आश्वासनको छहारीमुनि ओइलाएका चियाबारीहरू

  • 2022-01-16 20:43:08

डी.बी. चामलिङ भू.पू.स.

सैनिकपुरी, खपरेल

बिहान उठेपछि प्रायः सबैको पहिलो खुराक हो एक कप चिया, चियाको एक घुट नलगाएसम्म भनौं निन्द्रा नै खुल्दैन। यो चिया एक किसिमको निन्द्रा भगाउने औषधी नै हो। संसारभरि जति पनि मानिसहरू छन्‌ धनी होस्‌ वा गरीब सबैले नै चियाको सेवन गर्ने गरेका छन्‌। जसरी हामीले अन्नबालीको खेती लगाउँछौं चियाको खेती पनि खेती नै हो।  विशेष गरि हाम्रो देश भारतमा केवल पाँचवटा ठाउँमा चियाको खेती गरिन्छ, केराला, देहारादुन, छत्तिसगढ़, आसाम र हाम्रो दार्जीलिङमा। दार्जीलिङको चिया खेती सबैभन्दा पुरानो खेती हो, यसको उमेरले दुइसय वर्ष टेक्न आँट्यो। डा.अरथुर क्यामवेल नाम भएका व्यक्तिले सन्‌ 1841 मा चिया खेती हाम्रो दार्जीलिङमा शुरू गरेको हो। 

हाम्रो पितापूर्खाहरूले युगौंदेखि दुइपात एकसुइरो टिपेर आफ्नो जीवनलीला समाप्त गरे गए। जमिन खनेर हेऱ्यौं भने पहाड़भरि नै उनिहरूको हड्डीखुट्टी पाइन्छ। उनीहरू गएपछि दुइपात एकसुइरो टिप्ने जिम्मा हामीहरूले लिएका छौं। दुइसय वर्ष कम्ति हैन, यति लामो अवधिभरि हामीले कतिवटा दुइपात एकसुइरो टिप्यौं होला, पानीले भिझेर कतिपल्ट ज्वरो पनि आयो होला, हातको औंलीहरूको नङले जवानी देख्नु पाएन सधैंभरि ठुट्टै। यत्रोविघ्न संघर्षहरू झेल्दा पनि हामीले के पायौं र? न हामी भने जस्तो घर बनाएर बस्न सक्यौं न हाम्रो लागि चिकित्सा सुविधा नै छ। हामी श्रमिकहरू धोबीका धोबी हजामको हजाम जस्तो थियौं आज पनि त्यस्तै नै छौं।  दार्जीलिङको चिया विश्वविख्यात चिया हो भनेर सारा संसारकाहरूले भन्छन्‌ साथै अन्तर्राष्ट्रिय पत्रिकाहरूमा पनि लेखिएको हुन्छन्‌। तर अफशोस विश्व विख्यात चिया तयार पार्ने श्रमिकहरूलाई न देशले चिन्छ न देशका नेताहरूले चिन्छ। चियाकै सन्दर्भमा दुइ हजार चौधमा ब्राजिल देशमा विश्वकप फुटबल भएको हो, फुटबल पुरा एक महिनाभरि चल्यो। त्यो एक महिनाभरि नै हाम्रो दार्जीलिङको चियाको दबदबा रह्यो। त्यहाँबाट नै थाहा लाग्छ कि हामीले तयार पारेको चिया विश्वकाहरूले कति मन पुराउँदो रहेछ भनेर। विदेशमा पुगेर हाम्रो चिया कतिमा विक्छ सोध्ने हिम्मत कसैकोमा हुँदैन, फलस्वरूप आज पनि हामीहरू उहिलेकै हाजिरामा भुलिरहेछौं।

हाम्रो दार्जीलिङ पहाड़मा वर्षमा दुइपल्ट सिजन लाग्छ अक्टोबर-नोभेम्बर अनि मार्च-अप्रेलमा। यी दुइवटा सिजनमा देशी र विदेशी पर्यटकहरूको आगमन अति नै मात्रामा हुन्छन्‌। सिलगढ़ीदेखि नै पर्यटकहरूले हरियालीको आनन्द लिँदै दार्जीलिङ पुग्छन्‌। कतिजना मिरिक भएर जान्छन्‌ भने कतिजना खरसाङ भएर। हरियो अनि कलकलाउँदो चियाको गाछहरू देखेर पर्यटकहरू आनन्दविभोर हुन्छन्‌। हाम्रो माटो भइसकेका पितापूर्खाहरूले दश नङ्‌ग्रा खियाएर सिंगारेको यति सुन्दर चियाबारीलाई हेरेर ती पर्यटकहरूले हाम्रा पूर्वजहरूप्रति समवेदना पोख्छ पहाड़मा पर्यटकहरू खाली हात आउँदैन नोटको बिटा बोकेर आएका हुन्छन्‌ अनि ती नोटको बिटाहरू फर्काएर पनि लाँदैनन्‌। ती बिटाहरू होटलको मालिक, गाड़ीको मालिक अनि अन्य बिक्रेताहरूको गोजीमा पस्छ भने त्यसको केही भाग राजस्वको रूपमा सरकारलाई दिन्छ। तर खै चिया श्रमिकरूलाई जसले पर्यटकहरूको लागि यति सुन्दर चियाबारी बनाइदियो। यदि हरियो पहेंलो चिया गाछले पहाड़लाई नढाकिदिएको भए यति बिघ्न पर्यटकहरू भित्रिन्थ्यो र? बिटाको बिटा नोट थापेर होटलको मालिक, गाड़ीको मालिक र अन्य बिक्रेताहरू मिलेर केही पैसा चिया श्रमिकहरूलाई पनि बोनसको रूपमा दिँदा खेरो त नजानु पर्ने। दार्जीलिङ पहाड़लाई पहाड़की रानी भन्छौं, तर आकाश छुने बिल्डिङहरू मात्र बनाएर पहाड़की रानी भन्नु सुहाएको जस्तो लाग्दैन जबसम्म प्राकृतिक सुन्दरताले ढाकेको हुँदैन। पहाड़की रानीकी सुन्दरता तबसम्म रहन्छ जबसम्म चियाबारीको हरियाली बस्छ। बत्तीसमा बत्तीस लक्षणले भरिएको पहाड़को चियाबारीलाई कुन ग्रहले सताउनु थालेको छ हिजाज सुस्ताउनु थालेको छ। हाम्रो लापरवाहीले हो या प्रबन्धकको ढिलाईपनले हो वा प्राकृतिक आपदाहरूले हो पहिलेको जस्तो फसल छैन, त्यहीमाथि कतिवटा चियाबगानहरू कयौं समयदेखि बन्दावस्थामा छन्‌। नेताहरू आउँछन्‌ केवल आश्वासनहरू दिएर जान्छन्‌ तर बगान खोलिने भने। जिन्दगीभरि चियाबारीमाथि आस्था राख्ने चिया श्रमिकहरू कुन अवस्थामा होलान्‌, नानीहरूको पढ़एाइ लिखाई तिनीहरूको लालनपालन के कसो न नेताहरूलाई चिलाई न बगान मालिकलाई कनाई। 

गोर्खाहरूको मुख्य चाड़ हो दशैं। यो चाड़ सारा भारतवासीले नै मनाउँछन्‌। तर गोर्खाहरूमा यो चाड़को अलग्गै विशेषता छ। उधारो भए पनि नानीहरूलाई लुगाफाटा लगाइदिने चलन छ। दशैंको छेकमा चिया श्रमिकहरूलाई बोनस दिने प्रथा पहिलेबाट चल्दै आएको छ। तर बोनस पाउनु दुइतीन पहिलादेखि नै हाम्रो गोर्खे नेताहरू सक्रिय हुनु थाल्छन्‌। विषय हुन्छ बीस प्रतिशत बोनस। नेताहरूको भागा र भाग चल्छ। एउटा पार्टी मात्र आए त कतै श्रमिकहरूलाई विश्वास पनि हुने थियो होला, तर त्यसो हैन लुला लगड़ा सबै नेताहरू आश्वासनको पोकाहरू बोकेर घरदैलोमा पुग्छन्‌। जतिकै भाषण दिए पनि गोर्खे नेताहरूको दाल गल्दैन किनकि बोनस राख्ने बक्साको चाबी चिया बगान मालिकको हुन्छ। गोर्खे नेताहरूको हातमा केवल आश्वासनको चाबी हुन्छ त्यही कारणले होला श्रमिकहरूको घरमा गयौं भने सबैकोमा आश्वासनको पोकाहरू मात्र लड़ाइराखेका हुन्छन्‌। 

हाम्रो देश भारत एउटा लोकतान्त्रिक देश भएकोले गर्दा प्रायः नै भोट माग्ने र भोट हाल्ने प्रक्रिया चलिनै रहन्छ, त्यसैक्रममा दुइहजार चौधमा लोकसभा चुनाउ भएको हो। त्यस समयको चुनाउ अति नै उचारचड़ाउको चुनाउ थियो। त्यस चुनाउमा गोर्खाहरूको मुख्य मुद्दा थियो गोर्खाल्याण्ड। त्यही मुद्दाको आड़मा हाम्रो आगनमै हेभिभन्दा हेभिवेट नेताहरू पधार्नु भएको थियो अतिथि देव भव भनेजस्तो पाहुनापात आउँदा वहाँहरूको सत्कार गर्नु एउटा स्वभाविक कुरा हो केही नभए पनि चियाचमेना त हुनै पऱ्यो। त्यही चियाचमेनाको क्रममा पहाड़को सिधासादा श्रमिकहरूले तयार पारेको चियाको घुटकी लिँदै एकजना हेभिवेट नेताले आश्वासन दिनु भएको थियो कि चिया कमान र चिया श्रमिकहरूको लागि एउटा छुट्टै चिया मन्त्रालय बनाउँछु भनेर। यसरी मन्त्रीज्यूले पनि सोझो गोर्खाहरूको अघि अझै ठूलो आश्वासनको पोका राखिदिए। यत्रो ठूलो आश्वासनको पोका देखेर चिया श्रमिकहरूको छात्तीको गोलाई छप्पन इन्चसम्म पुगेको थियो।  अहिले सातवर्ष बितेर गयो अनि छप्पन इन्चसम्म फुलिएको श्रमिकहरूको छात्ती पनि खुम्चिएर छत्तिसमा झरेको छ। यत्रोविघ्न अवधिभरी न मन्त्रालय बनियो न मन्त्रीज्यू नै फर्केर आयो। हाम्रो पहाड़को अधिकांश चियाबारीहरू गोर्खे नेताहरूको र मन्त्रीज्यूको दिएको आश्वासनको छहारीमुनि दिनोदिन ओइलाउँदै गइरहेछन्‌। संसद भवनभित्र मन्त्रीहरूको क्याबिनेट बैठक चल्छ त्यस बैठकमा हाम्रै श्रमिकहरूले पानीझरि नभनी टन्टलापुर घामको प्रकोप सहेर तयार पारेको चियाको चुस्कि लिँदै धनराशीको आवण्टन हुन्छ, कृषि मन्त्रालयलाई पति करोड़, रेल मन्त्रालयलाई यदि अरब शिक्षा मन्त्रालयलाई पनि करोड़ ओगेरा-बोगेरा। तर त्यस बैठकमा चिया श्रमिकहरूको धनराशीको त कुरै नगरौ बोलिदिने पनि हुँदैन।  चिया श्रमिकहरूको भाग्य लेख्ने बिधाता चाहिँ कस्तो थियो होला। चिया कमानमा जन्म लिनु नै ठूलो अभिशाप रहेछ। प्राकृतिक आपदाहरूले श्रमिकहरूलाई नै क्षति पुऱ्याउँछ भने नेताहरू र मन्त्रीमहोदयहरूले पनि त्यतिकै शोषण गरिरहेका हुन्छन्‌। तर पनि हताश नभई बसौ एकदिन त अवश्यनै चिया श्रमिकहरूको आङमा पनि घाम लाग्ला। 

जय गोर्खा जय श्रमिक।

अन्य लेखहरू