शिक्षासेवी र संगीतकार सफल थापाको निधन- नेपाली समाजलाई ठुलो क्षति

  • 2024-03-26 07:18:04
==>

नवीन पौड्याल

 गत 7 जून 2021, बिहानै शिवमन्दिर सिलगढ़ी निवासी सफल थापाको निधनको समाचार वाट्‌स्‌एपले देखायो। 6 जूनको राति एघार बजेतिर उहाँलाई कोरोनाको पश्चप्रकोपले लगेछ। झसङ्ग भएँ। फेसबुक खोलेँ। समाचार सत्य रहेछ। पत्याउनै कठिन पऱ्यो। यसपालिको दोस्रो चरणको कोरोनाले प्रेमध्वज प्रधान, लासिमित राई, चेतन कार्की हुँदै सफल थापालाई लग्यो। एकछिनपछि श्रद्धाञ्जलिका टिप्पणीहरू देखेँ। उहाँको सुन्दर, शान्त र आत्मीय अनुहार झल्झली सम्झें। नेपाली समाजले एउटा शिक्षाविद्‌ संस्कृतिप्रेमी, गायक र संगीतकार गुमायो। एकजना सचेत जातिप्रेमी व्यक्तित्व गुमायो। सफल थापाको जन्म दार्जिलिङस्थित लेबोङछेउको हर्सिङ हट्टामा बाबु स्व. देवमान थापा र आमा श्रीमती देवमाया थापाको माइला सन्तानको रूपमा 20 जून सन्‌ 1962 मा भएको हो। उनले दार्जिलिङ सरकारी महाविद्यालयबाट नेपाली विषयमा अनर्स गरेर उत्तर बङ्गाल विश्वविद्यालयमा सन्‌ 1986-87 मा नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन्‌। 

सफल थापाले एम.ए. सकेपछि बागडोगरा गान्धी स्कूलमा अवैतनिक रूपमा शिक्षण कार्य शुरू गरेका हुन्‌। त्यसपछि सन्‌ 1996 को अन्त वा 1997 मा सरकारी अनुमोदित पदमा रही स्थायी भएका हुन्‌। केही वर्ष त्यस स्कूलका प्रभारी भएर काम गरेका हुन्‌। 2003 मा नक्सालबारी नेपाली स्कूलमा स्थायी प्रधानाध्यापक भए। त्यति बेला नक्सालबारी नेपाली विद्यालयको कारूणिक अवस्था थियो। 2082 तिरै गाउँलेहरूको प्रयासमा स्थापना भए पनि सरकारी तवरले नक्सालबारी नेपाली स्कूलले 2001 मा मात्र नयाँ गरी मान्यता र अनुमोदन पाएको हो। 2002 तिर सर्वप्रथम मेघनाथ छेत्री त्यहाँ विद्यालय सेवा आयोगको सिफारिसमा नियुक्ति लिएका हुन्‌। 2003 मा भने सफल थापाले आयोगबाट प्रधानाध्यापक भएर नक्सलबारीमा जिम्मेवारी लिनु जानुभयो। स्कूलको अवस्था कारूणिक थियो। आर. बी. राईको सांसद्‌ कोषबाट पाएको रकमले इँटा र च्यादरको धुरी भएको स्कूल घर मात्र थियो। सफल सरले जिम्मा लिएपछि बिस्तारै उन्नतिको मार्गमा लम्क्यो। स्कूलको व्यवस्थापन समिति र प्रधानाध्यापक थापाको प्रयास, पहल र तत्परतामा स्थानीय निकायदेखि लिएर कलकत्ताको शिक्षा विभाग र सरकारसित निरन्तर सम्पर्क आदिले विस्तारै विकास गर्दै लग्यो। स्कूलको मान्यता आठौं श्रेणीसम्म मात्र थियो। 2005 मा माध्यमिक तहसम्मको सरकारी मान्यता पायो। त्यसपछि बिल्डिङ, शिक्षक, विद्यार्थी, कर्मचारी आदि थपिए। 2009 मा बाह्रौं श्रेणीसम्मको मान्यता पायो। सफल थापाको नेतृत्त्वमा त्यस स्कूलले सिलगढ़ी भेकमा नेतृत्व गर्न सक्षम भएको थियो। स्कूलको चौतर्फी विकास भएको थियो। 

2004 मा सिलगढ़ी भेकका नेपाली विद्यालयहरूको एकता र शैक्षणिक सहकार्यका निम्ति नेपाली विद्यालय विकास मञ्च गठन भएको हो। सफल थापा र उहाँकै श्रीमति नीलामणि राई सिलगढ़ीको रविरत्न बालिका उच्चतर विद्यालयकी प्रधानाचार्य। कस्तो संयोग! त्यस मञ्चले छैटौंदेखि दशौं श्रेणीसम्मको विभिन्न विद्यालयका लागि संयुक्त रूपमा एकै परीक्षा समयसारिणी, संयुक्त प्रश्नपत्र तयारी, विद्यार्थीहरूमा संयुक्त रूपमा नै वार्षिक खेलकुद प्रतियोगिता, प्रश्नोेत्तरी र तर्क प्रतियोगिता, वनभोज आदि कार्यक्रम गर्दथ्यो। यस मञ्चको पहलमा सिलगढ़ी भेकका नेपाली विद्यालयले निकै उन्नति गरेको थियो। अहिले त्यो पुनीत्‌ समिति छ कि छैन, जान्न पाइएको छैन। 

सफल थापा एक संगीतकार, गायक, कुशल संगठक र कलाकार हुनुहुन्थ्यो। सन्‌ 1984-85 तिर उहाँ, दिलीप गुरूङ र अन्य साथीहरू मिलेर कञ्चन कला भन्ने साङ्गीतिक टोली खोलिएको थियो। त्यस टोलीले दार्जिलिङका चियाबगानतिर साङ्गीतिक कार्यक्रम आयोजना गर्दथ्यो। सफल थापा त्यसका मूल गायक थिए। (उमेश थापा) उहाँको पहल, नेतृत्व र उहाँकै ससुरा गायक कलाकार अशोक राईको छत्रछायाँमा सन्‌ 1988 मा सिलगढ़ीमा आरोही साङ्गीतिक टोली गठन गरिएको थियो। त्यो टोली निष्क्रिय भएपछि सफल थापाको अगुवाइमा पुनर्गठन भएको हो। त्यस टोलीले सिलगढ़ीतिर विभिन्न नेपाली साङ्गीतिक कार्यक्रम गर्दैआएको छ। त्यस टोलीमा सफल थापा, नीलामणि राई थापा, शरद्‌ सिन्हा, पुष्कर पराजुली, वीरेन खाती, दिलीप प्रधान, सुमन निरौला, सुदेश राई पेमपा वाङ्‌दी भोटिया, समिर सिन्हा, देवराज सुनार र रूपेश आदि रहेका छन्‌। त्यस टोलीले विगत कति महिनादेखि अब मेरो पालो भन्ने नयाँ-पुराना कलाकारलाई निम्त्याएर सम्मान गर्दै कार्यक्रम गर्ने अवसर दिने गर्दछ। अहिलेसम्म यसले 4-5 वटा कार्यक्रम गरेको छ।   

कति सुन्दर र सरस्वतीको वास परेको परिवार। घरका सबै अब्बल गायक गायिका। ससुरा र गायक-सैगीत ससुरा अशोक राईको आशीर्वाद र अभिभावकत्वमा रहेको घर। सरस्वतीलगायत देवी-देवताहरूको फोटो र वास परेको र सुसज्जित घर हो सफल थापाको। गत वर्ष 2020 को अप्रेल, 24 तारिकका दिन थापा परिवारले भर्खरै निधन भएका एस. रबिदासको स्मृतिमा उहाँको कालजयी गीत ‘स्वर्णिम सपना साथ सँगाली’ भन्ने गाएर श्रद्धाञ्जलि दिएको थियो। उक्त गीत गायनमा थापा परिवारका मुटुका टुक्रा छोरीहरू स्नेहश्री र सान्निध्यलगायत नीलामणि गुरूमा र सरले हार्मोनियम बजाउँदै अत्यन्त मिठो गाएको थियो। कोरोनाकोकालको लकडाउनको अवधिमा बेला बेलामा साङ्गीतिक अनलाइन कार्यक्रम गर्नुहुँदै थियो। सफल सरहरूको साङ्गीतिक टोली आरोही सांगीतिक टोलीको आयोजनामा कार्यक्रम भएको थियो। 

सफल थापा मूल रूपमा संयोजक, संगीतकार र गायक हुनुहुन्थ्यो। 2005 मा उहाँको गायन र संगीतमा रुद्राक्ष भन्ने गीति अल्बम निस्केको थियो। त्यसमा नीलामणि थापा र छोरीहरूको पनि बालगीत रहेको थियो। उहाँहरूकै परिवारको पहलमा विभिन्न गायक-गायिका लिएर भानुभक्त आचार्यको द्विशतकीय जन्मोत्सवको अवसरमा भानुको सम्झना (2016) भन्ने भानुभक्तको महिमाको गीति अल्बम निकाल्नुभएको थियो। उहाँकी जेठी छोरी स्नेश्री थापाको सपनाका रङ्गहरू भन्ने गीति अल्बम सफल थापालगायत अन्यको संगीत र यसको संयोजन रहेको थियो। सुमन निरौलाको निस्कन लागेको अल्बम घायल मुस्कान सफल थापाको संगीत पनि रहेको छ। उहाँको निधनले नेपाली समाजले एक शिक्षाप्रेमी गुमायो। एक संस्कृतिप्रेमी हरायो। नीलामणि दिदीको आकासै खस्यो, छोरीहरूले अभिभावक, साथी र छहारी बाबु गुमाए। उहाँको आत्मशान्तिको कामना गर्दछु।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ