पहाड़को विकासको निम्ति एकसाथ बस्न मुख्यमन्त्रीको आह्वान

  • 2022-05-24 18:27:53

मध्यमार्ग प्रतिनिधी। 

स्थायी राजनैतिक समाधान मुख्यमन्त्री ममता ब्यानर्जीले गरिदिने  वचन दिएकी छन्‌। 26 अक्टोबरको दिन मुख्यमन्त्री ममता ब्यानर्जीले   खरसाङको टाउन कमिटी हलमा दार्जीलिङ र कालेबुङ जिल्लाको लागि प्रशासनिक बैठक गरिन्‌। उनको पहाड़ आगमनले विकास क्रममा नयाँ आभाष देखिएको छ। पहाड़को विकासको निम्ति उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का अध्यक्ष अनित थापा र गोजमुमोका महासचिव रोशन गिरीलाई एक साथ मिलेर काम गर्न भनेकी छन्‌। 

सो बैठकमा उनले पहाड़को विकासको लागि स्टेयरिङ कमिटी गठन गरेर योजना तयार गर्ने आह्वान गरेकी छन्‌। पहाड़को विकासको लागि अनित थापा, रोशन गिरी, गौतम देव, अमरसिंह राई सबै मिलेर बस्नु पर्ने अनि सबै मिलेर विकासको लागि स्टेयरिङ कमिटी गठन गरेर विकासको लागि योजना बनाउनु पर्ने मुख्यमन्त्रीले आह्वान गरिन्‌। मुख्यमन्त्रीको यस कुरामा अनित थापा र रोशन गिरी दुवैले सहमति जनाएका छन्‌। पहाड़को विकासको लागि एक साथ हुने तर राजनैतिक मञ्च भने अलग रहने अनित थापाले बताएका छन्‌। यसैगरि रोशन गिरीले पनि विकासको लागि कुनै विवाद नभएको तर राजनैतिक सिद्धान्त भने अलग रहेको बताएका छन्‌। उक्त बैठकमा जीटीएको लागि दार्जीलिङ र कालेबुङका जिल्ला शासकहरूलाई जिम्मेवारी दिइएको छ भने जीटीएको चुनावको लागि नयाँ भोटर लिस्ट आएपछि घोषणा हुने भएको छ। यसको लागि काली पूजापछि पुन:दार्जीलिङ भ्रमणमा आएर घोषणा गर्ने भएको छ। 

उक्त बैठकमा दार्जीलिङ र कालेबुङ जिल्लाका जिल्लाधिकारीहरू, पुलिस अधीक्षकहरू, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा, गोजमुमोका महासचिव रोशन गिरी, हिल तृणमूलबाट एलबी राई र शान्ता छेत्री, कालेबुङका विधायक रुदेन सादा लेप्चा, अमरसिंह राईलगायत अन्यहरू उपस्थित थिए।

 

अन्य लेखहरू