयले साक्षी दिहाल्छ नी! अति

सत्यता, खेदको कुरा, हाम्रो आफ्नोपनको अनुपस्थितिमा, हामीहरू कसैको कठपुतली बनी एक अर्का संग लड़िरहेकाछौं। अनुमानलाई सत्य ठान्छौं अनि एक अर्का संग गर्दन फुलाउँछौं। यही होहोरीको मुर्खताले हाम्रो जातिलाई मास्नेछ।  अब चुनाव सकियो; यस्लाई तन्क्याएर तनावको स्थितिको सृजना र आपसी दुश्मनी नगरेर, गल्ती सुधारी एकत्रित हुनु पट्टि लागौं। प्रतिशोधको ज्वालाले हाम्रो जाति संहार हुनेछ। यस्को जिम्मेवार हुने को?

जुवाड़ेहरू माझ, गत चुनावमा कसको जीत हुन्छ भनी बाजी खेलाइ छ। जो सत्य छ उसैके जीत हुनु पर्ने तर यो सम्भव हुनुकोलागि नागरिकहरू आफ्नो मतदान महत्वपूर्ण हक र दायित्वको शिक्षित हुनुपऱ्यो। जनताले, जनताबाट अनि जनताको सरकार बनाउनु देशको नागरिकको ठूलो दायित्व हो।

मैले एस भन्दा अघि पनि लेखेको थिएँ कि, हाम्रो छताछुल्ल, लथालिङ्ग र भताभुङ्ग जाति, जतन र पतनको दोबाटोमा पुग्याछ। हामीहरूले पहिले कहिल्यै यस्तो आखिरी स्थितिको सामना गर्नुपरेको थिएन। गत चुनावको परिणाम जातिको हितकारी हुनेछ भनी आशा गरौं; प्रार्थना गरेर केहि फरक पर्ने होइन।

अन्य लेखहरू

खेला भयो
  • 2021-10-12 16:10:47