तिहारको स्मरणमा हामी

  • 2026-05-09 20:45:45

लोकनाथ उपाध्याय चापागार्इं,  मीमलाल सापकोटा

आर्य सनातन धर्ममा प्रकृति पूजनको ठूलो महत्व छ। हामी गोर्खा समुदायले पनि प्रकृतिलाई नै पुज्ने गर्दछौ। प्रकृतिको विनाश त सम्पूर्ण मानव जातिकै विनाश भनेर सोचे हुन्छ। प्रकृतिको दोहन गरेरै आज हामी यहाँसम्म आइपुगेका पनि हौं। दोहनसम्म त ठीकै हो तर प्रकृतिलाई अत्याचार र शोषण गर्न पटि लाग्नु हो भने यसले साउँमात्र होइन, ब्याज धरि लिन्छ र पछि हामीलाई विनाशको जुन सँघारमा यसले पुऱ्याउँछ, त्यसको कल्पना पनि हामी गर्न सक्दैनौं। 

सनातन धर्ममा त चाड़बाड़ मान्नु पनि प्रकृतिलाई सघाउ पुऱ्याउनु हो भन्ने देखिन्छ। यस भित्र पनि हामी गोर्खा समुदायमा त यी चाड़हरू मनाउने अवधारणामा अरू समुदायको भन्दा धेरै पार्थक्य रहेको हुन्छ। 

दशैं गयो, दशैंको कुरो अहिले नगरौं। अब अर्को चाड़ तिहार आउँदैछ। यो चाड़ हामी लगातार पाँच दिनसम्म मनाउँछौं।  यो चाड कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिबाट शुरू भएर कार्तिक शुल्क पक्षको द्वितीया तिथिसम्म पुग्छ। यिनै पाँन दिनलाई हामी यमपञ्चक भन्छौं। गाइ तिहार र हली (गोरु) तिहारलाई छोड़ेर अरू तीनवटा तिहार यमराजसँगै गाँसिएका देखिन्छन्‌। 

पहिलो दिन कागतिहार, यसदिन कागलाई अन्नदेखि लिएर अरू मीठा मीठा पदार्थहरूसम्म अर्पण गर्ने चलन छ। यसको एउटा मन्त्र पनि छ- 

काकोसि यमदूतोसि गृहाण बलिमुत्तम्‌,

यसद्वारे महाघोरे त्वमाप्यायी तुमर्हसि।

कागलाई यमराजको दूत मानिन्छ। दूतको अर्थ नै साधारणरूपमा सन्देशवाहक भन्ने हुन्छ। यसका अरू गुण के छन्‌ त भन्ने प्रश्नको उत्तरमा यो पक्षी प्रदुषण रोक्नमा ठूलो सहायक हुन्छ। लोकमान्यता अनुसार घरका छेउछाउ अथवा घरका धुरीमा (अचेल शहर बजारका घरमा धेरजसो धुरी हुँदैनन्‌) बसेर बिहान काग कराएछ भने राम्रो वा नराम्रो समाचार ल्यायो भन्ने धारणा पनि छ। अझ, ‘आज पाहुना आउँछन्‌ है’ भन्ने लोकोक्ति त छँदैछ, अरू हिन्दु सम्प्रदायले, विशेषगरी उत्तर-मध्य भारतका मानिसहरूले यस दिनलाई ‘धनतेरस’ भन्ने गर्छन्‌। यो ‘तेरस’ शब्दले त्रयोदशी तिथि बुझाउँछ। यसको सम्यक अर्थ हुन्छ ‘धन भित्र्याउने त्रयोदशी तिथि।’ त्यसदिन नयाँ नयाँ भाँड़ा बटुकादेखि लिएर सुन-चाँदी, गर-गहनासम्म किन्ने चलन अरू समुदायमा छ। तर मूल रूपमा हाम्रो समुदयमा त्यो प्रथा छैन। आज शुरू भएको छ।

भोलिपल्ट चतुदर्शी तिथिमा कुकुर तिहार मनाइन्छ। हामी यसलाई ‘नर्के चतुदर्शी’ पनि भन्ने गर्छौं। किनभने कुकुरलाई पनि यमकै प्रतिनिधि मानिन्छ। सम्भवतः भारतको कुनै समुदायले यसरी कुकुरको पूजा गर्दैन होला! यो प्रथा हामीमा चल्नुको अर्थ हो प्रकृतिको सम्मान गर्नु र जीव जन्तुलाई माया गर्नु। कुकुर कत्तिको विश्वासिलो र प्रभुभक्त हुन्छ भन्ने कुरो त हामी सबैलाई थाहै छ। कुकुरलाई भैरवको वाहन हो पनि भनिन्छ। 

यसका भोलिपल्ट औंसीका दिन गाइतिहार मनाइन्छ। गाईलाई त अति पूजनीय र साक्षात्‌ लक्ष्मीको स्वरूप नै मानिएको छ। हुन पनि, सम्पूर्ण मानव जातिलाई गाइले जति उपकार अरू कुनै प्राणीले गर्दैन। 

तिहारको मुख्य पर्व, मुख्य आकर्षण नै गाई तिहारे औंसी हो। यसैदिन बिहान गाइको पूजा गरिन्छ, खान दिइन्छ, टीको लाइन्छ। साँझमा लक्ष्मी र कुवेरको पूजा गरिन्छ, घरका वरिपरि झलमल्ल दीया बालिन्छन्‌। चेली-बेटीहरूले साँझमा घर घरै गएर भैली खेल्छन्‌ र यसरी यो उत्सव मनाइन्छ।

अरू अरू भाषामा अथवा प्रायः हिन्दीमा चाड़-पर्वलाई ‘त्यौहार’ भन्छन्‌। त्यही त्यौहार शब्द नै हाम्रा जीब्रामा पसेर तिहार भएको हो। तर हामी तिहारलाई मात्रै ‘तिहार’ भन्छौं, अरू चाड़लाई भन्दैनौं। 

चेली-बेटी वा महिलाहरूले खेल्ने ‘भैली’ मा बलिको प्रसङ्ग पनि आउँछ र बलि र लक्ष्मीको प्रतिस्पर्धा चलेको कुरो पुराणहरूमा पढ्‌न पाइन्छ र बलिलाई पाताल पठाइएको र वर्षमा एकदिन पृथ्वीमा  (आर्यवर्त्तमा) आउन पाउने हक बलिलाई दिएको प्रसङ्ग पनि पुराणहरूमा उल्लेख छ। याद रहोस्‌, बलि हिरण्यकशिपुको पनाति, प्रह्लादको नाति अनि बिरोचनको छोरो हो। विष्णुले वामन अवतार लिएर बलिसँग आफू बस्ने तीन पाउ जमीन मागेको र पछि पाताल पुऱ्याएको कुरो त हामीलाई थाहै छ। 

यो भैलीमा पनि चेली-बेटीहरूले बलिको प्रसङ्ग झिकेर भैली-गीतमा उसको प्रशस्ति गाउँने गर्छन्‌। 

औंसीका भोलिपल्ट प्रतिपदालाई हली तिहार वा गोरु तिहार भनिन्छ र यसदिन बहर, बाछा, गोरुको पूजा गरिन्छ।यसैदिन गोवर्धन पर्वतको पूजा गर्ने चलन पनि छ। गोवर्धनको अर्थ नै गाइ-बाछा सप्रिने, फष्टाउने हो। 

यसरी हेर्दा यहाँ के देखिन्छ भने यी चार दिनसम्म हामीले काग, कुकुर, गाइ  बाछा-गोरुहरूको पूजा गरेका हुन्छौं। यो एकप्रकारले जीव-जन्तु र प्रकृतिकै पूजाभन्दा हुन्छ। 

यो तिहारको आखिरी दिन (कार्तिक शुक्ल द्वितीया) दिदी-बहिनीले दाजु-भाइलाई टीको लाइ दिएर लामो आयुको कामना गर्ने चलन छ। हुन ता हाम्रा यी चाड़-बाड़ मनाउने रीति-थितिमा कुनै न कुनै पौराणिक कथा गाँसिएको हुन्छ नै, र यो भाइटीकाको प्रसङ्गमा पनि, धेरै वर्षपछि यमले आफ्नी बहिनीको हातको टीको लाएको कथा साँगी लागेको छ र ‘जुन दाजु-भाइले आज दिदी-बहिनीका हातको टीको लाउछन्‌, तिनको आयु लामो होला’ भनेर यमराजले आफ्नी बहिनीलाई आशीर्वाद दिएका थिए भन्ने उल्लेख छ। यसरी हेर्दा यहाँ के देखिन्छ भने, यी पाँच दिनसम्म कुनै न कुनै रूपमा यो चाड़ यमराजको प्रसङ्गसँग जोड़िएको देखिन्छ र त्यसकारण यी पाँच दिनलाई यम पञ्चक भनिन्छ। 

पौराणिक प्रसङ्गहरूमा साधारणतः विजया दशमी र तिहारको औंसीलाई रामको कथासँगै जोड़ेर हेर्ने गरिन्छ। रामले रावणमाथि विजय दशमी अनि राम वनवास पूरा गरेर आफ्नो नगरी अयोध्या फर्किंदा प्रजाहरू खुशी भएर दीया बालेर पुरै अयोध्यालाई झलमल्ल पारेका थिए र त्यो दिन यही औंसी परेको थियो भन्ने प्रसङ्ग त छँदै छ।

तिहारसँग सेलरोटीको  गहिरो साइनो छ। साँच्चै भन्नु हो भने, सेलरोटी छैन भने हाम्रो घर-परिवारका लागि तिहारको कुनै महत्व नै रहँदैन। यसलाई कसै-कसैले घुमाउने रोटी पनि भन्छन्‌ र एकप्रकारले यो शब्द पनि सरोबरी नै चलेको देखिन्छ। तिहारमा भाइटीकाका दिन सेलरोटी, तिलको अचार र सयपत्री फूलको माला त हुन्छ हुन्छ। कार्तिक महिना प्राकृतिर तवरमा ढकम्म सयपत्री फुल्ने समय पनि हो। यस फूलमा सयौं पत्रा हुन्छन्‌ भनेर यसलाई सयपत्री भनिएको हो। याद रहोस्‌, यो सयपत्रीको फूल र पातमा अत्याधिक औषधीय गुण हुन्छ जो धेरैलाई थाहै भएको हुँदैन। उहिले उहिले सेलरोटी तिहारमा मात्र पकाइन्थ्यो, तर उपलब्ध भएरै होला, अचेल बिहे-बटुलोदेखि लिएर कुनै पनि चाड़ पर्वमा सेलरोटी पकाइन्छ। 

हिन्दु सनातनी धर्मावलम्बीहरूमा पनि सबैमा यी पर्वहरूको महत्व अलग तरीकाले दर्शाइएको हुन्छ र अलग अलग सम्प्रदायमा अलगरूपमा मनाउने चलन पनि देखिन्छ। एउटा व्यतिक्रमको उदाहरण अघि साऱ्यौं। हामीले दशैं पछिको पूर्णिमामा अन्तिम टीको-टालो गरेर जमरा सेलाउँछौं भने बङ्गाली सम्प्रदायले त्यसदिन कोजाग्रत लक्ष्मी पूजा भनेर लक्ष्मीको पूजा गर्छन्‌। हामीले गाई तिहारे औंसीका दिन साँझमा वा राती लक्ष्मी र कुबेरको पूजा गर्छौं भने बङ्गालीहरूले त्यसदिन राति कालीको पूजा गर्छन्‌ र कालो बोकाको बलि पनि चड़ाउँछन्‌ जसलाई उनीहरू ‘काली पूजा’ भन्छन्‌। भौगोलिक अवस्थान र जलवायुको प्रबावले होला, यस्तो व्यवधान धेरै सम्प्रदायमा देखिन्छ।

दशैं हामीले जसो तसो मनायौं। अब यो तिहार पनि त्यसरी नै मनाउँला। कोरोनाको महामारीले थामिने नामै लिएको छैन। यो महामारीले हाम्रा यी चाड़हरूको मौका छोपेर कतिलाई गाँज्न सक्छ। याद राखौं, यहाँ जीवन छहुञ्जेल सबैथोक छ, जीवन नै स्वाहा भएपछि न चाड़ छ, न पर्व छ! सबैलाई हामी आखिरीमा यही सतर्क गराउन चाहन्छौं।

अन्य लेखहरू