पिपिएस अनि अलग राज्य कहिले हुने?

  • 2022-01-15 19:42:14

शुशिल प्रधान, बाघडुग्रा

 हिँड्‌दा हिँड्‌दा 2021 भयो। कति रगत बहायौं कति ज्यान गुमायौं कति सपना लूटायौं। बल्ल-बल्ल हाम्रो भारतको राज्य र केन्द्र सरकार दुवै गोर्खाहरुको निम्ति पिपिएस (झझड) स्थायी राजनैतिक समाधान(शिीारपशपीं िेश्रळींळलरश्र ीरर्श्रीींळेप) दिन्छु भन्दैछ। सायद बुझेकै हो कि गोर्खाहरुको माग । सायद गर्न चाहेकै हो कि गोर्खाको सम्मान।  तर हाम्रो माग पूरा गर्नु अघि अनि हामीलाई सम्मान दिनु अघि राम्ररी बुझेको राम्रो राज्य अनि केन्द्र दुवैले कि  हाम्रो (गोर्खाको) निम्ति  पिपिएस हो भारत वर्ष भित्र अलग गोर्खा राज्य। यो हामी भारतीय गोर्खाहरुको स्पष्ट माग हो, यसमा कसैको दुईमत छैन। अब सरकारले मुख खोल्नुपर्छ। कुरो स्पष्ट छ।

भारतीय सरकारहरूले हामीलाई स-सानो व्यवस्थाहरु दिई धेरै प्रयोगहरू गरिसके अनि हामीले पनि सहयोग गऱ्यौं। वर्ष 1986-87 को रक्तपातको आन्दोलन पछि केन्द्रको उपस्तिथिमा पश्चिम बंगाल राज्यले दागोपाप (ऊॠकउ) थमायो। हाम्रो नेता स्व. सुवास घिसिङज्यूले यसलाई डमरुको रूपमा 1988 मा ग्रहण गरे। तर 20 वर्षमा पनि डमरु बढ़ेेर बाघ नहुँदा गोर्खा फेरि रिसले चुर भएर अर्को नेता बिमल गुरुङको नेतृत्वमा आन्दोलनमा उत्रिनु बाध्य भए। यसपटक पनि रगत बग्यो तर एकार्कामा लड़ेर होइन प्रशासनसित लड़ेर। 2007 मा शुरु भएको त्यो आन्दोलन 2011 मा गएर अर्को व्यवस्था गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (ॠढअ) मा फेरि राज्य सरकारले शान्त गरायो। यो प्रयोग पनि हाम्रो नेताहरुले मान्यो। तर यसपटक राज्य सरकारले पहिले 1988 को सरकारले जस्तो खुल्ला रुपले आफ्नो मर्जिले पहाड़को वयवस्था चलाउन दिएन। घरि-घरि पहाड़ चढ्‌दै जिस्काई बस्दा परिणाम भयंकर भएर गयो अनि 2017-मा पुन: दार्जीलिङ पहाड़ तातियो। जसलाई दबाउन बंगाल सरकारले साम-दाम-दण्ड भेद सबै अप्नायो। अत्याचार गर्नु गऱ्यो। यहाँ सम्म कि यूएपिए धारा (आतंकवादी) पनि लगायो। दिनमै खुल्लम खुल्ला गोलि ठोक्यो। इन्टरनेट सबै बन्द, हाम्रो पक्षको मिडिया बन्द। डराएर नै शान्त गरायो। त्यसपछि हाम्रो मुद्दा हरायो। मुख्य नेतृत्व विस्थापित सहयोगिहरू राज्यसित हात मिलाएर राज गर्न थाले। सबै लथालिङ्ग भयो।

यस्तैमा फेरि 2019 लोकसभा चुनाव आयो। दार्जीलिङ - कालेबुङ अनि डुवर्सवासी राज्य सरकारलाई मजा चखाउने मौकामा थिए। भूमी पुत्रको माग उठ्यो अनि दार्जीलिङबाट भाजपालाई फेरि सघाउदै भूमिपुत्र नभाए पनि गोर्खापुत्र उम्मेदवार राजु विष्ट अनि डुवर्सबाट जोन बारला उठाइयो। प्रस्तावित राज्यको जनता (गोर्खाहरू)-ले फेरि आफ्नो मत स्पष्ट रूपले राख्दै , हामीलाई चाहिएको अलग राज्यको सन्देश दिंँदै अनि राज्य सरकारलाई थप्पड़ लाउने उद्देश्यले भाजपा उम्मेदवारहरुलाई भारी मतले विजय बनायो।

त्यो मत विकासको लागि थिएन, न त सांसदको लागि थियो त मात्र अलग गोर्खा राज्य निर्माणको लागि। कारण हामी गोर्खाहरूको ठूलो आस्था थियो भाजपा माथी। तर त्यो आस्थामाथी एक पाइला पनि हालसम्म नचालेको हामीले बुज्दैछौं आज। लगातार तीन पटक बहुमतले जिताउदा पनि, बंगालमा भाजपाको यात्रा शुरू गराउदा पनि अनि यो दलको लगातार दुइ पटक सरकार आउँदा पनि हाम्रो मुद्दालाई किन सहानुभूतिले हेरेन?  अब यसको कारणहरु खुट्यानतिर लागौं:-

1. हाम्रै नेतृत्वहरुको कमजोरी- बंगाल सरकार र केन्द्र सरकार अनि गोर्खा राज्य विरोधीहरूलाई जति नै गाली गरे पनि यो कटु सत्य हो कि हाम्रो मुद्दा पार नलाग्नुमा पहिलो कारक हाम्रै नेतृत्वहरू हो। 86 मा स्व. सुवास घिसिङलाई भनौं या 2007 मा बिमल गुरुङलाई दुवै नेताहरुलाई आँखा चिम्लेर साथ दिएकै हो। जे भन्यो त्यै गरेकै हो। अपार जन-समर्थन दिएकै हो। तर दुवै नेताहरू प्रलोभनमा परेर गोर्खा जातीलाई भड्‌खालोमा हालेको हो। हामी  जनता थाकेको थिएनौं (छैनौं), हारेको थिएनौं(छैनौं)। थाकेको र हारेको हो त हाम्रै नेताहरू। मुख्य दल बाहेक गोर्खाका अन्य दलहरु त झन खै कताको यात्री हो हो। किन हो किन स्वयंलाई विपक्षी पो बनायो। सबैको आकांक्षा अलग राज्य त यहाँ विपक्ष चैं कसको र किन? तरिका अलग-अलग हुन सक्छ तर बाटो त एउटै हो नि। तर होइन उनिहरु त जन समर्थन भएको दलको विरोधी भएर पो कार्य गर्न थाले। स्वयंलाई विपक्षी मान्न थाले। अरे! विपक्षि त राज्य सरकार र गोर्खा राज्य विरोधी दलहरुको हुनु पर्ने होइन र? यहि हाम्रो नेतृत्व गर्ने राजनैतिक दलहरुको आपस्तको लड़ाइँको कारणले पनि सरकारहरुले हाम्रो कमजोरी देख्यो अनि हामीसित खेल शुरू गऱ्यो। हाम्रो नेतृत्वहरुलाई जसरी चाह्यो त्यसरी नचाउन थाल्यो। अझै नाचिरहेको छ, घरी केन्द्रको तालमा घरी राज्यको तालमा। लड्डुले मात्रै काम चलिहाल्छ भने बत्तिस परिकारको व्यञ्जन किन चखाउने होइन?

 2. देशको सुरक्षा र फाईदा- हाम्रो नेताहरुले हामीलाई भावनामा बगाउने मात्रै काम गऱ्यो। अर्थात हाम्रो भावनासित खेल्ने काम मात्रै गऱ्यो। तर सरकारसित मेञ्चमा के कुरा राख्नु पर्ने त्यो माथि कामै गरेन। एउटा सिंघो राज्यको माग गर्दै छौं त हामी हाम्रो साथमा देशहितको कुरा पनि राख्न सक्नु पऱ्यो नि। भोलि राज्य भएको खण्डमा हाम्रो राज्यले देशलाई के-के फाईदा दिनेछ, अर्थात यो राज्य निर्माण भए देशलाई कतिको फरक पर्नेछ त्यो बताउन सक्नु पऱ्यो। साथै हाम्रो प्रस्तावित गोर्खा राज्यको क्षेत्र एउटा संवेदनशील खण्डमा पर्छ, जसलाई ‘चिकन नेक’ पनि भनिन्छ, तब गोर्खा राज्यले देशको सुरक्षामा कस्तो भूमिका निभाउन सक्छ त्यो विषयमा हाम्रो नेतृत्वहरु गम्भीर नै भएन। अलि गम्भीर भएर सरकारसित बातचीत गर्नु पर्ने थियो। तर हाम्रो नेताहरु यतातिर अर्कै अनि दिल्लीतिर अर्कै कुरो गर्दो रहेछ, कसरी हुने। व्यर्थ मैं वार्ता सफल कुरा हाम्रो पक्षमा भन्दै हिमालय दर्पणको पहिलो पत्ता भर्ने काम मात्रै गरे।

 3. तेस्रो अनि अहम कारण, राजनैतिक दलको फाईदा -  भारतीय राजनीतिको हाल यो छ कि भारतको सबै पार्टीहरु देशहित बादमा पहिले आफ्नो र आफ्नो राजनैतिक पार्टीको फाईदा हेर्ने गर्छ। कुनै बिल संसदमा ल्याउन अघि, कुनै नियम-कानून बनाउन अघि, कुनै पनि काम गर्नु अघि आफ्नो पार्टीलाई के के लाभ हुनेछ त्यो पहिला खोजने गर्छ। झन नयाँ राज्य बनाउन अघि त राज्य माग्ने र देशलाई पर सारेर भोलिको दिनमा त्यो नयाँ राज्यबाट कतिवटा विधायक र सांसद पाउन सकिने छ त्यो माथि विशेष ध्यान दिने गर्दछ। जम्मू-काश्मिरलाई आफ्नो मर्जिले कसैलाई नसोधी दुई भाग गरिदिए, किन? कारण ती दुई राज्य (वर्तमानमा केन्द्र शासित) बाट  6वटा सांसद र 95 जना जस्तो विधायक पाइने छ। तेलेंगाना बनियो त्यहाँ 120 जना विधायक अनि 17 जना सांसद छन्‌। हेरौं त एउटा राष्ट्र चलाउने राजनैतिक दललाई कति लाभकारी छ यो क्षेत्रहरू।  अब हामी गोर्खाहरूको प्रस्तावित अलग राज्यको क्षेत्रबाट कतिवटा सांसद र विधायक हुनेछ।2 वटा सांसद अनि 8 वटा विधायक।  गोर्खा राज्य निर्माण भए राजनैतिक दृष्टिकोणले दिने राजनैतिक दललाई त्यति फाईदा छैन। त्यसैले हुन सक्छ उत्तर बंगाल ताकेको वर्तमान भाजपा सरकारले। कारण बंगाल कब्जा गर्नु सकेन, त्यसैले बंगाल दुइ भाग गरौं अनि राज गरौं।

परिणाम- तब के हाम्रो सपना, हाम्रो चिन्हारी अलग गोर्खा राज्य हुँदैन त? हुन्छ नि अवश्य हुन्छ तर संविधानको आर्टिकल-क अन्तर्गत हामीलाई राज्य दिनै पर्छ भनेर मात्र हुँदैन।  यसको निमित्त सबै भन्दा पहिले त हाम्रो नेतृत्व, संघ-संस्था अनि व्यक्ति विशेषगण एक मञ्चमा आएर विजय यात्राको निम्ति एक सूत्रमा बाँधिन पऱ्यो। वर्तमान भाजपा सरकारको विरुद्ध एक समयको कट्टर विरोधीहरू त आज एक ठाउँ भेला भएर गठबन्धन बनाउन सक्छ भने हाम्रो गोर्खा राजनैतिक दल र व्यक्ति विशेषहरु एक ठाउँ भेला हुन किन नसक्नु। यदि एउटै मालामा गाँसिएर एक लहरले एउटै बाटो हिँड्‌न नसके फेरि सानो व्यवस्था आउनेछ त्यहि पहाडको तीन थुम्काको निम्ति।  तसर्थ, विजय मन्त्र एउटै मात्र एकता।

त्यसपछि, एकतामा बाँधिएको त्यो बलियो बथान सम्पूर्ण खेस्राहरू तयार पारी दिल्ली धावा बोल्न अघि बढ़नु पऱ्यो। दिल्लीमा नहारी, नथाकी, हरेश नखाई दिनरात मेहनत गरि यताउता सबैलाई भेट गरि जाल बुन्नु पऱ्यो। संविधानको कुरो गर्नु पऱ्यो, न्यायको कुरो गर्नु पऱ्यो, अवहेलनाको कुरा गर्नु पऱ्यो, इतिहासको कुरा गर्नु पऱ्यो, देश निर्माणमा गोर्खाको योगदानको कुरा गर्नु पऱ्यो, भारतमा हाम्रो स्थितिको कुरा गर्नु पऱ्यो, बंगालमा हामीलाई हेपाईको कुरा गर्नु पऱ्यो, भावनाको कुरा गर्नु पऱ्यो, गोर्खा पल्टनको कुरा गर्नु पऱ्यो, चियाबारीको कुरा गर्नु पऱ्यो, अनि भाजपालाई हामीले दिएको साथ र समर्थनको कुरा गर्नु पऱ्यो। फोटो खिचाउने काम मात्रै गर्नु भएन, फण्ड माग्ने काम गर्नु भएन, डेभलपमेन्टको माग गर्नु भएन, दार्जिलिङ पहाडको मात्रै कुरा गर्नु भएन। कुरा दस वटा होस तर भेंडा झैं माग एकोहोरो एउटै, अलगराज्य।

यदि सरकार मान्दै मान्दैन, हाम्रो कुरा सुन्दै सुन्दैन भने अन्तमा धम्काउनु पनि सक्नु पऱ्यो। ‘एउटा काश्मिर शान्त भयो अर्को नजन्मियोस’, भन्न सक्नु पऱ्यो। धनाड्य भएर होटलमा होइन माग्ने भएर सड़कमा सुत्नु सक्नु पऱ्यो। फेसियल गरेर चिल्लो होइन घामले डड़ाएर काल्लै गाला बनाउन पऱ्यो। कसरी नहुँदो रहेछ हाम्रो राज्य।

 यति गर्न सकिन्छ? यदि सकिन्छ भने इन्द्रेको बाउ चन्द्रेले पनि हाम्रो राज्य बनिन रोक्न सक्दैन। समय सठिक छ, सदुपयोग गरौं। लू लागि परौं।

 

अन्य लेखहरू