सम्पादकीय

 

2019 देखि लिएर 2021 सम्मको यो अवधि विश्व इतिहासमै एउटा डरलाग्दो अवधि भएर देखा पऱ्यो। कोरोनाको महामारीले सम्पूर्ण विश्वलाई एकचोटि थर्कायो। सामाजिक, आर्थिक, राजनैतिक समीकरण नै एकखेप खल्बलियो। यहाँसम्म कि, मानिसलाई नाक-मुख छोपेर, परपरै तर्किएर हिँड्‌नु पर्ने, घरमै थुनिएर-गुम्सिएर बस्नु पर्नेसम्मको अवस्थामा यसले पुऱ्यायो। केटाकेटीको पढ़ाईमा ठूलो व्याघात जन्मायो, मानिसहरूको व्यवसाय र नोकरी चौपट पाऱ्यो र यसरी देश देशकै अर्थ व्यवस्थालाई बिथोलेरै छाड्‌यो। विस्तारो विस्तारो यो रूढ़ी साम्य हुँदै गए पनि यसको तुष भने गएको छैन, किनभने यो मानिसको नाक मुखबाट सर्ने सरुवा रोग हो। 

हालैमा फेरि अर्को रूढ़ी आयो। रूसले युक्रेनमाथि आक्रमण गऱ्यो। पहिले युक्रेन रूसकै एउटा अङ्ग थियो। नब्बेका दशकमा यो रूसबाट छुट्टिएर स्वतन्त्र राष्ट्र भयो, यसका सँगसँगै अरू चौधवटा राष्ट्रहरू पनि अलग भए र ती देशहरू स्वतन्त्ररूपमा विश्वको मानचित्रमा देखा परे। यसरी सोभियत संघ खण्ड-बिखण्ड भयो र यो रूस अर्थात्‌ रसिया मात्र भएर रह्यो। यी देशहरूलाई छुट्याउनमा भित्रभित्रै अमेरिकाको ठूलो हात थियो। असलमा दोस्रो विश्वयुद्ध पछि नै विश्व दुइ भागमा बाँड़िएको हो र साम्यवादी र साम्राज्यवादी भएर यी देशहरू छुट्टिएकै परिणाम हो ‘नाटो’ र ‘सिटो’ को गठन। रूसले नाटो देशहरूलाई घृणा गर्छ र युक्रेन नाटोमा गएर मिसिन आँट्यो भनेनै रूस बम्किएको हो र यसरी युद्धको सूत्रपात भएको हो। यो युद्ध परमाणु बम पड़्‌काउनेसम्मको सँघारमा पुग्यो र रूसले दुनियाँ थर्कायो। 

2022 मा पाँच राज्यमा चुनाउ भयो र चार राज्यमा बिजेपीकै लहर चल्यो र उसले यी चारै राज्य हत्यायो। कंग्रेसले एउटै राज्य पनि आफ्नो दखलमा ल्याउन सकेन। अरू त के, जुन राज्य उसका अधीनमा थियो, त्यो पञ्जाब पनि ‘आम आदमी पार्टी’-ले खोसेर लग्यो र यसरी सबैभन्दा लाजमर्दो स्थिति चैं कंग्रेसकै भयो। 

पाकिस्तानको कुरो हामीलाई थाहै छ। कति दिनदेखि चल्दै आएको यो राजनैतिक नाटकको अन्त पनि नाटकीय रूपमै भयो। अविश्वास मतमा थोरै मार्जिनले भए पनि इमरान खानले हार्नु थियो, हारे। सत्ता परिवर्तन भयो। 

राजनीति एउटा चलखेल हो, एउटा दलबाट कुनै व्यक्ति अथवा नेता अर्का दलमा सर्नु पनि स्वाभाविक नै हो। विमल गुरुङ बीचमा बीजेपीका पक्षमा गए, कतिपय राजनैतिक कारणले गर्दा फेरि टीएमसीमासरे। तर अहिले बिस्तारो बिस्तारो पहाड़को राजनैतिक समीकरण भित्रभित्रै बद्‌लिँदै गएको लच्छिन देखिन थालेको छ। बिमल गुरूङ फेरि सक्रिय भएर देखा पर्न थालेका छन्‌ र उनको स्वर बद्‌लिएको छ। पश्चिम बङ्गाल सरकारबाट पनि उनको मोह भङ्ग भए झैं देखिन्छ। आउँदा दिनहरूमा फेरि उनी बीजेपीका समर्थनमा उत्रिए भने पनि यो अचम्म मान्ने कुरो हुने छैन। समय यसरी नै सर्दैछ।