ज्योतिषको सिद्धान्त अनुसार समयको प्रत्येक मुहूर्त्त नै नयाँ हुन्छ। समयको त्यो मुहूर्त एकचोटि बित्यो भने फेरि फर्केर आउँदैन र त्यस्तो संयोग फेरि कहिल्यै पर्दा पनि पर्दैन। मुहूर्तको अर्को अर्थ ‘साइत’ पनि हो। ‘मौका पर्छ, पर्खिदैन’ भन्ने हाम्रो एउटा आहान पनि छ। हुनत समयले कसैलाई किन पो पर्खन्छ र! यो नपर्खिनु नै समय हो, किनभने समय गतिशील हुन्छ। हेर्दा हेर्दै , देख्ता देख्तै 2022 बितेर गयो। यसै अवधिमा संसारमा, भनौं विश्व परिप्रेक्ष्यमा कतिपय अन्तर्राष्ट्रिय घटनाहरू घटे पनि हामीलाई प्रभाव पार्ने त्यस्ता केही घटनाहरू भने घटेनन्।
संघीय गणतन्त्र हुनाले प्रत्येक वर्ष नै भारतमा तल्लो निकायदेखि लिएर माथिल्ला तहका लोकसभा , राज्यसभाका चुनाउ, उपचुनाउहरू हुने गर्छन्। गत 2022 मा दिल्लीको नगर निगम चुनाउ, अनि गुजरात र हिमाचल प्रदेशका विधानसभा चुनाउहरू भए। बीजेपीले गुजरातमा अभूतपूर्व ‘भूस्खलन’ विजय प्राप्त गर्यो भने दिल्लीको नगर निगम चुनाउको परिणाम आम आदमी पार्टीका पक्षमा र हिमाचल प्रदेशको चुनाउ परिणाम कंग्रेसका पक्षमा गयो।
राहुल गान्धीको भारत जोडो यात्राको उपलब्धि, पछि कस्तो के हुने हो त्यो पनि मुहूर्तले बताउला।
चीनले घरि घरि निहुँ खोज्ने काम गरिरहेको छ र अरुणाचल प्रदेशको तवाङ्गसम्म बलमिच्याईँ गर्दै चीनका सैनिकहरू दुस्साहस पूर्वक एकचोटि आए पनि। चीनको यो हठधर्मितालाई अरु देशले जे जस्तो भने पनि भारतले यसलाई आफ्नो सार्वभौमिकता सँग जोड्छ नै।
लभ इन रिलेशनशिपका घटनाहरू पनि कतिपय ठाउँमा भए।
बिहारमा छपरा जिल्ला लगायत अरु कतिपय ठाउँमा बिषालु ‘सोमरस’ खाएर छ दर्जन भन्दा पनि बढ़ी मानिसहरूको अकालैमा मृत्यु हुनु जस्तो घटना पनि घट्यो, जसको स्वर संसदसम्म पुगेर गुञ्जियो।
सुवास घिसिङका बोलीमा रहेको कहिल्यै नफल्ने वनतरुल भनेर तोकिएको गोर्खाल्याणड लाई लिएर अहिले फेरि पहाडका नेताहरू जरक मरक गर्न थालेका छन् र मिया की दौड़ मस्जिद तक भनेझैँ उनीहरू दिल्ली धाउने, छलफल गर्ने, माँग राख्ने जस्ता कुरा लिएर केन्द्रीय नेताहरूसँग भेट गर्ने जस्ता प्रक्रियाहरू चाल्नेमा देखिंदैछन्। उसो त उनीहरूले यसरी दिल्ली धाउने र आउने काम 15 वर्षदेखि गर्दै नै आएका हुन्, यो नयाँ कुरो होइन। बालकृष्ण समले एक ठाउँ जब मानिसले केही गर्न सक्तैन अनि केही नगरिकन पनि बस्न सक्तैन, तब उसले कविता गर्छ भनेर लेखेका छन्। यो ‘कविता गर्छ’ भन्ने वाक्यांशलाई अलिकति बङ्ग्याएर राजनीति गर्छ भनेर लेख्ता यी नेताहरूकालागि ठ्याक्क सुहाउने हुन्छ।
घिसिङले थालेको यो आन्दोलनदेखि आजसम्मको पहाडको राजनीतिलाई निर्क्योल गरेर हेर्नु हो भने अहिलेका युवाहरू तेस्रो पुस्तामा दह्रिन्छन्। तात्पर्यपूर्ण कुरो के छ भने यी गोर्खे नेताहरूले छुट्टै राज्यको माँगमा केन्द्र र राज्य सरकारले जति काफ्लेबाजी खेल्दै गरेका हुन्छन् , त्यो भन्दा धेर काफ्लेबाजी जनताका आँखामा छारो हालेर यिनै नेताहरूले खेल्दै गरेका हुन्छन्। आनदोलनमा धमिरो यसरी नै लाग्छ र लथालिङ्ग हुन्छ। आजसम्मको इतिहासले यही भन्छ। अब उप्रान्त त्यस्तो धमिरो कतै नलागोस् भन्ने हाम्रो कामना छ।
