नवीन पौड्याल
समाजमा कोही व्यक्ति आफ्नो अधिकांश जीवनमा आफ्नो जातिलाई योगदान दिएका हुन्छन्। आफ्नो काम कुरो एकातिर सेवाकार्य अर्कातिर राखेर समाज र जातिलाई आफ्नो पक्षबाट योगदान दिइरहेका हुन्छन्। यस्तै एक समाजसेवी व्यक्ति कालिम्पोङमा छन् जसले नेपाली लोकनृत्यलाई गत अडतीस वर्षअघिदेखि निशुल्क सिकाइरहेका छन्, परम्पराको हस्तारण गरिरहेका छन्, नयाँ पुस्तालाई लोककलाकार बनाइरहेका छन्। उनी उनी हुन श्री राजेन गुरूङ।
राजेन गुरूङको जन्म सन् 1958 मा कालेबुङको डुङ्ग्रा बस्तीमा भएको हो।उनका बाबु स्व. एस पी गुरूङ र आमा नन्दकुमारी थिए। उनले स्थानीय एस.यु.एम.आइ. पढेर सन् 1975 मा पुरानो हायर सेकेन्डरी (माध्यमिक परीक्षाको चलन थिएन, एकैचोटि हायर सेकेन्डरी दिनुपर्थ्यो) उत्तीर्ण भएका हुन्। त्यसपछि उनी एक वर्ष जति मात्र कलेज पढेर छोडिदिए। उनले 1977 मा पञ्चायती विभागमा सरकारी जागिरे जीवन शुरू गरेका हुन्। त्यति बेला नै काठमाडौंबाट नारायण गोपालले आफु राष्ट्रिय नाचघरका महाप्रबन्धक रहँदा राजेन गुरुङलाई त्यस नाचघरमा हास्यकलाकारको जागिरका निम्ति निम्तो दिएका थिए तर घरमा बाबुले सरकारी नोकरी छोडेर काठमाडौं जानैपर्दैन भनेर जान दिएनन्।
आफनो हास्य अभिनय कलालाई काठमडौंमा चम्काउन नपाए पनि चुप लागेर बसेनन्। उनले सन् 1976 देखि नाट्यभिनय शुरू गरेका हुन्। उनले दीपक सुनाम, दार्जिलिङको तर बिहानी हुँदैन’, प्रकाश कोविदको उपन्यासमा आधारित अर्को जन्म‘ नाटक, प्रशान्त धमाला दोषीका मान्छे अमान्छेको बजार’, रून्छन् यहाँ सिउँदोहरू’, मधुसूदन लामाका बाटो छेउको घर’, नलेखेका इतिहासहरू’, सि के श्रेष्ठका अनि भालेमुङ्गो रून्छ’, स्याल पस्ला है शहरमा’ आदि जस्ता नाटकहरू हास्य अभिनेता भएर अभिनय गरेका थिए। नेपाली साहित्य अध्ययन समितिको रजत वर्ष समारोह 1993 मा एकल अभिनय (मोनोएक्ट) प्रतियोगितामा दोस्रो भएका थिए। उनले 1984-85 मा अशोक राईहरूले खोलेको संस्था बागीना’ मा जोडिएर लोकगीत गाउन थाले। सिके श्रेष्ठको लालुपाते रेलिमाइ’ सांस्कृतिक केन्द्रमा हास्य कलाकार भएर काम पनि गरेका थिए। यसका साथै उनले धेरै वर्ष स्कुल-स्कुलमा गएर स्वतन्त्र दिवसका निम्ति विद्यार्थीहरूलाऊ सामुहिक ड्रिल सिकाएका हुन्।
आफ्नो सरकारी सेवाका अतिरिक्त आफुले जानेको नेपाली लोकनृत्यकला सिकाउन थाले। हप्ताभरि आफ्नो जागिरमा हाजिर भएर शनिबार र आइतबार भने नेपाली लोकनृत्य प्रशिक्षण दिनथाले। सन् 1981 कुमुदिनी स्कुलको एउटा बाहिरी कोठामा चारजना विद्यार्थी लिएर आफ्नो सेवा शुरू रेका हुन्। त्यसपछि यसलाई संस्थागत रूप दिएर 1982 मा आफुले जानेको लोकनृत्यकलालाई समाजोपयोगी बनाउँदै लोक सांस्कृतिक संस्थान’को स्थापना गरे। त्यसलाई अघि बढ़ाउन भने निकै सङ्घर्ष गर्नुपऱ्यो। कहिले कालिम्पोङ टाउन हलमा, कहिले सिड फार्मको गोदाममा, कहिले प्रणामी स्कुलमा, कहिले त्रिपाइको सामुदायिक भवनमा कहिले चेस्ट क्लिनिकको सामुदायिक भवनमा गरी सरिहिँड्नु परेको थियो। त्यसैगरि 1983 देखि 2010 सम्म एस. यु. एम. आइ.को जिम हलमा तथा 2010 देखि भने कुमुदिनी स्कुलको धर्महलमा शनिबार र आइतबार दिनको ठिक एक बजेदेखि तीन तीस बजेसम्म प्रशिक्षण दिने गरेका छन्। प्रशिक्षण दिनलाई हलको टुङ्गो थिएन, घुमी घुमी यसका निम्ति अनुनय विनय गर्नुपर्थ्यो। विभिन्न स्कुलतिर कोठा माग्दा कहिले त खप्की पनि खानुपरेको थियो उनी आफैं बिहान विभिन्न स्कुलको प्रार्थना सभामा गएर आफुले निःशुल्क लोकनृत्य प्रशिक्षण दिने कुरा विद्यार्थी समुदायमाझ उदघोषणा गरेर आह्वान गर्नुपरेको थियो। संस्थान खोलेपछि यसका चिजबीज राख्ने दुइ तीनवटा बाकस राख्ने ठाउँ पाएनन्। कहिले नै विद्यार्थीको घरमा, कहिले कहाँ राख्नु पर्दथियो। सन् 1996 मा भने गोर्खा सांस्कृतिक संस्थानका सभापति भरत थापा हुँदा उनले मेलाटार छेउको एउटा कोठामा सामान राख्न दिएका हुन्। जो अद्यपि छँदैछ।
राजेन गुरूङले सन् 1982 देखि हालसम्म लगातार अड्तीस वर्ष जति दस हजारभन्दा बढीलाई ठेट लोकनृत्य निशुल्क प्रशिक्षण दिएका छन्। आमाले सिकेर अहिले तिनकै छोरी पनि सिक्न आएको पाइनाले उनले दुई पुस्तालाई लोक नृत्य सिकाइसकेका छन्। उनले आफ्नो प्रशिक्षणमा आउने प्रशिक्षणार्थीहरूलाई हाम्रा सबै जातगोष्टीका ठेट लोकनृत्य सिकाउने गर्छन्। कोही नयाँ आउने केटी विद्यार्थी छ भने सङ्गिनी र केटा छ भने सेलोबाट शुरू गराउँछन्। एउटा विद्यार्थीले सबैभन्दा थोरैमा तीन वर्षदेखि अधिकतम आठ नौ वर्षसम्म प्रशिक्षण लिनेगरेका छन्। तीनचार वर्षमा प्रशिक्षणार्थीहरूले रोइला, कौरा, चण्डी, पश्चिमे, चाँचरी, चुड्का, झ्याउरे, पालम, रोदीघर, सोरठी, संगिनी, तीजगीत, रोपाइँगीत, खुकुरी नृत्य, जुवारी नृत्य, खैँजडी, रूमाले, सेलो, बाह्रमासे घाटु, ट्याङ्कुली, असारे, शेर्पानाच, लेप्चानाच, लहरी लालीमाइ आदि सिक्न पाउँछन्। उनले विद्यार्थीहरूलाईयी नृत्यहरूको सामाजिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमि बताएर तिनको व्युत्पत्तिगत अर्थ, नृत्य पद्धति, नियम, मह्त्व र उपयोगिताबारे सबै सैद्धान्तिक कुरा लेखाउँदै-बुझाउँदै सिकाउँँछन्। यसका साथै तीती नृत्यहरूसित सम्बन्धित स्त्री पुरूषका गर-गहना, वस्त्र र बाजा-गाजा सबै चिनाउने गर्छन्। संस्थानको तर्फबाट वर्षमा एकचोटि परीक्षा पनि लिनेगरेका छन्।
आफ्ना प्रशिक्षणार्थीहरूले कालिम्पोङमा आयोजित धेरै सांस्कृतिक कार्यक्रमा लोकनृत्य प्रस्तुतिका निम्ति निम्त्याइन्छ र नृत्य प्रस्तुत गर्छन्। संस्थानलाई कोलकाताको सांस्कृति महोत्सव, कुचबिहारको कृषि मेलामा बर्सेनी लाने गरेका थिए। पछि आन्दोलनकालदेखि टुट्यो। यसैगरि आफ्ना विद्यार्थीहरूको टोली लिएर दिल्ली, काठमाडौं, भुटान, नागाल्याण्ड, वीरभूम, बानरहाट, लाटागुडी, सिक्किम आदि ठाँउ गएका हुन्। यसरी लाँदा आयोजकहरूले टोलीलाई खाने बस्ने, घुम्ने व्यवस्था गरिदिन्छन् तर ती ती ठाउँमा कार्यक्रम प्रस्तुत गरेवापत आर्थिक लाभ लिनेगरेका छैनन्। विद्यार्थीहरूले शुरूमा आफ्नो नाम संस्थानमा पंजीकरण गरेपछि कुनै शुल्क पर्दैन।
संस्थानलाई कालिम्पोङका केही सहयोगीहरूबाट नगद र जिन्सी भने सहयोग प्राप्त भएका छन्। मणि ट्रस्ट कालिम्पोङले चालिस हजार नगद सहयोग गरेको थियो जसबाट संस्थानलाई चाहिने लोक भेषभूषा किनेका थिए। कसैले दौरा सुरूवालहरू, कसैले पश्चिमे मादल, कसैले डम्फू, कसैले के दिएर संस्थानलाई टेवा दिएका छन्। उनको प्रशिक्षणबाट कतिपय विद्यार्थीले आफ्नै लोकनृत्य प्रशिक्षण केन्द्र पनि खोलेका छन्। समाजमा उनको योगदानको कदरस्वरूप उनलाइ कालिम्पोङ विभिन्न सङ्घ-संगठन र प्रतिष्ठानहरूले सम्वर्द्धित-अभिनन्दित, सम्मानित गरेका छन्। संस्थानले अहिले आफ्नो लोकभेषभूषा निकै जोडेको छ। यसमा गुरूङको वेतनको पचास प्रतिशत संस्थानको उनन्तिका निम्ति हाल्नुपरेको छ। संस्थान उनका निम्ति साधन होइन, साध्य हो। आफु सरकारी नोकरी गर्दै सन् 1982 देखि अनवरत रूपमा शनिबार र आइतबार हप्ताको दुई दिन भए पनि हुद्दाका हुद्दा स्कुल कलेज पढ्ने विद्यार्थीहरूलाई निशुल्क प्रशिक्षण दिइरहनु लरतरो योगदान होइन। अहिलेका नानीहरूको रूचि अन्यत्र मोडिएर नानीहरू कम आउन थालेको, आफुले दशनंग्री खियाएर खुट्टामा उभ्याएको संस्थानको संरक्षणको चिन्ता गर्छन्। अहिले आफु सरकारी सेवाबाट निवृत्त्त भएपछि उनको दिनचर्या संस्थानमा केन्द्रित देखिन्छ। उनको सुस्वस्थ्य र दीर्घायुको कामना गर्दछु।

