दशैं र तिहारको उत्सव र झिलिमिली

  • 2021-10-15 15:44:58

-लोकनाथ उपाध्याय चापागार्इं

कवि शिरोमणि लेखनाथ पौड्यालको ‘दशैं’ शीर्षकमा लेखिएको एउटा कविता यस्तो छ-

1

हल्यो सारा हिलो-मैलो

हरायो पानीको वर्षा

भवानीको भयो पूजा

चल्यो आनन्दको वर्षा

2

जता जाउँ, उतै भन्छन्‌

‘दशैं आयो, दशैं आयो’

यही आनन्द चर्चाले

सबै संकष्ट बिर्सायो।

3

ठूला-साना, सबैलाई

दशैं अत्यन्त राम्रो छ

चलेका चाड़मा ज्यादै

यही उत्कृष्ट राम्रो छ।

4

सबै अत्यन्त आनन्दी

सबै छन्‌ पीङमा दङ्‌ग

सबैको देखिँदै आयो

उज्यालो चेहरा रङ्‌ग।

दशैं, बड़ा दशैं, नवरात्र, नौरथा, दशहरा, आयूध पूजा जस्ता नामहरूले जानिने दशैंको चाड़का बारेमा हामी धेरैलाई थाहै भएको कुरो हो। नवरात्रभरि नौ दुर्गाको पूजा गरिन्छ भन्ने कुराको पनि त्यति व्याख्या गरेर यहाँ त्यस विषयलाई सम्याइ रहनु पर्ने केही देखिँदैन। फेरि पनि दशैंका बारेमा भन्नु पर्दा केही न केही उल्लेख यहाँ गर्नुपर्ने नै हुन्छ। 

यो नौ दिनसम्म गरिने पूजामा पहिलो दिन शैलपुत्री, त्यसरी नै क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कृष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र नवौं दिनमा सिद्धिदात्रीका नाउँले नवदुर्गाको पूजा गर्ने चलन छ।

नवरात्रमा नौ दिनभरि खासगरी ‘महाकाली-महालक्ष्मी-महासरस्वती’ भनेर त्रिशक्ति-को पूजा गर्ने चलन नै रहेको छ। धेरैलाई यो ‘त्रिशक्ति’ भन्ने शब्द थाहा पनि भएको हुँदैन। महाकाली शक्तिकी प्रतिक, महालक्ष्मी वैभवकी प्रतीक र महासरस्वती ज्ञान र बुद्धिकी प्रतिक भनेर यी त्रिशक्तिको पूजा गर्ने प्रथा चलिआएको छ।

दशैं अथवा दशहरा शब्दलाई लिएर कतिपय विद्वानहरूले काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी, यी दशवटा दोष पन्छाउनका लागि भगवतीको दश दिनसम्म पूजा गर्नु पर्छ भनेका छन्‌।

नवरात्रमा घट-लाई ठूलो महत्व दिइएको देखिन्छ र दुर्गोत्सव घटस्थापनबाटै शुरु हुन्छ। यो घटका चारैतिर जौ रोप्ने प्रथा प्रारम्भिक कालदेखि नै चल्दै आएको देखिन्छ र हाम्रा धार्मिक ग्रन्थहरूमा यसको धेरै चर्चा गरिएको पाइन्छ। जौ, उमार्नु, जमार्नु हुँदै हुँदै पछि हाम्रा बोलीमा जमरा भएको हो। जौको अङ्‌कुरले औषधिको काम गर्छ भन्ने कुरो विद्वानहरू गर्छन्‌। अझ घाम र हावा नभेटेको पहेंलो रंगको जमरालाई त आर्युवेदमा मतैषधी (महा औषधि) हो सम्म भनिएको छ। तर खास कुरो के भने हाम्रा धेरै मानिसहरूले जौको साटो मकैको जमरा राख्ने गर्छन्‌। यसभित्र एउटा कारण छ। जौ उष्ण जलवायुमा हुने अन्न हो। चिसा ठाउँमा यो फस्टिँदैन, प्रायः उम्रिदैन पनि। यसले गर्दा जौका बदलामा मकै उमार्ने चलन चलेको हो। अझ धेरै चिसो ठाउँ लेकमा त मकै पनि ढिलै उम्रिन्छ, ढिलैगरी बढ़्‌छ।

सबैको आ-आफ्नो संस्कृति हुन्छ, आचार-व्यवहार हुन्छ, नियम हुन्छ रीति-थिति हुन्छन्‌, संस्कार हुन्छ। यी जम्मै नीति-नियमहरू धेरै जसो गाउँ-घरमै चलेको हुन्छ। शहर-बजारमा त त्यस्तो परिवेश पनि हुँदैन, ठाउँ पनि हुँदैन। दशैंमा लिङ्‌गे पीङको चलन पनि धेर जसो गाउँमै देख्न पाइन्छ।

अचेल दशैंमा मालश्रीको धून पनि सुन्न पाइन छोड्‌यो। असलमा घटस्थापनका दिनदेखि पूर्णिमासम्म जय देवी भैरवी भनेर दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा विशेष धूनको नाम नै ‘मालश्री’ हो।

खास कुरो, मालश्री एउटा शास्त्रीय धून अर्थात ‘राग’ हो। मालश्री धुनका लागि त पहिले पहिले नौमती बाजासम्म बजाइने गरिन्थ्यो र यसलाई ‘दशैं धून’ पनि भनिन्थ्यो।

दशैंलाई नौरथा अथवा नवरात्र त भनिन्छ तर कहिले काहीं तिथिहरूको घट-बड़ भइदिन्छ र यसरी यो नवरात्र कहिले आठै दिन अनि कहिले दश दिनको भइदिन्छ। यस वर्ष पनि एउटा तिथि घटेर नवरात्र आठै दिनको भएको छ। फेरि पनि नवरात्रलाई ‘अष्टरात्र’ अथवा ‘दशरात्र’ भनिँदैन। धार्मिक ग्रन्थहरूको निर्देश अनुसार यी तिथिहरूलाई खप्टिएर-तन्काएर अथवा छोट्याएर-लम्याएर पूजा नगर्नु नै भन्ने छ, नत्रता माथि उल्लेख गरिएका दुर्गाका नौवटा  नामहरूमा कुनै एउटा नाम छोड्‌नु पर्ने अथवा कुनै एउटा थप्नु पर्ने वाध्यता आइपर्छ जसले गर्दा पूजाको पूरै समीकरण नै बिथोलिन्छ। एकै दिन  दुइटा तिथि खप्टिएछन्‌ भने पनि बिहान र साँझमा अलग अलग गरेर नवदुर्गाको पूजा गर्नु भन्ने तोकिएको छ।

हामी गोर्खाहरू खुकुरी भिरेर हिँड्‌ने लड़ाकु जाति हौं र नवरात्रमा शस्त्र-अस्त्रको पूजा गर्ने हाम्रो एउटा परम्परा नै छ। घटस्थापनदेखि नै दुर्गास्थानमा खुड़ा-खुकुरी आदि राखेर तिनको पूजा  गर्ने चलन भए पनि विशेष पूजा चैं नवमीमै गरिन्छ र त्यसै दिन नवदुर्गाका रूपमा नौकन्याको पूजन, बलिदान (यो कुनै पनि रूपमा हुन सक्छ), हवन-पूर्णाहुति गरेर पूजाको समापन गरिन्छ।

नवरात्रमा फूलपाती र टीकाको छुट्टै महत्व रहिआएको छ। फूलपातीलाई त हामीले लावा-लस्करका साथ यात्रा निकालेर सप्तमीका दिन बड़ो धुमधामसित मनाउने प्रथा मान्दै र धान्दै आएका छौं। फूलपातीमा देवीका प्रिय विषय नौवटा फूलपाती ल्याएर देवीलाई चड़ाउने नियम छ। यसैका लागि फूलपाती शोभायात्रा निकालिन्छ।

दुर्गा पूजामा तेह्र अध्याय सप्तशती (चण्डी) पाठ गर्नु दुर्गाकै आराधना गर्नु हो। मधुकैटभ (मधु र कैटभ), महिषासुर, चण्डमुण्ड (चण्ड र मुण्ड), धुम्र-लोचन, रक्तवीच र अन्तमा शुम्भ-निशुम्भको बध गरेको र सुरथ र वैश्यलाई वरदान दिएको कथा सप्तशतीमा वर्णित छ। वीजमन्त्र आदि लगाएर सातसय श्लोक भएकाले यसलाई सप्तशती भनिएको हो। सप्तशतीको जम्मै गाथा मार्कण्डेय पुराणबाट लिइएको हो।

विजया दशमीका दिन बिहान जमरा र दही-अक्षताले ‘जया र विजया’ को पूजा गरेर टीको लाउने चलन हामीमा चलिआएको छ। यसैलाई हामी ‘बड़ादशैं’ भन्ने गर्छौं। विजया दशमीका दिन श्रवण नक्षत्र परेको छ भने त्यो अति उत्तम हुन्छ भनेर शास्त्रमा भनिए तापनि यस्तो योग कमै पर्न जान्छ। भनिएको छ-

श्रवणर्क्षेण संयुक्ता दशमी शुक्ल पक्षमा

ईषमासिस्थिता सेया विजया दशमी तिथि।

विजया दशमीका दिन यसरी टीका-जमरा लाएर, आफूभन्दा ठूला-बड़ाको आशीर्वाद थापेर शरदपूर्णिमासम्म यो दशैंको चाड़ मनाउने चलन सम्भवतः गोर्खा समुदायमा मात्र छ! दशैंको टीको लगाइदिँदा यो तलको आशीष-मन्त्र पढ्‌ने चलन पनि शायद गोर्खा समुदायमा मात्रै छ।

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे

ऐश्वर्यम्‌ नहुषे गतिश्च पवने मानञ्च दुर्योधने

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्ती सुते

विज्ञानं विदुरे भवन्तु भवताम्‌ कीर्तिश्च राणायणे।

भावार्थ- ‘द्रोणका छोरा अश्वत्थामाको जस्तो आयु होस्‌, दशरथको जस्तो नाम चलोस्‌, रामका शत्रुझैं शत्रुहरूको संहार होस्‌, नहुष राजाको धेरै धन-सम्पति होस्‌, बतासको जस्तो गतिमान शरीर होस्‌, दुर्योधनको जस्तो मान होस्‌, सूर्यका छोरा कर्णको झैं दानशीलता होस्‌, कुन्तीका छोरा युधिष्ठिरको झैं मनमा सत्यवादिता होस्‌ अनि ज्ञान र विवेक विदुरको जस्तो होस्‌।’ भनेर यसरी यो आशीषले भरिएको मन्त्र पढ़ेर टीको लाइदिने प्रथा धान्दै कोजाग्रत पूर्णिमा (शरदपूर्णिमा) सम्म यो चाड़ मानिन्छ र यसपछि समाप्त गरिन्छ। 

तिहार- विजया दशमीका ठीक बीस दिनपछि तिहार पर्छ। विजया दशमीका दिन रामले रावणमाथि विजय प्राप्त गरेका थिए भन्ने किम्वदन्ती छ भने अर्कातिर चौध वर्ष वनबासमा रहेर अयोध्या फर्केको खुशीमा उत्सव मनाएको सन्दर्भमा यो तिहारको पिथक गाँसिएको छ। तर यो चाड़ पनि हामी पाँच दिन मनाउँछौं। त्रयोदशीका दिन काग तिहार। यसदिन यमराजको दूत भनेर कागलाई अन्न र फलादि अर्पिने प्रथा छ। भोलिपल्ट चतुर्दर्शीका दिन कुकुर तिहार पर्छ र यसलाई ‘नर्के चतुर्दशी’ पनि भनिन्छ। यसका भोलिपल्ट औंसीका दिन गाई तिहार पर्छ। बिहान गाई पूजा गरेर साँझमा झलमल्ल बत्ती बालेर लक्ष्मी र कुवेरको पूजा गरिन्छ। चेली-बेटीले भैली पनि यसैदिन खेल्छन्‌। यसका भोलिपल्ट गोरु पूजा गरिन्छ, जसलाई हलीतिहार पनि भनिन्छ। यसैदिन गोवर्धन पूजा गर्ने चलन छ। गोवर्धन एउटा सानो पहाड़को नाउँ हो जहाँको घाँस खाएर गाई गोरु फस्टाउँथे। यसका भोलिपल्ट द्वितीयाका दिन भाइटीका पर्छ, दिदी-बहिनीले दाजु-भाइलाई टीको लाउने दिन। सेलरोटी र तिलको अचार त हाम्रा गोर्खा समुदायका चाड़बाड़हरूमा सरोबरी चल्दै नै आएको छ र यसरी हामी यी चाड़बाड़हरू उत्साहित भएर आनन्दले मनाउँछौं भन्दै यो छोटो आलेखलाई यतिमै मैझारो गरें।

अन्य लेखहरू

अगरु (अगर)
  • 2021-10-16 10:56:55