ममताको महत्वाकांक्षा !

  • 2024-03-23 08:00:01
==>

- मुकुन्द राज ओली

2021 सालको पश्चिम बंगाल विधानसभा चुनाउमा व्यापक आसन जितेर लगातार तेस्रोचोटि सत्तामा आएपछि तृणमूल कंग्रेस अध्यक्ष साथै बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी निकै हौसिएकी छन्‌। अब तिनले राष्ट्रिय राजनीतिमा पदार्पण गर्ने सोच बनाएकी छन्‌ र यस दिशामा कार्य शुरू पनि गरेकी छन्‌। गोवा, असम, त्रिपुरा अनि पूर्वोत्तरका अन्य राज्यहरूमा तृणमूल कंग्रेसको संगठन खोलिसकेकी छन्‌। अब उत्तर प्रदेश, महाराष्ट्र आदि राज्यहरूमा संगठन खोल्ने तर्खरमा छिन्‌। यस कार्यका लागि ममताका सांसद भन्दै तथा तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी चारैतिर डुलिरहेछन्‌। ममता ब्यानर्जीको योजना देशभरिका क्षेत्रीय दलहरूलाई एकजुट पारी 2024 सालको लोकसभा चुनाउमा भारतीय जनता पार्टीलाई पराजित गर्नु छ। तर यस कार्यका लागि कंग्रेस पार्टीसँग भने नमिल्ने तिनको अड़ान छ। कंग्रेससँग ममताको अहंको लड़ार्इं छ त्यसैले तिनी कंग्रेसलाई पाखा लगाउन चाहन्छिन्‌।  वर्तमान समयमा कंग्रेस पार्टी धेरै कमजोर भएको छ तर पनि यो अहिले सबैभन्दा ठूलो राष्ट्रियस्तरको विपक्षी दल हो। कंग्रेसबिना विपक्षी एकता सम्भव छैन अनि क्षेत्रीय दलहरू कंग्रेस बिना लड़े भोट बाड़िन्छ अनि 2024 को लोकसभा चुनाउमा भाजपालाई पुनः सत्तामा आउन सजिलो हुनेछ। 

वास्तवमा ममताले राष्ट्रिय राजनीतिमा चासो देखाउनु प्रधानमन्त्री पदका लागि तिनको महत्वाकांक्षा रहेको नकार्न सकिँदैन। तृणमूल नेताहरूले यो कुरा गर्दै नै आइरहेका छन्‌ भने ममता समर्थक कतिपय दलहरूले पनि यसलाई हावा दिइरहेछन्‌। यस्तोमा कंग्रेससँग गठनबन्धन गरे विपक्षीहरूमा सबैभन्दा धेर आसन कंग्रेसले नै जित्ने निश्चित छ। यसो हुँदा विपक्षी गठबन्धन यदि सत्तामा आयो भने प्रधानमन्त्री पदको दावीदार निश्चय नै कंग्रेस हुनेछ। यसैले पनि ममताले कंग्रेसलाई किनारा लगाउन खोजिरहेकी छन्‌। यसका साथै तिनले कंग्रेस नेतृत्वाधीन संयुक्त प्रगतिशील गठनबन्धन (युपीए) लाई आप्रासांगिक बताउँदै गठबन्धनमा फाटो ल्याउन पनि खोजिरहेकी छन्‌। तर ममताको यो मनसुबा सफल हुन कठिन छ। नोभेम्बरको अन्त्य र दिसम्बरको (2021) शुरूमा तिनी आफ्नो योजनाअनुसार मुम्बई भ्रमणमा गएकी थिइन्‌। त्यहाँ तिनले सत्तारूढ़ महाराष्ट्र विकास अघाड़ि गठबन्धनका तीनमध्ये दुइ दलका नेताहरू शिवसेनाका आदित्य ठाकरे र सञ्जय राउत अनि राष्ट्रवादी कंग्रेस पार्टी अध्यक्ष शरद पवारसँग भेट गरिन्‌। यी भेटमा ममताले क्षेत्रीय दलहरूलाई लिएर देश अलग्गै अर्को गठबन्धन बनाई भाजपासँग चुनाउ लड़ने सुझाउ राखिन्‌। कंग्रेसलाई अलग राखेर बेग्लै विपक्षी गठबन्धन बनाउने पक्षमा शिव सेना र राकंपा छैनन्‌ र तिनीहरूले ममताको कुरा अस्वीकार गरे। यिनीहरूले ममताको कुरामा सहमति जनाएको भए तत्कालै महाराष्ट्र सरकार ढल्ने सम्भावना थियो किनभने त्यहाँको गठबन्धन सरकारको तेस्रो सहयोगी दल कंग्रेस हो। यदि कंग्रेसले समर्थन फिर्ता गरे लोकसभा चुनाउ जित्नु त परेको कुरा वर्तमान राज्य सरकार भंग भएर भाजपाले सरकार बनाउने मार्ग प्रशस्त हुनेथियो। यसैले ममताको चाल त्यहाँ चलेन। यसैकारण पनि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले ममतालाई नभेटेका हुनसक्छन्‌, यद्यपि तिनले आफू अस्वस्थ रहेको बताएका थिए। 

यसरी कंग्रेसको सहभागिताबिना विपक्षी एकता सम्भव छैन भनेर जान्दाजान्दै पनि ममता ब्यानर्जी आफ्नो जिद्दीमा अडिग छिन्‌। तृणमूल कंग्रेसलाई बंगालबाहिर विस्तार गर्न तिनले कंग्रेसलाई नै तारो बनाइकी छन्‌। असमकी कंग्रेस नेत्री सुष्मिता देवलाई दलमा सामेल गरिन्‌ अनि तिनलाई राज्यसभा सांसद बनाइन्‌। यसपछि गोवाका कंग्रेस नेता तथा भूतपूर्व मुख्यमन्त्री लुइजिन्हो फलेरियोलाई तृणमूलमा सामेल गरिन्‌ अनि तिनलाई पनि बंगाल कोटाबाट राज्यसभा पठाइन्‌। यसै क्रममा मेघालयका पूर्व मुख्यमन्त्री मुकुल साङ्‌मा अनि 12 कंग्रेस विधायकहरू तृणमूलमा सामेल भए। गत अक्टोबर महीनामा उत्तर प्रदेशका दुइ कंग्रेस नेता राजेशपति त्रिपाठी अनि ललितेशपति त्रिपाठी सिलगढ़ी आई ममता ब्यानर्जीको उपस्थितिमा तृणमूल कंग्रेसमा सामेल भए। यसै गरी नोभेम्बरमा ममताको दिल्ली भ्रमणको बेला जनता दल नेता पवन वर्मा, कंग्रेस नेता कीर्ति आजाद, हरियाणा कंग्रेसका पूर्व अध्यक्ष अशोक तँवर आदि तृणमूलमा सामेल भए। बंगालको गत विधानसभा चुनाउ अघि नै भाजपाका पूर्व वरिष्ठ नेता यशवन्त सिन्हा पनि तृणमूलमा सामेल भएका थिए। तिनलाई पनि राज्यसभा पठाइने कुरा चल्दै थियो तर सो नहुँदा तिनी अहिले निष्क्रिय छन्‌। यसरी जति पनि कंग्रेसी नेताहरू तृणमूलमा सामेल भएका छन्‌ तीमध्ये पूर्वोत्तर राज्य र गोवाका कतिपय नेताहरू बाहेक अन्य त्यति प्रभावशाली नेता छैनन्‌। कंग्रेसमा रहँदा पनि तिनीहरू निष्क्रिय थिए। तृणमूलको प्रभाव विस्तारले कंग्रेसलाई मेघालय, गोवा आदि राज्यहरूमा असर पार्नसक्ला तर अन्य राज्यमा कंग्रेसलाई कुनै फरक नपर्ला। त्यसै पनि भारतीय राष्ट्रिय कंग्रेस देशका अधिकांश राज्यमा कमजोर हुँदै गइरहेको छ। यस्तोमा तृणमूलले कंग्रेस पार्टीमा फाटो ल्याउँदा भाजपा नै झन शक्तिशाली भएर जानेछ। 

यसरी तृणमूल कंग्रेसले बंगाल बाहिर आफ्नो प्रभाव विस्तार गर्नथालेपछि यसको पहिलो परीक्षण बंगालीभाषी राज्य त्रिपुरामा भयो। त्रिपुरामा नगरपालिका चुनाउका लागि बंगालका तृणमूल नेताहरूले बड़ो ढोल पिटे तर, परिणाममा भारतीय जनता पार्टीले त्यहाँ ‘क्लीन स्वीप’ गऱ्यो। तृणमूल 2-4 वटा आसनमै सीमित रहनुपऱ्यो। शुरूमै त्रिपुरामा धक्का खायो तृणमूल कंग्रेसले। अब ममता ब्यानर्जी गोवा विधान सभा चुनाउ जित्न लागिपरेकी छन्‌।  अभिषेक ब्यानर्जी, डेरेक ओ ब्रायन, महुवा मित्र आदि दजर्नौं नेताहरूलाई साथमा लिएर तृणमूलको शंखनाद गर्न मध्य दिसम्बरमा ममता गोवा पुगिन्‌। त्यहाँ तिनले कंग्रेसमा फाटो त ल्याइन नै तर शरद पवारको राकंपा विधायकलाई पनि तृणमूलमा हुलिन्‌। अर्का कंग्रेसी पूर्व मुख्यमन्त्री चर्चित आलेमाओ पनि तृणमूलमा सामेल भए। महाराष्ट्रवादी गोमांतक पार्टीसँग गठनबन्धन गरेर चुनाउ लड्‌ने घोषणा ममताले गरिन्‌। यस्तो पाराले शरद पवार के मिल्लान्‌ र ममतासँग। अब गोवा चुनाउमा तृणमूलको शक्ति परीक्षण हुनेछ, त्यहाँ पनि त्रिपुराको हाल दोहोरिए ममता ‘ब्याक टु पेभिलियन’ हुनुपर्नेछ। राकंपा र कंग्रेस चुप लागेर बस्ने होइनन्‌ नै, त्यसमाथि शक्तिशाली भाजपा छँदैछ।

देशमा 70 वर्षसम्म राज गर्ने कंग्रेस पार्टी अहिले धेरै कमजोर स्थितिमा छ। अधिकांश राज्यहरूमा यो एक्लै चुनाउ लड्‌ने स्थितिमा छैन। देशका धेरजसो राज्यमा भाजपाको सरकार छ कुनै समयमा देशका सबै राज्यमा राज गर्ने कंग्रेसको हातमा अहिले एकाध राज्य मात्र छन्‌। गत विधानसभा चुनाउमा सत्तामा आएको कंग्रेसको हातबाट भाजपाले चाल खेलेर मध्य प्रदेश र कर्णाटक जस्ता ठूला राज्य आफ्नो हातमा पारेको छ। कंग्रेस अहिले आफ्नो एकल बहुमतका साथ राजस्थान, पञ्जाब र छत्तीसगढ़मा सत्तासीन छ भने तमिलनाडु, महाराष्ट्र, झारखण्डको गठबन्धन सरकारमा यो सामेल छ। यी बाहेक अन्य राज्यहरूको सत्ता क्षेत्रीय दल अनि भाजपाको हातमा छ। यतिको हुँदाहुँदै पनि कंग्रेसका मतदाताहरू भारतभरि नै छन्‌, कतै कम त कतै धेर संख्यामा। अहिले पनि पञ्जाब, महाराष्ट्र, गुजरात, मध्यप्रदेश, राजस्थान, असम, छत्तीसगढ़, हरियाणा, उत्तराखण्ड, हिमाचल प्रदेश, कर्णाटक, केरल आदि राज्यहरूमा प्रतिपक्षीसँग कंग्रेसको सोझो प्रतिद्वन्द्विता छ। यसैले कंग्रेस भारतको सबैभन्दा ठूलो विपक्षी दल हो र कुनै पनि चुनाउमा आफ्ना गठबन्धनहरूको सहायतामा यसले केन्द्रको सत्तामा आउने क्षमता राख्दछ। यस्तोमा मात्र बंगालमा प्रभुत्व रहेको तृणमूल कंग्रेसले कंग्रेस पार्टी र यसको गठबन्धन तोड्‌ने प्रयास गरे भाजपा झन्‌ शक्तिशाली भएर सत्तामा आउनेछ। आफूले भनेको कुरा कंग्रेसले मानेन भनेर ममताले कंग्रेससँग सम्बन्ध विच्छेद गरेकी हुन्‌। सर्वभारतीय स्तरमा पहुँच रहेको दल कंग्रेसले एउटा सानो क्षेत्रीय दलको कुरा मान्नु बाध्य छैन। फेरि बंगालको 42 वटै लोकसभा आसन तृणमूल कंग्रेसले जित्छ भन्ने के ग्यारेण्टी छ! गत चुनाउमा भाजपाले बंगालबाट 18 आसन जितेको हो। देशका प्रायः सबै क्षेत्रीय दल कंग्रेसलाई साथमा लिएर हिँड्‌ने पक्षमा छन्‌। विपक्षीहरूका लागि कंग्रेस अपरिहार्य छ। यस्तो पाराले तृणमूलको राष्ट्रिय  दल बन्ने र ममताको ‘प्रधानमन्त्री’ बन्ने महत्त्वाकांक्षा कहिल्यै पूरा हुँदैन बरू कंग्रेस लगायत सबै विपक्षी दलहरूसँग मिलेर हिँड़ेर ममताको काम बन्न पनि सक्ला तर कंग्रेसलाई साथमा नलिए भारतको विपक्षी दलहरूका लागि घातक सिद्ध हुनेछ।

 

ааЁаҐЌаЇ аІаҐаа№ааҐ