आजको हाम्रो स्थिति

  • 2026-05-09 20:44:08

कोभिद 19-को महामारीले अझै बिसाउने नाम लिएको छैन, यो फैलिएको फैलियै छ। भारतमा प्रत्येक दिन सरदर एक लाखका संख्यामा मानिसहरू संक्रमित भइरहेका छन्‌। मर्ने मरिरहेका छन्‌। तर अलिकति आश लाग्दो कुरो, निको हुनेहरूको संख्याको प्रतिशत पनि अलिअलि बड्‌दैछ। फेरि पनि कसैसँग लसपस नगरी नाक-मुख-आँखा जोगाउँ, विशेषगरी नाक-मुख जोगाउँ, अहिले यही एउटा विकल्प हामीमा रहेको छ। 

चीनले निहुँ खोजेको खोज्यै छ। मध्यमार्गको यो अङ्‌क पाठकका हातमा पुग्दा न पुग्दा ऊँट कुन कोल्टे फर्किएर बस्ने हो त्यो अहिले भन्न सकिने स्थिति छैन। पहिलो र दोस्रो विश्वयुद्ध विश्व दुइ भागमा बाँड़िएको थियो, अहिले पनि झन्डै झन्डै स्थिति त्यस्तै छ। यो जग्जगी पनि छँदै छ। 

यसपालीको बर्खे अधिवेशनमा केन्द्र सरकारले नयाँ ‘किसान बिल’ ल्यायो। विपक्षीहरूको  हल्लखल्लमै सरकारले त्यो बिल पास गरायो। राष्ट्रपतिको सही छाप भयो, कानून बनियो। ‘किसानहरू अब लुटिए, यिनको सर्वनाश हुने भो, यो केन्द्र सरकार किसान मारा हो’ भन्ने उर्दी विपक्षी नेताहरूले फिंजाए। धर्ना, प्रदर्शन, रेल ठप जस्ता काममा किसानहरू अघि सरेर आएर, भारत बन्द भन्ने उर्दी जारी गरियो। उसो त कोरोना महामारीले गर्दा भारत त्यसै बन्द छ, यो काम पनि भयो। सरकार भन्छ ‘यो बिल किसानको भलाइका लागि हो, विपक्षीको प्रतिवाद यो बिल, यो कानून, किसानको हत्या हो’। सबै आ-आफ्नो राजनीति चम्काउन व्यस्त छन्‌। 

सुशान्तको मृत्युको माखेसांग्लो, सीबीआई, इडी, एनसीबी को छापामारी र अभिनेता-अभिनेत्रीहरूमा लागु-पदार्थको दोषारोपणको खबरले दूरदर्शनका सबै च्यानलहरू ढाकिए। अरू अति आवश्यक समाचारहरू त कता हराए कता, सबै टी आर पी बढ़ाउने उपक्रमको खेल हो। यसको के निष्कर्ष निस्किन्छ, त्यो कसैलाई थाहा छैन। 

बिहारमा चुनाउ भयो, अब आउँदो वर्ष बङ्गालको पालो छ। यसको समीकरण कस्तो हुन्छ, फलाफल के निस्किन्छ, त्यो त पछिको कुरो हो। पहाड़का नेताहरू भित्रभित्रै ‘तथाकथित’ गोर्खाल्याण्डको माला जप्न थालिसकेका छन्‌, अब तर साधारण जनतालाई पनि यस्ता कुराको बानी परिसकेको छ। यो गाड़े घाउ कहिले निको हुने हो, त्यसको ओखती अझै भेटिएको छैन। 

दशैं गयो, तिहार आउँदैछ। दशैं हामीले मनायौं, यो चाड़ पनि हामीले जोगिएर उत्साह र आनन्दले मनाउँ, वातावरणलाई घच्चो पच्चो नदिउँ, त्यसलाई दुषित न पारौं, पटका धेर नफुटाउँ, दिया-बत्ती जोगाएर बालौं, यसैमा हाम्रो भलो छ भन्दै मध्यमार्ग सबैलाई तिहारको शुभेच्छा अघि सार्दछ।

अन्य लेखहरू