सम्पादकीय

 

कोविड-19 ले संसारलाई अहिले जसरी हल्लायो, अनि यसको जस्तो प्रभाव विश्वमा पऱ्यो, पहिलो र दोस्रो विश्वयुद्धमा पनि शायद त्यस्तो प्रभाव परेको थिएन। यो कोरोना भाइरसले अझै थामिने नाम लिएको छैैन र यो अझै बढ्‌दै नै गएको छ। एकदिन ताला-बन्दी, अर्कादिन खुला भन्ने नीतिले केही प्रभावशाली काम गरेको छ जस्तो लाग्दैन। संक्रमित मानिसहरूको संख्या बड़ेर गएको गयै छ। सामाजिक दूरत्व, लकडाउन, क्वारनटाइन जस्ता उपायहरू अँगाल्दा अँगाल्दै पनि यसले टेरेकै छैन, यसले बिसाउने नाम लिएकै छैन। व्यापार-वाणिज्य, अध्ययन-अध्यापन, स्कूल, कलेज, नोकरी आदि सबै क्षेत्रमा यसले रोक लाएरै छाड्‌्यो। छोटकरीमा भन्नु हो भने यसले मानिसको दिनचर्या र जीवनशैली नै बदलाएर राखिदियो।

धेरै कामकुराहरू अहिले डिजिटल भइसकेका छन्‌। साहित्यिक गोष्ठी र सम्वाद लगायत ठूला ठूला व्यापार-वाणिज्य, राजनैतिक सेमिनारहरू पनि भिडियो कन्फरेन्सकै माध्यमबाट हुन थालेका छन्‌। तर धेरै काम यसरी हुन सकेपनि सबै काम अनलाइनमा हुन सक्दैनन्‌। यसले पनि धेरैलाई अप्ठ्यारोमा पारेको छ।

यो वर्ष प्राकृतिक प्रकोपको मार पनि देशले खप्नु पऱ्यो। आसाम, बिहार, युपी, उत्तराखण्ड, कर्नाटक, केरल जस्ता राज्यहरूमा पैह्रो र बाढ़ीले जुन ताण्डव मच्चायो, यसले जनधनको हानि त गऱ्यो नै अर्कातिर साधारण मानिसलाई सोचिनसक्नु मर्कामा पारेको कुरो तन्काएर नभने पनि सबैलाई थाहै छ। पश्चिम-उत्तर भारतमा सलहको प्रकोपको मार पनि कृषकहरूले खप्नु पऱ्यो। यो पनि प्राकृतिक दुर्योग नै हो।

05 अगस्तमा, अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजन र शिलान्यास प्रधानमन्त्री नरेन्द्र मोदीले गरे। विपक्षी दलका कतिपय राजनैतिक दलका नेताहरूले यसमा पनि साइत र लगन जुरेको थिएन, त्यहाँ प्रधानमन्त्री स्वयं सामेल हुनुपर्ने थिएन जस्ता कुराहरू गरेर आ-आफ्नै किसिमले तर्क र वाद-विवादहरू उठाउने प्रयास गरे। यो मन्दिर बनिएर अब तयार हुनेछ र अबको तीन वर्ष पछि यसको उद्‌घाटन पनि हुने नै छ। तर तात्पर्यपूर्ण कुरो, त्यतिखेरै लोकसभाको चुनाउ पनि हुनेछ। यसले गर्दा विरोधी पक्षका राजनैतिक दलहरूलाई निकै पिरोल्न थालेको छ। किनभने त्यतिखेर बीजेपी ले आस्थाको भोट सोहोर साहार पार्छ भन्ने उनीहरूलाई अहिले देखि नै सन्त्रासले घेर्न थालेको छ।

2021 आउन अब धेरै छैन। त्यतिखेर भारतमा जनगणना भइरहेको हुनेछ। र कोरोनाले महामारीको रूप लिएन भने बङ्गालमा चुनाउ पनि हुने नै छ। त्यसका लागि पनि केन्द्र र राज्य सरकारले अहिलेदेखि नै कम्मर कस्न थालेका छन्‌। त्यतिखेरको परिणाम जे होला होला तर अहिले हामी सुरक्षित बसुँ, मध्यमार्ग परिवार यही चाहन्छ।