शक्ति उपासनाको आवश्यकता र आध्यात्मिक रहस्य

  • 2021-10-16 19:48:38

टी.एन.सुबेदी

कुनै दिन देवादिदेव शिव-शंकरले महेश्वर पार्वतीलाई उपदेश दिँदै भन्छन्‌- ‘हे प्रिये! हे देवी! प्राणी मात्रको हितार्थ तथा विशेषतः कलियुगी मनुष्यजनको निम्ति वेदशास्त्र (निगम)। समान नै मैले आगम-शास्त्रको रचना पहिलेबाटै गरिसकेको छु, जसमा बेदको सार अन्तर्निहित छ, तर यसमा एउटा विशेषता यो छ कि जहाँ वैदिक मार्गद्वारा मोक्षका इच्छुक व्यक्तिलाई लौकिक विषय-भोगको त्याग गर्नपर्ने हुन्छ, त्यहाँ यस आगम-शास्त्र -को अनुयायीहरूको निम्ति यस शास्त्रमा प्रेय (भोग) अनि श्रेय (मोक्ष) दुवैलाई प्राप्त गर्ने सुगम मार्ग विषयमा बोध गराइएको छ।’

भन्नपर्छ, यो आगम-शास्त्र एउटा अनौठो शास्त्र हो, जसमा तुच्छातितुच्छ विषय-वस्तुदेखि  लिएर उत्तमोत्तम वस्तुको र निकृष्ट भन्दा निकृष्ट कार्यदेखि लिएर उत्कृष्ट भन्दा उत्कृष्ट कार्यको सुन्दर वर्णन गरिएको छ। यसद्वारा चारै वर्णका मनुष्यहरू आ-आफ्नै वर्णाश्रम धर्मको अनुशरण गर्दै धर्म, अर्थ, काम, मोक्षको प्राप्ती गर्नमा पूर्णतः सफल हुँदछन्‌। यसभित्र प्रस्तुत अनुष्ठान यतिसम्म सुगम र सरल छ कि मनुष्यजन सात्विक, राजसिक तथा तामसिक प्रकृतिका किन नहउन, उनीहरूले यसद्वारा यथेच्छ रूपमा लाभान्वित हुन सक्दछन्‌। तर अन्य शास्त्रहरूको अनुशरण गर्न अतीव दुष्कर हुँदछ। यिनै कारणवश यदि यसलाई पूर्ण विधि-शास्त्रको नाम दिँदा कुनै अत्युक्ति नहोला। भनौं, यसै आगम-शास्त्रलाई मन्त्र-शास्त्र एवं शक्ति-शास्त्र पनि भनिन्छ। 

श्रीमद्‌भागवत्‌ गीता शास्त्रमा परमात्म श्रीकृष्णद्वारा व्यक्त कथन- ‘योगः कर्मसु कौशलम्‌’ अनुसार ‘कर्ममा कौशलता नै योग हो।’ प्रकृतिद्वारा रचित कुनै पनि विषय-पदार्थ असल वा कमसल हुँदैन, प्रत्युतः मनुष्यको सज्जनता र दुर्जनता उसको व्यवहारमा निर्भर गर्दछ। यस सन्दर्भमा दूधको उदाहरणलाई लिउँ-दूध उसै त उत्तम पदार्थ हो, तर यदि यसमा नून घोलेर अथवा आफ्नो पाचन शक्तिभन्दा अधिक मात्रामा पान गर्नु के स्वास्थ्यको निम्ति हानिकारक नहोला?

अफिम उसै त एउटा विष हो, यदि यसको एक कण पनि मुखमा पर्नु हो भने परिणाम प्राणघातक नै हुन जानेछ। तथापि यदि कोही चतुर वैधले यसै विषालु अफीमलाई शुद्धिकरण गरेर कुनै पौष्टिक पदार्थको साथ सेवन गराउँदछ भने सोही पदार्थ पुष्टिवर्द्धक साथै शक्तिदायक सिद्ध हुँदछ। दूध त्यही हो, अफिम पनि त्यही हो, तर व्यवहारको भेदको कारण दूध जो असल हुन्छ सो कमसल हुँदछ अनि अफिम जो हानिहारक हुन्छ, सो असल बन्न जाँदछ। यसै अनुरूप प्रत्येक वस्तुको सम्बन्धमा बुझ्न पर्दछ। अतः विधिवत्‌ प्रत्येक वस्तु ग्राह्य अनि विधिरहित प्रत्येक पदार्थ त्याज्य हुँदछ। 

उसै त क्रोधलाई राम्रो भन्न मिल्दैन, तर यदि शिक्षक अथवा माता-पिता आफ्नो शिष्य तथा सन्तानलाई कुमार्गदेखि सुमार्गतर्फ डोहोऱ्याउन हेतु क्रोधलाई यदि विवेकपूर्वक प्रयोगमा ल्याउन सके के यस्तो क्रोधलाई नराम्रो भन्न सकिन्छ? यस कोटिको क्रोध बाल सुधारको निम्ति हुँदछ। त्यसोसले सद्‌-उद्देश्य लिएर गरिएको क्रोधलाई खराब भन्न सकिन्न। गनिमत कुरो, राम नाम तीनै कालमा सत्य छ। तर पछि कुनै मनुष्य कसैको बरात (जन्ती) जाँदा वा विवाह मण्डपमा ‘राम नाम सत्य छ’ भनेर मुख खोल्दा त्यसको फल राम्रो होला? त्यहाँ त यस्तो तीतो सत्य बोलि पठाउँदा राम नामको सत्यता उगेल्दा मरम्मती गतिलै हुन्छ, कारण यस्ता लोकोक्तिको प्रयोग त्यस समय मात्र गरिन्छ जब कुनै मृतक अर्थी उठाइन्छ। तात्पर्य यो हुन जान्छ कि प्रत्येक समयमा देश, काल, व्यवस्था एवं परिस्थितिमाथि विचार गरिनु अपरिहार्य हुँदछ। जे-जस्तो परिस्थिति उत्पन्न हुन्छ, सोही अनुरूप वैध रूपमा आफूलाई सुचारू रूपमा परिवर्तित गरिनु पर्छ। कार्यको कुशलता यसैमा निहित रहन्छ। भगवान कृष्णद्वारा अभिव्यक्त बुद्धि-योगको रहस्य पनि यही नै हो। महाभारत ग्रन्थ यस्ता अनेकन उदाहरणहरूले ओतप्रोत छन्‌। 

गनिमत कुरो- विना शक्ति कुनै पनि पुरुषार्थ सफलीभूत हुँदैन। हर अणु-परमाणुमा अधिवैदिक शक्ति अन्तर्निहित छ, मानव जीवनलाई सञ्चालित गर्दछ। यसैलाई त्यस शक्तिको धर्म भनिन्छ। उदाहरणतः भन्नपर्दा अग्निमा उष्णता, प्रकाश अनि दाहकता लगायत पुरुषमा पुरुषत्व उसको धर्म हो। यसै शक्तिको अभावमा अग्निलाई अग्नि र पुरुषलाई पुरुष भन्न सकिन्न। 

यो सम्पूर्ण संसार नै कुनै न कुनै रूपमा माता शक्तिको उपासक छन्‌। आजका वैज्ञानिकहरू पनि शक्तिलाई इनर्जी (एपशीसू), नेचर (छर्रीीींश) पावन (झेुशी) आदिको पर्याय मान्दछन्‌। शक्तिको उपासना बहिर्मुखी हुन सक्छ भने अन्तर्मुखी पनि हुनसक्छ। साधनाको वाह्यरूप अनेक हुन सक्छन्‌, तर साध्य वस्तु (शक्ति) भने एउटै छ। अनि सम्पूर्ण शक्तिहरू आत्मामा केन्द्रित छन्‌। भनिन्छ, यसै आत्म-शक्तिलाई जाग्रत गरेपछि नै लौकिक तथा पारलौकिक सिद्धि प्राप्त गर्न सकिनेछ। अझ भन्नु हो भने शक्ति देवीको उपासानाद्वारा लौकिक वैभव अतिरिक्त ज्ञानको पनि प्राप्ती हुँदछ। लोक व्यवहारमा पनि हामी प्रत्यक्ष रूपमा देख्न सक्छौं कि एउटा शिशु किंवा बालकले पिताको अपेक्षा मातालाई अधिक रूचाउँछ, किनकि माता स्वभावतः वात्सल्यमयी हुँदछिन्‌ अनि आफ्नो सन्तानको आवश्यक्ताहरूको पूर्णतः ध्यान राख्ने गर्छिन्‌। आध्यात्मिक मार्गमा पनि साधकको पिता शिवको अपेक्षा माता दुर्गासित घनिष्ठ लगाव राख्दछन्‌। 

परम्पराद्वारा प्राप्त हाम्रो धार्मिक कृत्यहरू जस्तो कि पुजा-व्रतादि गरिनुमा अनेक उद्देश्य किंवा अभिप्रायहरू छन्‌। सामान्य अर्चन-पुजन अतिरिक्त यसमा आध्यात्मिक गोप्य रहस्य पनि विद्यमान रहन्छ। उदाहरणार्थ शक्ति-पूजाको महापर्व नवरात्र-महोत्सव किवं दशैं एक प्रकारले विजय-उत्सव नै हो। जुन देवी दुर्गाद्वारा असुरको वध गरिएर असुरमाथि विजय प्राप्त भएको उपलक्ष्यमा मनाउने गरिन्छ। तर आध्यात्मिक साधन मार्गमा प्रत्येक तीन-तीन दिनमा क्रमशः महाकाली, महालक्ष्मी तथा महासरस्वतीको आराधना गर्नु आफ्नो एउटा विशेष महत्त्व राख्दछ। यसमा मनुष्यको निम्ति क्रमोलति भइ जीवत्वबाट शिवत्व प्राप्त गर्ने संकेत छ। 

उसै त मानव जीवनको लक्ष्य हो- जीव-भावलाई विस्मृत गरेर शिव-भावलाई प्राप्त हुनु। यसको निम्ति साधकले सर्वप्रथम आफ्नो अन्तःकरणबाट दुर्गुणहरू, अपवित्रता तथा आसुरी भावलाई तिरोहित गरेर यसको सट्टा सद्‌गुण एवं शुद्ध, शान्त र सात्विक भावलाई अवलम्बन गर्न पर्दछ। एवंरीतले तमोगुणको निष्कासन र सत्वगुणको अभिवृद्धिद्वारा साधकको शुद्ध हृदयमा शनैःशनैः ज्ञानको उदय हुँदछ। यसको निम्ति दृढ़ संकल्प र अथक प्रयास अपरिहार्य हुँदछ। 

अब हामीले हेर्नु छ नवरात्रको प्रथम तीन दिन मातृशक्तिको उपासना दुर्गा वा कालीको रूपमा कुन प्रकारले गर्न पर्दोरहेछ। हामी दुर्गा भवानी देवीसँग आफ्नो मलीनता, दुर्गुण र दोषहरूलाई नाश गर्नको निम्ति प्रार्थना गर्दछ। यसमाथि दुर्गा भवानी माता हाम्रो अन्तरात्मामा अन्तर्निहित आसुरी वृत्तिरूपी जुन असुरगण छन्‌, उनीहरूसँग संग्राम गरी उनीहरूको समूल नाश गर्दछिन्‌ अनि हामीलाई भयानक अन्धकुपबाट र विपत्तिबाट रक्षा गर्दछिन्‌। एवंतरीले नवरात्रको प्रथम तीन दिनमा जुन महाकाली देवीको पुजनको विधान छ, सो हाम्रो कुसंस्कारहरू, हाम्रो दुर्वासनाहरू तथा आसुरी वृत्तिसँग संग्राम गरेर उनीहरूको नाश गर्ने प्रथम स्थितिको द्योतक हो नवरात्र।

अब जब एकचोटि हाम्रो आसुरी वृत्तिको इतिश्री भइसकेपछि दैवी सम्पद्‌लाई अर्थात्‌ श्रीमद्‌भागवत्‌ गीताको सोझैं अध्यायमा वर्णित सात्विक गुणहरूलाई आत्मसात गर्नपर्दछ। यदि यी सद्‌गुणहरूको वृद्धि यथार्थ रूपले नभए सम्भवतः हाम्रो पुरानो आसुरी वृत्तिहरूले पुनश्चः आक्रमण गर्न सक्षम हुनेछ। अतः सद्‌गुणको वृद्धि खूबै सतर्कताको साथ गर्न पर्ने हुँदछ। नवरात्रको मध्यको तीन दिनमा जुन महालक्ष्मीको उपासना गरिन्छ, सो यसै साधना-स्थितिको द्योतक हो। उनै महालक्ष्मी आफ्नो भक्तजनलाई दैवी सम्पद रूपी अक्षुण्ण द्रव्य प्रदान गर्दछिन्‌। सोही नै सात्विक शक्ति हो, त्यही नै तृष्टि हो, पुष्टि हो। साधकमा जब आसुरी वृत्तिमा ह्रास हुन लाग्छ, तथा सात्विक गुणको वृद्धि जुन लाग्छ, तब सो ज्ञान प्राप्त गर्नमा पूर्णतः योग्य बन्दछ। 

भन्नपर्छ - यसै स्थितिबाट ब्रह्मज्ञानस्वरूपिणी श्री श्री महा सरस्वतीको आराधना प्रारम्भ हुँदछ। उनको दिव्य वीणा-वादनबाट सुमधुर ध्वनि प्रसारण गर्दछ। मातृश्रीको श्वेत वस्त्रालंकार आत्म-ज्ञानको द्योतक हो। नवरात्रको अन्तिम तीन दिनमा जुन महासरस्वतीको आराधना गरिन्छ, सो नाद-ब्रह्म तथा आत्मज्ञान प्राप्तिको निम्ति पर्याप्त छ। भगवती सरस्वती माताको कृपाले विशुद्ध ज्ञानद्वारा जीवात्माले आफ्नो जीव-भावलाई त्यागेर जीवन-मुक्ति लाभ प्राप्त गर्दछ अनि उ सच्चिदानन्द रूपमा स्थित रहँदछ अर्थात्‌ उ सोऽहम्‌ भावमा लीन हुँदछ। यही नै मानव जीवनको अन्तिम लक्ष्य हो। अनि हो जीवको परम विजय हो। यसै नवरात्रको अन्तिम दश दिन विजय दशमी महोत्सवको रहस्य हो। आध्यात्मिक मार्गमा उपर्युक्त तीनै स्थितिलाई पार गरेपछि नै पूर्ण सफलता प्राप्त हुँदछ, अन्यथा हुँदैन।

यसैक्रममा भनौं, नवरात्रको तीन-तीन दिनमा क्रमशः महाकाली, महालक्ष्मी तथा महासरस्वतीको उपर्युक्त पुजन-पद्धति भारतको दक्षिण प्रदेशहरूमा खूबै प्रचलित छ। सम्भवतः अन्य प्रदेशहरूमा पनि प्रचलित भएको हुनपर्छ।

अन्य लेखहरू

अगरु (अगर)
  • 2021-10-16 20:54:17