ओझेलमा बाँचेका गायक/संगीतकार श्रीमान राम विष्ट

  • 2021-08-02 15:22:42

एच.बी. जिंगलाम, चियाबारी

 

प्रतिभा हाम्रो समाजको दर्पण हो, सम्पति हो, इतिहास हो, धरातल हो। इतिहास र धरातल दह्रिलो छ भने मात्र हाम्रो भाषा, साहित्य, संस्कृति, बाजा-गाजा र सांगितिक फाटलाई जरादेखि टुप्पोसम्म बारिकीसँग ट्याक्क केलाउन कुनै आपत्ति हुँदैन। इतिहास धरातलसँग जोड़िएको हुन्छ। इतिहासको  आधार नै धरातल हो। त्यसैले धरातल विहिन इतिहास गहकिलो, रसिलो, फाटिलो, भरिलो र मलिलो फाटलाई उकेरा र थाक्रो लगाए मात्र ती प्रतिभारूपी सर्जकलाई प्रोत्साहन दिने कार्यमा लागि पर्न नितान्त आवश्यक देखिन्छ। यसैको अभावमा हाम्रो समाजमा रूखोपन, बंजर र निष्क्रिय बनेको साक्षात्कार रूप नै कलाकार हो। कलाकार मरे पनि कला बाँचेकै हुन्छ। जिउँदो हुन्छ। प्रतिभा नै खारिएर एउटा गहकिलो र ओजनदार कलाकार बन्दछन्‌। यसैले आज म एउटा गायक सांगेतिक क्षेत्रमा अपार प्रसिद्ध कमाइसक्नु भएका एउटा खदिलो कलाकारको विषय वस्तुलाई तथ्यपूर्ण विचार पोख्न लागरिहेको छु। 

नेपाली सांगेतिक यात्राको मार्गमा ओझेलमा विलुप्तिएका कलाकारहरू लछेप्रै छन्‌। 

जसको लेखाजोखा केलाउँदा दुःख लाग्छ। साह्रै पीड़ा हुन्छ। यसै सांगेतिक यात्रामा बिरानो भएर सत्तरीको दशकदेखि ख्यातिप्राप्त गरिसकेका गायक/संगीतकार श्री राम विष्टज्यू। 

पिता स्व. एन.बी. विष्ट, माता स्व. मनमाया विष्ट। गायक राम विष्टज्यूको जन्म चैत महिना 1960 साल, पुमोङ चियाबारी रङली रङलीयट दार्जीलिङ, सर्वप्रथम प्रारम्भिक गायन नामरीङ्ग चियाबारी, क्रिकेट मैदानबाट रमिता परिवारद्वारा आयोजित कार्यक्रममा श्रद्धेय कवि नगेन्द्र गोर्खाद्वारा राम विष्टज्यूलाई हातमा डोऱ्याएर मञ्चमा खड़ा गराएर ठूलो गुण लगाउनुभयो। सन्‌ 1977 साल। सोह्र वर्षको भर भराउँदो उमेर, सांगेतिक यात्राको प्रथम गीत, स्वर सम्राट नारायण गोपालद्वारा गाउनु भएको गीत ‘आँखा छोपी नरोऊ भने, भन्या पऱ्या छ, मुटु माथि ढुंगा राखी हाँस्न पऱ्या छ।’ यसैक्रममा अर्को गीत किरण प्रधानको  ‘भूल हो तेरो भागि हिँड्‌दछु।’ जसमा दार्जीलिङका वरिष्ठ संगीतकार दिव्य खालिङ्ग, गायक पेमा लामा, वाङगेल लामा, भायोलन वादक गणेश शर्मा, नाटक कर्मी फूर्वा शेर्पाहरूको समुहमा गाउने अवसर पाएँ। यो एउटा ऐतिहासिक दिन थियो। भाग्य उदयको शुभमूहर्त थियो। सांगेतिक यात्रामा दीप बनेर आइदिनु भयो धन्य वहाँलाई यसरी सांगेतिक यात्राको फाटकहरूमा  स्वरचित, कवियत्री सुशिला ‘आशु’ द्वारा रचित ‘बिरह नपोखाए ऱ्याउली चरी’ गीत गाएर प्रथम स्थान ओगटन पुगे। त्यस गायन प्रतियोगितामा मूल निर्णायक संगितकार बसन्त छेत्री हुनुहुन्थ्यो। विष्टज्यूको सुरिलो कण्ठ स्वर सुनेर खुशी व्यक्त गर्दै क्यासेट बनाउने घोषणाले ऊर्जावान बनें। सन्‌ 1983 मा (गीतामृत) एल्बममा दुइवटा गीत रचना/संगीत बसन्त छेत्री ‘‘जब हुन्छ एउटै कोठामा’’ गाउने अवसर पाउनु भयो। त्यसपश्चात शिक्षक प्रेम कुमार छेत्रीको रचनामा गाउने मौका पाए। जसमा गायक कुमार सुब्बा, अरूण लामा, डेजी बराईली, रमेश बरदेवाहरूले स्वर दिएका थिए। 

सन्‌ 1984 सालमा कलेज भेल्ली शान्ती संघद्वारा आयोजित कार्यक्रममा कलकत्तामा प्रसिद्धि प्राप्त गरिसक्नु भएका ब्याण्डका हिन्दी गायकहरूको समुहको नेपाली गीत गाएर उत्कृष्ट गायकको सम्मान पत्र पाउनु  भयो। लगत्तै फेरि 1986 सालमा बसन्त छेत्रीज्यूको  एकल गीत सृजनामा (औरा) नामक एलबममा गाउने मौका पाए। यस एलबममा युवा गायकहरूमा उदय सोताङ र बिष्टज्यू आफै भागीदारी बनेका थिए। कृष्ण नारायण प्रधानको रचनामा बसन्त छेत्रीज्यूको संगीतमा फेरि दोस्रो पल्ट मौका पाउनु भयो। 

सन्‌ 1985 सालमा कुन्दन राज सुब्बा द्वारा प्रायोजित एल्बम (अर्पण)मा संगीतकार मणिकमल छेत्रीज्यूको संगीतमा गाउने अवसर पाए। यसरी गायिका शिला दासद्वारा प्रायोजित एल्वम, चारवटा गीतमा संगीत एवं एउटा गीतमा गाउने अवसर पाए। यसरी दुइ वर्षसम्म श्रद्धेय गुरुवर श्री मणिकमल छेत्रीसँग संगीतको प्राथमिक तालिम लिएर अझ ऊर्जावान बने। 

यसै सन्दर्भमा 1984 सालमा अल इण्डिया रेडियोमा आधुनिक गीतको अडिसनमा सफलता प्राप्त गर्ने यस क्षेत्रका प्रथम व्यक्ति वहाँ नै हुनु हुन्थ्यो। यो एउटा गर्वको विषय हो। त्यस पश्चात लगत्तै कलकता दुरदर्शनमा गीत प्रस्तुत गर्ने सुनौलो अवसर पाए।

सन्‌ 1992 सालमा 33औं वार्षिक नेपाली संगीत प्रतियोगितामा नेपाली लोक धुनमा आधारित आधुनिक गीत एवं दोस्रो आधुनिक एकल गीतमा प्रथम स्थान प्राप्त गरे। एकल संगीतवद्ध एल्बम निम्नलिखित छन्‌। जसमा साई भजन मण्डली, गेल आध्यात्मिक केन्द्र 1994, चेली रोएकी बिहान, संगत तामाङद्वारा प्रायोजित 2004, सिक्किमका चन्द्र कुमार गुरूङको प्रायोजनमा (सौगात) 2004 मा। ईसाई एलबम (अर्को तारा) पास्टर जोनाबलको आयोजनमा चारवटा गीतमा संगीत दिए वापत सम्मान पत्र 2017 मा प्राप्त गरे। जो काठमाण्डौं नेपालमा रिकर्डिङ गरिएको थियो। 

समर्पण प्रभुलाई ग्रेस पेन्टीकोस्टल मण्डली प्रमोङ चियाबारी 2013 मा। सन्‌ 1998 सालमा विवाह बन्धनमा बाधिए श्रीमती चन्द्रिका गिरीसित आठ वर्षमा सांसारिक झमेलाले गर्दा सांगेतिक यात्राको फाटमा केही रूखोपन देखा परे। सन्‌ 1999 सालमा लप्चु पेशोक र तकदाह टिस्टा भेल्ली समष्टीको तत्वावधानमा त्रिवेणी साहित्य परिषदको दोस्रो वार्षिकी उत्सवको सांगेतिक कार्यक्रममा अध्यक्षको बाहुलीबाट सम्मान पत्र प्राप्त गर्नुभयो। 

यसरी 2005 मा एचआरडीएस परिवारका प्रबन्धक राजेश पोखरेले मङ्‌पूको आयोजनमा जीवनको प्रथम सम्वर्द्धना प्राप्त गरे। जसमा वहाँ सांगेतिक यात्रामा धेरै ऊर्जाशील बने। फेरि सांगेतिक यात्राको मार्गमा लागि परे। सन्‌ 2005 मा प्रभु यीशुलाई ग्रहण गरे पश्चात्‌ धार्मिक र आध्यात्मिक भजनहरू गाउने झुकाउमा तीव्रता ल्याए। 2006 सालमा सामुएल लेप्चा दार्जीलिङद्वारा संगीतवद्ध गीत (आँखा भरी चाहनाहरू पहिलो गीत रिकर्डिङ गर्नुभए त्यसपश्चात 2006 मा नै स्वर्गीय आनन्द नामक ईसाई गीति एलबम, छ वटा गीतमा संगीत दिए अनि एउटा गीत गाउने मौका पाए। 

सन्‌ 2019 मा ईसाई गीति एलबम (सृजना) जी किरण राईद्वारा प्रायोजन गरिएको थियो। यसमा छ वटा गीतमा संगीत साथै दुई वटा गीत रचना पनि गर्नु भए। यसै क्रममा ‘तोरी फूल्यो तोरी बारीमा’ भन्ने गीतले धेरै ख्याति प्राप्त गरे। जसमा नेपाली भाषिक क्षेत्रहरूमा चर्चामा आएको थियो। रातको फलस्वरूप 2018 सालमा हिमालय भोकल कन्सर्सट (एचसीभीसी) सिलगढ़ीले पपुलर गीतको अवार्डले सम्मानित भए। 

सन्‌ 2019 मा बान्तवा परिवार,  श्रीमति नन्दु राई, दिपेन राई, भुपेन राई, सन्ध्या राई, बान्तवा परिवारबाट सम्मान पत्र सहित एलबम (भूल्नै नसकिने) को बिमोचन कार्य सँगै सम्मान जनाइयो। 

उहाँको संगीतमा गाएको गीतहरू विशेष रेडियो खरसाङ र कलकता दुरदर्शनमा छन्‌।  अस्सी भन्दा अधिक गीति एलबमहरू छन्‌ भने पचास भन्दा अधिक ईसाई गीतहरू र भजन बजारमा आइसकेका छन्‌। सन्‌ 2020 मा (जिन्दगीको लामो यात्रा) नामक नेपाली म्युजिक भिडियोमा संगीत दिने सुनौलो अवसर पाउनु भयो। 

यसैले हाम्रो समाजमा यस्ता कैयौं कलाकारहरू विलुप्तिएर, ओझेलमा परेर, कसैको सहाराको प्रतिक्षामा यताउता तृष्णाले व्याकुल, प्यासी बनेर, धरखरिँदै थरर काप्दै बाँचिरहेका छन्‌। अब हामी जाग्नु पर्छ, उठ्‌नु पर्छ। समाजलाई उठाउनु पर्छ, जगाउनु पर्छ। हाम्रो समाजभित्रको विभिन्न कलाकृतिलाई मलजल लगाएर फस्टाउने फूलाउने, फलाउने, उकेरा लगाउने कार्यमा लागि परे हाम्रो नेपाली भाषा, साहित्य, संस्कृति बाजा-गाजा, थन्को लागि सकेको पुराना पुराना सांस्कृतिक धरोहरहरू ऊर्जावान बनेर हाम्रो समाजको भावहरू उज्ज्वल हुनेछ।

 

अन्य लेखहरू

खेला भयो
  • 2021-07-31 19:33:02