नैतिकता, आदर्श, ईमानदारिताहीन राजनीति

  • 2021-09-20 12:43:13

- मुकुन्दराज ओली

 

मानव जीवनमा नैतिकताको भूमिका महत्त्वपूर्ण छ। नैतिकता र विश्वासबिना मानव समाज चल्न सक्दैन। मानव जीवनको हरेक पक्षमा यी दुइ थोक हुनु आवश्यक छ, तब मात्र सभ्य अनि सुसंस्कृति समाज बनिनसक्छ। तर वर्तमान समयमा यी दुवै कुरामा निकै ह्रास आएको छ जसको फलस्वरूप समाज-देशमा एक प्रकारको अराजकता छ। यसैमध्ये एउटा पक्ष हो राजनीति। अहिले राजनीतिमा सबैभन्दा धेर नैतिक पतन भएको देखिन्छ। देश-दुनियाँको कुरा पर राखेर मात्र पश्चिम बंगाल विधानसभा चुनाउ 2021 लाई विचार गरौं।एउटा दलमा रहेर भ्रष्टाचार र दुर्नीतिग्रस्त नेता मानिएको व्यक्ति यहाँ अर्को दलमा जाँदा उ गंगाजलले नुहाएको पवित्र आत्मा हुँदछ। हिजोसम्म आफ्नो दललाई नाना भाँती गाली गर्ने, आरोप लगाउने नेता दलमा सामेल भएपछि त्यो दल धन्य हुँदछ, उपकृत हुँदछ। यहाँ नैतिकता-अनैतिकता कुरा हेरिँदैन, हेरिन्छ त मात्र राजनैतिक फाइदा!

भारतीय जनता र्पाीले यसपालि बंगालमा  सत्तामा आउनका लागि मरिहत्ते गऱ्यो। राम्रा-नराम्रा, दागी, भ्रष्टाचारका आरोप लागेका, अवसरवादी सबै अन्य दलका मानिसहरूलाई दलमा सामेल गरेर अधिकांश विधानसभा आसनहरूमा यसले तिनीहरूलाई टिकट प्रदान गऱ्यो। शुभेन्दु अधिकारी, राजीव बन्धोपाध्यायलगायत दर्जनौं तृणमूल कंग्रेसका नेता, मन्त्री, विधायक, सांसदहरूलाई दलमा सामेल गराएर भाजपाले बंगालमा आफ्नो प्रभाव बढ़ाउन खोज्यो। दलभित्र विरोध हुँदाहुँदै पनि तिनीहरूलाइ बढ़ो सम्मानका साथ विधानसभा चुनाउमा उम्मेद्‌वार बनायो। साम, दाम, दण्ड भेद सबै थोक अपनायो भाजपाले सत्ता हासिल गर्न। राष्ट्रिय स्वंसेवक दलको छत्रछायामा रहेको भाजपा जस्तो अनुशासित दलले सम्पूर्ण नैतिकतालाई यसरी तिलाञ्जलि दियो। पार्टीमा वर्षौेंदखि निष्ठापूर्वक खट्‌ने क्याडरहरूलाई पर सार्दै, तिनीहरूलाई पत्तो नदिई यसले नवागतहरूलाई सम्मानित गऱ्यो।

छेवैको कुरा गर्दा तीस वर्षसम्म मार्क्सवादी पार्टी गरेका सिलगढ़ीका नेता शंकर घोष दलले टिकट नदिँदा एक झट्‌कामै दल त्यागेर भाजपामा सामेल भए अनि भाजपाले पनि तिनलाई सिलगढ़ीबाट टिकट दिइहाल्यो। माकपामा हुँदा घोषले दिनरात भाजपाको खोईरो खनिरहन्थे यस्ता मानिसलाई भाजपाले टिकट दियो, कहाँ गयो भाजपाको सिद्धान्त र नैतिकता। वर्षौसम्म मार्क्स-लेनिनका सिद्धान्तमा भिजेका शंकर घोष मात्र टिकटको लोभमा अर्को दलमा जानु भनेको तिनको पनि नैतिक पतन हुनु हो। हाम्रै पहाड़को कुरा गर्दा 2017 सालको गोर्खाल्याण्ड आन्दोलनपछि विमल गुरुङ भूमिगत हुँदा गोजमुमो विमल शिविरमा सामेल भई विमल गुरुङको पक्षमा काम गरेका र दलको प्रवक्तासम्म रहेका बीपी बजगार्इं विमलको साथ छोड़ेर भाजपाको शरणमा जानसाथ खरसाङ विधानसभा आसनका लागि विधायकको टिकट पाइहाले। विमल गुरुङसँग हुँदा र सोशल मीडियातिर जातीय भावनाले ओतप्रोत भएका लेखहरूद्वारा चर्चित भएका बजगार्इंले यसको फाइदा उठाए र भाजपाको टिकट पाउन सफल भए। यहाँ नीति र सिद्धान्तको कुरा छैन, छ त मात्र अवसरवादिता र महत्त्वाकांक्षाको।

2017 सालको आन्दोलनपछि गोजमुमो दुइ भागमा विभक्त हुँदा विनयपन्थले कालेबुङ नगरपालिका दखल गऱ्यो। त्यतिबेला नगरपालिका चेयरम्यान रहेका शुभ प्रधान स्वाभिमानी रही विनय शिविरमा जानु मनले मान्दैन भन्दै पदबाट हटेका थिए। गत वर्ष अक्टोबरमा विमल गुरुङ साढ़े तीन वर्षको भूमिगत जीवनपछि कलकत्तामा प्रकट भएर सिलगढ़ीको इन्दिरा गान्धी मैदानमा पहिलो जनसभा गर्दा उद्‌घोषक थिए शुभ प्रधान। गुरुङको धेरै नजीकका मानिस मानिन्थे तिनी, गुरुङको प्रशंसा गर्न थाक्दैन थिए। यसपालि विधानसभा चुनाउको निम्ति गोजमुमो-1 का उम्मेद्‌वार चयन गर्ने समितिका प्रमुख पनि थिए प्रधान। तर अचानक तिनले विमल गुरुङको साथ छोड़े अनि भाजपामा सामेल भए। त्यसको केही दिनपछि त भाजपाले शुभ प्रधानलाई कालेबुङबाट टिकट पनि दिइहाल्यो। टिकटको लागि प्रधानले भाजपा समातेका हुन्‌, कहाँ गयो तिनको स्वाभिमान र त्याग! एक निमेषमै सबै समाप्त भयो। 

दार्जीलिङका भाजपा प्रार्थी नीरज जिम्बाको कुरा रोचक छ। तिनी भाजपाका सदस्य होइनन्‌, भाजपामा सामेल पनि भएका छैनन्‌ तर पनि भाजपाको टिकटमा चुनाउ लड़िरहेछन्‌। जिम्बा गोरामुमो पार्टीका सदस्य हुन्‌, गोरामुमोकै झण्डी समातेर हिँड़छन्‌। गत विधानसभा उपचुनाउमा पनि यस्तै प्रकारले चुनाउ लड़ेर भाजपा विधायक बनेका थिए। नीरज जिम्बा जस्तै गोरामुमोको भूमिका पनि यसपालिको चुनाउमा उदेक लाग्दो छ। वास्तवमा गोरामुमो समर्थकहरू अजय एडवर्डको पक्षमा थिए तर जोर गरेर जिम्बालाई नै थोपियो। एउटा क्षेत्रीय दलको नातामा पहाड़को तीनवटै आसनमा भाजपाको समर्थनमा गोरामुमो नै चुनाउ लड्‌नुपर्ने हो। शुरूमा मन घिसिङले विरोधको स्वर निकालेका थिए तर दिल्लीमा अमित शाहलाई भेटेपछि सबै कुरा ठामठिम भयो। पहाड़का तीनै आसनमा भाजपा गोरामुमोको समर्थनमा लड्‌ने भयो। अब कुरा चाहिँ केमा ठामठिम भयो त्यो रहस्यको कुरा छ।

क्रामाकपाले पनि पहिला भाजपासँग रिसाएर पहाड़का तीनैवटा विधानसभा आसनमा आफ्नो उम्मेद्‌वारको घोषणा गऱ्यो। तर पछिबाट उम्मेद्‌वारहरू फिर्ता लिएर भाजपालाई नै समर्थन गऱ्यो। वामपन्थी र धुर दक्षिणपन्थीको मेल सायदै अरू ठाउँमा यसरी भएको छ। क्रामाकपाको भनाइ गोर्खाल्याण्डका लागि जो सुकैसँग पनि हात मिलाउने भन्ने छ। हिजो-अस्ति एउटा बंगला समाचार-पत्रमा दिएको अन्तर्वार्तामा गृहमन्त्री अमित शाहले गोर्खाल्याण्ड दिन सकिँदैन भनी भाजपाको गोर्खाहरूप्रतिको अड़ान स्पष्ट पारिसकेका छन्‌। त अब सिद्धान्त पनि नमिल्ने, गोर्खाल्याण्ड पनि नदिने पार्टीसँग झुण्डिरहनुमा क्रामाकपाको के बाध्यता छ? अन्य कुरामा मोलतोल भएर भाजपालाई सघाएको हो भने त्यसमा भन्नु केही छैन। तर यसले पार्टीको छविलाई धक्का पुग्नेछ अनि क्रामाकपाको अस्तित्व नै संकटमा पर्नसक्छ। यसरी क्रामाकपा नीति र सिद्धान्तहीन भएको छ र यसमा नैतिकताको लेस मात्र पनि बाँकी रहेन। गोर्खाल्याण्डकै लागि मरिमेट्‌ने भए आफ्नो सांगठनिक शक्ति बढ़ाएर, सम्पूर्ण जनतालाई समेटेर, घरीघरी धोखा दिनेहरूको पछि नलागेर आफ्नै बुतामा आन्दोलन गर्नुपर्ने हो क्रामाकपाले।

भारतीय जनता पार्टीले गोर्खाहरूप्रति ईमानदारिता कहिल्यै देखाएन। तीनचोटि सांसद दियो भाजपालाई दार्जीलिङले। भाजपा अनि यसका नेताहरू नरेन्द्र मोदी र अमित शाहले गोर्खाको समर्थन पाउन 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिने,  पहाड़-तराईको स्थायी राजनीतिक समाधान गरिदिने, गोर्खाहरूको मागलाई सहानुभूतिपूर्वक विचार गरिदिने इत्यादि वाचाहरू गर्दै दार्जीलिङ संसदीय आसन जित्दै आएको छ। जसवन्त सिंहले जित्दा केन्द्रको क्षमतामा भाजपा आएन भनेर यी मागहरू पूरा भएनन्‌। तर सुरेन्द्रजीत सिंह अहलुवालिया र वर्तमान सांसद राजु विष्टको पालामा केन्द्रमा भाजपाको पूर्ण बहुमतको सरकार छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रको भाजपा सरकार चलिरहेको अहिले सात वर्ष हुँदैछ। यी सात वर्षमा गोर्खाहरूको समस्या समाधान गर्न भाजपा सरकारले एउटा सिन्को पर सारेको छैन। मात्र चुनाउको बेला गोर्खाहरूको माग पूरा गरिदिने आश्वासन दिन्छन्‌। यसरी केही पनि नदिँदा गोजमुमो संस्थापक अध्यक्ष विमल गुरुङले भाजपासँगको 12 साल पुरानो गठबन्धन तोड़ेर बाहिरिएका हुन्‌। ईमानदार गोर्खाहरूप्रति भाजपाले किञ्चित सहानुभूति देखाएन। नरेन्द्र मोदीले ‘गोर्खाको सपना मेरो सपना’ भनेर गज्जबले ढाँटे। गोर्खाको भोट मात्र सोहोऱ्यो भाजपाले, गोर्खालाई धोखा मात्र दियो।

विमल गुरुङले भाजपाको साथ छोड़े तर तृणमूल कंग्रेससँग गठबन्धन गरेर गोर्खा भावनालाई आघात गरे। आफूहरूप्रति लागेको मुद्दा-मामिलाबाट जोगिन विमल-रोशन गिरीहरूले गरेको यो कामलाई गोर्खा जनगणले रुचाएका छैनन्‌। 2017 सालको आन्दोलनमा ममता ब्यानर्जीको तृणमूल सरकारले गरेको क्रुर दमन, 13 जनालाई गोली हानी मारेको अनि कथित रूपमा 5 हजारलाई विस्थापित गरेको हुँदाहुँदै पनि विमल गुरुङले किन बंगाल सरकारसँग सम्झौता गरे? यो कुरा धेरैलाई पचेको छैन। वास्तवमा ‘गोर्खाल्याण्ड’ प्रति समर्पित भएका भए विमल गुरुङले भाजपा छोड़ेपछि आफ्नै पाराले तृणमूलसँग नमिली आन्दोलन अघि लानुपर्नेथ्यो। यसमा तिनी निर्विवाद नेता कहलिन्थे।

2017 सालकै आन्दोलनमा विमल गुरुङ र रोशन गिरीहरू भूमिगत भएपछि आन्दोलनको डोरी विनय तामाङ अनि अनीत थापाको हातमा आएको थियो। तिनीहरूले आन्दोलनलाई नेतृत्व दिएर अघि बढ़ाएर लानुपर्ने थियो तर तिनीहरूले यसो नगरेर तृणमूल सरकारसँग मिलेर आन्दोलनको दीयो निभाए अनि जीटीएको सत्तासुुख भोग्नथाले। जनताले यिनीहरूलाई रूचाएनन्‌। यसको प्रमाण 2019 सालको लोकसभा चुनाउमा विनय-अनित गूटले समर्थन गरेको तृणमूल उम्मेद्‌वार अमरसिंह राई भाजपा प्रार्थी राजु विष्टसँग 4 लाखभन्दा अधिक मतको व्यवधानले हारे। यसको पछि भएको दार्जीलिङ विधानसभा चुनाउमा स्वयं विनय तामाङ भाजपा प्रार्थी नीरज जिम्बासँग नराम्रो घतले पराजित भए। 2021 -को विधानसभा चुनाउमा अनीत-विनयहरूले ‘घर जलाउनेलाई होइन, घर बनाउने’ -लाई भोट दिनु भन्दै प्रचार गरे। घर जलाउनेको आशय विमल गुरुङ थिए भने घर बनाउनेहरू विनय-अनीतहरू आफै हुन्‌ भन्ने तिनीहरूले भन्न खोजेका थिए। वास्तवमा घर जलाउने सत्तापक्ष थियो। यदि विमल गुरुङहरूले घर जलाएका हुन्‌ भने त्यसमा विनय-अनीतहरू पनि सहभागी थिए किनभने त्यसबेला सबैजना एकजुट भएर आन्दोलन गरेका थिए। यसमा विनय गूट पानीमुनिको ओभानो हुन खोजेको मात्र हो। 

यसरी कुनै पनि दल र नेतृत्व जनताप्रति ईमानदार छैनन्‌। जनहितभन्दा धेर यिनीहरू पार्टीहित र व्यक्तिगत स्वार्थका लागि राजनीति गरिरहेछन्‌। यिनीहरूको नैतिकता अनि विश्वासयोग्यता रसातलमा पुगिसकेको छ। वारम्बार जनतालाई धोखा दिँदै आइरहेछन्‌। झन गोर्खाल्याण्ड आन्दोलनमा त पहाड़का नेताहरूले गजबको नोटंकी मात्रै गरेका छन्‌। आन्दोलनको नाउँमा यिनीहरूले प्रत्येकचोटि सौदाबाजी मात्र गरेका छन्‌। राष्ट्रिय दलहरूलाई आसन चाहिएको छ भने क्षेत्रीय दलहरूलाइ सत्तासुख र अर्थ चाहिएको छ। कंग्रेस अनि भाजपा जस्तो दलहरूले क्षेत्रीय दलहरूको सहायतामा दार्जीलिङ आसन पाए भने गोरामुमो र गोजमुमोले दागोपाप र जीटीएमा धलीमली गरे। जनतालाई भने हात लाग्यो शून्य। जबसम्म पहाड़को नेतृत्व ईमानदार अनि दृढ़संकल्प हुँदैन तबसम्म यिनीहरू दिल्ली र कलकत्ताको कठपुतली मात्र हुनेछन्‌। असल नेतृत्व नपाउनु जनताको दुर्भाग्य हो। यहाँ नेतृत्वको अदूरदर्शिता, नैतिक कमजोरी अनि ईमानदारीको कमीले बारम्बार आन्दोलन तुहिँदै आएको छ।

अन्य लेखहरू

खेला भयो
  • 2021-09-21 09:31:42