मिजोरमको संगीतमय संसारमा रमाउँदै

  • 2022-01-17 01:29:05

भारतको उत्तर पूर्वाञ्चल क्षेत्रमा पर्ने मिजोरम राज्यमा जन्मेका बहुप्रतिभाका धनी गोर्खा जातिय गौरव डा.किङ्ग गुनु घर्ती एक प्रतिष्ठित नाम हुन्‌। नेपाली भाषा साहित्य तथा संस्कृति संस्कारको जगेरा गर्न्‌ प्रतिवद्ध रहिआएका डा.घर्तीलाई अल्प शिक्षित व्यक्तित्वको रुपमा मानिए तापनि यो स्तरदेखि माथि उठेर आफ्नो छुट्टै पहिचान बनाउँन उनी सक्षम बनेको उदाहरणहरू उनीद्वारा लिखित तथा सार्वजनिक गरिएका विविध कलाका उत्कृष्ट कृतिहरू हुन्‌ । मिजोरम जस्तो राज्यमा अल्पभाषी नेपाली/ गोर्खा जातिको रुपमा रहेर पनि आफ्नो सास्कृंतिक परम्परा अनि जातिय ठेटपनालाई बँचाई राख्नुमा अमुल्य योगदान पुऱ्याउने विविध कलाका धनी घर्तीद्वारा रचना गरिएको तथा उनीद्वारा संगीतवद्ध गीत तथा कृतिहरुको लोकार्पण समारोह देवकोटा संघ भवन सिलगढ़ीमा 20 सेप्टेम्बर 2021 को दिन सम्पन्न गरिएको थियोे। डा. किङ्ग गुनु घर्ती इन्टरनेशनल फाउण्डेसनको ब्यानरमा तथा बैरागी संगीत परिवार मिजोरमको संयुक्त आयोजनामा फाउण्डेसन अध्यक्ष रुबेन गुरुङको अध्यक्षता तथा समाजसेवी रतन थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त संगीतमय भव्य कार्यक्रमको प्रथम चरणमा अतिथीहरुले दिप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। मन्जु शर्मा अनि शिला पोखरेलद्वारा संयुक्त रुपमा संचालन गरिएको समारोहको प्रमुख उदेश्य सिटोङका बाल कलाकार आव्हान थापालाई प्रमोट गर्नु रहेको प्रसंगमा डा. घर्तीले आफ्नो विचार साझा गरेका थिए। मिजोरमको संगीतमय संसार नामको उक्त रमनीय कार्यक्रममा आयोजक समिति अध्यक्ष राजकुमार साशांकरले स्वागत मन्तव्य राखेपछि प्रतिष्ठित गायिका जुनु गौतमले स्वागत गीतसँगै अन्य गीतहरुको प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेका थिए। नेपाली तथा हिन्दी साहित्यमा पनि राम्रो दखल दिएर आफ्नो बौद्धिक परिश्रमले विभिन्न मौलिक कृतिहरु प्रकाशन तथा गीत लेखन र संगीतबद्ध गर्ने संघर्षमा सन्‌ 70-को दशकदेखि लगनशील वनेर लागिपरेका श्रष्टा घर्तीले आजसम्म पुऱ्याएको योगदानको फलस्वरूप तिनलाई हिन्दी साहित्य संघ-संस्था अनि नेपाली जातिका प्रतिष्ठित संस्थानहरूले सम्मान जनाइसकेका छन्‌। चलचित्र तथा गीति भिडियोमा पनि अभिनय गरेर सबैलाई तिनछक्क पारिसकेका छन्‌। समाजका गौरव घर्तीले तयार पारेको अडियो-सिडी बाबाको यादमा अनि स्रष्टा घर्तीद्वारा लिखित नेपाली तथा हिन्दी भाषाका कृतिहरुपनि उक्त समारोहमा लोकार्पण गरिएको थियोे। सिटोङका बयोवृद्ध समाजसेवी तथा डा. घर्तीका पुज्य अभिभावक डीबी खवास गायक संगीतकार, सरोज थापा, श्रीमती रिना राई चलचित्र तथा नाटक अभिनेता जीवन गुरुङ, डा. कृष्णराज घतानी, पि.टी. योल्मो, युवराज काफ्ले, बीबी विश्वकर्मा, कृष्ण गुरुङ, देवकोटा सघं अध्यक्ष मिलन रुचाल, लतिका जोशी, ललिता छेत्री, खेम सापकोटा, राजेश छेत्री, नृपेन गुरुङ, महेन्द्र थापा लगायत कवि लेखक गायक  संगीतकार चलचित्र जगतका कलाकार तथा विभिन्न प्रिन्ट तथा इलेक्ट्रोनिक मीडियाका संचारकर्मीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा गीत तथा नृत्यहरू समावेश गरिएको थियोे। यसक्रममा नटराज कला केन्द्र सालबारीका कलाकारहरुलेे उत्कृष्ट नृत्यहरु प्रस्तुति दिएका थिए भने बाल गायक आह्वान थापा गायिका रोजी राई, डोमा शेर्पा, सुधाश्री आचार्य, ममता प्रधान छेत्री, गायक केदार खवास, सुमित खाती आदिले गीत प्रस्तुत गरेको कार्यक्रममा प्रतिष्ठित नर्तकी पन्नु गजमेर अनि डा. घर्ती सिर्जना शर्मा अनि अरुण शर्माले नृत्य प्रस्तुत गरेर भरपुर मनोरञ्जन प्रदान गरेका थिए। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले उक्त कार्यक्रम अन्तराष्ट्रिय स्तरको वन्न गएको वताउदै स्रष्टा घर्तीको योगदानको खुलेर सराहना गरे। समारोहमा फाउण्डेशनको पक्षबाट समाजसेवी थापा लगायत सम्पूर्ण कलाकारहरुलाई डा.घर्ती फाउण्डेशन अध्यक्ष गुरुङ साहित्यकार युवाराज काफ्ले र अन्यले सम्मान जनाएका थिए भने सोही क्रममा सिटोङको पक्षबाट मैतराज राणा, अरुण खवास, सरोज थापा र प्रतिभा आह्वानका अभिभावक महेन्द्र थापाद्वारा डा. घर्ती अनि रुबेन गुरुङलाई अगंवस्त्र जातिय टोपीको साथमा माल्याअर्पण गरेर सम्मान जनाइयो। यस अवधि लोकार्पित अडियो सीडीबाट संग्रहित राशी बाल कलाकार आव्हानको निम्ति रहने घोषणा डा. घर्तीले गरे।  

  रिपोर्ट :- मैतराज राणा अरुण खवास, सिटोङ।

अन्य लेखहरू