जस्तै कठोर समयमा पनि हामीले मध्यमार्गलाई यसको प्रकाशनमा निरन्तरता कायम रहोस् र यो तोकिएको समय भित्रै प्रकाशित होस् भन्ने हाम्रो ध्येय छुँदा छँदै पनि गत महिनाको अङ्क प्रकाशित गर्नमा हामीलाई लकडाउनले प्रायः एक हप्ता जति ढीलो गरायो, त्यसका लागि हामी दुःखी छौं र सहृदयी पाठक-लेखक र अरू सबै महानुभावहरूले यस कुरालाई मनन गर्नु नै हुनेछ भन्ने कुरामा हामी विश्वस्त पनि छौं।
यो अङ्क पाठकका हातमा पुगि सक्ता न सक्ता भानुजयन्तीको मिति सँघारमै आइसकेको हुनेछ। नेपाली भाषालाई भानुले दिएको अवदानको कुरो त जति लम्याएर लेखे पनि त्यो कहिल्यै टुङ्गिदैन। अहिले जुन महामारीको सङ्कटकाल चलिरहेको छ, यसमा पनि भानुभक्तको सान्दर्भिकता रहेको छ भन्ने आभास उनका फुटकर कविताहरूले हामीलाई दिइरहेका छन् र तन्मयताले आफ्नै लयमा उत्फुल्ल भएर जिउनु नै जीवन हो भन्ने सन्देश उनले दिएका छन्।
चपला अवलाहरू एक् सुरमा
गुणकेशरिको फुल ली शिरमा-
भनेर उनले कान्तिपुरको व्याख्यान जसरी यो श्रृंगार रसको कवितामा गरेका छन् त्यसले हामीलाई अहिलेको यो सन्त्रासपूर्ण वातावरणमा पनि थप ऊर्जा प्रदान गरि नै रहने छ। उसो त लेखक-कविहरूको सान्दर्भिकता कहिल्यै खिएर जाँदैन र उनीहरूका कृतिहरू आ-आफ्ना ठाउँमा अभिलेख बन्न जान्छन् र स्वयं उनीहरू पनि ती कृतिहरूमा शाश्वत भएर बसेका हुन्छन्।
02 जुलाईमा कटुवाल जयन्ती मनाइने गरिन्छ। हुनता हामीले हाम्रा प्रतिभाहरूलाई त्यति चाँड़ै मूल्याङ्कन गर्न, चिन्न सक्तैनौं। कटुवाललाई पनि हामीले, हाम्रै छेउका कवि हुँदाहुँदै पनि ढीलो गरी चिन्यौं। धेरैले उनलाई निराशावादमा मुछिएका कवि पनि भने। साठी-सत्तरीका दशकमा धेरैका रचनाहरूमा, भनौं गीत-कथाहरूमा बिलौना पोखिएका हुन्थे। त्यही अवधारणाको प्रतिस्फलन कटुवालका गीतहरूमा भएको पाइन्छ। अति नै स्वाभिमानी हुनाले कटुवाल कसैसँग त्यति हातेमालो गर्न पनि अघि सरेनन्। तर उनका रचनाहरू मुटु छुने यथार्थमा मुछिएका हुन्थे र गीत-कवितामा नयाँ-नयाँ बिम्वहरूको प्रयोग गर्न उनी खप्पिस थिए। आजसम्म पनि समग्रतामा उनको मूल्याङ्कन भएको छ भनेर हामी किटान गरेर भन्न सक्तैनौं र त हामी कटुवाललाई सम्झिने गर्छौं।
यस वर्ष पनि हामीले धेरै सर्जकहरूलाई गुमायौं। ती सर्जकहरू इतिहासका पानामा कतै रहने नै छन् र पनि देख्ता देख्तै ती सर्जकहरूलाई अहिले ‘श्रद्धाञ्जलि’ भनेर लेख्नु पर्दा भोलिको समयले फेरि कस्तो खेल खेल्ने छ भन्ने झस्को त रहन्छ नै। अन्तमा सबैलाई शुभकामना।
