होमस्टे उद्योग - पहाड़को निम्ति कति फाइदा?

  • 2024-03-17 07:01:52
==>

नवीन शर्मा, कालिम्पोङ

मध्यमार्गको दिसेम्बर 2021 को अङ्‌कमा खेम सापकोटाको एउटा लेख पढ्‌न पाइयो- होम स्टेमा दार्जीलिङको समस्या। यो लेख पढ़ेेर आफूमा पनि विचार तरङ्गित भए। आफूले पनि केही वर्षदेखि यता यस्तै कुरा मनन गरेको थिएँ। अहिले धेरैका मनमा लागेको, बौद्धिक र सामान्य चर्चामा उठेको कुरा हो। होमस्टे भन्ने उद्योगलाई दीर्घमियादी छद्म राजनिती लुकेको अनुभूत गरेको धेरै व्यक्त गरेका हुन्‌। गत दस वर्षदेखि ग्रामीण पर्यटन र आर्थिक समृद्धिका नाममा हाम्रो दार्जीलिङ पहाड़मा होमस्टेको उद्योग फस्टाइ रहेको छ। दार्जीलिङ खरसाङ र कालिम्पोङका पहाडका थुम्का थुम्कामा होमस्टे उद्योग मौलाइरहेको पाइन्छ। जुन जुन थुम्काबाट हिमाल स्पष्टसँग देखिन्छ, त्यहीँ नै होमस्टे बनाइका छन्‌। अझै हाम्रा ठाउँका भिउ पोइन्ट, कतै गौचर, नदीका किनार, फाँटिला गाउँ-बस्तीतिर पनि होमस्टे फैलिरहेका छन्‌। पहाड़को सौन्दर्यको छटामा आकर्षित भएर पर्यटक आउँछन्‌, यहाँ आएर सौन्दर्यपान गरेर फर्कन्छन्‌। दार्जीलिङको होटेल व्यवसायबाट धेरै पहाड़लाई कति लाभ कति हानि हुँदैछ त्यसबारे घोत्लिन आवश्यक छ। 

यद्यपि होम स्टेको उद्योग लाभार्थीका निम्ति लाभदायक नै हुन्छ। होमस्टे उद्योग गर्ने घर मालिक आफैंले यो सञ्चालन गरिएको छ भने उत्तम कुरा हो। यसले तात्कालिक रूपमा भने धेरै फाइदा पुगेको नै हुन्छ। पाहुना आउँदै जाँदै गर्दा आर्थिक लाभ नै हुन्छ। यसबाट खासै नोक्सान र चिन्ता छैन। यद्यपि थुम्का थुम्कामा घर जमिन भएका मालिकहरूलाई अरूलाई होमस्टे किरायमा चलाउन दिएको छ भने अथवा जमिन नै किनेर अरूले होमस्टे चलाएको हुन्छ भने यसले भविष्यमा ठूलो नोक्सान हुने प्रबल सम्भावना देखिन्छ। कालिम्पोङका कफेर, लाभा, लदाम, रिसाप, रेसी, सिञ्जी, पिथामचिन आदि ठाउँ दार्जीलिङका विभिन्न स्थलहरूमा होमस्टेको उद्योग फस्टाइरहेको छ। होमस्टेका नाममा मधेशका टुर अपरेटरका माध्यमबाट पहाड़मा समतलवासीको उपस्थिति देखिन थालेको पाइन्छ। पहाड़मा अब नेपालीकै समानान्तर रूपमा हिन्दी र बङ्गला भाषा चलेको सुन्न पाउन थालिएको छ। होमस्टेका नाममा पहाड़मा जनसंख्यायिकी परिवर्तनको सम्भावना हुन्छ। अहिले सियो भएर पछि हलो भएर निस्कने प्रबल सम्भावना छ। होमस्टेका मालिक मधेसबाट, आउने ग्राहक मधेसबाट। बिस्तारै बिस्तारै होमस्टेका मालिकले छेउछाउमा जमिन खोज्न थालेको पाइन्छ। अहिले पहाड़का जमिन मधेसकाले धेरै किन्न थालेको पाइन्छ। होमस्टेका छेउछाउका फाँटिला जमिन, हिमाल देख्ने ठाउँका जमिनमा गिद्धे आँखा लाउँछन्‌। होमस्टे पहाड़ र पहाड़वासीका निम्ति शुभ भने पक्कै होइन। बिस्तारै हाम्रा अस्तित्वमा पहिरो जानुसरह हो, आफ्नै धरातल खुस्किनु हो। अबको पन्ध्र बीस वर्षपछि पहाड़मा मूल पहाड़वासीको स्थिति के कस्तो हुन्छ, त्यो चिन्तनीय छ। 

हामीले हाम्रो जग्गा जमिन बिक्री गर्दा राम्रो सोंच विचार गर्नुपर्ने दिन आएको छ। बिनासोचि सम्झी जोसुकैलाई जमिन बेच्न खोज्दा कसले किन्न खोज्दैछ, कसकामा जाँदैछ? राम्रो सोंच्नुपर्छ। हाम्रा गाउँका कुना कुनामा जमिन किन्नेहरू रगरगी छ। हाम्रै मान्छेहरूका माध्यमबाट अन्यत्रका ग्राहकले किन्ने गरेका छन्‌। यो जमिन अब बेच्नुपऱ्यो भन्ने कुरा सोंच्ने बित्तिकै ग्राहक खड़ा हुन्छ भनेजस्तो हुन्छ। जमिनको जति पनि दाम दिएर समतलवासीले किन्ने गरेका छन्‌। हाम्रो गाउँघरतिर नेपाली भोटे लाप्चेबाहेक अब अन्य भाषा बोलेको सुन्न पाउन थालिएको छ। उद्योगको नाममा गाउँमा मधेसीको उपस्थिति निकै देखिन थालेको छ। होमस्टेका सञ्चालक, टुर अपरेटर र घुमन्ते बाहिरका यतिसम्म त ठिक छ तर होमस्टेका छेउछाउका पाइक पर्ने जग्गाहरूको किनबेच, बाहिरका मान्छेको घरको सङ्‌ख्यामा निरन्तर वृद्धि भइरहेको स्थिति छ।    

अहिले नै राम्रो सोंच्ने समय छ। हामीले भविष्य सोंचेनौं भने हाम्रा सन्ततिका के कस्तो अवस्था हुनेछ? त्यति बेला हामी दार्जीलिङको र हाम्रो दार्जीलिङ भन्ने सक्ने हुन्छौं वा हुँदैनौं, त्यो भविष्यकै गर्भमा हुनेछ। अहिलेको हाम्रो राजनीति पनि कमजोर छ। यति बेला सत्ताले नै नेता र राजनितीका आड़मा जे जस्तो नीति निर्धारण गरे पनि जनता आफैं नै सजग र सचेत बन्नुपरेको छ। नत्र अबको दस बीस वर्ष पछि हामी नै यहाँका अल्पसङ्‌ख्यक हुन के बेर?   

ааЁаҐЌаЇ аІаҐаа№ааҐ