उम्दा उद्यमी - उमेश अधिकारी

  • 2024-03-18 20:19:33
==>

-कृष्ण बस्नेत, महेशमारी, चम्पासरी

ऊे पेीं र्गीवसश ाश लू ाूर् ीीललशीी, 

र्गीवसश ाश लू हेु ारपू ींळाशी ख षशश्रश्र वेुप 

रपव सेीं लरलज्ञर्-ीि रसरळप - छशश्रीेप चरपवशश्रर.

धेर पढ़ालेखा पनि होइनन्‌ केवaल कक्षा आठसम्म मात्र पढ़ेका। कुनै विशेष कला वा सीप भएका पनि होइनन्‌। कुनै पूँजीवालका छोरा पनि होइनन्‌। गाई बस्तु पालेर जीवीकोपार्जन गर्ने बस्तीको एउटा साधारण परिवारमा जन्म लिएका एक साधारण केटो। 

उनी आज सुन्दर अनि भव्य महल झैं घरमा बस्छन्‌, मोटर गाड़ी चढ़ेर हिँड्‌छन्‌। पन्ध्र-बीसजना स्टाफको घर संसार चलाउँछन्‌। यो तर कुनै चमत्कारले भएको होइन। लटरी लागेर पनि होइन। सानोभन्दा सानो कामलाई पनि ठूलो ठानेर, त्यसलाई गम्भीरताले लिएर समर्पित भावले लागिपर्ने अनि नयाँ-नयाँ कुरो सिक्न चाहने उनको जिज्ञासु प्रवृति नै हो उनको यहाँसम्मको सफलताको राज। यस्ता अथक परिश्रमी, व्यावसायिक मस्तिष्कका धनी एक उम्दा उद्यमीको नाम हो श्री उमेश अधिकारी। 

सानोमा यिनले पाउनसम्मको दुःख पाए। सन्‌ 1979 मा महेशमारी मिलनमोड़मा तेस्रो सन्तानको रूपमा यिनको जन्म भयो। 1974 तिर यिनका पिता धर्मानन्द अधिकारी र माता मिना कुमारी अधिकारी जेठो छोरो गोविन्द अनि माइलोे छोरो योगेशलाई काखी च्यापी मुगलान पसेका थिए। नयाँ ठाउँमा अनभिज्ञ माता-पिता दुवै आफ्ना परिजन कहाँ नयाँ कमान मोहर गाउँ पुगे। माता पत्ती टिप्न थालिन्‌। पुर्खौदेखि गाई-वस्तु, खेतीपाती गर्दै आएका उनलाई पत्ती टिप्नेे काम गाह्रो भयो। त्यसपछि मिलनमोड़ क्षेत्रमा केही वर्ष अर्काको जमीनमा छाप्रो हाली बसेपछि महेशमारीमा आफ्नै थोरै जमीन किनी बसाइँ सरे, यहीँ सन्‌ 1979 मा तेस्रो सन्तानको रूपमा जन्मे भविष्यका उम्दा व्यापारी उमेश अधिकारी।

निरक्षर माता-पिताका जीवन धान्ने श्रोत खेतीपाती र पशुपालन नै प्रमुख थिए। आफ्नो खेतीले मात्र हम्मे पर्दा अधियारी पनि कमाएका थिए। दुःखै गरेर पनि बालक उमेशलाई सीसाबारी प्राइमेरी स्कूलमा दाखिला गराए। गाउँका ठूला बड़ा आफन्तजन सिलगढ़ी टाउनमा गई पढ्‌न थालेपछि सन्‌ 1986 तिर 7 वर्षको उमेरमा उनलाई पनि माता पिताले सिलगढ़ीको भानुभक्त स्कूलमा भर्ना गराए। तिनताक गाड़ी घोड़ाको सुविधा थिएन ठूलाहरूका साथ लागी हिँड़ेर उनी सिलगढ़ी पुग्थे स्कूल पढ्‌न। बाटोमा एउटा काठको पूल तर्न पर्थ्यो। बर्खामा एकदिन खोला बढ़ेर पूल भत्कायो। बेलुकी स्कूलबाट फर्कंदा ठूलाहरू त जसो तसो पार भए तर उनी पार हुनसकेनन्‌। रातभरि एक्लै पुस्तकको ब्याग सिरानी हाली पारि नै सुते। माता-पिता लिन आए पनि केही गर्न सकेनन्‌ लाचार भए तर छोरोको आँट र साहस देखेर तीनछक परे। 

7-8 वर्षको कलिलो केटोको बिजोग सम्झी माता-पिताले यिनलाई फेरि गाउँकै स्कूलमा भर्ना गराए। घरमा मुख्य आयश्रोत पशुपालन र खेतीपाती नै रहेकोले यिनका दुवै दाजुहरू गाइ-बस्तु बारीको स्याहारमै व्यस्त बने पढ्‌ने अवसर पाएनन्‌। केही दिन स्कूलमा भर्ना त भए तर पढ्‌ने उस्तो चासो पनि देखाएनन्‌। माता-पितालाई छोरो उमेशप्रति भने ‘केही गर्छ’ भन्ने विश्वास जागेको थियो कारण उमेशमा बालकपनमै त्यो तीक्ष्णता, त्यो लक्षण उनीहरूले देखिसकेका थिए। जोन मिल्टन भन्छन्‌ ‘‘बिहानले दिनको सङ्‌केत गरे झैं बालकपनले उसको भविष्य चियाउँछ।’’

श्री उमेश अधिकारी सानैदेखि जाँगरिला, फूर्तिला, मेहनती र चनाखो थिए। 11 वर्षको उमेरमा घरमा गाइ दुहुनका साथै गाउँतिर पनि दूध दुहिदिन जान्थे र आफ्नो ‘पकेट खर्च’ निकाल्थे। घरको दूध ठिकामा बाँड़न जाँदा गाउँका दूध पनि बोकेर लान्थे र अतिरिक्त कमाइ गर्थे। यसरी सानैमा यिनको व्यापारिक मस्तिष्क देखेर बाबु-आमालाई यिनीप्रति विशेष भरोसा लागेको थियो। गाउँका परमानन्द नेपाली स्कूलमा कक्षा 7 पास गरेपछि घरमा एउटा समस्या देखापऱ्यो। दैनिक आई घरबाट दूध लाने ‘ग्वाला’ अचानक आउन बन्द गऱ्यो। दूधले नै घर धान्ने परिवारको निम्ति यो एउटा ठूलो समस्या थियो।  यसबेला 11 वर्षका श्री उमेशले परिवारलाई हिम्मत दिँदै ‘आफ्नो पढ़ाई’ र ‘पारिवारिक जीवनको लड़ार्इंर्’ एकसाथ आफूले वहन गर्ने निर्णय लिए। गाउँको स्कूल छोड़ी कक्षा आठ सिलगढ़ीको डा.आइ.बी.थापा स्कूलमा दाखिला लिए र उतै घरको दूध बोकी आफै बेच्न पनि थाले। माता-पिता दुवै झिस्‌मिसेमै दाउरा खोज्न जङ्गल पस्थे। दुवै दाइ गाई वस्तु गोबर घाँसमा व्यस्त रहन्थे। श्री उमेश प्रातः 3 बजी नै उठी परिवारको निम्ति खाना तयार पारी, खाएर, 6 बजी दूधको क्यान र स्कूलको व्याग बोकी सिलगढ़ी हिँड़ेर पुग्थे। प्रधाननगर वरपर दूध बाँड़ी कुनै एक घरमा दूधको क्यान राखेर स्कूल जान्थे अनि बेलुकी क्यान र ब्याग बोकेर हिँड़ेरै घर पर्खन्थे। एक वर्षसम्म यिनले यसरी कष्ट गरे। घरको दूध सँग-सँगै गाउँघरको दूध पनि बोकेर लाँदा यिनको दूधको ग्राहक बढ्‌दै गयो। सबै ग्राहकलाई दूध बा़ँडेर यिनलाई स्कूल समयमा पुग्न गाह्रो भयो। घर परिवार धान्न ‘दूध’ नै मुख्य आयश्रोत रहेकोले यिनले परिवारको निम्ति पढ़ाइ छोड़े। यसरी कक्षा आठपछि यिनी पूर्णतया व्यापारमा लागे भनौं केवल 12 वर्षको उमेरमा यिनी पूर्ण व्यापारी भए। व्यापारमा यिनको मस्तिष्क यति धेर चल्थ्यो कि ठूलाहरू पनि फेल खान्थे। घरको दूध र गाउँको दूध बोक्नका साथै यिनी दही, घ्यू, गाउँ-बस्तीका हरिया साग-सब्जी पनि बेच्न लान्थे। कलिलै उमेरमा यिनी घर धान्ने अभिभावक बने। अतिरिक्त आयले भनौं आफ्नो कमाइले सन्‌ 1993 मा 13 वर्षको उमेरमा यिनले प्रथमचोटि एउटा साइकल किने। साइकल किनेर समयको वचत हुनथालेपछि यो समयलाई पनि सदुपयोग गर्न आफ्नै पाराले कुखुरा पनि पाल्न थाले। धान पाकेको मौसममा सस्तोमा धान किनी कुटाएर चामल पनि टाउनतिर लगेर बिक्री गर्थे यिनी। धान, चामल, दूध, दही, घ्यू, कुखुरा, अण्डा, साग-सब्जी जे-जे पाए सबै लगेर टाउनमा बिक्री गर्थे आफैं। बेलुकी घर फर्केर आएपछि फेरि आफैं घाँस काट्‌न पनि जान्थे यिनी। बेलुकीको दूध बोकेर फेरि निस्कन्थे ठिकामा पुऱ्याउन। काम गरेर कहिल्यै नथाक्ने श्री उमेश अधिकारी कुनै कामलाई पनि सानो ठान्दैन थिए, केही गर्न पनि लाज मान्दैन थिए। 

सन्‌ 1995 मा ठूल्दाईले बिहे गरी अलग्गिए पछि घरको कामको चाप यिनीमाथि अझ बढ्‌यो। माता-पिता घाँस-दाउरा, ग्वालीकै काममा व्यस्त रहँदा श्री उमेश अधिकारी सबैको खाना तयारी गर्नका साथै घर लिपपोत गर्ने, माता-पिताका कपड़ा धुने आदि यावत काम स्वयं भ्याएर फेरि दूध बोकेर निस्कन्थे ठिकामा बाँड्‌न। यसरी कलिलै उमेरमा उनी घरका अभिभावक, घरका जिम्मेवार छोरा, घरकी कर्तव्यपरायण छोरी सबै बने। यिनै परिस्थितिहरूले श्री अधिकारीलाई अझ कर्मशील, अनुभवी र परिपक्व बनायो। घरको र बाहिरको दुवै काममा सामञ्जस्यता मिलाउन गाह्रो बन्दै जाँदा सन्‌ 1998 मा श्री अधिकारीले नेपाल धाइजनबाट हिमा अधिकारीलाई बिहे गरी भित्र्याए। सन्‌ 2000 मा छोरो महेशको जन्म भयो। बिहे गरेपछि घर खर्च झन्‌ बढ्‌यो। गाइ थाकेका बेला दूध कम हुनाले आय पनि कम हुन्थ्यो। साग-सब्जी पनि मौसममा मात्र हुने। अतः घर खर्चको घटबढ़मा तालमेल मिलाउन यिनी आफ्नो दूधको व्यापार साथसाथै मासिक वेतन आउने एउटा कामको पनि खोजीमा लागे। नभन्दै नानीको न्वारानकै दिन सिलगढ़ीको एउटा होटलमा ‘सेक्यूरिटी गार्ड’-को काम पाए। उनले मौका उम्काएनन्‌, न्वारान छोड़ेर पनि त्यसै दिन जागीर समाते। 

प्रातः 3 बजी उठी सबैको निम्ति खाना बनाउने कामबाट बिहेपछि मुक्ति पाए तापनि दैनिक दूध लाने काम यथावत थियो। बिहान 6 बजी दूध बोकेर प्रधान नगरका वरपर बाँड़ेर फेरि सेक्यूरिटी गार्डको ड्यूटी लगातार 8 घण्टा उभिएरै गरेर साँझ घर फर्केपछि फेरि बेलुकीको दूध बाँड्‌न निस्कन्थे अनि राति 9-10 बजीतिर घर फिर्थे। यति कठोर परिश्रम गर्नुको उद्देश्य घर संसार चलाउनु मात्र नरहेर यिनी थोपा थोपा जोहो गरी केही ठूलै उद्यम गर्न चाहन्थे। सानैदेखि यिनको सोच ठूलै थियो। लगातार 8 घण्टा उभिएर, घरबाट बोकेको मही र भात खाएर एउटा गाउँको ठिटो केवल मासिक 450 रुपियाँ पाउने जागीरको निम्ति ओठ मुख सुकाई काम गरेको देखी होटलको म्यानेजरलाई दया लाग्यो र उनले श्री उमेशलाई रातिको ड्यूटी मिलाइ दिए। कारण रातिको ड्यूटी राति 7 बजीदेखि रेस्टोरेन्ट 11 बजी बन्द हुँदासम्म मात्र गर्नपर्थ्यो साथै होटलमै खाने व्यवस्था पनि म्यानेजरले मिलाइदिए। 

फेरि रातिको ड्यूटीमा ‘टिप्स’ को रूपमा अतिरिक्त कमाई पनि हुन्थ्यो। त्यसबाहेक ‘वेटर’ र ‘स्वीपर’-ले गर्नुपर्ने काम तथा रेस्टोरेन्ट बन्द भएपछि ‘भाँड़ा मोल्ने’ काम समेत गर्न सके त्यसको अलग पारिश्रमिक दिने सुविधा श्री उमेशलाई मिलाइ दिए। कुनै कामलाई पनि सानो नठान्ने उनी जसरी पनि कमाउन चाहन्थे। उनले सबै काम आफैं गरेर अतिरिक्त आयको बाटो खोले। 20-21 वर्षका पट्ठो जवान श्री अधिकारी होटल र रेस्टोरेन्ट बारको रमझममा बहकिन पनि सक्थे। धेरै कुलतहरू बसाउन पनि सक्थे। तर यिनी आजसम्म पनि एक खिली पान समेत खाँदैनन्‌। एक टुक्रा सुपारी टोक्दैनन्‌, कुनै नशा यिनमा छैन। केवल एउटै नशा यिनमा थियो ‘कमाउने’ अनि ‘कमाउने’। यिनी होटलमा ‘रमाउन’ होइन ‘कमाउन’ गएका थिए। 

सन्‌ 2002 मा यिनले आफ्नो कमाइले ‘मोटर बाइक’ किने। बाइकमै दूधको क्यान बोकेर हिँड़े, ‘नाइट गार्ड’ गरे। बाइकमा दूध बाँड़न थालेपछि दिउँसो केही समय वचत हुन्थ्यो। यो समय पनि खेरो नफाली यिनले प्रधाननगरतिरै भवन निर्माणको ठेकेदारसँग सम्पर्क गरी दिनमा ‘सुपरभाइजर’ को काम गर्न थाले र भवन निर्माण सम्बन्धी अनुभव बटुले। मिस्त्री काम पनि सिके। सन्‌ 2003 मा यिनको दोस्रो सन्तान ‘शिक्षा अधिकारी’-को जन्म भएपछि यिनी आफ्नो परिवार लिई मूल घरबाट अलग्गिए र आफैं सानो घर निर्माण गरे। थोपा थोपा सञ्चय गरेको पैसा यिनी सबै घर बनाएरै खर्च गर्न चाहँदैन थिए। यिनी भन्थे-पैसाले पैसा कमाउनु पर्छ। आफ्नो घर आफैं लागिपरेर, स्वयं मिस्त्री भएर आफैं बनाए। मिस्त्री खर्च ‘लेबर खर्च’ बँचाए। 

आफ्ना तीन दाजु भाइको अंशबण्डा गरिदिई माता-पिता स्वयंले ‘‘आ-आफैं गरीखाऊ’’ भनेकै आधारमा श्री उमेशले माता-पिताकै छेउमा अलग्गै घर बनाएका थिए। मूलघरमा सघाउ पुऱ्याउन यस बेलासम्ममा श्री उमेशकी एक मात्र बहिनी बिन्दु अधिकारी सक्षम भइसकेकी थिइन्‌। यसैले आफ्नै दुइ सन्तान र श्रीमतिका साथ उनी छुट्टै घर बनाएर बस्न थाले यद्यपि मूल घरप्रतिको कर्तव्य र माता-पिताको सेवा यिनले यथावत राखे। 

आफू अलग्गिए पछि टाउनमा गई रातिको ड्यूटी गर्न यिनलाई असुविधा हुनथाल्यो र सन्‌ 2005 मा यिनले होटलको काम छोड़े। आफैंले दूध बोक्न पनि छोड़ी ग्वालालाई दिन थाले। आफ्नो ग्वालीमा गाईको संख्या बढ़ाए। खेतीपाती आधुनिक ढङ्गले शुरू गरे। यसै वर्ष कठोर परिश्रमले जोहो गरेको पैसाले रु. 25000 नेपाली पैसामा ससुराली गाउँमै 1 कट्टा जमीन किने। मानिसहरूलाई आफ्नो मीठो बोलीले नजीक बनाउन सक्ने यिनको एउटा अद्‌भूत क्षमता थियो। ससुराली गाउँमै आफन्तमा तथा छर-छिमेकका उनी प्रिय ज्वार्इं बने। सन्‌ 2007-मा नेपालमै यिनले अझ 22 धुर जमीन थपे। यिनको चनाखोपन र व्यापारिक मस्तिष्क देखेर यिनका आफन्तजनले नेपालमै ब्याङ्‌कबाट लोनको व्यवस्था मिलाई दिए। यसरी सन्‌ 2008 मा यिनले नेपालमै जमीन प्लटिङको काम शुरू गरे। सन्‌ 2009 देखि सिलगढ़ी चम्पासरीतिरै पनि जमीनको कारोबारी शुरू गरे। यसप्रकार जमीनबाट यिनले धेरै पूँजी कमाए। जमीनको कारोबारबाट पैसा आउन थालेपनि यिनले साग-सब्जी, दूध गाई खेतीपातीको प्रारम्भिक व्यापार निरन्तर चलाइरहे। आफू नकुदी सबैतिर मान्छे लगाएर यी व्यापारहरूको प्रबन्ध मिलाए। आफू भने जमीनकै व्यवसायमा लिप्त भए। सन्‌ 2010 मा अर्को ठाउँ आफ्नै कमाइले जमीन किनी आफ्नो निम्ति तिनताकको गाउँभरिकै सबैभन्दा ठूलो अनि भव्य भवन निर्माण शुरू गरे।

जमीनको कारोबारमा लागेपछि यिनको उठ्‌बस ठूला-ठूला व्यक्तित्वहरूसित हुनथाल्यो। शिक्षामा कमी भए पनि अर्थमा यिनी अब कमी थिएनन्‌। गाउँ-घर समाजमा यिनले आफ्नो आर्थिक आधार दह्रो बनाउनका साथै विशिष्ट पहिचान पनि बनाइसकेका थिए। सन्‌ 2012 देखि यिनले गाउँ बाहेक हातिघिसातिर पनि लगानी गर्न थाले। प्रचुर जमीन किनी प्लटिङ गरेर बिक्री शुरू गरे। यिनी एकदमै व्यस्त व्यापारी भइसकेका थिए। 

यहाँसम्म सबकुछ ठीकठाक थियो। उनको चन्द्रमा दाहिने भइरहेकै थियो। उनको प्रगति शिखरतिर नै दौड़िरहेको थियो। तर अचानक सन्‌ 2016 देखि यिनको जीवनमा ‘टर्निङ पोइन्ट’ आयो। यो वर्ष यिनको चन्द्रमामा ग्रहण बोकेर आयो। यसै वर्ष यिनका पिता धर्मानन्द अधिकारी बिरामीले थला परे। पिताको उपचारमा प्रचुर रुपियाँ खर्च गरे तर पितालाई बचाउन सकेनन्‌। 25 जुलाई 2016 मा पिताले सबैलाई छोड़ेर गए। पिताको मृत्युपछि श्री अधिकारीको जीवनमा यसै वर्ष फेरि अर्को भूकम्प आयो। हातिघिसामा लगाएको उनको सम्पूर्ण पूँजी फस्यो। हातिघिसामा जमीन मिलाइदिने मध्यस्थकारीबाट उनलाई ठूलो धोका भएको उनले त्यसबखत थाह पाए जब एकपछि एक जमीनका कागज फर्जी निस्कन थाले। कतिपय जमीनका मालिकलाई ती मध्यस्थकारीहरूले श्री उमेशबाट रकम थापेर पनि दिएका रहेनछन्‌। यस बीच उनले धेरै क्रेताहरूबाट पैसा लिई सो त्यही जमीनमा लगाएका थिए। यसरी निमेष भरमै उनको जीवनभरको सम्पूर्ण पूँजी स्वाहा भयो। अरूका नजरमा उनी दोषी र फटाहा देखिए। उनीबाट जमीन किन्नेहरूले उनलाई नानाभाँति सुनाए, दुर्नाम फैलाए। तर यस्तो विकट परिस्थितिमा पनि उनी आत्तिएनन्‌, हरेश खाएनन्‌। जमीनमा पैसा डुब्ने क्रेताहरूले श्री अधिकारीलाई घरमै आई मानसिक दबाव दिन थाले, कसैले ज्यानकै धम्की समेत दिए तर उनले धैर्य छोड़ेनन्‌। आफूले भर्खरै निर्माण गरेको महल झैं भवनमा साइत गरेर पसेको तीनदिनमै घरबाट निस्केर पुनः पुरानै सानो कटेरोमा आए अनि त्यो नयाँ ‘बिल्डिङ’ बिक्री गरी 50-60 लाखको सम्पूर्ण ऋृण चुक्त गरे। जमीनको कमाइबाट बनिएको भवन जमीनकै कारण हातबाट उम्क्यो। थोरै पूँजी बचाएर फेरि पुरानै व्यवसाय ‘गौशाला’ लाई पुनर्नवीकरण गरे। खर्च गरेर ‘गौशाला’ आधुनिक ढङ्गमा व्यवस्थित पारे। धेरै दूध दिने महँगा महँगा गाई किनेर हाले। यसरी ‘गौशाला’ वा ‘डायरी फार्म’ खोलेर उनले स्वयंलाई पुनर्स्थापन गर्न चाहे तर यहाँ पनि उनको विश्वासीलो कर्मचारीबाट उनलाई धोका भयो। ग्राहकहरूबाट एड्‌भान्समा पैसा उठाई कर्मचारीले चम्पट कस्यो श्री अधिकारीलाई बजारमा 15 लाखको भार बोकाएर। त्यस बाहेक सोही कर्मचारीको गाईप्रतिको बेस्याहार र लापरवाहीले गर्दा एकपछि एक गर्दै 6 वटा गाई मरे। यसरी श्री अधिकारीको आर्थिक कम्मर नै भाँचिए झैं भयो।

जमिनबाटै उनी माथि चढ़े, जमिनबाटै उनी लड़े। त्यसपछि जमिनको कामबाट श्री अधिकारी विरक्तिए। गौपालनले नै जीवन उठायो, गौपालनले नै जीवन झण्डै डुबायो पनि। यसरी ‘गौशाला’-बाट पनि उनी विरक्तिए। अब कसो गरी जीवनलाई फेरि खड़ा गर्ने, उनी सोच्न थाले। यसै बेला उनका आफन्त भाई नगेन्द्र धमाला जो एक कुशल उद्योगपतिको रूपमा स्थापित भइसकेका थिए, उनले कुनै उद्योग गर्ने सुझाउ दिए। कुनै पनि काम गर्न नडराउने श्री उमेश अधिकारीले यस सुझावलाई गम्भीरताले लिए। टाइल्स, टाली तथा ब्लक-को उत्पादन सम्बन्धी प्रशिक्षण लिन उनी पटना, नागपुर र अमृतसरसम्म पुगे। नेपालमा 2005 -मा किनिराखेको जमिनको राम्रो दाम पाएर बेचे अनि केही रुपियाँ ब्याङ्‌कबाट फाइनेन्स गराई टाइल्स उत्पादनको फ्याक्ट्री बसाए बाहिरबाट मशिन र काँचो पदार्थ झिकाए। टाइल्स ब्लक, टाली आदि निर्माण कार्य स्वयं सिकी मूल मिस्त्री आफू बनेर सन्‌ 2020 मा नयाँ फ्याक्ट्रीको भव्य उद्‌घाटन गरे। वरपरदेखि लिएर टाढ़ा-टाढ़ासम्मका, सानादेखि लिएर गण्यमान्यजन सबैलाई निम्तो गरे। फेरि पनि उनलाई समयको बज्राघात पऱ्यो। जसै फ्याक्ट्री शुरु गरे, कोभिड फैलिएर चारैतिर लकडाउन शुरु भयो। लकडाउन पनि एक दिन दुई दिन होइन, पूरा सालभरि चल्यो। फ्याक्ट्री शुरु गर्ने बित्तिकै लगातार एक वर्षसम्म यिनको नयाँ फ्याक्ट्री बन्द भयो। यसबीच उत्पादन गरिएका टाइल्स, ब्लक, टाली बजारमा नगई गोदाममै थाँतीमा रह्यो। धेरै काँचा पदार्थ बिग्रिए। उनीमाथि यसरी एक पछि एक समस्या मात्र आइरहे। जहाँ पाइला राख्न खोजे, त्यही भास्सिए। उनी आफू नपढ़े पनि आफ्ना छोरा-छोरीलाई अंग्रेजी स्कूल पढ़ाइरहेका थिए। ससुरालीबाट पनि आफ्ना सालाहरूका छोरा-छोरीलाई आफूले नै पढ़ाइरहेका थिए। अतः तिनको घरको मासिक खर्च धेरै थियो। भनौं जाने बाटो धेरै थियो तर आउने बाटो प्रायः बन्द र मन्द हुँदै थियो। यस्तो प्रतिकूल परिस्थितिमा पनि धैर्य नगुमाई श्री अधिकारी डटेर बसे। लकडाउनको अवधिभरि यिनले कुनै समय आफू भवन निर्माणको सुपरभाइजर भएर काम गरेको अनुभवलाई काममा लगाए। धेरै नयाँ भवनहरूको निर्माणको ठिका लिएर आफ्नो घर संसार चलाए। सन्‌ 2021 देखि बिस्तारै लकडाउन खुकुलो भएपछि फ्याक्ट्रीको काम फेरि शुरु गरे। आफ्नो उत्पादनलाई बजारमा बिक्री वितरण गर्न उनी स्वयं लागिपरे। बजार व्यवस्था मिलाउने श्री अधिकारीको आफ्नै छुट्टै विशेषताले गर्दा यिनको उत्पादनको माग बढ्‌दै गयो। आफूले भवन निर्माणको ठिका लिएको हुँदा टाइल्स, ब्लक, टाली आदि आफ्नै फ्याक्ट्रीको लगाउन उनलाई सहज भयो। यसरी थाहै नपाई एक वर्ष भित्रै उनको बजार बढ्‌यो, उत्पादन बढ्‌यो, व्यवसाय बढ्‌यो। ब्याङ्‌कको लोन पनि प्रायः फिर्ता गर्न सक्षम भए। ‘गौशाला’ पनि मासिक भाड़ामा अरूलाई नै लीजमा दिई आउने बाटो बनाए। यस बीच उनले ठूलो जमिनमा पुनः आफ्नो नयाँ भव्य महल झैं भवन पनि निर्माण गरे। फ्याक्ट्रीमा उत्पादन बढ़ेपछि अझ स्टाफ बढ़ाए। आज उनको फ्याक्ट्रीमा 15-20 जना कर्मचारीहरू कार्यरत छन्‌। आफ्नो उत्पादनको दैनन्दिन बढ्‌दो मागले गर्दा उनी फ्याक्ट्री अझ बढ़ाउने र अर्को ठाउँमा अझ वृहत रूपमा खोल्ने योजनामा छन्‌। त्यसबाहेक नयाँ प्रकारको रेडिमेड झ्याल र ढोकाको डिस्ट्रीव्यूटर भएर काम गर्ने पनि तयारी गर्दैछन्‌। चम्पासरी भेकका सक्रिय संस्था ‘चम्पासरी युवा नाट्य मञ्च’-को महासचिव पदमा रहेर सामाजिक कार्यमा पनि उनी उत्तिकै सक्रिय छन्‌। त्यसबाहेक अन्य विभिन्न सङ्घ-संस्था, मन्दिर कमिटी आदितिर पनि उनी संलग्न छन्‌।

एकपछि एक समस्याले गाँजे पनि र उनी धरासायी अवस्थामा पुगेर पनि उनले आफ्नो साहस धैर्य र पौरखले आफूलाई पुनः स्थापित गरेरै छोड़े। उनी कहिल्यै डगमगाएनन्‌। उनी भन्ने गर्थे- ‘कमाउँदा मात्तिनु हुँदैन, गुमाउँदा आत्तिनु हुँदैन’। आफूलाई सफल उद्योगपति वा व्यवसायीका रूपमा स्थापित गर्न उनको अधुरो शिक्षा कहिल्यै बाधा बनेन। आफ्नो आँट, धैर्य, लगनशीलता र कठोर परिश्रमकै बलमा उनी ‘लड़ेर’ पनि खड़ा भए, आफूलाई स्थापित गरे। उनी साँच्चै हाम्रा ‘अधुरो शिक्षा छ’ भनी हताश हुनेहरूका निम्ति प्रेरणा हुन्‌। गर्नेका निम्ति कुनै पनि ‘समस्या’ ‘समस्या’ होइन, त्यसबाट माथि उठ्‌न सकिन्छ भन्ने एक उदाहरण हुन्‌। अथक परिश्रमी, एक उम्दा उद्यमी श्री उमेश अधिकारीको जीवन संघर्षलाई मध्यमार्ग परिवार सलाम गर्दछ अनि उनको उत्तरोत्तर प्रगतिको कामना गर्दछ। अन्त्यमा नरेन्द्र मोदीका दुइ पंक्ति कविताबाट बीट मार्दछु।-

माना कि अँधेरा घना है

फिर भी दीया जलाना कहाँ मना है॥

 

ааЁаҐЌаЇ аІаҐаа№ааҐ