सम्पादकीय

 

सम्पादकीय

2020 कसरी बित्यो, यो हामी सबैलाई थाहा नै छ। फेरि पनि यो 2020 का घटनाहरूको सूची मात्र बनाउनु हो भने पनि त्यो तन्किएर धेरै लामो हुन्छ। कोभिड-19 को महामारीले विश्व नै संत्रस्त भयो। यो वर्ष अमेरिकामा राष्ट्रपति चुनाउ भयो। यो पनि ऐतिहासिक रह्यो। यस चुनाउमा राष्ट्रपति ट्रम्पले हार स्वीकार गर्न मानेनन्‌। चुनाउलाई नै उनले भ्रष्टाचारको संज्ञा दिए। यहाँसम्म कि ट्रम्पका समर्थकहरूले संसदभित्रै पसेर ताण्डव मच्चाए र गोली हानाहान सम्म गरे। संसारको सबैभन्दा ठूलो र पुरानो गणतान्त्रिक र अनुशासित देश भनेर संसारले दुइसय वर्षदेखि मान्दै आएको देशका राष्ट्रपतिमाथि महा अभियोगको प्रक्रियासम्ममा देश पुग्यो। यो एउटा ऐतिहासिक घटनामात्र मार्ग नै देखाए जस्तो गऱ्यो। 

हाम्रा देशमा दुइस्तरका कोभिड भ्याक्सिन बनाउनमा भारतका वैज्ञानिकहरू सफल भए। धेरै परीक्षण, निरीक्षण पछि 16 जनवरीदेखि देशव्यापी यसको टीकारण शुरू भयो। केन्द्र सरकारका विपक्षीहरू यो भ्याक्सिन र यसको टीकाकरणमाथि पनि टीका टिप्पणी मात्र होइन, आ-आफ्नो राजनीति चम्काउन पछि परेनन्‌। 

किसान आन्दोलनले ‘मेरा गोरुका बाह्रै टक्का’ भन्ने उखानलाई नै चरितार्थ गऱ्यो। पुग्न न पुग्न एक दर्जन जति वार्ताहरू गरेर पनि किसान नेताहरू तीनवटै कृषि संशोधन कानून’ निरस्त नगरे आन्दोलन जारी रहनेछ भन्ने अड़ानमा रहे। यसमा राजनीति र सरकार विरोधी तत्वहरू पसेर आगामा घिउ थपे झैं यो आन्दोलनमा ऊर्जा थप्ने काम गरिरहे। साधारण खटीखाने किसानहरू यो आन्दोलनबाट टाड़ै रहे।  विपक्षी दलहरूले, खासगरी कङ्‌ग्रेसले ‘यो किसानमारा कानून हो’ भनेर किसानहरूलाई अझ उचाल्ने काम गऱ्यो जब कि यो नयाँ कानूनलाई सरसर्ती हेर्दा पनि हाम्रा नजरमा यो कानून त्यति नराम्रो देखिँदैन। मामला सुप्रिम कोर्टसम्म पुग्यो। कोर्टले कानूनलाई अस्थायी रोक लायो,निरस्त गरेन।  संसदमा बनिएको र राष्ट्रपतिबाट सहीछाप भएर मन्जुर भएको कानूनलाई सुप्रिम कोर्टले त्यसै निरस्त गर्न सक्तैन। किसान र सरकारको बीचमा मध्यस्तता र किसानहरूसँग सम्वाद स्थापितका लागि कोटर्ले चार सदस्यहरूलाई लिएर यसको निराकारणका लागि एउटा कमेटी नै गठन गऱ्यो, तर त्यो पनि किसान नेताहरूलाई मन्जुर भएन। यो समस्या पनि 2020-21 मा केन्द्र सरकारले बेहोर्नु पऱ्यो। 

पश्चिम बङ्गालमा चुनाउ आउन अझै निकै दिन छ। तर यहाँ अहिलेदेखि नै चुनाउको हुण्डरी आइसकेको देखिँदैछ। पार्टी-पार्टीमा निकै धम्साधम्सी भनौं हानाहान, तानातान, काटमारदेखि लिएर घुच्याउनु, मुन्ट्याउनु जस्ता काण्डहरू पनि हुँदैछ मौखिक आरोप-प्रत्यारोप त छँदैछ। भएन, तृणमूललाई बाइबाई गरेर बिजेपीतिर सरुवा हुने काम पनि हुँदैछ। यो हानाथाप चुनाउ आउञ्जेल अझ कति कति बढ़ेर जाने हो, त्यो आउँदा दिनहरूले भन्ने छन्‌।

पहाड़मा कतापटि पहिलो जान्छ र त्यसले सोहोरेर क-कसलाई कता पुऱ्याउँछ भन्ने प्रश्नको उत्तर त्यहाँका जनतामा लुकेको छ। बिमल गुरूङ तेस्रोपल्ट पनि ममतालाई मुख्यमन्त्री भएको देख्न चाहन्छन्‌ भन्ने कुरो छर्लङ्ग भएको छ। विनय र अनित पनि आ-आफ्ना ठाउँमा छन्‌। यो सबै हेर्दा अहिले ममताका दुवै हातमा लड्डू देखिन्छन्‌ तर ती लड्डू पछिसम्म रहने हुन्‌ वा हातबाट उछिट्टिने हुन्‌, यो चुनाउ सकिएर परिणाम निस्किएपछि थाहा लाग्नेछ