हाम्रा धार्मिक चाड़बाड़हरूमा दशैं र तिहार नै यस्ता चाड़बाड़ हुन्,जसमा धार्मिक, सांस्कृतिक र सामाजिक, यी तीनवटै मूलभूत उपादानहरू गाँसिएका पाइन्छन्। उसो त, हामीले हिजोआज भानुजयन्ती, कटुवाल जयन्ती, अगमसिंह गिरी जयन्तीहरू पनि भव्यताका साथ मनाउन थालेका छौं। भाषा दिवस पनि हामी त्यही अनुसार एकदिने वा दुइदिने कार्यक्रम राखेर मनाउने गर्छौं। यति मात्र होइन, पादरी गङ्गा प्रधान, पारसमणि प्रधान र बद्रीनारायण प्रधानलाई पनि उति नै महत्व दिएर सम्झिने गर्छौं र यिनीहरूका नाममा संस्थाहरूको गठन र त्यहाँ साहित्यिक कार्यक्रमहरू गरेर लेखक-कविहरूलाई उनीहरूका नाममा सम्मान गर्ने चलन पनि चलाउँदै आएका छौं।
हुनता समय बित्तै जाँदा र वातावरणले काचुँली फेर्दै लाँदा धेरै कुराहरू बदलिँदै जानु र यी चाड़बाड़हरूमा नयाँ नयाँ आयाम थपिंदै जानु पनि स्वाभाविक हो, किनभने समय गतिशील हुन्छ। तर हामीलाई कहिले काहीं यस्तो पनि लाग्छ, यी चाड़बाड़हरूकै आड़ लिएर आडम्बरका नयाँ नयाँ संस्करणहरू भित्रभित्रै समाजमा भित्र्याउन थालेका त छैनौं? किनकि जातीय चेतनाबोधको परिस्कृत रेखाङ्कन भाषा-साहित्य र संस्कृतिले नै झल्काएका हुन्छन्। अस्तित्वबोध र चेतनाबोधलाई ध्यानमा राखेर हेर्नु हो भने यी उपादानहरू अति अनिवार्य र गरिमामय देखिन्छन्।
जहाँसम्म यी चाड़बाड़हरूको विषय छ, यसमा अहिलेसम्म हामीमा त्यति विकृति देखा परेको छैन। फेरि पनि अरू अरूले मनाएका यस्ता गरिमामय चाड़हरूमा चाहिंदो भन्दा धेर खर्च गरेर आडम्बर देखाउने प्रतिस्पर्धामूलक एउटा नराम्रो प्रवृतिले जरा गाड्दै लगेको चैं परिलक्षित हुन्छ। हुनता, बिहे-बटुलामा, पुराणहरूमा हामीले कहीं कहीं ‘सो बिजिनेस’ जस्ता पाराले यस्ता कार्यक्रमहरू गर्न थालेको पनि देखिन्छ। पुराणहरूमा भजन-कीर्तन गरेर नाच्नु त अझ स्वाभाविक नै भइसकेको जस्तो छ र अब त यस्ता मनोरञ्जन मूलक कार्यक्रम नहुँदा यी पुराणहरूको रौनकता नै नभएको जस्तो पनि देखिन थालेको छ। तर आश्चर्यको कुरो के छ भने अचेल आयोजन गरिएका कुनै ठूला ठूला धार्मिक, सामाजिक कार्यक्रमहरूका अनुष्ठानमा पनि राजनीतिको कीरो सुटुक्क पसेर त्यसले आफ्नो नजानिंदो सक्रियता पनि दऱ्याउन थालेको देख्न पाइन्छ।
फेरि अलिकति पहाड़कै कुरो । गोर्खाल्याण्डकै हुरी ल्याएर नेता छानिएकाहरूले पहाड़मा धेरै वर्ष ढलिमली गरेको प्रसङ्गको कुरो अब न कोट्याए पनि हुन्छ। बङ्गालमा चल्न थालेको भ्राष्टाचारको हावा-हुरीको मेहेरो छोप्ने ताक पारेर अहिले फेरि यो गोर्खाल्याण्डको राग पहाड़मा अलाप्न थालिएका समाचारहरू छनक छनक देखा पर्न थालेका छन्। यसरी नै हाम्रो समय बितिरहेको छ र यसै दुराग्रहलाई धानेर हिँड्ने विकल्प, वाध्यता र एउटा झिनो आसमा हामी बाँचिरहेका छौं। अन्तमा, मध्यमार्गका पाठक लगायत सबैलाई दशैं-तिहारको हार्दिक शुभकामना।
