सकारात्मक विचार अनि जीवनका समस्याहरू

  • 2024-03-26 23:38:30
==>

- किशोर शर्मा  

मानिसको शरीर र मनका समस्याहरू जीवनभरि चलिरहन्छन्‌। कोहीबेला शरीर अस्वस्थ हुँदछ भने कोहीबेला मन खिन्न हुँदछ। समस्या शारीरिकसम्म भए त्यो उपचारद्वारा ठीक हुँदछ तर यदि शारीरिक रोगसँगै मानिसको मानसिक अवस्था पनि ठीक नभए तब जीवन गाह्रो हुँदछ। शारीरिक रोगले मनलाई प्रभावित पारे अत्यन्त कष्ट हुँदछ। मानिस देख्नमा स्वस्थ रहे पनि उसलाई खपी नसक्नुको पीड़ा भइरहेको हुँदछ। मनको तापले सदैव शरीर जलिरहेको हुँदछ, जो भुक्तभोगी मानिसले व्यक्त गर्न सक्दैन। यसबाट बँच्न मानिस औषधि सँगसँगै अध्यात्म अनि योगको शरणमा जाने गर्दछन्‌। कतिले यसबाट राम्रो फल पनि प्राप्त गर्दछन्‌ भने कतिलाई कुनै फाइदा भएको हुँदैन। 

धर्मका जति पनि गहन प्रयोग छन्‌, ती सबैमा उत्तम स्वास्थ्य हुनु आवश्यक छ। प्राचीनकालदेखि नै मानिसहरूले ध्यान, जप, तप, योग आदि अवलम्बन गर्दै आइरहेका छन्‌। वर्तमानमा विभिन्न आध्यात्मिक गुरुहरूले योग अनि आसनका नयाँ-नयाँ तक्निकहरू सृजना गरेका छन्‌, जो पुराना विधिहरूको तुलनामा सहज अनि ग्रहणयोग्य पनि छन्‌। कम समयमा नै मानिसहरूले फल प्राप्त गर्ने गर्छन्‌। तर यी सब कुरा तब सम्भव हुँदछ जब शरीर यसका लागि तयार हुँदछ। कसैको मुटुमा ब्लकेज छ, कोही विरामी छन्‌ भने उ मनदेखि पर जान सक्दैन, चेतनाको अनुभव गर्नु त परै जाओस्‌। कसैलाई जोड्‌नीमा पीड़ा छ भने मेरूदण्ड सीधा राखेर पद्मासनमा बस्न गाह्रो हुँदछ। धार्मिक-आध्यात्मिक संस्थाहरूमा जति पनि क्रियाकलाप हुन्छन्‌, त्यसको 50 प्रतिशत शारीरिक स्वास्थ्यसँग सम्बन्धित हुँदछ। हामी जस्तो छौं, त्यो हाम्रो संकल्पको परिणाम हो। 

स्वास्थ्य नै धन हो भन्ने कुरा परापूर्वदेखि भनिँदै आएको एउटा अकाट्य सत्य कुरा हो। तर यसमा कतिपय नकारात्मक धारणा जानी-नजानी हाम्रो अवचेतन मनमा गएर बस्दछ। अवचेतनमा जुन कुरा बस्दछ, त्यस्तै कुरा घटित हुन थाल्दछ। स्वास्थ्यबारे विचार गरे, यसमा अनेक थरीका नकारात्मकताले हामीलाई घेरी राखेको हुँदछ। विभिन्न औषधि खाइरहँदा पनि चालीसको, उमेर बितेपछि आँखामा चश्माको आवश्यकता धेरैलाई हुँदछ। वर्तमान जीवनशैलीको कारण शरीरमा ऊर्जा रहँदैन। कोही ओछ्‌यानमा चिया नखाइकन उठ्‌नै सक्दैनन्‌, कसैलाई खैनी-सिग्रेट नखाई दिसा लाग्दैन। अचेल उच्च रक्तचाप र मधुमेह रोग एउटा साधारण कुरा भएको छ। नकारात्मक धारणा मानिसको मनमा रहिरहे विस्तारै-विस्तारै उ रोगी हुँदै जाँदछ। मन सकारात्मक धारणाले भरिरहे मानिसले आश्चर्यजनक रूपमा रोगबाट मुक्ति पाउँदछ। आफूलाई स्वस्थ अनि बलियो ठानेमा ऊर्जा अनि जीवनशक्ति सदैव बढ़िरहन्छ। मानिसको अवचेतन मनले उसलाई स्वस्थ हुने दिशातर्फ लैजादँछ। 

धेरै रोगहरू मनमा उब्जिन्छन्‌ अनि फेरि शरीरमा प्रकट हुँदछन्‌। यसैले अलिकति अस्वस्थ हुँदा पनि शरीरको प्रत्येक अंगले ठीकसँग काम गरिरहेको मनमा सोंचे, मानिसको शरीरमा स्वास्थ्य अनि सम्प्रीतिमा सामञ्ज्यस्य बन्दछ। डाक्टरले उपचार सही ढंगमा गरेको अनुभव गरे चाँड़ो निको पनि भइन्छ। आफ्नो अवचेतन मनमा आफ्नो उपचार गर्ने पूर्ण शक्ति छ भन्ने दृढ़ विश्वास राखे मानिस जस्तै कठिन रोगबाट पनि निको हुँदछ। 

मानिसको कमजोर आर्थिक स्थिति पनि उसको नकारात्मक विचारको नै परिणाम हो। सबैजना आर्थिक रूपले सम्पन्न हुन चाहन्छन्‌ तर यसका लागि जुन प्रकारको मनोदशा हुनुपर्छ, त्यो सबैमा हुँदैन। आर्थिक समृद्धिप्रति धेरजसो मानिसको विचारलाई समाप्त गर्नुपर्छ। यस्तो विचारले धनीहरूप्रति अवचेतनमा नकारात्मक विचार पसेको हुँदछ, जस्तै- म यतिनै कमाउँन सक्छु, हामी मध्य वा निम्नवर्गीय मानिस हौं, जिन्दगी ठीकसँग चले भइगयो, धेर पैसाले दिमाग बिगारिन्छ, म जति कमाउँछु त्यसले पुगिहाल्छ, मेरो भाग्य नै राम्रो छैन, महँगीले गर्नुसम्म गऱ्यो इत्यादि धनप्रतिको नकारात्मक ईर्ष्या जगाउँदछ अनि व्यक्तिको आफ्नो सम्भावनाहरू दमिन भएर रहँदछन्‌। यदि हामीले सकारात्मक विचार मनमा राखे, हाम्रो आर्थिक विषमताको अनन्तद्वार खोलिन सक्छ। अर्थात्‌, आफूभित्र धनी हुनु पनि मेरो हक हो अनि यसलाई प्राप्त गर्नु एकदमै मेरो वशमा छ भन्ने दृढ़ विश्वास जगाउनुपर्छ। म ऋृणबाट मुक्त भइरहेछु भन्ने भावना राख्नुपर्छ। सुत्न भन्दा अघि अब मेरो आर्थिक सम्पन्नताको दिन टाढ़ो छैन भनी कल्पना गर्नुपर्छ। मनमा यस्तो भाव उत्पन्न गर्नुपर्छ कि ईश्वरले मलाई यति धेर कुरा दिएका छन्‌ जसले आफ्नो इच्छा-आवश्यकताहरू पूरा भइरहेछन्‌ अनि म अब अरूको सहायता पनि गर्न सकिरहेछु। 

यी संकल्पहरूसँगै ईश्वरलाई पनि धन्यवाद दिन भुल्नु हुँदैन। किनभने आफ्नो समृद्धिका स्रोत तिनै हुन्‌। तिनकै कृपाले आफूलाई धन प्राप्त भइरहेछ। यसले आफ्नो परिवारलाई राम्रोसँग पालन-पोषण गर्न मात्र नगरेर, आवश्यक परेमा अरूलाई धेरथोर सहायता गर्ने स्थितिमा आफूलाई पाइन्छ। यसकारणले जसरी आफूमा सकारात्मक सोंच राखिन्छ, त्यति नै आफूलाई राम्रो अनुभव हुनथाल्छ अनि शरीर साधनाको अनुकूल हुनलाग्छ। स्वस्थ शरीरको विचारलाई नै व्यवहारमा ल्याउनु धेरै सजिलो हुँदछ।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ