गोर्खा जातीय सांस्कृतिक सुरक्षा एवं उत्थान एक दिवसीय सांस्कृतिक प्रदर्शनी एवं कार्यक्रम उद्देश्य

  • 2022-01-13 20:32:02

डेस्क

भारतको सुदूर उत्तर-पूर्वाञ्चल गोर्खा/नेपाली जातिको लामो इतिहास बोकेको छ। साहित्य अकादमी पुरस्कार प्राप्तकार, प्रा. लील बहादुर छेत्री लिखित उपन्यास ‘ब्रह्मपुत्रका छेउछाउ’-मा यस जातिको यस क्षेत्रमा आगमन एवं बसोबासको जीवन चित्रण पाइन्छ। तब आजको उत्तर-पूर्वाञ्चलनै वृहत आसाम थियो अनि आजको ‘मेघालय’ प्रान्त उही वृहत आसामको एक टुक्रा हो।

मेघालयको राजधानी हो शिलाङ। ब्रिटिशकालमा यहाँ गोर्खा पल्टनको छाउनी थियो जसबाट अवकाश प्राप्त गोर्खा सैनिक शिलाङमै जमीन-जग्गा लिएर बसोबास गरे। आजपर्यन्त उनकै सन्तान यहाँ छन्‌। नेपाली जनहरूमा कोही आरा काटन, कोही गाई वस्तु, भैंसी पाल्न तथा कोही खेती किसानको निम्ति यस क्षेत्रतिर आई बसोबास गरे। संख्या बढ्‌दै गयो। जमीन जग्गा किनी घर बनाइ बस्ने धेरै भए। कालान्तरमा रैथाने जनजाती (खाशी)-हरूमा यो बढ़ोत्तरी साध्य भएन। भावी सन्तानको निम्ति यी गोर्खाको बढ्‌दो जनसंख्या घातक हुनेछ भन्ठानी गोर्खामाथि अनेक प्रकारको न्यायिक एवं शारीरिक दवाब हुनथाल्यो। यसरी नै समय-समयमा गोर्खा भगाव आन्दोलन पनि ती रैथानेले आरम्भ गर्न थाले। 

उपरोक्त दवाबमा परी गोर्खा/नेपाली सिलग़ढ़ीमा नै हामी सुरक्षित रहौंला भनी यस सिलगढ़ी भेकतिर जमीन जग्गा किनी क्रमशः बसोबासो गर्न थाले।

1996-1997 ताका एक दल शिलाङबाट मिलनमोड़ छेउ 56 विघा जमीन लिएर आपसमा वितरण गरी सात विघा समाजको निम्ति भनी छुट्याएर राखे। सो जमीन आज शिशाबारी गोर्खा वेल्फेयर सोसाइटीको नाममा दर्ता गरिएको छ। जहाँ सारा जमीनमा घेरो दिएर एक सानो अफिस बनाइएको छ।

ताः 6.10.2021 का दिन यसै परिसरमा सोसाइटीद्वारा एक दिवसीय सांस्कृतिक प्रदर्शनी एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरियो जसमा हजारौं गोर्खा जमातको उपस्थिति थियो। 

कार्यक्रमको आरम्भमा अध्यक्ष डा. सिद्धिराज शर्मा एवं सचिव प्रा. बी.आर. जोशीद्वारा मुख्य अतिथि श्रीमान प्रमोद गिरी (सिलगढ़ी जर्नलिष्ट क्लबका अध्यक्ष)-मा खास्टो तथा खदाअर्पण गरी स्वागत जनाइएको थियो। त्यसपछि मुख्य अतिथि प्रदर्शनी स्थलको परिदर्शन गर्नु हुन्छ जहाँ गोर्खा/नेपाली सांस्कृतिक भाँड़ा-कुड़ाँ, भेषभूषा, कृषी हात हतियार, वाद्य-खाद्यन आदि सजाइएका थिए।  सिलगढ़ी बाहिरका यस कार्यक्रममा विभिन्न संघ-संस्था एवं समुदायबाट सहभागित थियो। जस्तै भुजेल, राई, लिम्बु, सार्की र अन्य।

वहाँहरू आ-आफ्नै भेषभूषामा सज्जिएर जातीय नृत्य प्रस्तुत गर्नुभएको थियो। 

सोसाइटीका अध्यक्ष डा. सिद्धिराज शर्माको स्वागत भाषणमा गोर्खा सोसाइटीको उद्देश्यबारे केही जानकारी दिइएको थियो-गोर्खा/नेपाली जातीय समृद्धी र जागृति भवन निर्माण- 1. प्रशासन कार्यालय साथै अडिटोरियम 2. रंगशाला, 3. स्तरीय डिजिटल पुस्ताकालय कार्यलयभित्र हुनेछ। 

शिलाडीय गोर्खा/नेपाली दाज्यूभाईबाट सात विघा जमीन सोसाइटीलाई प्रदान गरिदिएको हुँदा अध्यक्ष महोदय वहाँहरूप्रति धन्यवाद प्रकट गर्नु हुन्छ। 

मुख्य अतिथिको भाषणमा श्री प्रमोद गिरी भन्नुहुन्छ- कि आफ्नो पच्चिस वर्षको पत्रकारितामा आफ्नो जातिप्रति केही नगरेको ध्यान नदिएको र अबोप्रान्त गोर्खाजातिको निम्तिमा समर्पित हुनेछु भनेदै गोर्खा च्यानल ‘हिमाल वर्ल्ड’-को  शुरूआत गरेको कुरा राख्नु हुन्छ। नेपाली भाषा र साहित्यको पनि सेवा गर्ने इच्छा प्रकट गर्नुहुन्छ। यस च्यानललाई माया गरिदिने आग्रह गर्नुहुन्छ। यस भव्य कार्यक्रमको निम्ति सोसाइटीप्रति आभार व्यक्त गर्दै भविष्यमा वहाँद्वारा के कसो गरी सहयोग पुऱ्याउन पर्ने हो-गर्नेछु भनी वचन राख्नु भयो। 

सचिव प्रा. बी.आर. जोशीद्वारा धन्यवाद भाषण राखिएको थियो-विशेष वहाँ यस 7 विघा जमीनसँग अघि देखिनै जड़ित हुनुहुन्थ्यो। वहाँ यस सामाजिक जमीनको संरचना गर्ने महानुभावका नाम लिइ इतिहास बनाइदिनु भएको हुँदा वहाँहरूको नाम लिइ धन्यवाद प्रकट गर्नुहुन्छ। ती नामहरू हुन्‌- सर्वश्री चन्द्रमणि अधिकारी, कृष्ण प्रसाद रिजाल, जगन्नाथ कोइराला, सुशील पौड्याल, स्व. हरिकुमार, हस्त बहादुर गुरूङ, डम्बर बहादुर गुरूङ, के. बी.गुरूङ, तुलसीराम शर्मा, प्रा. बी.आर. जोशी, दिवाकर पाण्डे, पूर्ण बहादुर छेत्री, टी.पी. खरेल, नर बहादुर छेत्री, स्व. मोतीलाल सुवेदी, सूर्य जोशी, झप बहादुर थापा, श्रीमती सुमित्रा प्रधान, श्री टिकाराम रिजाल, श्री शम्भु प्रधान, श्रीमती रजनी थापा, श्री पुरण कुमार गरूङ र अन्य। 

यस आयोजनमा मिलनमोड़स्थित लिटल एन्जल सिनियर सेकेण्डरी स्कूलको सराहनीय भूमिका थियो। प्रदर्शनीमा धेरै भन्दा धेरै गोर्खा जातीय सामाग्रीहरू जुटाइ कार्यक्रममा अतिनै आकर्षक मारूनी नृत्य प्रस्तुत गर्नु भएको थियो। 

राई समुदायबाट सिलि नृत्य, भुजेल जातीय नृत्य लिम्बु, सार्की सबै समुदायबाट प्रस्तुत गरिएका नृत्य एवं लगनशील आमा तर्फबाट आएको संगिनीको कार्यक्रम समूहको अति आकर्षक बनेको थियो। 

प्रदर्शनीमा गोर्खा मोमो पसल, पूर्वेली वस्त्र पसल, गोर्खाली खाद्य पसल, सेल रोटी र मुलाको, सन्किको अचार पसल पनि राखिएका थिए। 

गोर्खा वेलफेयर सोसाइटी भविष्यमा यस प्रकार अन्य जातीय संस्कृति सुरक्षामूलक कार्य गरिनै रहने निश्चय गरेको छ। 

यस विशाल कार्यक्रमको आयोजना सम्पन्न गराउन आयोजक कमिटिका सोसाइटी कार्यकर्ता सक्रीय भइ लाग्नेहरूमा विशेष महिला वर्गका धेरै संलग्न थिए। नाम लिन पर्दा यस प्रकार छन्‌- सर्व श्रीमती प्रमिला अधिकारी, कान्ता छेत्री, कुमुद शर्मा, शर्मिला शर्मा, मधु गौतम लामिछाने, मीना शर्मा, मिरा छेत्री, लकी सुवेदी, रीता कड़ेल, संगीता शर्मा, रीता उपाध्याय। पुरुषवर्गमा सर्वश्री यादव न्यौपाने, मनोज शर्मा, राजेन सुवेदी, टिकाराम रिजाल, भिष्म थपलिया, गणेश थापा, झप बहादुर थापा, बगेन्द्र धमाला एवं वहाँका 12/15 जना गठित युवा दल। 

दमदार उद्‌घोषकहरू हुनुहुन्थ्यो- सर्वश्री यादव न्यौपाने, रमेश अधिकारी, कृष्ण बस्नेत एवं श्रीमती मिना शर्मा। 

यसरी हामी हाम्रो भाषा, संस्कृतिलाई बचाई राख्न लागि परेका छौं यसमा सबैको सहयोग सुझाव सर-सल्लाह अति जरूरी छ भन्दै यसदिनको कार्यक्रम सम्पन्न भयो।

अन्य लेखहरू