सम्पादकीय

 

अन्तर्राष्ट्रिय स्तरका कुराहरू गर्नु हो भने युक्रेन-युद्धदेखि लिएर अहिले ताइवानसम्ममा यसको मेहेरो पुगिसकेको छ र भोलि यी युद्धहरूको परिणाम के हुने हो त्यो भोलिको कुरो हो। फेरि पनि लच्छिन त्यति राम्रो देखिँदैन।

प्रकृतिले पनि त्यति राम्रो लच्छिन देखाएको छैन। विश्वमै यसको प्रकोप जारी छ। कहीं बाड़ी, भल-पैह्रो आदिले जनजीवन त्राही त्राही भएको छ भने, विदेशका धेरै ठाउँमा  कहीं कहीं जङ्गलमा आगलागी भएर धेरै ठाउँ सखाप पारि सकेका समाचारहरू पनि तारै तार पढ्‌न र देख्न पाइरहिएको छ।

यता भारतमा पनि प्राकृतिक प्रकोपको त्यही नै स्थिति छ। नौवटा राज्य अहिले यो प्राकृतिक प्रकोपको चपेटमा छन्‌। उत्तराञ्चलमा ‘बादल फाट्‌नु’, पैह्रो जानु, नदी-नाला, खोला, उर्लिएर आउनु, जग्गा-जमीन, घरबारी सोहोर-साहार पार्नु, बाटो-घाटो थुनिनु जस्ता घटनाहरू भइ नै रहेका छन्‌। दक्षिण भारतका धेरै ठाउँ जलमग्न छन्‌ र त्यहाँको जनजीवन पनि अस्तव्यस्त भएको छ। हुनता यो भदौका महिना बादल-झरी र बाढ़ीकै महिना मानिन्छन्‌ र पनि चाहिँदो भन्दा धेर यस्ता प्राकृतिक घटनाहरूलाई सहजरूपमा ‘यो स्वाभाविक हो’ भनेर मानिलिन सकिँदैन। किनभने भारतको स्थिति र अवस्थान सबै क्षेत्रमा एकै किसिमको छैन। ‘कहीं यो वैश्विक तापमानको प्रभाव त होइन’ भन्ने आशङ्‌का वैज्ञानिकहरूले गर्न थालेका छन्‌।

भ्रष्टाचारको जरो कहाँसम्म र कति तलसम्म पुगेको छ भन्ने कुराको अनुमान लाउन पनि अब त साह्रै पर्छ, गाह्रै पर्छ होला भन्ने आशङ्‌का मानिसहरूमा सल्बलाउन थालेको छ। घरैभरि, कोठै भरि बन्डलका बन्डल दुइहजार र पाँचसयका करन्सी नोटहरू भेटिनु, तोला र ग्रामको त के कुरो कैयौं केजी सुन-चाँदी, गर-गहना भेटिनु, प्रवर्तन निदेशालय (ईडी)-ले पनि गनेर नसक्नु रुपियाँहरूको थाक देख्दा यो गाड़ेघाउको उपचार र निदान कसरी होला र यसलाई कसरी जरिफेद लाएर उखल्नु भन्ने प्रश्नको उत्तर कसैसँग छैन, किनभने यसका धेरै संस्करणहरू देखिन्छन्‌। हर-हिसाबमा हिनामिना गर्नु, दस्तावेजहरूमा पनि हेरफेर गर्नु जस्ता प्रकरणहरू त छन्‌ नै, भएन, प्रमाण नै नभेटिनु जस्ता गूढ तत्त्वहरू पनि यसमा साँगी लागेर जोड़िएका देख्न पाइन्छन्‌।

यता हाम्रातिर वा पहाड़तिरको अवस्था पनि ‘रात बित्यो, अग्राख पलायो’ भन्ने उखान धान्न पुगेको देखिन्छ। सालेखालेमा भन्नु हो भने पहाड़मा सबै नै आ आफ्नो दुनो सोझ्याउनमा व्यस्त देखिन्छन्‌। कर्म र वचनमा, कसैमा पनि एकरूपता देखिंदैन। सबै ‘आफ्नै डम्फु, आफ्नै राग’ भन्ने आहान चरितार्थ गर्दै हिँड़ेका छन्‌। आजकै स्थिति जब यस्तो छ, भोलिको कुरो नगरे पनि हुन्छ। सामाजिक, आर्थिक, राजनैतिक समीकरण जब बिथोलिन थाल्छ, तब हाम्रो स्थिति र परिस्थितिका तानबाना जम्मै छिन्नभिन्न भएर जान्छन्‌ यो कुरो अकाट्य छ र यसैलाई हामीले जोड्‌ने प्रयास गर्नुछ। तर अहिले त ‘प्राकृतिक प्रकोप भ्रष्टाचार, आफ्नै खुकुरी आफ्नै धार’ भन्ने अवस्था छ।