कुटील सोंचहरूको चक्रव्यूहमा गोर्खाल्याण्ड मुद्दा रूमलिन्दा

  • 2026-05-09 20:47:28

बी.घिमिरे, बिजनबारी

भारतीयहरूको त्याग अनि बलिदान र देशप्रति समर्पणको भावना देखेर अंग्रेजहरूको होश उड़न थालेको थियो। भारतीयहरूको अदम्य साहस, एकता देखेर अंग्रेज दंग भएका थिए। देशको अखण्डता बचाई राख्न कसैले पनि केही कसर छाड़ेका थिएनन्‌। यसो हुँदा देशमा लामो समयसम्म शोषण गरिरहेका अंग्रेज सरकारमा ठूलो हलचल मचिन थालेपछि अन्तमा  भारत छोड़न विवश भए। देश स्वतन्त्र भयो भारतीयहरूमा खुशी आउनु स्वभाविक देखिन थालेको थियो। यसरी देशले स्वतन्त्रता प्राप्त गर्दा देशका हरेक नागरिक आफ्नो हक र मर्यादा पूर्ण जीवन बाँच्ने भए। देशका धर्म गुरुहरूको मान्यता थियो ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया’ यस्तो  समाज अब निरमाण हुन सकोस्‌ देशमा तब मात्र हामीले सोंचे अनुरूप भारत देक्न पाउन सक्छौं। भारतीयहरू अब कोही पनि निरीह, तिरस्कृत अथवा कमजोर नहोस्‌। सबैको मूलभूत आवश्यकता सरकारले पुरा गर्नसकोस्‌। 

तर समय सँगसँगै दिनहरू बित्दै जाँदा सम्म हाम्रा धर्मगुरुले सजाएका सपनाका दिनहरू साकार हुन सकिरहेको छैन। देशले स्वतन्त्रता प्राप्त गरेका दिनहरू क्रमशः बित्दै जाँदा 73 वर्षको लामो अवधि बितिसक्दा पनि भारत देशमा अझ पनि देशप्रति समर्पित हुने नेपाली भाषी गोर्खा जातिको सपना साकार हुन सकिरहेकै छैन। राष्ट्रीय जीवन दर्पणमा हामीले मागेको, खोजेको हाम्रो अस्तित्वको माग गोर्खाल्याण्ड, हाम्रो चिन्हारी अनि हाम्रो भविष्यबारे पटक पटक गर्दै सरकार समक्ष माग गर्दै आइरहेका छौं। हुन त, यो अस्तित्वको माग 20औं शताब्दीको आरम्भकाल देखिनै ठोस काम गर्दै आइरहेका छौं। यसरी आफ्नो मर्यादा र स्वाभिमानको माग गर्दा अनेकौं आरोह, अवरोह अनि कठिन परिस्थितिसित समय बिताउनु परेको छ। साँचो रूपमा भन्नु हो भने जुन जाति समुहले देशको अखण्डता बचाई राख्न, ज्यान जोखिममा पार्दै शहीद भए अनेकन परिस्थिति झेल्दै सिमानामा डटिरहेका छन्‌। त्यो गोर्खा हामी नेपाली भाषी जातिले देश स्वतन्त्रता भएको रसस्वादन गर्न पाएका छैनौं। यो देशको धरतीमा यस्तै गतिविधि चलायमान भइरहे जबसम्म आकाशमा घाम, जून, तारा अटल भइ चम्किरहन्छ तबसम्म हामी स्वाभिमानी जाति कहलाइने गोर्खा जातिले शान्ति र सन्तुष्टिको मिठो सास फेर्न सक्छौं र? हाम्रो जातिको निम्ति यो जटिल प्रश्न सबैको अघि माइल खुट्टी सरह ठिङ्ग उभिएको छ। हामी यो स्वतन्त्रता प्राप्त गरेको देशमा असली ग्रीन कार्ड होल्डर बन्न नसकिरहेको धोको हामी सबैको अन्तर मनमा झ्याङ्गिन्दै गइरहेको छ। यो स्वतन्त्र देशमा गोर्खा जातिको जस्तो इतिहास  उनीहरूको जस्तो बलिदान अरूको भए यतिञ्जेल हासिल गरिसकेका हुन्थे सायद। यो धुर्व सत्यलाई नकार्न सकिन्न। 

यो विशाल देश भारमता बसोबासो गर्ने अन्य भाषी समुहको तुलना गरि हेरिपठाए हामी वीर जाति भए पनि हामी विचित्र जाति चाहिँ हौं। उत्ताउलो जाति पनि हुन पुग्यौं। पढ़ेका, नपढ़ेका सबैको आचरण, पतिवद्धता कमजोर हुन पुगेका छन्‌। पहाड़मा बसोबासो गर्ने गोर्खा जाति समुदायले यो देशमा एउटै मूलभूत माग गर्दै आएतापनि भीरको चिण्डो झैं स्तितिमा पुगिसकेका छौं। हाम्रो यस्तै फ्यातुलो पतिवद्धताले हामीले राजनीतिमा प्रवेश गर्दा अहिले सम्मको परिणामको फुल चाख्यौ, चाख्दै आइरहेका छौं। हामीले गर्दै आइरहेको राजनीति यसरी नै चलिरहेको छ। वास्तवमा भनौ भने हामी अनेकतामा एकताको अर्थ भने कहिले पनि बुझेनौ बुझ्ने प्रयास समेत गरेनौ यस्तै छौं हामी। हामीले आफ्नै जातिको गौरवमय प्रवृत्तिलाई बिर्सि पठाएका छौं। यो नै हाम्रो ठूलो त्रासदी हो। हाम्रो यस्तै प्रकारको काम गराइले यहाँ राजनीतिको परिभाषा नै बिग्रिएर गएको देखिन्छ। हाम्रो पहाड़मा अनेकन राजनैतिक दलहरू गठन भइसकेका छन्‌ तर विडम्बना नै मानौं यहाँ कुनै दलको राजनीति उचित र ठोस पाइला चाल्न नसक्ने दल भएर चिनिएको छ या भनौ यहाँको राजनैतिक मौसम नै ठीक छैन भनी नहिच्काई भन्न सकिन्छ। पहाड़मा आजसम्म हिटलरको एकतन्त्री शासन व्यवस्था जस्तै यहाँको राजनैतिक परिवेश देखिएको छ। भिन्न भिन्नै दलसँगै पहाड़मा नेताहरूको संख्या यहाँ कम छैन। नेताहरूको बजार छ। तर जम्मै नेताहरू नेता नभएर लेता मात्रै भएको कारणले आजसम्म पहाड़का जनताले सदियौंदेखि उठाउँदै आइरहेको गोर्खाल्याण्डको दावीले पार पाउन सकिरहेको छैन। कुनै पनि नेतामा जनतालाई नेतृत्व दिने क्षमता नभएको कारण जनताको कुरा नगरौं यहाँ दार्जीलिङ राजनैतिक अस्थिरतामा पुगिसकेको देख्न पाइरहेका छौं। 

हाम्राहरू राजनीतिमा परिपक्वता नभएको कारण हातमा परेको गांस पनि सजिलै उम्किएर गयो। अवस्था-व्यवस्थाहरू यसरी नै यसरी हातैबाट फुत्किन्दै गइरहेको छ। पहाड़मा हामी गोर्खाल्याण्ड कि गोर्खाल्याण्ड भन्दै आन्दोलनमा होमिने गऱ्यौ यही समय झारखण्ड राज्य गठन भयो, छत्तिसगढ़ राज्य भयो। यही समय अवधिमा अब देशमा राज्यहरूको गठन हुने छैन भनी घोषणा सार्वजनिक हुँदा हुँदै पनि राज्यहरूको गठन भयो। देश भित्र नै राज्य गठनको माग कुनै अगणतान्त्रिक कार्य होइन। देशको संविधान अन्तर्गत माग गर्नु संवैधानिक माग हो। यसको लागि देशका अग्रजहरूले मागलाई सुन्ने इच्छा गर्नुपर्दछ। तर गोर्खाल्याण्डको माग ठिक विपरित भइरहेको छ। गोर्खाहरूको माग विच्छन्नवादी माग जस्तो भइरहेको छ। गोर्खाहरूको मागलाई सरकार पक्षका प्रमुखहरूले अलिकता पनि संवेदनाको सृष्टिले हेरेका छैनन्‌। यो नै हाम्राहरूको निम्ति अति दुःखको कुरा हो। मौकामा चौका हिर्काउन हाम्राहरू चुकेकोले पनि हामी थला परेका छौं। आखिर यो विडम्बना कहिलेसम्म जातिले भोगिरहनु पर्ने?

अन्तमा पहाड़का लोकप्रिय समाचार पत्र ‘सुनचरी’ मा पढ्‌न पाइएका ‘मोती-मुक्ता’ पंक्ति यहाँ राख्ने धृष्टता राख्दै प्रस्तुत छ। 

सानो कथा साँच्चीकै

दर्दै दर्द जुरेर सायद न हो

दुख्दो छ हाम्रो कथा

जाती हुन्छ... भनेर कसरी भन्नु

वर्षौ गड़ेको व्यथा

हाम्राहरू घनघोर वैद्य  पनि छन्‌

तारा खसाल्नेरू

मौकाको तर लाभ आर्जन गरी

बाता बसाल्नेहरू।

 

अन्य लेखहरू