आदरणीय पाठकगण, सादर प्रेम प्रणाम् ।
आध्यात्मिक चिन्तन, सत्य-असत्य, धर्म-अधर्म, शुद्धता-अशुद्धता र बिश्वास-अबिश्वासको तराजु अनि हृदयको ऐनामा आफ्नो आत्माको जागृत या सुसुप्त अवस्था निहार्ने प्रक्रिया हो। हजुरहरूलाई, श्री कृष्ण प्रणामी धर्म कोच्याई धर्म संस्थाको संख्या बड़ोत्तरी गर्ने अभियान होइन यो, तर, यो, हाम्रो अजर अमर आत्माको अखण्ड मोक्षको पथ प्रदर्शन गर्ने जमर्को हो।
धर्म शास्त्र अनुसार, जीवनकालमा गरेको पाप कर्म या पुण्यको फल, आत्माले मृत्यु पश्चात् भोग्नेछ। आत्माले कर्मको फल भोगिसकेपछि, चौरासी लाख युनीको जन्म-मरण-दशा-चक्कर अन्तर्गत फेरि यो मृत्युलोकमा जन्म लिनुपर्नेछ। आत्माले अखण्ड मोक्ष प्राप्त नगरे सम्म, जन्म-मरण-दशा-चक्कर टुट्नेछैन।
जन्म-मरण-दशा-चक्करबाट अखण्ड मोक्ष पाउनु, या, यो मायाको दु:खरूपी संसारमा फेरि कहिले फर्कनु नपर्ने अनन्त मोक्ष प्राप्त गर्नुको निम्ति :-
1) अधर्म र अवगुणलाई त्यागी धर्म अनि गुण ग्रहण गर्नुपर्छ; 2)अहिंसाको ब्रत पालन गर्नुपर्छ; 3) खान-पान, रहन-सहन; मन, बचन र कर्म शुद्ध र पवित्र हुनुपर्छ अनि, 4) विश्वको सबै धर्म ग्रन्थहरूको सार ग्रन्थ, श्री दिब्य तारतम सागर अन्तर्गत पाइने सबै ज्ञान र बिज्ञानको पराकाष्ट ज्ञान, अद्वितीय श्री दिब्य तारतम आत्मा जागृत ज्ञानको पठनपाठन, श्रवण, ग्रहण अनि यस्को सार तत्वलाई हृदयङ्गम गरी, ब्यवहारिक जीवनमा गाल्नुपर्छ; तब मात्र आत्मा जागृत भई श्री राजजीमा पूर्ण बिश्वास र भरोसा हुन्छ। 5) यसो भएपछि, हामीहरू, अनन्त अविनाशी अक्षरातीत परब्रह्म पूर्ण ब्रह्म श्री कृष्ण-कन्हैया प्रभु परमात्मा श्री राजजी-मा आत्मा समर्पण गर्छौं अनि प्रतिपल् श्री राजजीको नाम सुमिर गर्ने अनन्य भक्त बन्छौं। पल्-पल् केवल एक श्री राजजीको नाम सुमिरन गर्ने मानसिक भक्ति पद्धतिलाई ‘अनन्य प्रेमलक्षणाभक्ति’ भनिन्छ। 6) अनन्य प्रेमलक्षणाभक्ति मार्गी हामी श्री कृष्ण प्रणामी धर्मावलम्बी सुन्दरसाथले, आफ्नो जीवनको लगाम् श्री राजजीलाई सुम्पिन्छौं; तब श्री राजजी हाम्रो शुद्ध र पवित्र हृदय मन्दिरमा आई बिराजमान भैबक्सनेछ। 7) अबोप्रान्त, हाम्रो हरेक बिचार, भावना र कर्मको केन्द्रबिन्दु स्वयम श्री राजजी होइबक्सनेछ अनि हामी श्री राजजीको आदेशको अधीनमा रहन्छौं; बिना आदेश चल्दैनौं, चट्पटाउँदैनौं। 8) यसरी हामीहरूले जीवन कालमा नै अखण्ड मोक्ष प्राप्त गर्नेछौं अनि जन्म-मरण-दशा-चक्करबाट मुक्त हुनेछौं।
उक्त स्थिति बिश्व भरिको खासलखास सुन्दरसाथको जीवन-अवस्थाको बर्णन हो। के आफु खास सुन्दरसाथको पंक्तिमा छौं हजुर? निहारौं। निष्ठावानको निम्ति सुन्दरसाथ हुनु अति सहज छ तर निष्ठाको ढोंग गर्नेको निम्ति यहि सरल धर्मपथ, तरवारको धारमा हिँड़े सरह हुन्छ। आफ्नो धर्मनिष्ठाको सत्यता आफुलाई अनि सर्वव्यापी अन्तर्यामी श्री राजजीलाई थाहा छ्। श्री राजजीबाट केहि अनि कोही लुक्दैन, छिप्दैन। बठ्याईँ नगरौं।
आध्यात्मिक चिन्तन आफ्नो आत्माको पहिचानको माध्यम हो। के आफुले आफ्नो तन र मनको शुद्धता र पवित्रताको तसल्ली गरिएकोछ? आफ्नो धर्म/अधर्म, योग्यता/अयोग्यता इत्यादि हामीहरू आफै जान्दछौं, अन्यलाई सोध्ने जरूरी छैन। सही बाटोमा हिँड़ौं। गति र मति नछाड़ौं। यसो गरे, बाटो र लक्ष्य बिर्नेछन् अनि आत्मा भटि्कएर चिरकाल सम्म रोइहिँड़्नुपर्नेछ। यस्तो अन्याय नगरौं।
प्रिय पाठकगण, म दोहोर्याइरहन्छु कि आत्मा-कल्याणकारी प्रायश्चित शरीर छँदै अनि आँफै गर्नु पर्छ। मरे पछि त आत्माले कर्मको फल भोग्नु थालिहाल्छ। मृतकले जीवनकालमा गरेको पाप कर्मलाई, जीवित कसैले, पुराण र पुजापाठ लगाएर, दान-दक्षिणा अनि कर्मकाण्ड गरेर साथै भण्डारा दिएर सच्याउनु सक्दैन। धर्म--कर्म आफै गर्नुपर्छ। खेताला लगाएर हुन्न। आफ्नो कर्मको फल आफैले भोग्नु पर्छ।
धर्म प्रेमी महानुभव, जीवनको कुनै पनि क्षेत्रमा सफलता हासिल गर्नुको लागि, इमानको साथ निष्ठाबद्ध रही, नियम पालन गर्नु पर्छ। धर्म र कर्म दुवैमा निष्ठा चाहिन्छ। जस्तै:-
1) कोभिड-19 महामारी को कारण बन्द रहेका प्राय सबै स्थानहरू अब खुलिसके। विद्यालय अनि महाबिद्यालयहरू पनि खोलिने रे। अब बेस्सरी रमाउने भो कोभिड-19! नाक र मुख छोप्ने ‘मास्क’ नलगाए; अर्को मानिसदेखि कमसेकम छ फीटको दूरीमा नरहे अनि हातमा घरि-घरि ‘स्यानिटाइजर’ नदले या बिधिवत साबुन र पानीले हात नधोए अनि अनुशासनहिन भई सलङमलङ गरे, बिमार लाग्छ अनि यस्ले लान पनि सक्छ। अनुशासित भई बस्नेहरू या निष्ठावान भने चोखै रहेकाछन् अनि रहनेछन्। यो त प्रमाण भैसकेको कुरा हो।
2) बैद्यले बिमार ठिम्याई, औषधी दिएर, बिमारीले औषधीको सेवन गरे पनि, सल्लाह अनुसारको परहेज नगरे या नियम पालन नगरे, औषधी लाग्दैन। तब ज्यान जोखिम हुनुसक्छ।
3) अजर अमर आत्माको अखण्ड मोक्षको निम्ति, श्री दिब्य तारतम आत्मा जागृत ज्ञानको पठन-पाठन, श्रवण, ग्रहण, मनन् र ब्यवहारिक जीवनमा चरितार्थ गरी, श्री कृष्ण प्रणामी धर्ममा दिक्षित भएर पनि धर्मको निष्ठा-नियम पालन नगरे आत्मा कल्याण हुनेछैन।
4) धर्म निष्ठामा बस्ने, शुद्ध आचरणको, सच्चा रूपले त्यागी सन्तको जीवन अति सुगम र सरल हुन्छ। ढोंगीको निम्ति भने, , उनको जीवन यात्रा खुँड़ाको धारमा हिँड़े सरह हुन्छ। आफ्नो स्थिति आफैलाई थाहा हुन्छ/हुनुपर्छ। सत्यता छिप्दैन, मुर्दा तरिए झैँ एक-न-एक-दिन देखा पर्छ। उदेश्य, लक्ष्यको र कट्टरताको इमान बिना, मनुष्य मुखैको मात्र हुन्छ! बिगार्नेले काम बिगार्छ तर अन्त्यमा, बिचरा, कलियुग दोषि ठहर्छ। यो, बिग्रलको मानवको लुइरे बहना हो!
5) जाति संगठनलाई दर्बिलो बनाई, समग्र जातिको एक मुखी बुलन्द आवाजले स्वर्ग सम्म थर्काउनुको निम्ति, जाति एकतामा इमान हुनु अनिवार्य छ। बेइमानीले जन्माएको अनेकताको कारण, हाम्रो जातिको युगौं पुराना मागहरू फत्ते हुनु नसकेका हुन्। गति र मति बिग्रिए पछि बाटो छोड़िन्छ, तब सबै गर्ल्यामगुर्लुम हुन्छ। सतप्रतिशतलाई यो कुरा थाहा छ। सच्याउन कम्मर सक्ने को? असम्भव छैन तर हाम्रा सबैमा कर्मको निष्ठा र सच्चाईको इमान चाहिन्छ। सच्चिनुलाई अझै कति ठोक्कर खाने र खुवाउने हो?
6) ज्ञानार्जन र जागृतिको शिलशिलामा, बिद्यार्थीबर्गले पढ़्नुमा ध्यान दिनु पर्छ, परिश्रम गर्नुपर्छ। रटाइले, भट्याउने ज्ञानशून्य सुगा होइन्छ। पड़ाएको पाठ बुझ्नु पर्छ, नबुझे सोध्नुपर्छ। गुरू/गुरूमाले ब्याख्या गर्ने दायित्व खुसीको साथ निभाउनुहुनेछ। आफ्नो मष्तिष्कलाई माझेर टिलिक्क टल्काएको छ या नचलाएर खिया परेको छ, सो परिक्षाफलले छर्लङ्गै पार्छ। असफलताको औषधी, कक्षा र घरमा पड़ाइमा बड़ी ध्यान दियाइ र परिश्रम हो | यसो गरे सफल निश्चय नै होइन्छ। यही हो सफल बिद्यार्थी जीवनको महामन्त्र। सफलताको लागि कुनै जादु छैन।
होशियार बिद्यार्थीबर्ग! आलस्य गर्नेको भूत बिस्मातभरि हुन्छ, बर्तमान झपझप निन्द्रापूर्ण अनि भविष्य अज्ञान-अन्धकारमय र दु:खदायी हुन्छ। यसरी, जीवन ब्यर्थै सड़ीजानेछ। अब ब्युँझौं, आ-आफ्नो गर्नु पर्ने काममा ध्यान दिऔं।
सोही परी, होशियार अधर्मी झुण्ड! प्रायश्चितको शुभ मुहुर्त अहिले यसै घड़ी हो। प्रायश्चितको ढोका सबैको निम्ति खुल्ला छ। याद गरौँ, प्रायश्चितमा सय प्रतिशत इमान चाहिन्छ। यो जिन्दगीको छैन भरोसा, आज हो कि, भोलि हो। प्रायश्चित गर्नु आलस्य र बिलम्ब नगरौं। ब्यर्थै समय गुमाउँदा आत्माको अधोगति होला है!
मायाको अज्ञान अन्धकारमा, आध्यात्मिक चिन्तन, अजर-अमर आत्माको अखण्ड मोक्षस्थानको पथ प्रदर्शक प्रकाश हो। यो, आत्मा र परमात्माको संगमको साँघु हो। मागी खाने भाँड़ो चाहिँ होइन यो। चाहे ती गृहस्थी या त्यागी पुरूष/स्त्री बालब्रह्मचारी हुन्, स्वेच्छाले बन्नु भएका यस्ता धर्म-ज्ञान प्रचारकहरूले, सत्य धर्म ज्ञानको प्रचार-प्रसार निशु:ल्क गर्नुहुन्छ। धर्म प्रचारको निस्वार्थ सेवामा, त्याग, नम्रता र भक्ति पूर्वक लागीपर्नुभएका महान सन्तहरूले जीविकाको निम्ति सुर्ता गर्नु परोइन। प्रेमी भक्तजनले, नभनी अनि नमागी, उहाँहरूको सेवा, आदर, सत्कार अनि हेर्चाह अवश्यै गर्नु हुनेछ। ‘जागनी लीला’-को शुरूवात देखि नै यसो भइआएको इतिहास छ। धर्म ज्ञानको प्रचार प्रसा, भौतिक मान-प्रतिष्ठा र ऐश-आरामको सजिलो बाटो होइन। सिदा नमिले, पटुका कसेर बस्ने त्यागी धर्म-ज्ञान प्रचारक सुन्दरसाथहरूले, मिठो-मसिनो, नरम-गरम, थरिथरिको स्तरीय र स्वादिष्ट खाद्यपदार्थ नखोजेर, केवल प्राण अल्झाइराख्नको निम्ति सात्विक भोजन लिनु रूचाउनु हुन्छ। आत्मा कल्याणको अभियानमा संकल्पित र संलग्न यस्ता महान सुन्दरसाथ सन्तहरू, बुलावट बिनै, शहर-बजार, गाउँ-बस्ती, कमान अनि दुर्गम इलाकाहरूमा, घर-घर, श्री राजजीको नाम-सुमिरन, गान-भजन अनि सत्संग गर्दै घुम्नु हुन्छ। श्री कृष्ण प्रणामी धर्म-अग्रज श्री प्राणनाथ स्वामीजीले बिभिन्न इलाकाहरूमा यसरी घुमेर आत्मा कल्याणको अभियान चलाइबक्सन्थ्यो।
प्रिय पाठकगण, नाम, मान प्रतिष्ठा र ब्यक्तिगत प्रमुखतालाई प्राथमिकता दिने, भौतिक ज्ञान र बिज्ञानको चरम चतुर अनि ब्यापार-बाणिज्यमा पनि सफलता हासिल गरेकाहरू सबै, आत्मा जागृतिको उद्यमी हुँदैनन्। यी प्रभुपरमात्मा देखि दूर रहन्छन् अनि आत्माको मोक्षको बिषयमा, ‘मरे पछि देखै जाला नि!’ भन्छन्। प्रभुपरमात्माबाट मर्जी हुन्छ, ‘चाहे ती अक्षर नचलेका र तनाहा गरीब हुन्; मेरो सबै भन्दा प्यारो अनि नजिकको भक्त उनै हुन् जस्ले ममा पूर्ण बिश्वास र भरोसा गरी, समर्पित अनन्य भक्त बन्दछन् अनि मेरो शरणमा आउँछन्। म सर्बदा उनैको साथमा छु।’
सार तत्व :
तन र मनको पूर्ण शुद्धता हासिल गरी, श्री दिब्य तारतम आत्मा जागृत ज्ञानको गुड़् अर्थ बुझी; ग्रहण, मनन् र ब्यवहारिक जीवनमा चरितार्थ गरी :- 1) श्री राजजीमा समर्पित अनन्य भक्त बनौं, 2) जीवनको प्रति-पल् श्री राजजीको नाम सुमिरन गरौं अर्थात् अनन्य प्रेमलक्षणाभक्ति गरौं, तब, 3) हाम्रो शुद्ध र पवित्र हृदय मन्दिरमा श्री राजजी पधारिबक्सनेछ। 4) यसरी हाम्रो जीवनको कारण, उदेश्य र लक्ष्य पूर्ण हुनेछ। 5) अब यहीँ रही, जीवनकालमा नै श्री राजजीको श्री कोमल चरण शरण साथै श्री दिब्य अखण्ड परमधामको सुख प्राप्त हुन्छ। यसरी चौरासी लाख युनीको जन्म-मरण-दशा चक्कर टुट्छ। 6) अनन्य प्रेमलक्षणाभक्ति मार्गद्वारा मात्र श्री राजजीलाई पाउनु सकिन्छ। श्री राजजीको श्री कोमल चरण शरण प्राप्त गर्ने अर्को उपाय छैन।
श्री राजजीको असिम अनि अवर्णनिय मेहेरले, हामी, सुन्दरसाथ अति भाग्यशाली भयौं। यो पापको दलदल संसारमा पनि, दलदल माथि फुलेको कमलको फूल सरी स्वच्छ भयौं; जहाँ श्री राजजीको श्री कोमल चरण शरण छ।
प्रिय पाठकगण, हजुरहरू सबैलाई सर्वदा शुभकामना प्रेम प्रणाम् छ, प्रणाम्।

