‘लिटल एञ्जेल’-का ‘लिटल च्याम्प’ दीपक न्यौपाने

  • 2021-10-16 20:18:40

- कृष्ण बस्नेत, महेशमारी

‘अ उहराळिेप ळी वशषळपशव पेीं लू ींहशळी ुळपी र्लीीं लू हेु ींहशू लरप ीशर्लेींशी ुहशप ींहशू षरश्रश्र’’- डशीशपर थळश्रश्रळराी.

प्रसिद्ध टेनिस खेलाड़ी सेरेना विलियम्स ‘विजय’-लाई हेरेर होइन अपितु लड़िसकेको अवस्थाबाट स्वयंलाई पुनः खड़ा गर्न देखाइएको सामर्थ्यलाई ‘विजेता’को वास्तविक कसी मान्नमा विश्वास राख्न्छिन्‌ अनि यही सत्य पनि हो। समस्या एवं तगारोहरूका दलदलमा भासिएको अवस्थाबाट विचलित नबनी स्वयंलाई दह्रो पारेर दृढ़ संकल्प अनि अथक परिश्रमको आड़मा त्यही दलदलमा कमल भई फुलेर आफूलाई स्थापित गर्ने एक होनहार युवा व्यवसायीको नाम हो श्री दीपक न्यौपाने। मनमा जस्तै पीड़ा रहे पनि मुहारमा मुस्कान कहिले नछोड्‌ने दीपक झैं देदीप्यमान श्री दीपक न्यौपानेलाई सिलगढ़ी एवं वरपर क्षेत्रका नेपाली समाजमा नचिन्ने विरलै पाइएलान्‌। उनी नेपाली समाज बाहेक अन्य समाज विशेषतः मारवाड़ी समुदायमा पनि धेरै मात्रामा परिचित छन्‌।

सिलगढ़ीका प्रतिष्ठित स्कूलहरूमध्ये एक ‘लिटल एञ्जेल स्कूल’-का माध्यमबाट शिक्षाको दीपक बाल्दै समाजको अन्धकार हटाउन लागिपरेका श्री दीपक न्यौपाने स्वयं भने धेरै अँध्यारा बाटाहरूबाट गुज्रिन परेको छ। धेरै आरोह अवरोहहरू भोग्न परेको छ।

सात-आठ सय विद्यार्थी, सत्तर-अस्सी स्टाफ, पाँच-छःवटा स्कूल बस रहेको तथा सीबीएसईद्वारा मान्यता समेत प्राप्त गरेको ‘सीनियर सेकेण्ड्री’ तहको नाम ‘लिटल एञ्जेल’ तर स्कूल भने विशाल रूपमा खड़ा गर्ने जाँगरिला जोशिला युवा उद्यमी श्री न्यौपानेका उद्यमका संघर्षमय कथा व्यथा भावी युवाहरूका निम्ति अवश्यै प्रेरक तत्व बन्न सक्नेछ।

सन्‌ 1982 -मा पिता स्व. के.के. न्यौपाने अनि माता श्रीमती निर्मला न्यौपानेका कोखमा साइँलो सन्तानको रूपमा जन्म ग्रहण गरेका श्री न्यौपाने सानैदेखि उर्जावान अनि व्यवसायी मिजाजका थिए। पिता भारतीय सेनाका 14औं असम रेजिमेन्टमा भएकाले पिताकै झैं आर्मी जोश यिनमा भरमग्दूर थियो। छोरोले पढ़ेर आफ्नै स्कूल खोलोस्‌ भन्ने पिता चाहन्थे अनि यही कुरो श्री न्यौपानेको बाल मस्तिष्कमा गढ़ेको थियो। सन्‌ 1986 देखि सिलगढ़ीस्थित ‘लिंकन्स हाइ स्कूल’-बाट यिनले आफ्नो शिक्षा शुरु गरे। आफ्नो वासस्थान बस्ती क्षेत्रमा रहेकोले सिलगढ़ी टाउन पुग्न तिनताक उस्तो साधनको व्यवस्था थिएन। धेरै कष्ट सहेर चौथो कक्षासम्म लिंकन्स पढ़ी पाँचौंदेखि दशौंसम्म यिनले आर्मी स्कूल पढ़े अनि एघारौं र बाह्रौं बालिका विद्यापीठबाट पास गरे। यिनको सोचाइ आम युवाहरूभन्दा एकदमै भिन्नै थियो। विद्यार्थी छँदै ‘मैले अहिलेबाट नै केही गर्नुपर्छ’ भन्ने सोच राख्थे। ‘लोकल बस हालौं’ कि ‘क्याबल टीभी चलाउँ कि’ भनी व्यापारिक विचारहरू मनमा खेलाइरहन्थे। स्कूल पढ्‌ने भन्दा पनि आफ्नै स्कूल खोल्ने पिताले बिजारोपण गरिदिएका सपनाले उनलाई रातदिन पिरोलिरहन्थ्यो। सन्‌ 2002 -मा विमल भट्टराई, सुवास अधिकारी मित्र पराजुली आदि केही साथीहरूसित सल्लाह गरी महेशमारीको एक भाड़ा घरमा केवल 17 जना विद्यार्थीहरू लिई यिनले ‘ट्यूशन’ शुरु गरे। 2002 -को दिसम्बर महीनादेखि 2003 -को मार्चसम्म केवल 4 महीनामा यिनी अभिभावकहरूका हृदय जित्न सफल बने।

अभिभावकहरूले नै ‘ट्यूशन’-लाई ‘स्कूल’-को रूप दिएर चलाउने आग्रह गरे। आफ्नो इच्छा पनि स्कूल खोल्ने रहेको अनि यसरी अभिभावकहरूबाट पनि सहयोग पाउँदा केवल 20 वर्षको कलिलो उमेरमा यिनले स्कूल शुरु गरेर आफ्नो सपनाको श्रीगणेश गरे। स्कूल नै खोलोस भन्ने यिनका पिता तर छोरोले यसरी आफ्नो पढ़ाइ पूरा नगरी स्कूलको शुरुवात गरेकोमा खुशी भएनन्‌। छोरोलाई सहयोग पुऱ्याएनन्‌। आफ्नी आमाबाट पन्ध्र सय रुपियाँ लिएर श्री न्यौपानेले स्कूलको निम्ति प्रथम खर्च गरे भनौं 15 सयबाट यिनले आफ्नो सपनाको गाड़ी हुइँक्याए। स्कूल शुरु गरेको केही समयपछि नै यिनका दुइ सहयोगी अलग भए। तर यिनले हरेस खाएनन्‌, आफ्नो सपनालाई यसै मर्न दिने यिनी थिएनन्‌। स्कूल चलाउने यिनको भिन्नै शैली र अद्वितीय क्षमताले गर्दा स्कूलमा विद्यार्थीको संख्या बढ्‌दै गयो। यसैबीच यिनका अर्का सहयोगीले पनि यिनको साथ छोड़े। यसरी यिनी फगत एक्लो भए। तर यिनको चट्टान झैं मनोबल टुटेन, एक्लै पनि केही नयाँ स्टाफहरूको भरमा स्कूललाई अघि बढ़ाइरहे। आफू स्वयं एउटा विद्यार्थी रहेको र अध्ययनरत रहेको अवस्थामा, चारैतिर साना-ठूला धेरै अंग्रेजी स्कूलहरू प्रतिद्वन्द्वीस्वरूप छँदा-छँदै, बिना कुनै स्कूलगत बुनियादी ढाँचा, महेशमारी जस्तो सानो ठाउँमा जहा न बाटा-घाटाको सुविधा न अन्य कुनै सहुलियत, एउटा भाड़ा घरमा ठूलो जोखिम उठाएर स्कूल खोल्ने आँट गर्नु लर्तरो कुरो थिएन। आँटीको आहारा ईश्वरले पुऱ्याउँछन्‌ भने झैं यिनको त्यही आँट काम गर्ने जोश, पृथक शैली अनि सपनालाई साकार पार्ने दृढ़ संकल्प र निरन्तरको मेहनतले गर्दा नर्सरीदेखि कक्षा दुइसम्म भनी शुरु गरिएको स्कूल केवल दुइ वर्षभित्रमा थाहै नपाई बढ़ेर कक्षा आठसम्म पुग्यो अनि विद्यार्थी 250 जति भए। यो नै श्री न्यौपानेले शिक्षाको क्षेत्रमा भविष्यमा केही गर्न सक्छन्‌ भन्ने संकेत थियो। स्कूलप्रतिको यिनको सपना अब्दुल कलामले भने झैं सुतेपछि देखिने होइन सुत्नै नदिने सपना थियो जसलाई साकार पार्न यिनले कम्मर कसिसकेका थिए।

श्री न्यौपानेले स्कूल शुरु गर्दा यिनका पिताले सेनाबाट अवकाश पाइसकेका थिए र स्वयं पनि सामाजिक एवं जातिगत सेवामा लागिपरेका थिए तर छोरोलाई आफैले स्कूल खोल्ने सल्लाह दिएर पनि उस्तो सघाउ पुऱ्याउन चासो दिएनन्‌ कारण छोरोले आफू पूरा पढ़ाइ सिध्याएर मात्र काम शुरु गरोस्‌ भन्ने उनी चाहन्थे यसैले छोरोसित क्षुब्ध थिए। तर श्री न्यौपानेको भने एकदमै फरक विचार थियो। उनी भन्थे ‘पढ़ेर भन्दा परेर पाइएको अनुभव धेर उपयोगी हुन्छ।’ तर शिक्षण संस्थान चलाउन शिक्षाको पनि उति नै महत्व रहेको उनी जान्दथे त्यसैले 2002 देखि 2005 सम्म आफ्नो शिक्षालाई ठप्प राखी आफ्नो स्कूलको सपनालाई साकार पार्न होमिए पनि सन्‌ 2005 देखि पुनः आफ्नो शिक्षा अघि बड़ाएर पूर्ण गरेे। उनी युवा उर्जा जोश र समय यसै खर्च गरेर गुमाउन चाहँदैन थिए त्यसैले एक-एक समय आफ्नो सपनाको महल खड़ा गराउनमा खर्चे। आफ्ना साथीहरू रमाइलो गर्न जाँदा, मुवी हेर्न जाँदा, गफिँदा यी सबै युवा चाञ्चल्य यिनमा पनि आए होलान्‌ तर यी सबलाई तिलाञ्जली दिएर यिनले समयको सदुपयोग गर्न चाहे। यिनी भन्छन्‌ -‘प्रत्येक कुरो समयमै गरिएको राम्रो, समयकै फल मीठो। पढ़ाइ पूरा सिध्याएपछि प्रायः मानिस नोकरी खोज्नपट्टि लाग्छन्‌ अनि समय पनि आधा बितिसकेको हुन्छ त्यसैले मैले पढ़ाइको धर्म र जीवनको कर्मलाई समानान्तर लिएर हिँड़ें।’ यिनको सफलताको मूल कुञ्जी पनि यही थियो।

कुनै पनि यात्रा त्यति सहज हुँदैन जति सोचिन्छ। श्री न्यौपानेका यात्रामा पनि बाधाहरू निरन्तर आइरहे। स्कूल शुरु गरेको लगत्तै साथीहरूले साथ छोड़े। 2005 तिर स्कूल माथि उठिरहेको विद्यार्थी बढ़िरहेको अवस्थामा अचानक स्कूल चलाइएको भाड़ा घरका मालिकसित मनोमालिन्य बढ्‌यो। घरबाट आर्थिक मदद नपाउँदा आफ्नै बुताले जसो-तसो स्कूल चलाइरहेको साथै आफूले स्कूल चलाउन यताउति अतिरिक्त समयमा काम गरी कमाएका पूँजीसमेत स्कूलको बुनियादी ढाँचा तयार पार्न भाड़ा घरमै तीन-चार लाख खर्च गरिसकेको अवस्थामा घर मालिकले अचानक ‘स्कूल सारिदिने’ हुकुम गर्दा श्री न्यौपानेलाई एकदमै गाह्रो स्थिति भयो। यस्तो विपरीत समयमा आफ्नै एक स्टाफ जसलाई उनी आफ्नो नजीकको मान्छे मानी आँखा चिम्लेर विश्वास गर्थे उसले पनि आफ्नो पकडको सत्तरीजना विद्यार्थीलाई आफूसित लगेर उनको साथ छोड़े भनौ धोका दिए। ती साथीको आफ्नै स्कूल खोल्ने योजना रहेकोले भित्रभित्रै श्री न्यौपानेको विरूद्ध षड़यन्त्र गरिरहेको उनले त्यसबखत्‌ बुझे जब अन्य सत्तर-अस्सी विद्यार्थीले पनि ‘लिटल एञ्जेल’ छोड्‌ने भए। श्री न्यौपानेलाई सखाप पार्ने ध्येयले ती साथीले धेरै अभिभावकहरूलाई स्कूलको विरूद्धमा नकारात्मक बनाइसकेका रहेछन्‌। यसरी एकैचोटि दोहरो प्रहार पर्दा पनि श्री न्यौपाने हताश भएनन्‌ कारण यस्तो जटिल परिस्थितिमा त्यतिबेला यिनका पिताले साथ दिए अनि आफ्नै जमीनमा स्कूल खोल्ने सुझाउ दिए। यति बेला श्री न्यौपानेलाई अनुभव भयो आफ्ना आमा-बाबा छोरा-छोरीका कहिल्यै शत्रु हुँदैनन्‌, कहिल्यै कुभलो चाहँदैनन्‌। यतिका दिनसम्म पिताले केही सहयोग नगरेको वास्तवमा आफ्नो छोरो समस्याको रापमा तपेर खाँटी सून बनोस्‌ भन्ने उनको ध्येय रहेको श्री न्यौपानेले अनुभव गरे अनि आँखाभरि आँशु पारे। 250 बाट विद्यार्थी घटेर आधा भए पनि बाबुको साथ र आमाको आँट पाएर यिनले आफ्नै खेतीको जमीनमा टीनलेे छापेर भए पनि धमाधम स्कूल बनाउन शुरु गरे। महेशमारीबाट कराइबारीमा स्कूल सार्दा यिनका खोइरो खन्नेहरूले ‘आलु बारीमा स्कूल खोल्यो’ ‘टीनको स्कूलमा नानीले के पढ्‌ला’ ‘एक वर्षमै स्कूल बन्द हुन्छ’ आदि जस्ता शब्द वाणहरूले हतोत्साही बनाउन खोजे तर ती आधा अभिभावक जसले विद्यार्थी निकालेनन्‌, श्री न्यौपानेमाथि विश्वास र भरोसा देखाए, तिनै अभिभावकको साथ र माता-पिताको आशीर्वादलाई ढाल बनाई अझ दुइ गुणा बढ़ी जोश र हिम्मतका साथ उनी स्कूल चलाउनमा लागिपरे।

सन्‌ 2005 -को मई महीनाबाट कराइबारीमा स्कूल शुरु गरेपछि अब यिनी स्कूललाई अझ दह्रो बनाउन ‘सोसाइटी रेजिस्ट्रेशन’ गराउनपट्टि अग्रसर भए। स्कूलमा स्टाफ पनि आठजनाबाट बढ़ाएर बाह्र पुऱ्याए। गाउँ-बस्तीको परिवेश र अन्य प्रतिद्वन्द्वी स्कूलहरूलाई ध्यानमा राखी स्कूलको फी एकदमै कम्ती राखे। कहिलेकाहीं यिनलाई स्टाफको वेतन दिन पनि हम्मे पर्थ्यो। दशैंमा टीका लगाउँदा पाएको पैसा, यताउति राखेको पैसा, आफ्नो दिदीहरू बिन्दु र अलकाबाट सापटी मागेको पैसा, आमालाई दंग्याएको पैसा सबै खाराक खुरुक पारेर भए पनि स्टाफको वेतन कहिले रोकेनन्‌। उनी सोच्थे, स्टाफ खुशी रहनु नै विद्यार्थी अनि स्कूलको विकास हुनु हो। यस्तो कठिन समयमा यिनकी कान्छी बहिनी दीपा जो स्वयं कालेबुङको एउटा केन्न्द्रिय विद्यालयमा शिक्षिकाको काम गर्थिन्‌, आफ्नो जागीर छोड़ेर दाइको स्कूलमा आई साथ दिइन्‌। श्री न्यौपाने आफू भने वाहियात खर्च ठ्याम्मै गर्दैनथे। स्कूलको ‘सोसाइटी रेजिस्ट्रेशन’’ गराउन कलकत्ता जाँदा नाइट बसमा गई, बिहान विक्टोरिया मेमोरियलको पार्कमा आराम गरी, दिनमा ‘टोड़ी मेन्सन’-मा कागज-पत्रका काम अघि बढ़ाई, त्यही राति नाइट बसमा फर्किन्थे। यसरी यिनी होटलको खर्च बचाउँथे। खाना पनि साधारण होटलमा खान्थे। खर्चमा कटौती गरी दुई पैसा बाँचे स्कूलको एउटा ‘डेस्क’ बनाउन सकिन्छ भन्ने स्कूलप्रतिकै सोच यिनमा रात दिन रहन्थ्यो। यिनी जसरी पनि स्कूलको प्रगति गराउन चाहन्थे। यिनको मूल लक्ष्य ‘पैसा’ नभएर ‘प्रगति’ थियो, त्यसैले यिनी भन्छन्‌- ‘‘मानिस पैसाको पछि होइन प्रगतिको पछि लाग्नुपर्छ कारण पैसा मात्र भएर पनि प्रगति किनेर पाइँदैन तर ‘प्रगति’ गर्न सके ‘पैसा’ आफै आउँछ, प्रगति भनेको पैसा कमाउनु होइन आफ्नो स्तर बढ़ाउनु हो।’’ उनको यही सोचले उनलाई उनको उमेरका अन्यहरूभन्दा बेग्लै बनायो। सानो उमेरमै उनी परिपक्व बने। यसरी 2005 -मा यिनले ‘सोसाइटी रेजिष्ट्रेशन’ गराए।

स्टाफ साथीबाट विश्वासघात पाएपछि अनि आफू धेर स्कूलकै निम्ति कलकत्ता धाउनु पर्नाले स्कूल चलाउन सक्ने एउटा योग्य जीवन साथीको आवश्यकताबोध उनलाई भयो। शैक्षिक (अलरवशाळल) अनि प्रशासनिक (अवाळपळीीींरींर्ळींश) दुवै विभाग एक्लै हेर्न गाह्रो पनि भएकोले उनले बाबु-आमालाई नै योग्य बुहारी रोज्ने अभिभारा सुम्पिए। यसरी सन्‌ 2006 मा सोनादाबाट राधिका न्यौपानेलाई उनले बिहे गरे। 2006 दिसम्बरमा भित्रिएकी नवदुलहीले चार-पाँच महीनामै अर्थात्‌ 2007-को अप्रेल महीनादेखि ‘को-अर्डिनेटर’-को रूपमा स्कूलको शैक्षिक अभिभारा आफ्नो काँधमा लिएर श्री न्यौपानेको आधा बोझ हलुको पारिदिइन्‌। आफ्नी जीवन साथी आफूले सोचेभन्दा प्रतिभाशाली सक्षम र दायित्ववोधी पाएर श्री न्यौपानेले बिहेपछि मात्र आफू र स्कूल दुवै पूर्ण भएको अनुभव गरे।

सन्‌ 2007 र 2008 -मा दुवै दम्पतिको कुशल नेतृत्वमा स्कूलले द्रूत प्रगति गऱ्यो। श्री दीपक न्यौपानेको स्कूल सञ्चालन गर्ने र विस्तार गर्ने शैली नै एकदमै पृथक थियो। यिनले दैनिक पढ़ाइ सँगसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासको निम्ति विभिन्न प्रकारका ‘एक्स्ट्रा कर्रिकुलर एक्टिभिटिज (एुीींर र्लीीीळर्लीश्ररी अलींर्ळींळींळशी) मा सक्रियता देखाए। खेलकूद, साँस्कृतिक कार्यक्रम, पर्यावरण दिवस, स्वतन्त्रता दिवस, गणतन्त्र दिवस, यावत कार्यक्रमहरूमा विद्यार्थीहरूलाई सहभागी बनाए, स्वयं आफ्नैै स्कूलमा पनि विभिन्न प्रकारका कार्यक्रमहरू भव्यताका साथ आयोजन गरी प्रत्येक अभिभावकको ध्यानाकर्षण गराए अनि उनीहरूमा स्कूलप्रति भरोसा र विश्वास जगाए। दुई वर्षभित्रमा नै स्कूलमा विद्यार्थीको संख्या ह्वात्तै बढ़ेर 500 पुग्यो। अहिलेसम्म स्कूलका दशौं श्रेणीका विद्यार्थीहरू बोर्ड परीक्षा अन्य स्कूलमा गई दिन पर्थ्यो। अभिभावकहरूबाट दशौं श्रेणीका विद्यार्थीहरूको परीक्षा आफ्नै स्कूलमा गराउन बोर्डको मान्यताको निम्ति पहल गरिदिने आग्रह भयो। सीबीएसई बोर्डको मान्यताको निम्ति प्रथमतः बंगालबाट एनओसी (छे जलक्षशलींळेप) प्रमाण-पत्र निकाल्नु पर्ने अनिवार्यताबारे केवल 26 वर्ष मात्र पुगेका श्री न्यौपानेलाई पहिले नै आभास थियो र 2008 देखि यसको प्रयास पनि शुरु गरिसकेका थिए। तर यस क्षेत्रमा अनुभवहीन उनलाई कालेबुङका एक मध्यस्थकारीले एनओसी निकालिदिन्छु भनी सत्तर-अस्सी हजार खर्च गराएर पनि एक वर्षसम्म घुमाइरहे। एकदिन अचानक स्कूलको कागजात बिर्सेर गएका मध्यस्थकारीले श्री न्यौपानेलाई ‘कागजातको फाइल’ बसमा हालेर पठाइदिने फोन गर्दा श्री न्यौपाने फाइल पुऱ्याउन कलकत्ता आफैं पुगे। मध्यस्थकारीले फाइल लिएपछि श्री न्यौपानेलाई प्रक्रिया बुझ्न नदिन त्यहीं उभ्याएर तर आफ्नो काम बनाउन आतुर श्री न्यौपाने मध्यस्थकारीलाई चालै नदिई पछ्‌याउँदै गए अनि कार्यालयका एक अधिकारीसित परिचय गाँसी फोन नम्बर लिए। दोस्रोचोटि यिनी एक्लै गएर पूर्व परिचित अधिकारीको सहयोगमा पिउनलाई पैसा दिई फाइल खोज्न लगाए निर्क्यौल गर्दा  थाहा पाए अहिलेसम्म स्कूलको फाइल बढ़ेकै रहेनछ, मध्यस्थकारीले उनलाई आँखा छल्ने काम मात्र गरेका रहेछन्‌। त्यसपछि यिनले नजानेका कुरा एक-एक बुझ्दै, नपुगेका कागजात जोगाड़ गर्दै, अन्य स्कूलबाट एनओसी निकाल्न आउनेहरूसित जानकारी लिँदै तथा विशेष रूपले विभागीय उच्चाधिकारीलाई नै आफ्नो मित्र बनाएर फाइलको प्रक्रिया पूर्व मध्यस्थकारीलाई थाहै नदिई आफै अघि बढ़ाए। विभागीय अधिकारीलाई यिनले यस्तो घनिष्ट मित्र बनाए कि पछि यी अधिकारीले आफ्नो बिहेमा कलकत्तामै श्री दीपक न्यौपाने अनि श्रीमती राधिका न्यौपानेलाई विशेष रूपले आमन्त्रित गरी बंगाली पहिरन पहिऱ्याएर स्वागत गरे अनि आफूसितै गाड़ीमा राखेर सत्कार गरे। सन्‌ 2012 -मा सम्पन्न यस विवाहमा ती अधिकारी मित्रले श्री न्यौपानेलाई आफ्नो खल्तीबाट निकालेर एउटा लिफा थमाइदिए जो कलकत्ताका दम्पत्तिबाट सिलगढ़ीका दम्पत्तिलाई एउटा तीन छक पार्ने उपहार थियो, यो त्यही ‘नो अब्जेक्शनको कागजको टुक्रा थियो जसको निम्ति सन्‌ 2008 देखि श्री न्यौपाने कलकत्ताको ठोकर खाइरहेका थिए, मध्यस्थले 70-80 हजार खाएर पनि घुमाइरहेको थियो। जसलाई पाउन श्री न्यौपाने पागल बनिरहेका थिए कारण बोर्डको मान्यताको पहिलो खुड़्‌किलो नै यही थियो। यो कागजको टुक्रा हात पर्दा न्यौपाने दम्पत्तिका आँखाभरि हर्षका आँशु बरर झरे। मित्रताले जाति धर्म भाषा केही हेर्दैन केवल आत्मियता हेर्दोरहेछ भन्ने कलकत्ताका यी बंगाली पदाधिकारी मित्रले एउटा उदाहरण पेश गरे। यो नो अब्जेक्शन पाएपछि यिनै बंगाली मित्रले अघिल्ला प्रक्रियाहरूबारे श्री न्यौपानेलाई बाटो सुगम पारिदिए। यसै सालदेखि ‘एफिलिएशन’को सम्पूर्ण प्रक्रिया ‘अनलाइन’ गर्नुपर्ने प्रावधान शुरु भएकोले श्री न्यौपानेलाई अझ सहज भइदियो। अनलाइनका सम्पूर्ण प्रक्रिया यिनै बंगाली मित्रले पूरा गरिदिए। सम्पूर्ण कागजात सही ढंगले अघि बढ़ेपछि अन्ततः 2013 -मा स्कूलले सीबीएसई बोर्डबाट कक्षा नवौं र दशौंको ‘एफिलिएशन’ पायो। श्री न्यौपानेको एउटा ठूलो सपना पूरा भयो। यही एफिलिएशन गराउन श्री न्यौपानेको अनुभवहीनता र अज्ञानताको फाइदा उठाउँदै कोही सात लाख, कोही आठ लाख, कोही दश लाखसम्म रकम माग्नेहरू उनीकहाँ आएका थिए। यत्रो रकम मध्यस्थलाई खुवाएर एनओसी निकाल्नभन्दा यो रकम स्कूल भवनमा खर्च गर्छु, अबउसो एक पैसा कसैलाई नख्वाई आफै लागिपरेर काम बनाउँछु भन्ने उनले अठोट गरेका थिए कारण उनलाई कालेबुङका मध्यस्थले अगावै घुमाइसकेका थिए। कहिले नजानेको, नहिँड़ेको बाटो अंँध्यारोमै भए पनि छामछाम-छुमछुम गर्दै अघि बढ़ेर आफ्नो गन्तव्यमा श्री न्यौपाने पुगिछोड़े। केवल 26 वर्षको एउटा केटोले नयाँ बाटोमा आफै हिँड्‌ने साहस देखाउनु, एउटा अनेपालीलाई मित्र बनाई आफ्नो कठिन काम पनि सहजै फत्ते पार्नु आदि घटनाहरू श्री न्यौपानेमा रहेका अद्‌भूत ब्यावसायिक व्यक्तित्व र प्रतिभाका परिचायक हुन्‌। यिनै प्रतिभाहरूले नै यिनलाई आम युवाहरू भन्दा बेग्लै बनाउँछ। 

सन्‌ 2013 -मा स्कूलले मान्यता पाइसक्दासम्ममा यसले धेरै प्रगति गरिसकेको थियो। स्कूलले आफ्नै सुन्दर भवन निर्माणको पहल पनि शुरु गरिसकेको थियो। स्कूलमा 5-6 सय विद्यार्थी भइसकेका थिए। यति बेलासम्म श्रीमती राधिका न्यौपाने स्कूलका प्रिन्सिपल बनेर स्कूल सुचारू सञ्चालन गरिरहेकी थिइन्‌। श्री दीपक न्यौपाने स्कूलका निदेशक बनी स्कूलको प्रशासन चलाइरहेका थिए। चारैतिर स्कूलको सुनाम फैलिएको थियो। सबै ठीकठाक चलिरहेको थियो। तर अचानक 2014 -मा श्री न्यौपानेको जीवनमा फेरि एउटा ठूलो भूकम्प आयो 2002 देखि 1013 सम्म 11 वर्ष खर्चेर साकार गरेको सपनाको महल भताभुङ्ग पार्ने गरी।

भारतीय सेनाबाट अवकाशप्राप्त गरी सामाजिक अनि जातिगत सेवामा लागिपरेका श्री न्यौपानेका पिता क्याप्टन के.के. न्यौपाने जमीन सम्बन्धी कारोबार पनि गर्थे। रिटायरमेन्टमा धेरै पैसा यिनले केही पार्टनरहरूसित मिली धेरै ठाउँँ जमीनमा लगानी गरेका थिए। क्याप्टन केके न्यौपानेले तिनताक चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको निम्ति धेरै आर्थिक सहयोग पनि पुऱ्याएका थिए। तर क्याप्टन न्यौपानेलाई आफ्ना पार्टनरहरूबाट डरलाग्दो धोखा भएको त्यस बेला आभास भयो जब आफूले लगानी गरेर बिक्री गरेका जमीनमा एकपछि एक समस्या आइलाग्न थालेे। उनलाई भ्रममा राखी उनका साथीहरूले ठूलो धोखा गरेका रहेछन्‌ जसको सोझो प्रतिफल उनीमाथि पर्नथाल्यो। उनी मानसिक तनाउमा पुगे। यही तनाउबीच सन्‌ 2014 मा श्री न्यौपानेका पिता क्याप्टन केके न्यौपानेको असामयिक निधन भयो। श्री दीपक न्यौपानेलाई पनि कुनै समय साथीबाटै धोका भएको थियो, यसचोटि आफ्नो पितालाई पनि साथीबाटै धोका भयो। आफ्ना पिताको असामयिक अनि अस्वाभाविक यो मृत्यु नै श्री दीपक न्यौपानेको जीवनमा एउटा महाप्रलय बनेर खड़ा भयो। पिताको मृत्युपछि पिताको कारोबारको प्रतिफल श्री न्यौपानेमाथि प्रत्यक्ष पर्नथाल्यो। जमीनमा पैसा लगाउने क्रेताहरू बिहानदेखि बेलुकीसम्म श्री न्यौपानेका घरमा ओइरिन थाले। उनको परिवारमाथि विभिन्न प्रकारका धम्कीहरू आउन थाल्यो। एकातिर यही बेला यिनकी श्रीमती राधिका न्यौपाने गर्भावस्थामा थिइन्‌। स्कूलको भवन निर्माणको विस्तार गर्न भर्खरै मात्र ब्यांकबाट लिएको लोनको भार टाउकोमा उस्तै थियो। यस्तै बेला पिताको करोड़ौ रुपियाँको नसोचिएको बोझ उनको थाप्लोमा आयो। यो आर्थिक तनाउबाट श्री न्यौपाने रतिभर डगमगाएका थिएनन्‌ तर उनलाई विशेष असर त्यसबेला पर्न गयो जब पिताको मृत्युको कारणको छिटपुट दोषारोपण केही तत्वहरूद्वारा उनको परिवारमाथि र विशेष उनीमाथि नै थोप्ने काम भयो। समाजको एउटा प्रतिष्ठित र सम्भ्रान्त ‘न्यौपाने परिवार’ माथि यो अविश्वसनीय एवं अकल्पनीय लाञ्छना पुर्नेको जूनमा लागेको दाग सरह थियो। यसको नकारात्मक प्रभावले स्थापित स्कूल अनि परिवार दुवैमा ठूलो नोक्सानी गर्न सक्थ्यो। यस बेला यिनलाई धेरैले पानीखेदो गरे। नसोचेका मानिसहरूबाट सहयोगको त टाढ़ाको कुरा उल्टो मुटु घोच्ने व्यवहार पाए। एउटा 32 वर्ष मात्र पुगेको केटोले यस्तो प्रतिकूल परिस्थितिको कसरी सामना गरे होलान्‌ कल्पना मात्र गर्न सकिन्छ। श्री दीपक न्यौपाने एवं परिवारमाथिको यो भूकम्पले झण्डै परिवार र स्कूल दुवै ध्वस्त पार्ने परिस्थिति सृजना भयो। यस्तो परिस्थितिमा उनले कसैबाट उस्तो सहयोग पाएनन्‌, उल्टो धेरैले उनलाई ‘स्कूल बेचेर भए पनि बाबुको ऋण तिराउनै पर्छ’ भन्दै मानसिक दबाउ दिन थाले। स्कूलको भन्दा पनि परिवारप्रतिको मानसिक दबाउले श्री न्यौपाने बढ़ी चिन्तित भए। आफ्नो स्कूलभन्दा आफ्नो परिवारलाई मानसिक तनाउबाट बचाउन उनले स्वयंलाई सम्हाल्ने कोशिश गरे। पिता गुमाउनु परेको पीड़ा, स्कूल धराशायी हुनसक्ने त्रास, श्रीमती गर्भावस्थामा, पिताको कारोबारसित संलग्न भुक्तभोगीहरूको घरमै आएर दिइरहने सधैंको धम्की, उता ब्यांकको ऋण, सामाजिक लाञ्छना अनि प्रताड़ना उस्तै, सम्पूर्ण परिवेश नै उनको प्रतिकूल भएर जाँदा अब के गर्नुपर्ने श्री न्यौपानेले सोच्नै सकेनन्‌, कोही उनलाई हिम्मत दिन, साहस दिन आएनन्‌। बाहिरको स्कूलमा गई परीक्षा दिनुपर्ने दशौं श्रेणीको अन्तिम व्याचलाई बोर्ड परीक्षामा बसाउन लिएर जाने क्रममा श्री न्यौपानेले आफूलाई एक्लो पाउँदा सोरेङको एउटा जंगलमा भक्कानिएर रोए। एउटा स्थापित स्कूलको सम्माननीय पदमा रहेका व्यक्ति जहीं कहीं रून पनि सक्दैनथे। तर उनलाई यहाँ धेरै बेर रून, छातीमा हुँडुलिएको पिर पखाल्न मन लागेको थियो त्यसैले नानीहरूको परीक्षा नसकुञ्जेल पर्खिनपर्दा एकान्तमा उनी तीन-चार घण्टा लगातार डाँको छोड़ेर रोए, तर फेरि अचानक उनलाई पिताले झक्‌झकाएको आभास भयो, उनको अन्तर्मनले उनलाई भन्यो ‘म किन रोइरहेको छु... रूनु समस्याको समाधान होइन समस्याको त सामना गर्नुपर्छ...’। त्यसदिनदेखि उनले कहिल्यै नरूने प्रण गरे। मनलाई एकदमै दह्रो पारे। उनमा चमत्कारिक परिवर्तन आयो। ‘स्कूल बेच’ भनेर हतोत्साही गर्नेहरूलाई ‘स्कूल’ र ‘परिवार’ दुवै बँचाएर देखाउने हिम्मत उनमा स्वतंः स्फूर्त जागेर आयो। यस्तो विकट परिस्थितिमा श्री न्यौपानेलाई आफ्नी आमा र श्रीमतीले पनि अझ साहस भरिदिने काम गरे। श्री न्यौपानेले अस्तित्व रक्षाको यो युद्धमा स्वयंलाई होमिदिने अठोट  गर्दै आफूलाई केही भए भाइले परिवारको रक्षा गर्नेछ भन्ने ध्येय राखेर प्रथमतः आफ्नो भाइ दिवसलाई यो लड़ार्इंदेखि अलग गरे अनि दुबई पठाए। त्यसपछि स्कूल र परिवार बचाउन निस्के कम्मर कसेर। साहसीलाई ईश्वरले पनि साथ दिन्छन्‌। यस्तो प्रतिकूल परिस्थितिमा उनलाई स्कूलका अभिभावकहरूले भने साथ दिए। जस्तै होहल्ला र कचिङ्‌गल भए पनि अभिभावकहरूले स्कूलबाट आफ्ना नानी निकालेनन्‌ यसले गर्दा श्री न्यौपानेलाई झन्‌ ताकत मिल्यो। सन्‌ 2015 र 2016 -मा यिनले स्कूलको गतिविधिमा यति तीव्रता ल्याए कि स्कूलको विद्यार्थी झन बढ़ेर गयो। आफ्नो आर्थिक संकटलाई टार्न यिनले जोखिम उठाएरै स्कूलको फीस बढ़ाए। फीस बढ़ाएकै वर्ष स्कूलमा नयाँ भर्ना अझ धेर भयो। 2016 मै स्कूलको दशौं श्रेणीका विद्यार्थीहरूले ‘एफिलिएशन’ पाएपछि प्रथम चोटि आफ्नै स्कूलबाट बोर्ड परीक्षा दिइरहेका थिए। प्रथम ब्याचको परिणाम उत्कृष्ट बनाउन यिनले शिक्षकहरूलाई आफ्नो शत प्रतिशत दिएर विद्यार्थीहरूलाई तयार पारिदिने आह्वान गरे। यसका निम्ति बेला-बेला श्री न्यौपानेले शिक्षकहरूकै निम्ति कार्यशाला (थजठघडकजझ) आयोजन गरी प्रेरणामूलक सन्देशहरू दिँदै प्रेरित गरे। नभन्दै बोर्ड परीक्षामा प्रथम ब्याचले उत्कृष्ट परिणाम निकाल्यो जसले गर्दा स्कूलको सुनाम भयो। पहिले आर्थिक  तनाउ दिनेहरूलाई पनि श्री न्यौपानेले एक-एकसित भेटघाट गर्दै आफ्नै तरीकाले समाधान गर्दै गए। 2016 देखि नै यिनले एघारौं र बाह्रौं श्रेणीको ‘एफिलिएशन’को निम्ति पनि प्रक्रिया शुरु गरे। सबै कुरो मिल्दै गएपछि 2017 -मा यिनले भाइलाई दुबईबाट बोलाई पिताको सपना बमोजिम नै धुमधामसितले बिहे गरिदिए। यति बेलासम्म उनलाई पानी खेदो गर्नेहरू कुनचाहिँ ठूलो पसिसकेका थिए। स्वामी विवेकानन्द भन्थे-‘‘जिन्दगीमा जोखिम उठाउन अति नै आवश्यक छ, जितेमा नेतृत्व गर्न सकिन्छ अनि हारेमा अरूलाई मार्गदर्शन गर्न सकिन्छ।’’ श्री न्यौपाने यही जोखिम उठाएरै अहिलेसम्ममा ‘नेतृत्व’ गर्ने भइसकेका थिए। आफ्ना पिताको स्कूल खोल्ने सपनालाई उनले कठोर उतार चढ़ाव झेलेर पनि साकार पारिसकेका थिए। श्री न्यौपाने भन्छन्‌- सोरेङको जंगलमा मलाई मेरा पिताले नै अन्तर्मनमा आएर झक्‌झकाएका थिए, साहस भरिदिएका थिए। त्यसैको फलस्वरूप नै आज पुनः खड़ा हुनसकें। बाचुञ्जेल पनि पिताले मलाई प्रोत्साहित गरिरहे अनि मरणोप्रान्त पनि मलाई आशीर्वाद दिइरहेका छन्‌।’’ आफ्ना पिताप्रतिको यही श्रद्धाकै कारण श्री न्यौपानेले  आफ्नो स्कूलअघिको बाटो स्वयं निर्माण गरेर यसको नाम ‘क्याप्टन के.के. न्यौपाने रोड’ राखेका छन्‌। सन्‌ 2020 मै स्कूल अघि पिताको मूर्ति राख्ने प्रण थियो तर कोविडको परिवेशले त्यो पूर्ण हुन नसक्दा आफ्नो  प्रणलाई कायम राख्न यिनले आफ्नो पिताको तस्वीर हातमै खोपाएका छन्‌। पिताको नाममा कलेज खोल्ने र वर्तमान स्कूललाई अन्तर्राष्ट्रिय बनाउने योजनामा यिनी दिनरात खटिरहेका छन्‌। ‘स्कूल बेच’ भन्नेहरूलाई खस्रो जवाफ दिँदै यिनले स्कूलको जमीन बढ़ाएर छः बिघा बनाइसकेका छन्‌ भने कलेज खोल्न अझ छः सात बिघा जमीन बढ़ाउनेमा कुरा चलाइरहेका छन्‌। सानै उमेरमा यति द्रूत प्रगति गरेर आफ्नो विशिष्ट स्थान बनाउन सफल बनेकोमा दैनिक जागरणले यिनलाई सन्‌ 2020 -मा ‘ळउजछ जऋ पजठढक लएछॠअङ रथअठऊ’-ले सम्मानित गरिसकेको छ जसमा 28 जनामध्ये उनी एकमात्र नेपाली छन्‌। यिनले आफ्नो कुशल व्यवस्थापन अनि प्रशासनिक क्षमताको भरमा स्कूलको परिवेशलाई यति सुन्दर, सुव्यवस्थित र सर्वकोणबाट परिपूर्ण राखेका छन्‌ कि मुम्बईको मएर्वीलरींळेप थेीश्रवफ नामक एनजीओले 2019 -मा राष्ट्रिय सर्वे गरेर लिट्टल एञ्जेल स्कूललाई मइशीीं र्इीवसशींशव डलहेेश्रफ को सूचीमा पश्चिम बंगालमा छैटौं अनि दार्जीलिङ जिल्लामा प्रथम श्रेणीमा स्थान दिएको छ। यो हामी सम्पूर्ण नेपाली समाजको निम्ति एउटा गौरवको विषय हो। 

युवा उमेरमै सफलताको शिखरमा पुगिसकेका तेजस्वी र विनोचन दुइ सन्तानका धनी श्री दीपक न्यौपाने आफ्नो स्कूल बाहेक विभिन्न संघ-संस्था र सामाजिक कार्यहरूमा पनि उतिकै सक्रिय छन्‌। राष्ट्रिय संघको ‘भारती शिक्षण मण्डल’ -मा पनि यिनी सन्‌ 2017 देखि नै जड़ित छन्‌। यो संस्था भारतको शिक्षा नीति  निर्धारण गर्ने परामर्शदाताहरू मध्ये एउटा हो। यसै शिक्षण मण्डलको उत्तर बंगाल प्रमुख भएर यिनले सेवा पुऱ्याइरहेका छन्‌ जसअन्तर्गत  माल्दादेखि सिक्किमसम्मको भाग यिनको दायित्व क्षेत्रमा पर्दछ। अन्तर्राष्ट्रिय संस्थानहरूमा विशेष ‘रोटेरी क्लब’सित संलग्न रहेर यिनले धेरै कार्यहरू गरिरहेका छन्‌। स्थानीयमा यिनी सिलगढ़ी देवकोटा संघसित सक्रिय रूपमा संलग्न छन्‌।

समाजका प्रत्येक प्रगतिमूलक कार्यहरूमा यिनले प्रत्यक्ष परोक्ष सहयोग पुऱ्याइरहेकै हुन्छन्‌। संघ संस्था समाज मन्दिर आदिमा गोप्य सहयोग गर्न उनी बढ़ी रूचाउँछन्‌। देब्रे हातले दान गरेको दाहिने हातले थाहा पाउनु हुँदैन भन्ने उनको मान्यता छ यसैले उनी बनिएको मञ्चमा अतिथि भएर जानमा भन्दा मञ्च बनाउन खटिने कार्यमा आफूलाई संलग्न गराउन बढ़ी रूचाउँछन्‌। उनमा रहेको यही सेवा भावकै कारण आज आफ्नो स्कूलमा पनि यिनले आर्थिक रूपले विपन्न धेरै नानीहरूलाई निःशुल्क शिक्षा दिइरहेका छन्‌। यिनले आफ्नो व्यापारिक कौशल स्कूलमा मात्र सीमित नराखी ‘न्यौपाने कन्स्ट्रक्शन वर्क्स’ नाममा कम्पनी खोलेर विभिन्न प्रकारका सरकारी तथा गैरसरकारी  प्रोजेक्टहरूको निर्माण कार्य पनि शुरु गरेका छन्‌।

यसरी केवल 20 वर्षको उमेरमा आफ्नो सपनालाई साकार पार्न जीवन संघर्षमा ओर्लिएर विभिन्न उतार चढ़ाउ र आरोह अवरोहको डटेर सामना गर्दै नर्सरीदेखि शुरु गरेको स्कूललाई ‘हाइ स्कूल’ सेकेण्ड्री स्कूल’ सीनियर सेकेण्ड्री स्कूल’ सम्म पुऱ्याएर युवा उमेरमै सफलताको चरम शिखरमा पुगी अब ‘अन्तर्राष्ट्रिय स्कूल’ र ‘कलेज’को दिशामा कदम बढ़ाइरहेका श्री दीपक न्यौपाने वास्तवमै जोश जाँगर हिम्मत र साहसका प्रतीक हुन्‌, युवा ‘आइकन’ हुन्‌। सानै उमेरमा ठूलो उपलब्धि प्राप्त गर्ने हाम्रा गौरव हुन्‌, युवाहरूका निम्ति प्रेरणा हुन्‌। यिनी ‘लिट्टल एञ्जेल स्कूल’का निदेशक मात्र होइनन्‌, सम्पूर्ण समाजका नै ‘लिट्टल एञ्जेल’ हुन्‌। ‘लिट्टल च्याम्प’ हुन्‌। यस्ता उर्जावान, प्रतिभावान सकारात्मक व्यक्तित्वका धनी श्री दीपक न्यौपानेप्रति नेपाली समाज गौरवान्वित महसूस गर्दछ, उनीबाट अझ धेरै धेरै उपलब्धिको अपेक्षा राख्दछ साथै उनको सुस्वास्थ्य दीर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना गर्दछ।

-अस्तु

अन्य लेखहरू

अगरु (अगर)
  • 2021-10-16 21:39:09