लटरी-अभिशाप कि वरदान?

  • 2026-05-15 21:32:43

डा. शरण कुमार रिजाल

समाजलाई प्रगति तिर डोहोऱ्याएर अग्रसर हुनु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य हो। समाजको हर वर्गलाई आर्थिक, आध्यात्मिक, सांस्कृतिक र बौद्धिक दृष्टिकोणले सम्वृद्ध पार्नु हाम्रो सामुहिक प्रयास हुनुपर्छ। बेला-वखत स्थानीय सभा-भेला, घरायसी छलफल, सामाजिक संजाल, पत्र-पत्रादिामा समाजको गतिविधि र अवस्थाबारे निकै जानकारी  पाइन्छ। साहसिक कार्यहरू, ठूलाठूला उपलब्धि, त्याग, सत्यनिष्ठा आदि सकारात्मक समाचारहरूका साथै कुरीति, कुसंस्कार, मद्यपान, हिंसा, जुवा-ताश जस्ता नकारात्मक घटनाहरूको बारेमा देख्न-सुन्न पाइन्छ। समाजमा घटेका कतिपय जघन्य अपराधहरूलाई स्वार्थको रंग चढ़ाएर असल र सुन्दर हो भन्ने भान गराउँछन्‌ भने कति कुकृतिलाई राजनैतिक संरक्षणमा लुकाएर निमिट्यान्न पार्ने प्रयास पनि गर्छन्‌। तर सबै भन्दा डरलाग्दो चैं यस्तो कुकृत्यहरू देखेर पनि नदेखेको जस्तो गर्नु  हाम्रो पुरानो बानी हो। समाज त सबैले हिँड्‌नु पर्ने मूल बाटो हो। बाटोमा हिलो, धुलो, मैला छ भने त्यो हिलो, धुलो, मैला हाम्रो घरमा अवश्यै पस्छ। त्यसकारण बाटो अर्थात्‌ समाजलाई सुन्दर, सफा र स्वच्छ राख्नु हाम्रो सामुहिक कर्तव्य हो। 

यसैक्रममा अचेल हाम्रो गाउँ, शहर, दोबाटो, गल्ली, टोल सबैतिर व्याप्त लटरीको बेच-बिखनको क्रममाथि केही चर्चाको थालनी गर्नु यस लेखको मूल उद्देश्य हो।

लटरी, जुआ, ताश, क्यासिनो-जे भने पनि भाग्यको खोजीमा अर्थको व्यय नै बुझिन्छ। लटरीका पक्षकारहरू यसलाई रोजगारको स्रोत, सजिलो व्यापार, छिट्टो धनी बन्ने बाटो, गरीव-साधारण मानिसको सहारा आदि सुगुणहरू देखाउँछन्‌। सबैभन्दा उदेकको कुरो त कम्युनिष्ट र समाजवादी जस्तो पूँजीवाद-विरोधि दलहरूको लटरी प्रति सहानुभुति हो। केरल र बंगालमा वामपंथीहरूले सर्वहाराको आख्यान दिएर लटरीको प्रोत्साहन गरेका छन | लटरीको विरोध गर्नेहरूले भने यसलाई पारिवारिक अशान्ति, मानसिक विचलन र मानवीय सम्बन्ध बिथोल्ने आदि आरोप लगाएका छन्‌। भाग्यवाद, अकर्मण्यता, आलस्यलाई प्रोत्साहन दिएर नशाखोरी, अनावश्यक ऋृण, अपराधिक प्रवृत्ति आदि समाजमा पन्पिने दोष पनि लाग्छ लटरीलाई। महाभारतको जुवा काण्ड लटरीको खिलाफ सबैभन्दा ठूलो उदाहरण हो। लटरीका पक्षधरहरू यसको माध्यमबाट साधारण मानिसलाई, विशेषगरी परिश्रम गर्नेलाई लाभ भएको तर्क दिन्छन्‌। तर लटरी खरीद गर्नेलाई कति फाइदा छ, यसको उत्तर स्वरूप लटरी विषयमा भएको एउटा अध्ययनको परिणाम हेरौं। 

लटरी खरीद गर्ने 80 प्रतिशत मानिसहरू खटीखाने हुन्छन्‌, जसले परिश्रमले आर्जन गरेको धन परिवारका लागि आवश्यक औषधि, लुगा-फाटा, शिक्षा, उपचार र अन्यमा खर्च हुने पैसा लटरीमा जान्छ। यसरी सन्चय गरेको धन लटरीमा खर्च भएकोले ती महत कार्यहरू वाधित भए-सो समाजलाई परेको सामुहिक हानी हो। उक्त अध्ययनमा लटरीको पैसा आखिरी कहाँ र कसरी खर्च हुन्छ भन्ने पनि उल्लेख छ। लटरीको 70 प्रतिशत राशी ठग, लुटेरा, भगौड़े, दलाल, तश्कर, छट्‌टु र अन्य असामाजिक तत्वको हातमा जान्छ जसको फलस्वरू गाउँ, शहर, टोलमा अपराधिक गतिविधि पनि बढ़ेर जान्छ। 

लटरी फेला पर्ने अथवा पाउने सम्भावना सम्बन्धि पनि विज्ञानमा आधारित सांख्यिकि शास्त्र अनुरूप धेरैवटा अध्ययन-अनुसन्धान भएको छ। उदाहरणहरूको झलक प्रस्तुत छ | 

1. एक व्यक्तिले 18 वर्षको उमेरदेखि 75 वर्षको हुँदासम्म हप्तैपिच्छे 100 रुपियाँ पर्ने 100 वटा लटरी खरीद गर्दा 2 करोड़ 73 लाख रुपियाँ हुन्छ। तर उसको लटरी जित्ने सम्भावना भने 1 प्रतिशत अर्थात्‌ 100 मा 1 मात्र हुन्छ!

2. 10 लाख रुपियाँको लटरी विजेता बन्न, 4 करोड़ जनामा एकजना मानिसलाई मात्र सम्भव छ भने बरू 2 लाख 40 हजार मानिस मध्ये एक जनालाई चट्याङ्ग लाग्ने सम्भावना चैं अधिक हुन्छ है!

3. एक व्यक्तिले हप्तैपिच्छे   50 वटा लटरी टिकट खरीद गर्दा उसको लटरी जित्ने सम्भावना 5 हजार वर्षमा एक पटक मात्र आउँछ।

 

4. 1 देखि 49 सम्मको संख्या भएको कुनै लटरीमा 6 वटा संख्याको कुनै एउटा लटरी टिकटलाई विजेता घोषित गर्ने अर्थात्‌ जित्ने सम्भावा 1 करोड़ 40 लाखमा एक मात्र हुन्छ। प्रसिद्ध सांख्यिकी शास्त्री जेसन लीको आंकलन अनुसार उक्त लटरी जित्नुभन्दा अघि त्यो मानिस अमेरिकी राष्ट्रपति हुनु सक्ने, दोस्रो बारेन भफेट बन्नु सक्ने, धुमकेतुले किच्याएर मर्नु सक्ने र नलको तातो पानीले पोलेर मृत्यु हुने सम्भावना अधिक हुन्छ। उपरोक्त तथ्यहरूले लटरी प्राप्त गर्ने-नगर्ने सम्भावना छर्लंग पार्छ।

सफलता, प्रगति, सम्वृद्धि र सम्पन्नताको लागि कड़ा परिश्रम, लगनशीलता र सद्‌बुद्धिको आवश्यकता हुन्छ। सबै धर्म र महापुरुषले पनि यही शिक्षा दिन्छन्‌। यो हाम्रो प्राचिनकाल देखि चलिआएको मान्यता हो। यसको विपरित लटरी र जुवाले अनैतिक अर्थोपार्जन र भाग्यवादलाई प्रोत्साहन दिन्छ। एउटा समाजमा या क्षेत्रमा कति जनसंख्या छ र त्यसमध्ये कतिजनाको जीविका लटरीले चलेको छ, कुनै एक समयावधिमा कतिजनाले लटरीको टिकट काटे, कति जनाले कति राशीको लटरी जिते, जितेको राशीले के उन्नति-प्रगति भयो आदि अध्ययन गर्दा लटरीको औचित्य या अन्यथा सम्बन्धि निर्णय लिन सहज हुन्छ। लाभ र हानीको अनुपात के छ? एक जनालाई लाभ र लाख जनलाई हानी हुने कार्यलाई प्रोत्साहन दिनु उचित हो? यो मनन र चिन्तनको विषय हो। एकपक्ष अर्थशास्त्रीले लटरीबाट सरकारलाई राजस्वको गतिलो राशी प्राप्त हुने माध्यम मानेर प्रशंसा गर्दछन्‌ भने अर्को पक्षले यस्तो राजस्वको विरोध गर्छन्‌। के सरकारको उद्देश्य अनैतिक कार्यबाट राजस्व बटुल्ने हो?

लटरीको लतले कैयौं मानिस, परिवार वर्वाद भएको समाचार छन्‌। तामिलनाडु, कर्णाटक, गुजरात आदिमा लटरीमा असफल भई ऋृणमा डुबेर आत्महत्या गरेको धेरै घटनाहरू भएपछि लटरीमा प्रतिबन्ध लगाएको छ भने 13 वटा राज्यहरू (केरल, बंगाल, आसाम, नागाल्यान्ड, सिक्किम आदि) बाहेक अरू सबै राज्यमा पनि प्रतिबन्धित छ-लटरी। सन्‌ 2015 मा सर्वोच्च न्यायालयले लटरीमा प्रतिबन्ध लाउने कानूनलाई सही ठहऱ्याएको छ भने संविधानको धारा 249 र 252 अन्तर्गत संसदलाई जुवा-लटरी आदि माथि प्रतिबन्ध लाउने कानून बनाउने अधिकार प्रदत्त छ।

सरकारी लटरीको सत्य-निष्ठा माथि पनि शंका र आरोप नलागेको होइन। नक्कली टिकट छाप्ने, असल विजेताको राशी एजेन्टहरूले हत्याउने, जितेको लटरीको फोटोकपी गरेर कैयौं पटक पैसा उठाउने, सरकारलाई कर नबुझाुने, लटरीको नाममा नगद राशी जम्मा गरेर हवालाइ चलाउने आदि अनैतिक गतिविधिको केन्द्र-बिन्दु पनि हो-लटरी। 

2015 मा कोलकाता पुलिसले लटरीबाट धाँधली गरी जम्मा गरेको 20 करोड़ रुपिायँ जफ्त गरेको थियो भने नागाल्यान्ड लटरी मामिलामा सरकारलाई रु 38297 करोड़को चुना लगाएको मुद्दा चलिरहेको छ। पोहोर साल सिक्किम राज्य लटरी घोटालामा 913 करोड़ रुपियाँ हिनामिना गरेको मामिला त जनमानसमा अझै आलै छ। यस्तो उदाहरणहरू प्रशस्तै छन्‌। लटरी या जुवा, वरदान हो कि अभिशाप? निर्णय कसले लिने? अस्तु।

अन्य लेखहरू