सम्पादकीय

 

पञ्चायत चुनाउ, विधानसभा चुनाउ, लोकसभा चुनाउ, यस्ता निकाय स्तरदेखि लिएर राष्ट्रियका चुनाउ, उपचुनाउहरू भारतमा बीच बीचमा भइ नै रहन्छन्‌। लोकतन्त्रमा संवैधानिक मान्यता र मर्यादा पाएका यस्ता चुनाउहरू नेताहरूका लागि एउटा टुँड़ीखेल जस्तै भएको छ। यो वर्ष एप्रिल महिनाभरि पाँचवटा राज्यमा विधानसभा चुनाउहरू विभिन्न चरणमा भए अरू राज्यका चुनाउ एक, दुई, तीन चरणमै सकिए पनि बङ्‌गालमा भने यो आठ चरणमा भयो र उनन्तीस एप्रिलमा बल्ल यसको समापन भयो। यस्ता चुनाउमा हार-जीत त हुन्छ नै। वस्तुतः चुनाउ हार-जीतकै खेल हो। यस्ता दलहरूमा कुनै पनि दलले जीतको दावी त गरेकै हुन्छ र जनतालाई यसरी विश्वासमा लिने गरिन्छ। यो चुनाउको रणनीति पनि हो।

बङ्‌गालमा भएको विधानसभा चुनाउमा यसपाली भाजपाले दुइ सयको अङ्‌क ठिचोल्ने दावी गरेको थियो र यस चुनाउमा उसले साम, दाम, दण्ड, भेद जस्ता नीतिहरू अँगालेर तीन महिनादेखि प्रचार र प्रसार गर्दै आएको हो र दिग्गज केन्द्रिय मन्त्रीहरूदेखि लिएर स्थानीय नेताहरूलाई पनि चुनाउ प्रचारमा उतारेकै हो। फेरि पनि भाजपा सत्तामा आउन सकेन। परिणाम विपरीत भयो। गल्ती कहाँ भयो? यसको निरूपण र समीक्षा पनि पछि होला नै।

भाजपाले बह्‌गाल विधानसभामा बहुमतका लागि चाहिने एक सय अठ्‌चालीस सीटको आधैमा बिसाउनु पऱ्यो र उसले सतहत्तर सीटमै चित्त बुझाउनु पऱ्यो। चुनाउ अवधिमै तीनजना प्रार्थीको मृत्यु भएकाले 294 -का ठाउमा 291 -मा चुनाउ सम्पन्न भयो र तृणमूल 213, भाजपा 77 र निर्दल 1 ले विजय प्राप्त गरे।

यो चुनाउ परिणामले के छर्लङ्ग पाऱ्यो भने, ‘गणतन्त्रमा जनता जनार्दन नै सर्वोपरि हुन्‌ र सबै क्षेत्रमा एउटै नारा र एउटै घोषणाले काम गर्दैन।’ बङ्‌गालमा, रामको अवधारणा नभएको राज्यमा ‘जय श्री राम’ -को नारा लाउनु पनि भाजपाका लागि फलिफाप भएन। फेरि पनि उत्तर बंगालमा भने राम्रो परिणाम ल्याउन सफल भयो नै भन्नु पर्छ र तीनदेखि एकैचोटि सतहत्तरमा पुग्नु पनि उसको राम्रो उपलब्धि हो भनेर मान्नै पर्छ। अर्कोतिर एउटा तीतो कुरो के भने, बङ्‌गालमा जहिले पनि कुनै चुनाउ आउँछ, हुन्छ वा हुँदै गरेको हुन्छ, त्यतिखेर यस राज्यमा कतै न कतै, कुनै न कुनै ठाउँमा, चुनाउकै आड़मा रगतपच्ठे हिंसा हुन्छ र यसपालिको चुनाउ पनि यसबाट अपवाद थिएन। भित्रभित्रै अझै पनि यो साम्य भएर सेलाइसकेको छैन। बङ्‌गाललाई छोड़ेर अरू कुनै चारवटा राज्यमा यस्तो उग्र हिंसा त्यति भएन। यो एउटा जनता बीचमै हुने र जनतालाई नै हानि गर्ने एउटा रोग हो र यसबाट परपरै रहनुमा नै जनताको हित छ भन्ने हाम्रो अड़ान छ।