सम्पादकीय

 

धेरै वर्ष अघि नाटककार बालकृष्ण समले भनेका थिए ‘‘जब मानिसले केही गर्न सक्तैन, अनि केही नगरिकन पनि बस्न सक्तैन तब उसले कविता गर्छ।’’ यो कुरो पुरानो भयो। आजका सन्दर्भमा यसरी भन्न मिल्छ, ‘जब मानिसले केही गर्न सक्तैन अनि केही नगरिकन पनि बस्न सक्तैन, तब उसले राजनीति गर्छ।’ अझ पहाड़को राजनीतिमा त यो कुरो जम्मै खट्‌छ. भारतीय संविधानले भारतका नागरिकहरूलाई यो छुट दिएको छ। यसले गर्दा अलिकति मगज भएका र बुद्धि भएकाहरूले अहिले त्यही गरिरहेका छन्‌। अलिक हुने खाने र पैसा भएकाहरूले पचास-साठीजना, सय डेढ़सय जना मान्छे बटुले, मिटिङ गरे, पार्टीको एउटा नाम जुराए, प्रस्ताव पारित गरे, कतिपयलाई समर्थनमा लिएर चुनाउ आयोगको दैलो ढक्‌ढक्याए, घरौट राखे, पञ्जियन गराए अनि खोलियो एउटा नयाँ पार्टी। आजसम्म पहाड़उमा एक दर्जनभन्दा धेरै पार्टी गठन भइ सके। बोर्डहरू पनि दर्जनौं भए। जति भन्ने शब्द पनि अब विस्तारो विस्तारो हराउँदै गयो र अब जात जातको वर्चस्व मात्रै देखिन थाल्यो। यसैभित्र ‘एघार जनजाति’-को कुरो त छँदैछ।

संविधानका अनुसार भारत एउटा समाजवादी, धर्म-निरपेक्ष, लोकतान्त्रिक सम्प्रभुता सम्पन्न क्षेत्र हो, वहाँ विधायिकालाई जनताले छनौट गर्छन्‌। अमेरिका झैं भारतमा पनि संयुक्त सरकार हुन्छ, जसमा राज्य सरकारहरूको तुलनामा केन्‌द्र सरकार धेरै शक्तिशाली रहेको हुन्छ, जो बृटेनको संसदीय प्रणालीमा आधारित छ। भारतमा साना-ठूला, झिना-मिना मिलाएर जम्मा-जम्मी 80 वटा दल छन्‌ भने अमेरिकामा 420 वटा दल छन्‌ जसमा डेमोक्रेटिक पाटर्टी र रिपब्लिकन पार्टीको नै त्यहाँ वर्चस्व रहेको छ जो समय समयमा सत्तामा आउने गर्छन्‌ तर भारतमा त्यसतो छैन। यिनै कतिपय कारणले र संकविधान पनि लचिलो भइदिएकाले गर्दा यहाँ झरीमा च्याउ उम्रिएझैं पार्टीहरू उम्रिने गर्छन्‌ र यस प्रवृतिले गर्दा अल्पसंख्यक समुदायहरू कहिल्यै एकजुट हुन सक्तैनन्‌। यस्तै प्रवृति हो भने भारतको जनसंख्याका तुलनामा एक प्रतिशत पनि न भएका हामी गोर्खाहरू कहिले एकजुट हुने?

भनिन्छ राजनीतिमा लिडर हुनका लागि लिडरशिप चाहिन्छ, तर हाम्राहरू सबै नै लिडर हुन ताम्सिन्छन्‌। असलमा, जनतामा एकजुटता र नेतामा दूरदर्शिताको अभाव र उनीहरूको स्वार्थले गर्दा नै आज हाम्रोजातिको यो हाल भएको हो।

हिजोआज सबैभन्दा चोखो र केही लगानी नगरिकन पैसा कमाउनु छ भने राजनीतिमा पसे हुन्छ। यो एउटा यस्तो उद्योग हो, जसमा आयका स्रोतहरू मनग्गे भेटिन्छन्‌। मात्र चाहिन्छ जनतारूपी मानिसलाई ‘सपना’ बेच्ने कला। आजसम्म कहिले गोर्खाल्याण्डको सपना, कहिले जनजातिको सपना, कहिले पीपीएसको सपना, कहिले विकासको सपना, यस्तै सपनाहरू बेचि बेचि यी नेताहरू त्यसैमा ढलिमली गर्दै आएका छन्‌। मेलमिटिङका नाउँमा, सदस्य भर्नाका नाउँमा, पार्टी फण्डका नाउँमा जब पैसो आउन थाल्छ, को लोभिदैंन यस्ता धन्धामा। नाममा नाम, दाममा दाम। तर यत्ति हो, यसमा चाहिन्छ साङ्गठनिक  कुशलता र विभिन्न स्रोतबाट जनतालाई लोभ्याउने र सुनौलो सपना देखाउने कला। तर पछि गएर उनी ‘घुमी फिरी रूम्झेटार’ बन्ने आहान जतिचोटि सही भए पनि यो सपनाको बेपार भने जनतामा चलिरहनेछ, भन्ने कुरो अकाट्य छ।