- मुकुन्दराज ओली
बलिउडका उदीयमान प्रतिभाशाली अभिनेता सुशान्त सिंह राजपुतको रहस्यमयी तरीकाले मृत्यु (आत्महत्या!) भएपछि यसको जाँच कार्यमा लागेको सीबीआईको कार्य प्रगतिमा छ। तर अहिलेको जाँचको प्रकरण मोड़िएर बलिउडमा लागू पदार्थ (ड्रग्स) सेवन काण्डमा पुगेको छ। नोर्कोटिस कण्ट्रोल ब्यूरो (एनसीबी) ले एकपछि अर्को गर्दै बलिउड कलाकारहरूलाई समन जारी गरेर केरकार गरिरहेछ, त्यसमा अहिले सुशान्त मृत्युको मामिला ठण्डा बस्तामा गएको छ। केही दिन अघिसम्म मीडियाको केन्द्रविन्दु सुशान्तको मृत्यु थियो भने अहिले ‘हाइलाइट’-मा ड्रग्स काण्ड छ।
14 जून 2020 मा सुशान्त सिंह राजपुतको संदिग्ध परिस्थितिमा मृत्यु भयो। मुम्बईको बान्द्रास्थित आफ्नो फ्ल्याटबाट झुण्डिरहेको अवस्थामा सुशान्तको शव उद्धार गरियो। अधिकांशले सुशान्तको मृत्यु आत्महत्या नभएर हत्या भएको दावी गरिरहेछन्। शुरूमा मुम्बई पुलिसले यस घटनाको छानबीन गऱ्यो। सुशान्त समर्थकहरू मुम्बई पुलिसको जाँचकार्यबाट सन्तुष्ट भएनन्। सुशान्तको मृत्युको मामिलालाई ढाकछोप गर्न खोेजेको मुम्बई पुलिसप्रति आरोप लाग्न थाल्यो। दिवंगत अभिनेताका लागि न्यायको माग सोशल मीडियादेखि सड़क-सड़कमा हुनथाल्यो। बलिउडमा भाइ-भतिजावाद हुने गरेको, ठूला कलाकारहरूले नवागत कलाकारहरूलाइ हेप्ने गेरको कुराहरू उठ्न लागे। निर्माता करण जोहर, अभिनेता सलमान खान, अभिनेत्री आलिया भट्ट, महेश भट्ट आदि जनाक्रोशका शिकार भए। सुशान्तको पक्षमा भएर भाइ-भतिजावाद (नेपोटिज्म) र यौन शोषण आदिबारे अभिनेत्री कंगणा रणावत एकदमै मुखर भएर अघि आइन्। आलिया भट्टको नयाँ चलचित्र सड़क-2 को जारी भएपछि यसलाई मन नपराउनेहरूको संस्याले एउटा कीर्तिमान नै कायम गऱ्यो।
यसरी मुम्बई पुलिसको जाँच कार्यबाट सन्तुष्ट नभएर सुशान्तका पिता के-के सिंहले पटनाको राजीव नगर थानामा छः जना विरुद्ध मामिला दर्ता गरे। यसमा सुशान्तकी महिला मित्र रिया चक्रवर्ती, तिनका पिता इन्द्रजीत चक्रवर्ती, भाइ शौभिक चक्रवर्ती आमा सन्ध्या चक्रवर्ती, बिजनेस म्यानेजर श्रुति मोदी अनि हाउस म्यानेजर स्यामुएल मिराण्डा सामेल छन्। सुशान्तका पिताले यिनीहरू विरुद्ध सुशान्तलाई आत्महत्या गर्न विवश गरेको आरोप लगाए। यसपछि बिहार पुलिस मामिलाको जाँचमा ओलिर्यो। यस मामिलामा सुशान्तको परिवारले रिया चक्रवर्तीमा 15 करोड़ रुपियाँ हिनामिना गरेको पनि आरोप लगाएको छ। सीबीआई सँगसँगै प्रवर्तन -लेनिदेशालय (ईडी)-ले सुशान्त मामिलामा पैसाको लेनदेनको जाँच गरिरहेको छ।
27 जुलाई चार सदस्यीय बिहार पुलिस मुम्बई गएर घटनाको छानबीनमा लाग्यो। यसमा पनि बिहार पुलिसलाई मुम्बई पुलिसले सहयोग नगरेको आरोप लाग्यो। मुम्बई नागरनिगमले पटनामा एसपी विनय तिवारीलाई क्वारेण्टाइनमा राख्यो। यसपछि बिहार सरकारको अपीलका केन्द्रले सुशान्त सिंह मृत्युको मामिला सीबीाई सुम्पियो र यसबारे सीबीआईको जाँच कार्य प्रगतिमा छ। सुशान्तको ब्यांक खाताबाट पैसा यताउति भएको मामिलाको जाँच प्रवर्तन निदेशालय (ईडी)-ले गरिरहेको छ। रिया चक्रवर्तीलाई सोधखोजको क्रममा बलिउडका कलाकारहरू ड्रग्सकाण्डमा सामेल भएको कुरा अघि आयो। तिनीहरूले वाट्सएप-मा ‘कोड वर्ड’ मार्फत ड्रग्सबारे कुराकानी गरेको, ड्रग्स पार्टी गरेको इत्यादि कुरा निस्कँदा नार्कोटिस कण्ट्रोल ब्युरोले समन जारी गरेर अभिनेत्रीहरू दीपिका पादुकोण, सारा अली खान अनि रकुलप्रीत सिंहलाई केरकार गऱ्यो। तर यसबारे कुनै ठोस परिणाम निस्केको छैन र यी अभिनेत्रीहरूले ड्रग्स लिने गरेको पुष्टि हुनसकेको छैन। र पनि बलिउडमा ड्रग्स ऱ्याकेट छैन भनेर ठोकुवा गरेर भन्न सकिँदैन।
विषयलाई सुुशान्तको मृत्युतिर लैजाँदा गत 3 अक्टोबर अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)-को फरेन्सिक टीमले सीबीआईलाई अन्तिम रिपोर्ट सुम्पिदियो जसमा सुशान्तलाई घाँटी दबाएर हत्या गरिएको होइन र यो पूर्णतः आत्महत्या हो भनिएको छ। यस रिपोर्टपछि सुशान्त मामिलाको पटाक्षेप भएको भन्न सकिन्छ। तर यसमा अब तिनलाई आत्महत्या गर्न उक्साइएको भनी सुशान्तका वरिपरिका सहयोगीहरू (रिया आदि) विरुद्ध जाँच हुनसक्छ। यसैबीच एम्स-को रिपोर्टपछि सुशान्तको परिवारका उकील विकास सिंहले रिपोर्टप्रति असहमति जनाउँदै यस मामिलामा एउटा नयाँ फरेन्सिक टीम गठन गर्ने माग सीबीआईसमक्ष अपील गरेका छन्। जे होस्, अब सीबीाईले यसबारे ढीलोछिटो आफ्नो निर्णय सुनाएर मामिलाको छिनोफानो गर्ने नै छ।
अब कुरा गरौं बलिउडमा भाइ-भतिजावाद (नेपोटिज्म)-को ठूला-ठूला अभिनेता-अभिनेत्री, निर्देश-निर्माताहरूले आ-आफ्ना छोरा-छोरीहरूलाई चलचित्रमा भित्र्याउँदछन्। यस्तोमा बाहिरबाट आएका प्रतिभाशाली कलाकारहरूले बलिउडमा खुट्टा जमाउन गाह्रो पर्दछ। यसको निम्ति तर निर्माता-निर्देशकहरूलाई केही भन्न सकिँदैन, तिनीहरू आफ्नो इच्छाअनुसार चलचित्रमा कसैलाई पनि लिन सक्छन्। तर कथंकल ठूला निर्माता-निर्देशकले कुनै नयाँ कलाकारहरूलाई चलचित्रमा लिए तिनीहरूले उक्त कलाकारलाई आफ्नो चलचित्र पूरा नभइञ्जेलसम्म अन्य चलचित्रमा खेल्न नपाउने शक्ति राख्दछन् | यस्तोमा नयाँ कलाकारहरूलाई मर्का पर्न जान्छ। तिनीहरूले राम्रा-राम्रा अवसर गुमाउँदछन्। फेरि निर्माताले चलचित्र निर्माण गर्न वर्षौं दिन लगाइदिए उक्त कलाकारको क्यारियर नै चौपट हुँदछ। बलिउडमा यस्तो स्वघोषित नियम परिवर्तन हुनुपर्छ र नयाँ कलाकारहरू चलचित्र रोज्न पाउनुपर्दछ। अर्कोतिर बलिउडमा स्थापित कलाकारहरूले विभिन्न कार्यक्रमहरूमा नवोदित कलाकारहरूलाई हेप्ने-होच्याउने गरेको पनि देखिन्छ। एवार्ड कार्यक्रम, टक शो-हरूमा उदीयमान कलाकारहरूलाई नानाभाँती भन्ने पनि गरिन्छ। यस्तोमा नयाँ कलाकारहरूको मनोबलमा धक्का पुग्दछ। एउटा टक शो-मा अभिनेत्री आलिया भट्टले स्व. अभिनेता सुशान्त सिंह राजपुतबारे भनेको एउटा बयानले तिनी सुशान्त प्रशंसकहरूको आलोचनाको शिकार बन्न पुगेकी हुन्। ठूला कलाकारहरूले उदीयमान कलाकारहरूलाई प्रोत्साहन दिनुपर्ने काम गर्नुपर्दछ। कतिपय क्षेत्रमा यस्ता कुराहरूलाई हणस्यौलीको रूपमा लिएर नयाँ कलाकारहरूले पचाउन पनि सक्नुपर्छ।
बलिउडमा नयाँ अभिनेत्रीहरूको यौन शोषण गरिने गरिएको पनि आरोप लागी नै रहन्छ। यसलाई ‘कास्टिङ काउच’ पनि भनिन्छ। निर्माता-निर्देशकहरूले चलचित्रमा काम दिलाउन नयाँ अभिनेत्रीहरूलाई ‘सेक्स’-का लागि प्रस्ताव राख्ने गरेको र कति ठाउँमा जबरजस्ती पनि गर्ने गरेको कुरा उठिरहेको छ। केही दिन अघि ‘मी टु’ अभियान जोर पक्रेको थियो। अभिनेत्री तनुश्री दत्तले वरिष्ठ अभिनेता नाना पाटेकरविरुद्ध यौन उत्पीड़नको आरोप लगाइन् भने अभिनेता-निर्देशक साजिद खान विरुद्ध पनि यस्तो अभियोग लाग्यो। यसले गर्दा दुवै अभिनेताले काम गर्दै गरेको चलचित्रहरू गुमाउनु पऱ्यो। अन्यविरुद्ध पनि यस्तै आरोप लागे अनि कार्वाही पनि भयो। हालै अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपविरुद्ध यौन शोषणको अभियोग लगाएकी छन्। यसबारे कुरा अघि बढ़िरहेछ बलिउड जस्तो विशाल उद्योगमा नारीहरूविरुद्ध यौन शोषण एउटा गम्भीर मुद्दा हो। नाम र दाम कमाउन भनी आफ्नो प्रतिभा लिएर चलचित्र उद्योगमा आएका नवोदित अभिनेत्रीहरूमा हुने यौनशोषण रोक्न र यसप्रकारको कार्य गर्ने निर्माता-निदेशक-अभिनेताहरूविरुद्ध कठोर कार्वाही गर्न सरकारले कड़ा पदक्षेप लिनुपर्ने आवश्यकता छ। यस विषयमा राष्ट्रिय महिला आयोगले पनि विचार गर्नुपर्दछ। बलिउडमा हुने यौन शोषण अब रोक्नुपर्दछ।
हालका दिनमा ड्रग्स काण्डले पनि बलिउडलाई निकै तताएको छ। सुशान्त मृत्युपछि जाँचमा रिया चक्रवर्तीलाई सोधखोज गर्दा बलिउडमा कलाकारहरूले ड्रग्स लिने गरेको र ड्रग्स पार्टीहरू हुने गरेको कुराको खुलासा भयो। यसमा रियाका भाइ शौभिक लगायत ड्रग्स प्याडलरहरू पक्रा परे। सारा, दीपिका, रकुल आदि अभिनेत्रीहरूलाई केरकार गरियो। शाहरूख खान, रणवीर कपुर, अर्जुन रामपाल आदि अभिनेताहरूको नाउँ मीडियामा देखा पार्दै पर्देछ। सलमान खानका उकीलले न्यायालयमा हाजिरीसम्म दिए। जसले जे सुके बयान दिए पनि बलिउडमा ड्रग्सको सल्याङ-मल्याङ हुने गरेको कुरालाई नकार्न सकिँदैन। सुपरस्टार अक्षय कुमारले पनि बलिउडमा ड्रग्सको समस्या भएको कुरा स्वीकार गरेका छन्। तिनले तर यसमा सबैजना लिप्त नरहेको जनाएका छन्। बाल-वनिता-वृद्ध धेरैले बलिउड कलाकारहरूलाई आदर्श मान्ने गर्छन्। यस्तो बलिउड ड्रग्समा मुछिए यसको सम्मान नै के रह्यो र! बल्ल अक्षय बोले तर यसबारे अझसम्म कुनै ठूला अभिनेता-अभिनेत्री, निर्माता-निर्देशक, गीतकार-संगीतकारहरूले मुख खोलेका छैनन्। वास्तवमा सबै कलाकार एक भएर बलिउडलाई ड्रग्सको कलंकबाट मुक्त पार्ने कोशिश गर्नुपर्ने हो। सबैजन चूप लागेर तमासा हेरिरहेका छन्। बलिउडको वर्तमान झ्याउलोबारे संसदमा भाजपा सांसद तथा अभिनेता रवि किशनले कुरा उठाउँदा सपा सांसद तथा अभिनेत्री जया बच्चनले ‘जुन थालमा खाँदैछन्, त्यसमै दुलो पार्दैछन्’ भनेर उत्तर दिइन्। जयाको यो बयान अपरिपक्व थियो। तिनले यस्तो कुरा नगरेर सुशान्त मृत्युको सही जाँच, बलिउडमा हुने गरेको नेपोटिज्म, कास्टिङ काउच र ड्रग्स आदि कुरा उठाउनु पर्थ्यो र सरकारसमक्ष चाँड़ोभन्दा चाँड़ो यी समस्याको समाधानको माग गर्नु उचित थियो।
जे होस्, सुशान्त मृत्यु मामिलामा सीबीआईले चाँड़ै फसेला सुनाउनेछ, आशा गरौं। यसै बीच रिया चक्रवर्तीले सशर्त जमानी पाएकी छन्। सुुशान्तको ब्यांक खातामा कुनै गड़बड़ी नभएको सिबीआईले बताएको छ। अब अन्य अन्य पक्षहरूलाई समेटेर जाँच अघि बढ्न पनि सक्ला, मामिलाको छिनोफानो भएर नै छोड्नेछ। तर सबैभन्दा ठूलो कुरा बलिउडमा हुने नेपोटिज्म, यौन शोषण, ड्रग्स समस्या आदिको भने समाधान हुन अति नै आवश्यक छ। यसका लागि पहिला बलिउड कलाकारहरू नै अघि आउनुपर्छ। सरकार र सम्बन्धित पक्षले यसबारे ध्यान दिनुपर्छ। बलिउडमा यो तमासा बन्द हुनुपर्छ।

