मेरो नाम आएन

  • 2022-01-16 06:41:12

बी.बी. ठकुरी

गाउँ बस्तीमा आयोजन गरिने साहित्यिक, सांस्कृतिक अन्य विविध कार्यक्रमदेखि लिएर सहरमा आयोजन गरिने ठूल्ठूला कार्यक्रमहरूमा एउटै गुनासो रहेको हुन्छ, त्यो हो, मेरो नाम आएन। मेरो नाम आएन भन्ने रोगले साना ठूला सबै साहित्यकार, संगीतकार, कलाकार एव्‌ राजनीतिज्ञहरू सबै ग्रस्त छन्‌, कोही अछुत छैनन्‌। सम्मानकासाथ निमन्त्रणा पत्र पाएर पनि नाम नआएको कारण मञ्चमा गएर आफ्नो रचना वा कलाकृतिको प्रदर्शन गर्न नपाउनु उनीहरू आफूलाई ठगिएको महसुस गर्दछन्‌ र मेरो नाम आएन भन्ने गुनासो पोख्नुबाहेक अरु केही विकल्प रहँदैन। 

आफ्नो प्रतिभा र कला कौशलको प्रदर्शन गर्ने चाहना प्रत्येक वर्गका मानिसहरूमा हुन्छ। आफ्नो सिर्जना र कला कौशल देखाउन साहित्यकार, कलाकार, गायक, नृत्याङ्गनाहरूले रातोदिन मिहेनत गर्छन्‌, रिहर्सल गर्छन्‌, संसाधन जुटाएर अभ्यास गर्छन्‌, घरका अभिभावकदेखि लिएर आफन्त, छरछिमेकी, साथीहरू सबैलाई कार्यक्रममा बोलाउँछन्‌ र आफ्नो के कस्तो प्रदर्शन रह्यो त्यस बारे सुन्न लालायित हुन्छन्‌ तर त्यहाँ उसको नाम आएन भने उसलाई लाजमर्दो हुन्छ, उसको उमंग, जोशहरू एक निमेषमै धराशायी भएको भान हुन्छ।

पक्षपात, भेदभाव र गुटबाजी संस्कृतिले व्याप्त हाम्रो देशमा हाम्रो सँघ संस्था पनि अछुन्न रहेको छैन। गाउँ-बस्ती र शहर बजारमा आयोजन गरिने विभिन्न कार्यक्रमहरूमा धेरै जसो मेरो नाम आएन भन्ने गुनासो र ठुस्काठुस्कीको परम्परा परापूर्वकालदेखि रीतिथिति भएर चलिरहेको छ। भाइभतिजावाद र गुटबाजीको रोगको असर हाम्रा प्रतिभावान साहित्यकार र कलाकारहरूमाथि पनि परेको देखिन्छ। उनीहरूले आफूले चाहे जस्तो कुनै अवसर पाउँदैनन्‌। प्रायजसो कार्यक्रमहरूमा यस्तो विवाद सृजना हुनुको प्रमुख तीन कारण हुनसक्छ, प्रथम कारण-समयसीमा। दोस्रो कारण- भूलभ्रान्ति। तेस्रो कारण - कार्यक्रम सञ्चालकको हठधर्मिता, दुराग्रह नीति एवं शत्रुता। यी कारणले गर्दा  मेरो नाम आएन भन्ने गुनासोहरू प्रत्येक कार्यक्रमहरूमा देखा परिरहन्छन्‌। 

यसै सिलसिलामा मलाई एउटा घट्‌नाको याद आयो। हाम्रो गाउँमा प्रतिवर्ष भानु जयन्ती धुमधामसँग मनाउने परम्परा विगत तीस वर्षदेखि चलिआएको छ। 

प्रायः सबै ठाउँमा झैं हाम्रो गाउँमा पनि दुई चारजना कवि, लेखक र गायक गायिकाहरू छन्‌ र उनीहरूकै सभागितामा भानु जयन्ती, देवकोटा जयन्ती साथै अन्य सांस्कृतिक कार्यक्रमहरू भव्यताको साथ सञ्चालन भइरहेको छ। केही दुई वर्ष अघि भानु जयन्तीकै कार्यक्रमको सन्दर्भमा आयोजक समितिका युवा भाइहरू सुशिला (छद्म नाम) तामङको घरमा दिदी यसपालीको भानु जयन्ती कार्यक्रममा एउटा गीत गाइदिनु पर्छ भनी आग्रह गर्न पुगेछन्‌। सुशिला दिदीले पनि हुन्छ  भनी उनीहरूको आग्रह टार्न नसकी भोलिपल्टदेखि उनी अभ्यास गर्न थालिछन्‌। 13 जुलाईको दिन भानु जयन्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।  लगभग छ घण्टा जति चलेको त्यस कार्यक्रममा गाउने जति साना ठूला सबै वर्गले गीतहरू गाए, आफ्नै गाउँको त हो भनी नाँच्नेहरूमा पनि साना ठूला सबैले नाँचे, तर धेरै दिनदेखि अभ्यास गरेर बसेकी बिचरी सुशिला दिदीको गाउने पालो आएन। तिनको नाम किन आएन त्यसको सठिक जवाफ कसैसँग थिएन। तर यो घटनालाई लिएर घर घरमा धेरै दिनसम्म हावा गरम रह्यो। चर्चा, परिचर्चा आलोचनाहरू भए य़ो सानो अप्रत्याशित घटनाले जन्म जयन्तीको आदर्श र उत्सर्गलाई धमिलो बनायो। 

यस्तै प्रकारले हाम्रा गाउँ, बस्ती र सहरहरूमा आयोजन गरिने जन्म जयन्ती पुस्तक लोकार्पण र अन्य विभिन्न कार्यक्रमहरूमा विराजमान भएका प्रमुख अतिथि, विशिष्ट अतिथि, आयोजकवर्ग इत्यादि गण्यमान्य व्यक्तिदेखि लिएर  अतिथिहरूलाई खदा-माला लाइदिने, चियाचमेना बाँड़ने हाम्रा भोलिन्टियर चेलीबेटीहरूले पनि कार्यक्रमको भोलिपल्ट आफ्नो नाम समाचार पत्रमा आयो कि आएन भनी खुल्दुली गर्छन्‌, समाचार पत्रको प्रत्येक पृष्ठ नै उधिनेर हेर्छन्‌। नाम आएको छैन भने ठुस्सैपरी मुख लेब्राएर बसेको पनि देखिन्छन्‌। नाम प्रकाशित भयो भने पनि, अघि आयो कि पछि आयो भन्ने उनीहरूमा गुनासो रहेकै हुन्छ। कदाचित कसैको नाम छोड़िएको छ भने केही दिनसम्म आयोजकवर्ग र समाचार लेखकको टाउको दुखाई हुन्छ। 

मेरो नाम आएन भन्ने गुनासो हाम्रो लेखक, साहित्यका र कलाकारदेखि लिएर काँधमा झण्डा बोकेर हिँड़ने साना ठुला पहाड़े राजनीतिज्ञहरूमा पनि देखापर्छ। दुई मिनट बोल्छु भनी माइक पक्रिनेले लेग्रो तानेर  घण्टौसम्म बोलिरहन्छन्‌। कस्को बाबुको के लाग्छ भने झैँ माईक पक्रेपछि चाहिँदो पनि बोल्छन्‌ नचाहिँदो पनि बोल्छन्‌, पत्यारिलो कुराहरूको साटो अप्रत्यारिलो कुराहरू धेरै बोल्छन्‌। समयको नाश गर्छन्‌। यसरी समय गालेर भाषण दिने व्यक्तिहरूकै कारण आफ्नो पालो पर्खेर बसेका अन्य वक्ताहरू समयको अभावले बोल्नु पाउँदैनन्‌। बोल्ने वक्तामा आफ्नो नाम आएन भने उनीहरूले आफूलाई ठगिएको महसुस गर्छन्‌, यस्तै कतिपय मेरो र तेरो कारणहरूले गर्दा पार्टी विभाजनको संघारमा पनि पुग्छ र जनताको नाम गरी आफ्नो दलबल सहित नयाँ पार्टी खोल्न कदाचित गाह्रो मान्दैनन्‌ । 

मेरो नाम आएन भन्ने रोग साहित्यका ठूला ठूला महारथीहरूलाई पनि लागेको छ। जस,जसले एवार्ड र पुरस्कार पाए उनीहरू सञ्योसँगले गजधम्म परेर बसेका होलान्‌ । जो पुरस्कारको लहरमा उभिएर पुरस्कारकालागि ईश्वरको माला जपिरहेछन्‌ उसको पुरस्कारको सूचिमा नाम आएन भने मनलाई खिन्न पारेर बस्नुबाहेक अरु केही उपाय छैन, तर केही जुझारु र डिजर्भ लेखकहरूले रडाको मचाउने नै भए। यसोसले जुरी भएर बसेका विज्ञजनहरूले निष्पक्ष प्रकारले जाँच परख गरेर पुरस्कार पाउने योग्य व्यक्तिलाई पुरस्कार दिइने घोषणा गरे विवादहरू जन्मने छैनन्‌ र नेपाली भाषा र साहित्यको मर्यादा पनि रहने छ, यस्ता नचाहिँदा सानोतिनो किचलोले गर्दा अरुको सामु हाम्रो नेपाली साहित्यको मर्यादामाथि ठेस नलागोस्‌। 

यस्तै रीतले स्कूल कलेजको पुरस्कार वितरण समारोह तथा परीक्षा परिणामहरूमा होनहार विद्यार्थीको नाम छुट्‌न गए त्यहाँ धेरै आरोपहरूले ठाउँ पाउँछन्‌। स्कूल कलेजको गरिमामा धक्का लाग्नसक्छ। खेलकुदको मैदानमा पनि खेल्ने मौका नपाएर कतिपय डिजर्भ खेलाडीहरू गुटबाजी र पक्षपातको शिकार हुन्छन्‌। यी रिजर्भ बेन्चमा बसेका खेलाड़ीहरूले आफूले पाएको अवसरलाई सर्वोत्कृष्ट प्रदर्शन गरेर स्कूल-कलेजको नाक राखेका छन्‌। यस्तै प्रकारले नयाँ नयाँ लेखकहरूको रचनाहरू पत्र पत्रिकामा छापिएन भने, उनीहरूको जोश र उत्सर्ग सेलाएर जानेछ। यसरी साहित्य लेखनप्रति उनीहरूको मनमा खिन्नता आउनु स्वभाविक नै हो।

त्यसैले नाम चलेका प्रतिष्ठित साहित्यकारहरूको रचना मात्र होइन नाम नचलेका नवोदित साहित्यकारहरूका राम्रा राम्रा रचनाहरू प्रकाशन गरी उनीहरूलाई प्रोत्साहन गर्नु नै उनीहरूमाथि न्याय गर्नु हो । साहित्यिक कार्यक्रमहरूमा पनि युवावर्ग र पुरानोको ब्यालेन्स राखेर कार्यक्रमहरू गर्न सकियो भने यस्ता विवादहरू जन्मन पाउँदैनन्‌। आज हामी जसलाई मन नपराएर, लत्याएर वा भेदभाव गरेर किनारा लाउने प्रयत्न गर्छौं, उनीहरू नै भविष्यमा हाम्रो साहित्यको कर्णधार हुनसक्छन्‌ भन्नुमा अत्युक्ति नहोला । त्यसरी नै संघ संस्थाहरूमा पनि पक्षपात र भेदभाव गरेर आफ्नो र मन पर्ने व्यक्तिलाई लाई अघि र मन नपर्नेलाई पछि पार्ने प्रवृति त्याग्नु पर्छ। नत्र हाम्रो भाषा र साहित्यले साहित्य लेखनमा धेरै जोखिम उठाउनु पर्नेछ। 

आफ्नो मात्र होइन, सबैको नाम चलोस्‌, सबैको जयजयकार होस्‌, सबैको  गलामा प्रशंसाको खदा-माला गुथियोस्‌ भन्ने मनसाय लिएर कार्य गर्न सके मेरो नाम आएन भन्ने गुनासोहरूमा एक दिन अवश्य पूर्ण विराम लाग्नेछ।  

रचनाकाल - 08 अक्टुबर 2021

अन्य लेखहरू