‘‘पुबोङ्ग चियाबारीको बरबटे पुल : एक दृष्टिकोण’’

  • 2024-03-29 16:50:30
==>

एच.बी. प्रधान

जिङ्गलाम-चियाबारी

ब्रिटिशहरूले भारतवर्षमा विकासको दृष्टिकोणले हेरौं भने धेरै उपयोगी कार्यहरू गरेको पाउँछौं सय वर्षको शासनकालमा। जसमा आम जनताको हितलाई सर्वोपरी राखेर निर्माण गरेको झोलुङ्गे पुल, ठूला ठूला भवन, कल-कारखाना, बिजुली उत्पादन गर्ने औजार, पावर हाउस, बाटोघाटो अनेकौं पुराना पुराना धरोहरहरू हाम्रो अगाड़ी जीर्ण अवस्थामा छन्‌। बिलुप्तिएर गएका छन्‌ रखरखाउको संघारमा। त्यस भग्नावशेष थोत्रिएर टुटिएर, छानोको आधा भाग मक्किएर संरक्षण र रंग पचेराको अभावमा घाँस जंगलहरूले ढाकेर, लेउ लागेर लथालिङ्गै अवस्थामा छन्‌। सरकारको ध्यान र गैर सरकारी ओहोदामा कुर्सी ओगटेर बसेका व्यक्ति विशेषको ध्यान आकर्षित हुन अलिकति पनि समय पाउन असमर्थ रहन्छन्‌। तल्लो वर्गदेखि नालिस गर्दा सिर्फ आश्वासन मात्र दिन्छन्‌। केही रुपियाँ खर्च गरे त्यस धरोहर सुन्दर बनाउन सकिन्छ। तर राजनैतिक चलखेलमा रिभुलिएड हाम्रो धरोहर र हामी कैयौं कोश टाढ़ा पछाड़िएका छौं। 

ब्रिटिश सिर्फ मार्ग दर्शक थिए। तर जमिनमा कार्य गर्ने हाम्रै पुर्खाहरू थिए। लामा-लामा दाड़ी, दौरा-सुरूवाल, फाटेको हाफपेन्ट लगाएर खाली खुट्टा, हातको चक्र ख्याएर कुर्कुच्चा फुटाएर काम गरे। ठूला ठूला औजार बोकेर, तानेर, खुन-पसिना बहाए त्यस धरोहरमा हाम्रो पूर्खाहरूको हातको चक्रको निशान लुकेको छ। खुट्टाको छापहरू अंकित छ। त्यस धरोहरू कसैको पेवा होइन। हाम्रै सम्पति हो। 

यसै सन्दर्भमा आज पुबोङ्ग चियाबारीमा निर्मित बरबटे पुल हाम्रो धरोहर हो। पहिलाको जमानामा सायद वरको वक्ष थियो होला। त्यसैले बरवटे पुलको नामले चिनिन्छ। यो पुल  जी गदरक कम्पनी लिमिटेड वी वेलडर कलकताद्वारा सन्‌ 1917 सालमा निर्माण भएको हो। जसको आयु आज 105 वर्ष पुगिसक्यो। पुल पारी तीनवटा गाउँ र पुलवारी पाँचवटा गाउँको निम्ति यो एउटा जीवन रेखा मानिन्छ। कारण कुनै पनि शुभ/अशुभ कार्यमा तथा कुनै सभामा अंशग्रहण गर्न कुचो, अलैंची, अदुवा, सुन्ताला, आलू, साग-सब्जी, काठपात ओसार-पसार गर्न यसै पुल एउटा मध्यम थियो। यस मार्गको अर्को कुनै विकल्प नहुँदा, गाउँवासीले अधिक महँगो मूल्य चुकाएर खाद्य सामग्री किनेर राख्न बाध्य बनेको गाउँका भुक्तभोगी जनता बताउँछन्‌। ब्रिटिशले धर्म हेरेन, कार्य गऱ्यो। सबैलाई पच्ने कार्य गरे। 

सिकिस्त अवस्थामा विरामीलाई स्टेचरमा सुताएर अथवा ढाड़मा बोकेर अस्पताल पुऱ्याउन यसै पुलद्वारा बाध्य बनेका थिए। किनकि भारी वाहन गुड़ाउन निषेध छन्‌। तारको लठारो बाँधेर झुण्ड्याएको झोलुङ्गे पुलमा गाड़ी गुड़ाउन जोखिम उठाउन पर्ने अन्देश हुँदछ। यसै सन्दर्भमा भन्न पर्दा यस बरवटे पुलको रखरखाउमा अंग्रेजहरूले पुलको छेउछाउबाट बिरुवा लगाएका थिए। ताकि बर्खायाममा वरिपरिको माटो पानीले बगाए। कमजोर नबनाओस्‌। बिरुवा घना थियो। सुन्दर थियो। तर सन्‌ 1970 साल पश्चात फरेष्ट डिपार्टमेन्ट त्यस कुरोलाई अनर्थ सम्झेर काट्‌न शुरू गरे। नभन्दै पुलको छेउछाउ पैह्रो गएर क्षति पुऱ्याएको भुक्तभोगी जनता बताउँछन्‌। 

कमानको तर्फबाट मरमति कार्यमा धेरै कार्य गरे। तर सरकारी ओहोदामा बसेका व्यक्ति विशेषले आश्वासन मात्र दिए। भुक्तभोगी जनताले कतिपल्ट ज्ञापन पत्र चड़ाए। तर त्यो समयको वरवादी मात्र भएका थिए। हाम्रो पूर्खाहरूले कति राम्रो ढंगमा बनेर लगाएको ढुंगाको पोलिङ्ग आजसम्म जस्ताको त्यस्तै छन्‌। यसैमा इमानदारी र बफादारी झल्कन्छ। तर आजभोली इमानदारी र बफादारीको नाममा ठग्ने र धोका दिने कार्यले गोर्खाहरूको सुनौलो इतिहासमा कलंक लागेको महसुस हुँदछ। पहिलेको जमानामा ठेकादारहरूले केही बचेको रुपियाँले हिटी, बस्ने हावा घर, देवी-देवता, भगवानको मूर्ति बनाउँथे। जो आजसम्म हाम्रो अगाड़ी नमुना बनेर बसेको छ। 

यसै सन्दर्भमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा स्टीलब्रिजको  निर्माणले यस सातवटा गाउँका भुक्तभोगी जनताले एकसय पाँच वर्ष सम्म थाँतीमा रहेको पक्की पुल निर्माण कार्यलाई कहिले बिर्सने छैन। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको ठूलो उपलब्धि मानिन्छ। नौ करोड़ पैंतालिस लाख एक हजार दुइ सय पाँच रुपियाँ लागतमा दिनाङ्‌क 21 अप्रेल 2015 बाट प्रारम्भ भएको 21 अक्टोबर 2017 मा निर्माण कार्य पुरा गरे। यस कार्यले बरवटे पुल (झोलुङ्गे)-को विकल्प स्टीलब्रिजले एउटा सुनौलो इतिहास लेख्ने छ।

अन्त्यमा म आह्वान गर्न चाहान्छु कि यस बरवटे पुलको विकल्प स्टील ब्रिज निर्माण भए तापनि राम्रो यो 105 वर्ष पुरानो झोलुङ्गे पुल बरवटे पुललाई अझ संरक्षण गरेर राखे अझ हाम्रो इतिहास बलियो बन्नेछ। साथै आउने भावी सन्तानले सुनौले इतिहास कोर्ने छ।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ