सम्पादकीय

 

सर्वप्रथम राष्ट्रिय स्तरको कुरो नै गर्नु हो भने देशको स्थिति यथावत नै रहेको देखिन्छ। किसान आन्दोलन भित्रभित्रै चलि नै रहेको छ। पेगासस अर्थात्‌ फोन टेपिङ्गको विषय लिएर जम्मै विपक्षी दलहरू अहिले बिजेपी अर्थात्‌ केन्द्र सरकारमाथि खनिएका छन्‌। यसमा दलीय राजनीति छ र साधारण जनताको यसमा लिनुदिनु केही पनि छैन। किसानको अधिकार हनन र यो पेगाससको विषय लिएर विपक्षी दलका सांसदहरूले संसदमा जुन ताण्डव मच्चाए, संसदीय परम्पराको मर्यादामाथि त्यो एउटा ठूलो कलङ्‌क जस्तो भएर देखा पऱ्यो। यसपालीको यो अधिवेशनमा चौबीस प्रतिशत काम पनि भएन र अधिवेशनको कार्यकाल पनि पूरा हुन सकेन। उत्तर प्रदेश भारतको सबैभन्दा ठूलो राज्य हो र संसदमा सबैभन्दा धेर सांसद पनि यसै प्रदेशबाट निर्वाचित भएर पुग्छन्‌। आउँदो वर्ष 2022 मा उत्तरप्रदेशमा लोकसभाको चुनाउ हुनु छ। त्यसैका लागि विपक्षीहरू अहिल्यैदेखि साम, दाम, दण्ड, भेद जस्ता नीतिहरू अँगालेर मुर्मुरिएका देखिन्छन्‌। 

प्रकृतिले पनि यसपाली आफ्नो उग्र रूप देखाइरहेको छ। भल, पैह्रो, बाड़ीको प्रकोपले उत्तर भारत लगायत धेरै ठाउँमा हाहाकार नै मच्चाएको छ र यो समस्या पनि राष्ट्रले बेहोर्नु परेकै छ।

जहाँसम्म अन्तर्राष्ट्रीय घटनाक्रमको कुरो छ, यसमा भारतको उत्तर-पश्चिमको राष्ट्र अफगानिस्तानमा भएको तालिबानीहरूको वर्चस्वको कुरालाई पनि भारतले सतर्क भएर तीखा आँखा गाड़ेर हेर्नु पर्ने अवस्था आएको छ, किनभने यसले भारतलाई केही न केही प्रभाव पार्छ नै। सबै कुरो कूटनीतिमा टिकेको छ। अहिले तालिबान कै सरकार रहेको छ भन्दा हुन्छ।

धेरै राष्ट्रहरूले त्यहाँ कार्यरत सैनिक र रहल मानिसहरूलाई धमाधम स्वदेशमा ओसार्दैछन्‌। भारतले पनि आफ्ना मानिसलाई फिर्ता ल्यायो र ल्याउँदै नै छ। बीस वर्षपछि फेरि तालिबानले अफगानिस्थानमा आफ्नो शक्तिशाली अस्तित्व देखायो। 

यता दार्जीलिङको स्थिति ज्यूँका त्यूँ रहे पनि विनय तामाङले आफ्नो दलबाट राजीनाम दिएको कुरो लिएर गोर्खा समुदायमा एउटा कौतुलको विषय रहेको देखिन्छ। उनले दलको प्राथमिक सदस्यताबाटै राजीनामा दिनु र सोझैै विमल गुरुङलाई पार्टीको झण्डा नै थमाइ दिएको कुरो लिएर नै अहिले यो चर्चाको विषय हुन पुगेको हो। उसो त यो दलभित्रको कुरो हो र यसमा साधारण जनताको लिनु दिनु केही छैन। फेरि पनि ‘अब उसो विनय तामाङले के पाइला चाल्ने छन्‌’ भन्ने कुरामा आज साधारण जनताको चासो छ। आजभोलि अन्तर्राष्ट्रीय, राष्ट्रिय र स्थानीय परिस्थिति यस्तै छ।