गोर्खाल्याण्ड हाम्रो निम्ति नफल्ने बनतरूल सिद्ध भयो

  • 2022-01-17 01:21:14

बी. घिमिरे, बिजनबारी

बन डढ़ेको देखिन्छ है, मन डढ़ेको कसले देख्छ, अचानोको चोटै चोटलाई खुकुरीले कहिले बुझ्छ? यो गीतको पंक्तिले हाम्रो वर्तमानलाई अवश्यनै छोएको छ भनी निःसंकोच भन्न सकिन्छ। हामीमाझ शिक्षाविदहरू पनि छन्‌, साहित्य, संस्कृति, खेल जगत, विज्ञानको फाँटमा पनि अनेकन व्यक्तित्वहरू छन्‌। देश विदेशमा पनि उतिकै ख्याति आर्जन गर्न कोही कसर छाड़ेका छैनन्‌। त्यति हुँदा हुँदै पनि यो देशको माटोमा हामी असली ग्रीन कार्ड होल्डर भएर पनि किन होला हेपिनु पर्ने स्थिति हामीसँग भइरहेको छ। हाम्रो पनि यो देशमा गौरवशाली इतिहास जोड़िएको छ। कर्मले धनी, गरीब बन्न सकिन्छ तर न्याय र सत्यता भने सबैलाई नै चाहिन्छ। हाम्रो निम्ति सत्यको खोज भएको छैन। हामीले पाउनु सक्नु पर्ने नैतिक अधिकारले न्याय पाउन बञ्चित छौं। यो तितो सत्यदेखि कहिले मूक्ति पाउनु पर्ने विषयले हामी नेपाली भाषी गोर्खा जाति समाजलाई सधैं नै मुटुमा घोंचिरहने छ। 

यी सबै कारणहरूले हामीले सामूहिक रूपमा भन्न खोजिरहेका छौं। जुन धरतीमा हाम्रो झोपड़ी ठिंङ्ग उभिएको छ त्यो धरती हाम्रो होस्‌, परदेश लाग्दा लाग्ने विदेशीको लाञ्छना र तिरस्कार मेट्‌न पाए हुन्थ्यो अनि मूल धाराको पानी कस्तो हुन्छ हँ प्यार मेटाउन पाए हुन्थ्यो भन्ने मोटिभ लिएर बंगालबाट अलग भएर छुट्टै राज्य निर्माण गरिनुपर्छ भन्दै युगौंदेखि राजनीतिको आड़मा पटक पटक गर्दै आन्दोलन गर्न अघि बढ्‌यौं। तर हाम्रो आङमा कहिले पनि न्यानो घाम परेन। हिज पनि धनजनको कमिले गर्दा अंग्रेजसँग झुक्नु परेको थियो। समय बित्दै जाँदासम्म पनि न्याय र अधिकारको निम्ति बिरालोले मुसा ढुके झैं ढुक्नु पर्ने हाम्रो स्थिति छ। एकदिन होइन,दुइदिन होइन, शताब्दी पूरा भयो ढुकेको। यसरी शताब्दी बितेर जाँदा आजसम्म शाषणको बग्गी हाँक्ने सारथी (सरकार)-ले बारम्बार आश्वासनको तितो शर्बतको घुँट मात्र पिलाउन सीमित रह्यो। एक चोक्टा गोर्खाल्याण्ड मागेको, मुतको पैह्रो भो शोषणको बग्गी हाँक्ने महारथीहरूलाई। देश स्वतन्त्र भएर यति लामो समयले डाँड़ा काटी सक्दा पनि आजसम्म गोर्खाले मात्र न्याय किन पाउन सकिरहेको छैन भनी सबैको मनको ढुकढुकीमा प्रश्नहरू सल्बलाई रहेको छ सधैं। यस्तै छ यो देशको शासन प्रणाली। देशलाई स्वतन्त्र बनाउने क्रममा गरिएको जनान्दोलनमा सहभागी हुन मात्र होइन अपितु अंग्रेजलाई खेद्‌ने गोर्खा पनि थिए भनी सरकार पक्षलाई ज्ञात भएर पनि हामीप्रति कुटनीति रच्ने गरेका छन्‌ अनि आज यहि कुटनैतिक खेल खेल्न तल्लिन छन्‌। 

हामी सोझा अनभिज्ञ जनतालाई कुटनीतिको मायाजालमा पारेर सरकारले मात्र चाल खेलेका छैनन्‌, यसप्रकारका गेम खेलेर जनतालाई पाइतालामुनी राखेर राजनीतिको जाँतोमा पिस्न पहाड़का नेताहरू पनि कम दोषी छैनन्‌। पहाड़मा आजसम्म रङ्ग-बिरङ्ग राजनीति गर्ने नेताहरू होइन, नेता बन्न रहर गर्नेहरूको लाइन लाग्न थालेको कारण पहाड़मा राजनीतिको मौसम बिग्रिएर गएको हो भनी किटान गर्दै भन्ने परिरहेको छ। पहाड़का राजनीति गर्ने जम्मै ए टू जेड नेताहरू सबै शुद्धि हराएकाहरू मात्र छन्‌। यस्ता राजनैतिक कार्यकर्त्ताहरूको जमातले मूल मुद्दाको बहानामा काम गरेर देखाउनु भन्दा बेसी  ढ्याङ्गो ठटाउने गरेको कारण कुनै काम पनि फत्ते हुन नसक्नु मूलकारक बन्न गएको छ। युगौंदेखि सजाएको गोर्खाल्याण्डको छवी अब हृदयको कुनै पनि पाटाहरूमा हामीले सजाउनु हुँदैन पटक्कै। हुन त हामी साधारण जनता पनि कम दोषी छैनौ। टाटे-पाङ्ग्रे जम्मैलाई नेता ठान्छौं यसो हुँदा यहाँ हामी ठगिनु परिरहेको छ। पहाड़मा आजको शताब्दीसम्म मैं हुँ भन्नेहरू पनि आए, जब्बर स्याँठहरू पनि आए, मान्छेलाई च्वाट्टै पार्नेहरू पनि आए, अनि आजसम्म कसैले पनि गोर्खाल्याण्डको दावीमा दल्लीको संसद भवन र विधानसभा थर्काउने गोर्खे प्रतिनिधि खोई? सबै आफ्नै रोटी सेक्नेहरू मात्र जाति बीच, यसो हुँदा गोर्खाल्याण्ड खड्‌केको फाटेको कोट सरह भएर गएको छ। गोर्खाल्याण्ड संवेदनशील मुद्दा हो। यस विषय वस्तुको हेलचेक्रयार्इं भएको छ यहाँ। इतिहासको पानाहरू पल्टाएर हेर्ने गरूँन। भारतीय संविधान अनुच्छेद 2-ले संसदलाई स्पष्ट रूपमा के अधिकार दिएको छ भने, विधि (नीति) बनाएर संसदले नयाँ राज्यलाई प्रवेश दिन सक्छ वा नयाँ राज्य स्थापना गर्न सक्छ।

स्मरण रहोस्‌ -21 दिसम्बर 1953 मा भारत सरकारले राज्य पुर्नगठन आयोग स्थापना गरेको छ। राज्य पुर्नगठन राष्ट्रिय सुरक्षा, वित्तीय एवं प्रशासनिक आवश्यकता तथा पञ्च वर्षे योेजनाहरूको सफलतालाई ध्यानमा राखी राज्य पुर्नगठन 1956 मा पारित गरिएको छ। यसै राज्य पुर्नगठन अधिनियम अन्तर्गत सन्‌ 1953 मा मूल राज्यबाट निकालेर एक मुष्ठ पारी 1953 मा मद्रासबाट आन्ध्रप्रदेश 1956 मा कर्णाटक, हरियाणा 1966 मा 1960 मा मेघालय, 1987 मा गोवा बनाइएको तथ्य पनि संविधानमा उल्लेख गरिएको पाइन्छ। यसरी पटक पटक गर्दै नयाँ राज्यहरू गठन हुनसक्दा पहाड़का राजनैतिक नेतृत्वहरू कुन दुलोमा पसेका थिए भन्ने विषयमा प्रश्नहरू हाम्रो मष्तिस्क पटलमा दोहोरिरहन्छ बेस्सरी। हाम्रा राजनीति गर्ने ढँटुवारे नेता भनाउँदाहरू वार्तामा बस्न तल्लिन रहन्छन्‌ अनि दिल्ली घुमेर फर्कन्छन्‌। सबै राजनैतिक दलकाहरू एकमुष्ट भएऱ सरकारलाई एउटै आवाज गोर्खाल्याण्डको निम्ति चर्काएको भए आज पनि गोर्खाल्याण्ड ल्याउन सकिन्छ अवश्य। तर विडम्बना भनौं हाम्रा हत्केलाहरूमा भाग्यका चित्र रेखाहरू भाग्य विधाताले नकोरी दिएकोले भनौं, पहाड़मा राजनैतिक शतरञ्जका खेलाड़ी देख्न सके पनि आजसम्म एकमुष्ट हुन नसक्नु हाम्रो कमजोरी मान्न सकिन्छ। हाम्रा नेताहरूमा यहि आचरणले वास गरे कालान्तरमा पनि गोर्खाल्याण्ड हुन सक्दैन भनी निःसंकोच भन्न सकिन्छ। 

पहाड़मा यति बिग्न राजनैतिक दलहरू किन गठन गर्नु आवश्यकता पऱ्यो? यस विषय साधारण जनतालाई पनि चित्त (चित्त) परेको छैन। जति दलहरू गठन गरे पनि सुर न तालको भएपछि जनतालाई अन्योलताको  घेराभित्र राख्न सिवाय केही देखिएन। यी सबै निराशाजनक तथ्यहरू, बुझेर  ल्याउँदा गोर्खाल्याम्ड नफल्ने बनतरूल सिद्ध भयो भनी मान्न सकिन्छ।

अन्य लेखहरू